शनिबार, वैशाख ८, २०८१

रहेनन् फूटबलका विश्व बादशाह डियगो म्याराडोना

नेपालप्लस खेल संवाददाता२०७७ मंसिर १० गते २१:५७

विश्वकै फूटबल जगतका बादशाह अर्जेन्टिनाका खेलाडी डियगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएपछि संसार नै स्तब्ध भएको छ । उनको निधन हृदयघातबाट भएको हो । हृदयघात भएपछि उनलाई निकटको अस्पताल लगिएको थियो । तर अस्पताल पुर्‍याउँदा ढिलो भैसकेको फ्रान्सेली मेडियाहरुले उल्लेख गरेका छन् । नोभेम्बरको शुरुमा उनको मस्तिष्कको शल्यकृया भएको थियो ।

सन् १९८२ मा स्पेनको बार्सिलोनामा भएको विश्व कप फूटबल प्रतियोगितामा विलक्षण तरीकाले फूटबल खेलेपछि उनी एकाएक चर्चित भएका थिए । १६ वर्ष नपुग्दै उनको फूटबल खेल कौशलको जताततै चर्चा शुरु भइसकेको थियो । पछि स्पेनको बार्सिलोना र इटालीको नापोली क्लबमा अनुबन्धन भएर उनले धेरै खेल खेले । युरोपियन लिगहरु जिते । २० वर्षभन्दा कम उमेरका विभिन्न अन्तर्राष्टिय फूटबल क्लबहरुमा पनि उनी खेले ।

आफ्नी आमासित म्याराडोना

म्याराडोनाले विवादास्पद गोल गरेर सन् १९८६ को विश्व कप फूटबलको उपाधि अर्जेन्टिनालाई दिलाउन सफल भए । अर्जेन्टिनाको फकल्याण्डको टापूमा अर्जेन्टिना र वेलायतको घमासान युद्ध भएको चार वर्षपछि यो खेल भएको थियो । मेक्सिकोमा पश्चिम जर्मनीको फूटबल टिमलाई हराएर अर्जेन्टिनाले विश्व कप जितेको थियो ।

अक्टोबर ३०, सन् १९६० मा अर्जेन्टिनाको ब्यूनस आयर्समा गरिब परिवारमा जन्मिएका यी महान खेलाडीले तीन वर्षको हुँदा पहिलो पटक फूटबल पाएका थिए । गरिब परिवारका आठ केटाकेटी मध्ये पाँचौं नम्बरका थिए म्याराडोना । नौ वर्षको उमेरदेखि फूटबल खेल्न थालेका म्याराडोनालाई उनका बा आमाले सधै हौसला दिइरहे । १०, ११ वर्षमै जादूगरी फूटबल खेलेको देखेर साथीहरुले उनलाई लिटिल अनियन अर्थात् पीरोको सांकेतिक रुप ‘आँखाबाट आँसू नै झारिदिने स्यानो
प्याज’ भनेर उपनाम नै राखिदिएका थिए । चारवटा विश्वकपमा अर्जेन्टिनाबाट खेलेका उनले ९१ खेल खेले । उनले मात्रै यी सबै खेलमा ३४ गोल गरे ।

म्याराडोनाले आमाको बारेमा पत्रकारहरुसँग बाल्यकाल सम्झँदै भनेका थिए, मेरी आमाले खानेबेलामा सधै पेट दुख्यो भन्थिन् । ठूलो भएपछि मैले थाहा पाएँ, खानेकुरा हामीलाई दिएर सकिने भएकोले आमाले पेट दुखेको भन्ने रहिछन् । म फूटबल खेल्न थालेपछि मेरी आमाको पेट कहिल्यै दुखेन । अब दुख्नेपनि छैन । मैले संसारमा सबैभन्दा माया गर्ने यी बूढी आमा हुन् ।

                                लागू औषध र विवादको अर्को नाम म्याराडोना

सन् १९८० मा वार्सिलोनामा खेल्दा उनको खेल र गोलको जति वाहवाही भयो, उत्तिकै उनी विवादमा पनि छाइरहे । कोकिन र अन्य नशाको सेवन गरेको कारण उनलाई फिफाले खेलमा प्रतिबन्ध नै लगाउनुपर्ने स्थिति आयो । सन् १९९७ मा खेल जीवनबाट स्वेच्छिक अवकाश लिएपछि उनी झन् विवादमा आए । एकजना पत्रकारलाई राइफलले ताकेर गोली हानेको आरोपमा अदालतले उनलाई जेल सजाय पनि तोकेको थियो । रक्सी र अरु नशाको कारण शारिरीक रुपमा मोटा म्याराडोनालाई मुटुको समस्या देखिन थाल्यो । सन् २००० मा पहिलोपटक मुटुको समस्या देखिएर उपचार गरेको उनको तीन वर्षपछि पाराग्वेमा मुटुको उपचार भयो ।

