बिहीबार, वैशाख १३, २०८१

जेनेभामा खानै समस्या हुनेहरुलाई नगरपालिकाले खुवाउन थाल्यो

नेपालप्लस सम्वाददाता / जेनेभा२०७७ मंसिर ८ गते २३:५५

स्विजरल्याण्डको जेनेभा नगरले ठण्डी बढ्दै गएपछि बेघर, सडकमा जीवन गुजार्ने, रोजगारी गुमाएर बिहान बेलुकीको समस्या भएका जेनेभावासी मानिसहरुलाई लक्षित गरी प्लाम्पालेको ठूलो नगरपालिका हलमा अढाई सय जनासम्मलाई लक्षित गरी तातो खानेकुरा ख्वाउन शुरु गरेको छ ।

अहिलेसम्म जेनेभामा रहेको चर्चहरु, नगरपालिकाको सहयोगमा भिन्न भिन्न रुपमा चलिरहेका कार्यक्रमहरु र सहयोग गर्न इच्छुक व्यक्ति, संस्थाहरुले बेघर र अप्ठेरोमा परेका मानिसहरुलाई खाना खुवाउँदै आएका थिए ।

दिउँसोको खाना मात्रै होइन नगरपालिकाले बिहानको नास्ता, चिया कफी पनि ख्वाउनेछ । दिउँसोको खानामा तातो झोलिलो खानेकुरा, डम्म अघाइने खान्की, पाउरोटीका परिकार र अन्तमा गुलियो मिठाइ ख्वाइन्छ । इच्छा लाग्नेहरुले दिउँसो पनि खाना खाइसकेपछि चिया कफी खान सक्नेछन् ।

अप्ठेरोमा परेका जो कोहि पनि त्यहाँ गएर खान सक्ने छन् । कोरोना भाइरसको कारण रोजगारी गुमेका र सडकमा जीवन बिताइरहेका धेरै मानिसहरुको भीड लागिरहेको छ ।  “हामी यसरी खानै अप्ठेरो परेकालाई सहयोग गर्न पाउँदा खुशी छौं । यो त हाम्रो कर्तव्य नै हो” नगरपालिकाले वक्तव्य निकालेर भनेको छ ।

नगरपालिकाको लगानी र इच्छुक सामाजिक संघ संस्थाहरुको सहयोग, सक्रियतामा गर्मी शुरु नहुँदासम्म यसरी खुवाउने कार्यक्रम रहेको आयोजकहरुले बताएका छन् ।

तपाइँको प्रतिक्रिया