बिहीबार, चैत १५, २०८०

यौन सम्पर्कपछि स्वस्थ रहन जान्नैपर्ने कुरा

सुरक्षा मानन्धर / ओस्लो, नर्वे२०७७ मंसिर ११ गते १९:०५

यौन सम्पर्कपछि तपाईं तत्कालै के गर्नुहुन्छ ? पुरुष या महिला स्वास्थ्यको दृष्टिले यौन सम्पर्कपछि के गर्नुहुन्छ भन्ने कुराले असाध्यै महत्वपूर्ण भूमिका खेल्दछ । सम्बन्ध दरिलो राख्न पनि यस्तै ससाना कुरा सहयोगी हुन्छ भनी यौन स्वास्थ्यको क्षेत्रमा खोजी गर्नेहरुले बताएका छन् । कसैको यौन सम्पर्कपछि निदाउने बानी हुन्छ । कसैलाई निदाउनै नसक्ने बानी हुन्छ । कसैलाई एकदम भोक लाग्छ भने कसैलाई असाध्यै तिर्खा लाग्छ । कोहि थाकेर लखतरान हुन्छन् भने कोहि यौन सम्पर्क पछि तातो पानीमा ननुहाई नहुने बानीका हुन्छन् ।

मानिसको शरिरमा भएको रसायन, मानिसको खानेकुरा र मानिसको सोचाइका कारण यस्ता विभिन्न बानीहरुको विकास हुन्छ भनी अनुसन्धानमा पत्तो लागेको छ । तर, यौन सम्पर्कपछि अभ्यासमा ल्याउनुपर्ने केहि बानी छन् जसका कारण स्वस्थ रहन सघाउ पुग्दछ । अरु त अरु यसले शरिर र दुबैको सम्बन्धलाई दिर्घायू बनाउन पनि सघाउ पुर्याउँछ ।

                          सम्भोग गरिसकेपछि ठट्टा गर्नु असाध्यै राम्रो

यौन सम्पर्क सकिएपछि एकजना घुर्दै निदाउने, अर्कोले मोबाइल चलाउने भयो भने कस्तो होला ? सम्भोगपछि मजाले हाँस्नुस् । हाँसो लाग्ने चुट्किला, ठट्यौलीहरु गर्नुस् । यसले गर्दा शरीरका सकारात्मक हर्मोनहरु सकृय हुन्छन् । रिस उठ्ने, झर्कोफर्को गर्ने बानीको विकास हुन्न । एकले अर्कोलाई प्रेम दर्शाउन सहयोग पुग्दछ । कपाल सुम्सुम्याउनुस् । म तिमीलाई माया गर्छु भनेर मनमनै भनेर मात्रै सधैं नहुन सक्छ । निधारमा अथवा स्वेच्छिक स्थानमा चुम्बन गर्दै माया गर्छु भन्नुस् । आखिर यो अप्ठेरो काम पनि होइन । यत्तिका कारण माया प्रगाढ हुन्छ भने किन नगर्ने भनी प्रश्न गर्छिन् यौन स्वास्थ्यविद् जोआना क्रिस्टेन्सन ।

                            साथीको चाहना जान्नु

हिजोआज इन्टरनेट घरघरै छ । नग्न यौन सामाग्री हेर्ने मुलुकमा नेपाल पनि अघि अघि नै आइरहेको तथ्यहरुले बताइरहेका छन् । पुस्तकहरु घरघरै उपलब्ध हुन थालेका छन् । हिजो आगो उपन्यास पढिन्थ्यो । हिजोआज औंलामै कोकशास्त्रको सचित्र वर्णन हल्लाखोर सहित आइपुग्छ । यो कसैले रोकेर रोकिनेवाला पनि छैन । नभन्ने  कुरो बेग्लै हो । सम्बन्ध राम्रो राख्न श्रीमान् श्रीमती या केटा केटीको बीचमा शारीरिक दुरुस्ती अनुरुप यौन क्रियाको कलाहरु सिक्न आवश्यक हुन्छ । भेट हुने बित्तिकै भुतुलभातुल पारेर झम्टिइहाल्ने चितुवा प्रवृत्ति कतिपय बेला सम्बन्धमा पूर्ण बिरामको कारक पनि बन्न सक्दछ । भविष्यको सपना बुन्नुस । छोराछोरी छन् भने उनीहरुको भविष्य सम्झेर रमाउनुस् । नजन्माएको भए केटाकेटीको कल्पना गर्दै कुराकानी गर्नुस् । सुम्सुम्याउनुस । चुम्बन गर्नुस । उत्तेजनाको शिखरमा पुगेपछि अनि बल्ल यौन सम्पर्क गर्न थाल्नुस् । तपाईँलाई थाहै भएको कुृरा हो कतिपय योनी सुख्खा भएर यौन सम्बन्ध राख्न कठिनाइ परेका महिलाहरु हुनुहुन्छ । कतिपय चाँडै स्खलित हुने पुरुष हुनुहुन्छ । समस्या बाँड्नुस् । सकेसम्म दुवैजना समागमको उच्च विन्दूमा पुग्नुस् । आसनहरु बदल्नुस् । सकेसम्म सन्तुष्ट हुने प्रयास गर्नुस् ।
स्वास्थ्य र सम्बन्धका लागि फाइदै हुन्छ ।