फिडेल क्यास्ट्रोसित म्याराडोना

उनका नजिकका मित्र रहेका क्यूबाका राष्ट्रपती फिडेल क्याष्टोले उनलाई क्यूबा आएर बस्न निम्तो दिए । त्यसपछिका चार वर्ष उनले क्यूबामा बिताए ।

अर्जेन्टिनामा लियोनेल मेस्सीको देश । दर्जनौं ख्यातिप्राप्त फूटबल खेलाडी जन्माएको देश । सन् ००८ मा म्याराडोनालाई अर्जेन्टिनाले राष्टिय फूटबल टिमको प्रशिक्षकको रुपमा नियुक्त गर्यो । मेस्सीको नेतृत्वमा जर्मनीसँग भिडेको अर्जेन्टिनाले चार गोल खाएर पराजित भएपछि उनले राजिनामा दिए ।

                                    रेफ्री जसले हातले गोल गरेको देखेनन्

सन् १९८६ को विश्वकप फूटबलमा अजेन्टिनालाई विजयको ताज पहिर्याउने विवादास्पद गोलको विषयमा उति बेलाका रेफ्री ट्युनिशियाका अलि बिन नासेरले भगवानको हात भन्ने नाउँ दिएका थिए । उनको भनाइ थियो, म लाइन्सम्यानको इशारा पर्खिरहें । लाइन्सम्यान केही बोलेन, मैले गोल घोषित गरिदिएँ ।

लाइन्सम्यान थिए बुल्गेरियाका बोग्दान डोच्टेभ । उनी जीवनभरी मैले त्यो हातले हानेको किन देखिनहोला ? प्रश्नको उत्तर खोज्दाखोज्दै ८० वर्षको उमेरमा बिते । अचम्मको बानी भएका म्याराडोना २९ वर्षपछि उनै रेफ्री नासिरलाई भेट्न ट्युनिशिया गए । दुवैले अँगालो हालेर फोटो खिचे । नासिरले असाध्यै मन पराउँथे म्याराडोनालाई । तर बुल्गेरियाका लाइन्सम्यानले भने ‘मूढी र सन्काहा म्याराडोना शरीरको मात्रै होइन, बुद्धिको पनि पुड्को थियो । तर भगवानले दिएको जादूले उनलाई सधै एक नम्बर बनाइरह्यो । न मेरा रेफ्रीले हातले छोएको देखे, न मैले ।’

                               साम्राज्यवाद विरोधी वामपन्थी म्याराडोना

चेग्वेभाराको टाटु देखाउँदै म्याराडोना

अमेरिकाको साम्राज्यवादी नीतिको सधै विरोध गर्ने म्याराडोना क्यूबाका राष्ट्रपति फिडेल क्यास्टो, भेनेजुयलाका राष्ट्रपती ह्युगो साभेज, बोलिभियाका इभो मोरालेस जस्ता वामपन्थी नेताहरुका मित्र थिए । भेनेजुयलामा गएर टेलीभिजनमा आफूले अमेरिकाबाट आएका कुनैपनि कुरा मन नपराउने बताएर आफू ह्युगो साभेज समर्थक साभिस्टाको रुपमा आफूलाई चिनाएका थिए । बुसको युद्ध विरोधी नीतिको विरोध गर्दै उनले अर्जेन्टिनाको यौटा खेलमा अँग्रेजी अक्षर बुसको एसमा हिटलरको साँकेतिक चिन्ह स्वस्तिकाको चित्र भएको टिसर्ट लगाएर खेल खेलेका थिए ।

म्याराडोनाले विश्वकप खेल्दा लगाएको जर्सी भ्याटिकन सिटीमा पोप फ्रान्सिस्कोलाई उपहार दिएका थिए । अहिले भ्याटिकनको संग्रहालयमा यो सुरक्षित छ । संसारैभरीका गरीब केटाकेटी र असहायहरुको लागि चन्दा संकलन गर्न उनले धेरै च्यारिटीका खेलहरु पनि खेलेका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक