शनिबार, वैशाख १५, २०८१

भारतीय विदेश सचिवको नेपाल भ्रमण : कम होला त तिक्तता ?

नेपालप्लस कूटनितिक संवाददाता / काठमाडौं२०७७ मंसिर १० गते २२:५२

सरकारी र कूटनीतिक तहमा रहँदै आएको झण्डै एक वर्ष लामो ‘संवादहिनता’ लाई चिर्दै भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले यो बिहिबार र शुक्रबार दुइदिने काठमाडौं भ्रमण गर्ने भएका छन् ।

नेपालको परराष्ट्र मन्त्रालय तथा भारतको विदेश मन्त्रालयले जारी गरेको बिज्ञप्तीमा सचिव श्रृंगलाको भ्रमणलाई ‘दुई देशबिचमा रहेको नियमित उच्चस्तरीय आदानप्रदान’ भनेर संवोधन गरेपनि द्धैदेशीय सम्बन्धमा चिसोपन कायमैं रहेका बेलामा हुन लागेको भ्रमणलाई ‘अर्थपूर्ण’ रुपमा लिइएको छ । भारतीय विदेश सचिव श्रृंगलाले गत जनवरीमा आफ्नो पदभार सम्हालेयता उनको यो पहिलो नेपाल भ्रमण हो ।

‘यो भ्रमण भारतको नेपालसँगको सम्बन्धको प्राथमिकता र दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको निरन्तरता अनुरुप रहेको छ । भ्रमणको क्रममा विदेश सचिवले आफ्ना समकक्षी र अन्य बिशिष्ट अधिकारीलाई भेटेर दुइ देशबिच बिस्तृत द्धैपक्षीय सहयोगका बारेमा छलफल हुनेछ, भारतीय विदेश मन्त्रालयले नयाँ दिल्लीबाट जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । सचिव श्रृंगला कोविड–१९ सम्बन्धी सहयोग सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएका छन् ।

यसअघि २०७५ को चैतमा नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक काठमाडौंमा सम्पन्न भएयता उच्च तहमा संवाद हुन सकेको थिएन । गत महिना भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे र त्यसअघि भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयल नेपाल भ्रमणमा आएका थिए । तर, सरकारी र कुटनीतिक तहमा विदेश सचिव श्रृंगलाको नेपाल भ्रमण पहिलो हो ।

पूर्व परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराईले भारतीय विदेश सचिवको भ्रमण हुनुलाई ‘एकदमैं सकारात्मक’ भन्दै भ्रमणको उपलब्धि ‘शिष्टाचार र औपचारिकता’मा मात्रै निहित भएमा त्यसको अर्थ नरहने बताए । ‘आशा गरौं, आफ्नो शिष्टाचार भेटका क्रममा सचिव श्रृंगलाले प्रधानमन्त्री र परराष्ट्र मन्त्रीसमक्ष भारतीय प्रधानमन्त्रीले पठाएको राजनीतिक सन्देश पनि सुनाउनुहुनेछ नै । तर, समकक्षी परराष्ट्र सचिवसमक्ष द्धैदेशीय–द्धैपक्षीय समस्याको गाँठो फुकाउने तर्फको प्रयत्न समेत एकैसाथ हुनेछ । किनभने द्धैपक्षीय समस्या र अझ पछिल्लो समयमा थपिएका जटिल विषयहरु धेरै छन्, ’राष्ट्रसंघका स्थायी प्रतिनिधि समेत रहिसकेका परराष्ट्रविद् भट्टराईले भने—‘यसबेला राजनीतिक सन्देश मात्रैको त्यति अर्थ रहन्न, जति समस्या सुल्झाउने दिशामा केही काम हुनेछ ।’

भारतीय विदेश सचिव श्रृंगला ‘खुला दिमाग लिएर वार्ता र संवादको टेबलमा बस्न आएको अवस्था हुनुपर्यो’ भन्दै पूर्व परराष्ट्र सचिव भट्टराईले ‘एकजना विदेश सचिवको तहमा भ्रमण हुँदैमा आजको भोली केही भैहाल्ने र सम्बन्धको ट्र्याक सहि ठाउँमा आइहाल्ने भन्ने स्थिती नरहेपनि’ द्धैपक्षीय सरोकारलाई सुन्ने र सुनाउने उपयुक्त अवसरका रुपमा यो भ्रमणलाई लिन सकिने धारणा राखे । एक महिनाअघि मात्रै परराष्ट्र सचिवका रुपमा नियुक्त भरतराज पौड्यालको निमन्त्रणामा भारतीय विदेश सचिव श्रृंगलाले नेपालको २ दिने औपचारिक भ्रमण गर्न लागेको जनाइएको छ ।