                        यौन सम्पर्कपछि बाथरुम जानुस्

यौन सम्पर्कपछि पुरुष महिला दुवै शौचालयमा गएर यौनांगहरुको सफाइ गर्ने, पिसाब लागेको छ भने सफाई गर्दा ब्याक्टेरियाबाट हुन सक्ने संक्रमणबाट जोगिन सघाउ पुग्छ । मन स्थिर हुन्छ । नेपालमा यौन सम्पर्कपछि यौनांगको उचित सरसफाइ नहुँदा र यौनांगको सफाइकै अभावमा कतिपयको त ज्यानै जाने गर्दछ । खासगरी महिलाहरुमा यौनांगमा फँगसको आक्रमण हुने, सेतो तरल पदार्थ बग्ने र पुरुषहरुको पनि यौनांगमा जिवाणु (ब्याक्टेरिया) को संक्रमण हुने डर हुन्छ । सरसफाइले यौनांगमा संक्रमण हुने खतरा टर्नु पनि राम्रै कुरो भएन त ?

                                     स्पर्श गर्नुहोस्

यौन सम्पर्क सकिएपछि बाटो लाग्ने होइन । स्पर्श गर्नुहोस् । स्पर्शमा प्रेम छ । अँगालो हाल्नुहोस् । केही कुरा मनमा गुम्सिएको छ भने भन्नुहोस् । आखिर आफ्नै साथी त हो सबैकुरा खोल्न सकिने । विश्वास जित्ने अवसर पनि हो यो । इमान्दारितामै त अडिएको छ जीवन । इमान्दार हुनुहोस् साथीप्रति भन्छिन् रुसकी यौन थेरापिष्ट इभान्का साराकोभा ।

                                    पानी प्रशस्त पिउनुहोस्

यौन सम्पर्कको क्रममा शरीरमा हर्मोनहरुको उतारचढाव, शारिरीक सकृयताको कारण पानीको कमी हुनसक्छ । त्यसैले यौन सम्पर्कपछि पानी पिउनुहोस् । साथीलाई पनि पानी पिउन प्रेरित गर्नुहोस् । यौन सम्पर्क पश्चातको पानी अमृत बराबर हुन्छ भन्छन् पश्चिमका यौन विज्ञहरु ।

                                सँगै खाना बनाउनुस्

यौन सम्पर्कपछि धेरैजनालाई भोकले हुट्हुटी पार्छ । खान त पर्यो नै । एक्लै भान्सामा पसेर ग्वामगुम खाने बानी राम्रो होइन । दुवैजना मिलेर खानेकुरा बनाउनुस् । जे जस्तो, मीठो मसिनो बनाए पनि । गुन्द्रुकको झोल र भात नै किन नहोस, सँगै बनाउनुस् । लोग्नेमान्छे उपरखुट्टी लाएर मोबाइल हेर्दै आराम गर्ने, स्वास्नीमान्छे गएर खाना बनाउन अथवा स्वास्नीमान्छे घुरेर सुत्ने, लोग्ने भान्सामा फनफनी गरिरहने होइन कि दुवै मिलेर हाँस्दै, ठट्टा गर्दै खानेकुरा बनाउनुस् । यसले जीवन र प्रेम अझ सुन्दर र गाढा हुन्छ ।

पहिला पहिला यस्ता कुरा लुकीलुकी पढ्ने दिन थिए । अब ती दिन गए । यौन खालि सम्भोगको विषय मात्रै रहेन । यौन त स्वास्थ्यसित जोडिएको गम्भीर मुद्दा पो भयो । नग्न भिडियोहरु हातहातै छन् । लतमा लाग्न भएन । बदलिदो समयसँगै सोंच पनि बदलिनु पर्यो । अनि पो जीवन स्वस्थ र सुखी रहला ।

नर्वेमा पढ्नु अघि काठमाडौंको अदालतमा सम्बन्ध विच्छेद गर्न आउने धेरैको समस्या मध्ये यौन असन्तुष्टि पनि एक प्रमुख कारण थियो । महिला र पुरुषको यौन सुख प्राप्तिको विषयमा, यौन स्वास्थ्यको विषयमा मानिसहरुले गहिरो अध्ययन गरेर यी कुरा भनेका हुन् । बाँकी त हजुरहरुकै मर्जी । र खुसीसाथ भन्न चाहन्छु, नेपालदेखि म यहि विषय पढ्न आएकी छु । त्यो पनि आफ्नै रोजाइमा ।

तपाइँको प्रतिक्रिया

फेसबुक