परराष्ट्र मन्त्रालयको बिज्ञप्तिअनुसार, विदेश सचिव श्रृंगलाले आगामी बिहिबार परराष्ट्र सचिव पौड्यालसँग द्धैपक्षीय मामलामा वार्ता गर्नेछन् भने लगत्तै परराष्ट्र मन्त्री, प्रधानमन्त्रीसहितका उच्च पदाधिकारीसँग भेटवार्ता गर्नेछन् ।

भारतले गत वर्ष कात्तिक १६ मा जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालका दार्चुला जिल्लामा पर्ने कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो भूभागमा राखेपछि सुरु भएको ‘द्धैदेशीय कटुता’ अहिलेसम्म जारी छ । यसरी हडपिएको भूभागमा झण्डै ३७२ वर्ग किलोमिटर जमिन भारततर्फ गएको देखिन्छ । भारतले नेपालको भूभाग समेटेर आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेपछि र त्यसमा सडक संजालसहितको उपयोग गर्न थालेपछि नेपालले गत जेठ २० मा नयाँ राजनीतिक नक्सा निकाल्दै लिम्पियाधुरा सम्मकै भूभागलाई आफ्नो भूभागका रुपमा नक्सांकन गरिसकेको छ । अर्कातिर, नेपालले भारतको र भारतले नेपालको राजनीतिक नक्सालाई अस्विकार गर्दै आएको असहज अवस्थामा द्धैदेशीय ‘संवादहीनता’ जारी रहेको छ ।

नेपाल–भारतबिच रहेका बहुपक्षीय सरोकार र समस्यामा कुराकानी गर्ने सबैभन्दा उपल्लो औपचारिक संयन्त्र हो— मन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोग । सन् १९८७ मा गठन भएको यो आयोगको अहिलेसम्म ५ वटा बैठक भएको छ, त्यो पनि औपचारिकताका लागि । यहि आयोगको सन् २०१३ मा सम्पन्न तेस्रो बैठकले कालापानी, सुस्ता लगायत द्धैदेशीय विवादित भूमीका विषयमा परामर्श तथा निर्क्यौल निकाल्न परराष्ट्र सचिवस्तरिय संयन्त्रलाई जिम्मा दिइएको थियो । तर, सचिवस्तरिय यो संयन्त्रमा पनि अहिलेसम्म विवादित भूमीका बारेमा कहिँकतै सरोकार उठ्न नसकिरहेको परराष्ट्र मन्त्रालयका अधिकारी बताउँछन् । ‘सचिवस्तरीय भेटघाटमा यो पटक हामीले हाम्रो नयाँ राजनीतिक नक्साको सिमांकन र सुस्ता भूभागसहितको विवादित क्षेत्रबारे कुरा उठाउने भनेर एजेन्डा तय गरेका छौं,’ परराष्ट्र एक अधिकारीले भने—‘तर, द्धैपक्षीय वार्ता सुरु होइन्जेलमा यो एजेन्डा रहिरहन्छ वा हट्छ, अहिले भन्न सकिने स्थिती छैन ।’

विदेश सचिवको भ्रमण अवसरमा विहिबारै सचिवस्तरीय संयन्त्रको बैठक समेत हुने भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अनुसार नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुराको भौगोलिक अवस्थिती र प्रामाणिक आधारमा नेपालले अपनाएको नयाँ राजनीतिक नक्साका बारे कुराकानी हुने भएको छ । परराष्ट्र सचिव भरतराज पौड्यालले द्धैदेशीय सिमावर्ती मामलासहित प्रबुद्ध समुह(इपीजी)को अड्किएको रिपोर्ट, ट्रान्समिसन लाइन, आर्थिक सहयोग एवं ब्यापार, उर्जा लगायतका बिषयमा कुराकानी गर्ने प्रारम्भिक एजेन्डा तय भएको छ । विदेश सचिव श्रृंगला शुक्रबार अपरान्ह १ बजे दिल्ली फर्कनेछन् ।

भारतीय विदेश सचिव नेपालको भ्रमण पुरा गरेर मंसीर १२ मा दिल्ली फर्किएलगत्तै मसीर १४ मा चिनियाँ रक्षा मन्त्री वेई फेङ्हे एकदिने भ्रमणको व्यस्त तालिका लिएर काठमाडौं आउने भएका छन् । परराष्ट्र मन्त्रालयले भ्रमण बारेमा अधिकारिक कार्यक्रम सार्वजनिक नगरे पनि रक्षामन्त्री फेङ्हेले उच्च राजनीतिक तहमा वार्ता गर्ने छन ।

अहिले भारतीय र चिनियाँहरु बिच नेपाल भ्रमण गर्न प्रतिस्पर्धा देखिए पनि भारतीय ‘रअ’ प्रमुख गोयलको भ्रमण बाहेक अरु सबै भ्रमण पुरानै तालिकाका हुन ।

तपाइँको प्रतिक्रिया