बिहीबार, साउन २१, २०७८

जनावरको शिकार ‘ट्रिक’ ठ्याक्कै फूटवल खेल जस्तै

ददि सापकोटा२०७७ मंसिर १२ गते १४:०५

लैजा ! लैजा ! लैजा ! लैजा ! लैजा ! दुरुर ! दुगुर ! दुगुर ! दुगुर ! दुगुर ! खासगरि फूटबल र दौड खेल हेरिरहेका दर्शकहरु छेउमा बसेर कराइरहेका हुन्छन् । उनीहरुलाई लाग्छ, गोडामा बल परेपछि छिटो दगुर्न सक्यो भने बिपक्षीको पोलमा छिटो पुर्‍याउँछ । बिपक्षीले नभेट्दै ड्याम्म गोल हानिहाल्छ । तर त्यो सधैं लागू हुन्न । बाघ, चितुवा कति छिटो दगुर्छन् ? तर तिनले एकदमै छिटो दगुर्दैमा खरायो, हरिण, मृगलाई भेट्टाईहाल्छन् भन्ने छैन । छिटो दगुर्दैमा कुनै हिंस्रक जिवबाट बचिन्छ । दगुरेर जितिन्छ भन्ने यो  भ्रम हो ।

एकदमै छिटो दगुर्दैमा कसैलाई भेट्टाईहालिन्छ भन्ने छैन । बरु अलि ढिलो नदगुरेपनि दगुर्ने तरिका जान्नुपर्छ । यो मान्छे र जिवजन्तु सबैमा लागू हुन्छ ।

प्रकृतीमा मांशहारीहरु शिकारको खोजिमा हुन्छन् । ति शिकारकै लागि भौंतारिन्छन् । झुक्याएर, लुकेर शिकारको दाउ कुरेर बस्छन् । शिकार समात्न जंगली ‘एथ्लेट’ हरुमा धेरै खाले हतियार हुनुपर्छ । एउटा मात्रै हतियारले काम फत्ते हुँदैन । त्यसैले उनीहरु तगडा एथ्लेट हुनुपर्छ । किनभने शिकारीहरुको हतियारको दौडमा दक्ष शिकारी जो छ उसैले बिजय गर्ने हो । बाघ र चित्तल वा जरायोको बिच; चितुवा र चित्तल, खरायो, जरायोको बिचमा बच्न वा जोगिन, भाग्न र समाउन प्रतिस्पर्धा हुन्छ ।  दौड चल्छ । यो दौडमा बाघ, ब्वाँसो, जंगली कुकुर, चितुवाहरु बढि तगडा हुनैपर्छ । लुक्ने, जोगिने र छल्ने गरेर हिँड्ने शिकारहरुलाई खोज्न र देखिएपछि समात्न तिनमा अझ अब्बल श्रेणीको निपूँणता चाहिन्छ । बाघ, चितुवाहरुको शरिर अझ बढि एथ्लेटिक हुनुपर्छ । हुन्छन् पनि । नत्र यि शिकारीले शिकार समात्न सक्दैनन् । यि शिकारीहरु शिकार भन्दा बढि शक्तिशालीपनि हुनुपर्छ । ति छिटो दगुर्ने र परिस्थिति अनुसार छिटो मोडिन नसके शिकार फुत्किन्छ । शिकारीहरुले शिकार आफ्नो कब्जामा पार्ने प्रमुख हतियार यिनै हुन् ।

चितवनको घाँसे फाँटमा चरिरहेको एउटा मृगलाई चितुवा वा बाघले निशाना लगाएपछि बच्न सक्ने मूल आधार अप्रत्याशित हुन्छ । शिकारले जहिलेपनि कसरि भाग्ने भनेर शरिरको मोड, दौडिने गति र समय मिलाउँछ । त्यसलाई पूर्वानुमान गरेर उसको त्यो गति, शरिरको मोडाई (बंग्याई) वा बांगोटिंगो दौडाईलाई शिकारीले अनुमान लगाउन सक्नुपर्छ । र बल्ल उसले त्यहि अनुसार भाग्नेहरुका अक्किललाई जित्ने गरि आफूले ‘सेट’ गरेर दगुर्ने र मोडिएर तिनलाई समात्ने हो ।

जिवजन्तु विशेषज्ञहरुले जेब्रा, मृग, बाघ, सिंह आदिको घाँटीमा स्वचालित यन्त्र जडान गरेर शिकारी जन्तु र शिकार गरिने जनावरको भाग्ने, बच्ने, दौडिने, शरिर मोड्ने र शिकार समात्ने गति र शरिरको घुमाई आदिका बारेमा अनुसन्धान गरेका थिए । त्यस्तो अध्ययन लगभग ५००० जन्तुमा गरिएको थियो, खासगरि अफ्रिकाका जंगलमा पाइने जन्तुमा । त्यसबाट के जानकारि मिल्यो भने मांशहारी जिवहरु बढि एथ्लेटिक हुन्छन् । मांशहारीनै भएपनि चित्तb(चितुवा) र मृग बढि एथ्लेटिक साबित भए । मृग (इम्पाला) हरु सिंहभन्दा बढि एथ्लेटिक हुने रहेछन् । तिनको मांशपेशीको शक्ति उच्च, कडा देखियो । ति दुबै जनावर दौडिँदा आफ्नो गति तत्कालै छिटो बढाउन सक्ने र आवस्यक पर्दा तत्कालै छिटो घटाउन सक्ने देखिए ।

बाघ, चितुवा, हुँडारबाट जोगिन मृग र जरायो, खरायोहरुले छिटो दगुर्ने भन्दा आक्रणकारि को तुलनामा तत्कालै एकदमै छिटो, छिनछिनमै आफ्नो दौडाईको गति बदल्न सक्नुपर्छ । अर्थात्, छिनछिनमै बांगोटिंगो दगुर्न सके ऊ जता फर्किएको छ उतै मोडिँदा उसको गति घट्छ । त्यो गति घटेका बेला शिकार वा आहारा हुने जिवले फेरि आफ्नो गति बढाउँदा ऊ धेरै टाढा पुगिसक्छ । शिकार गर्ने जन्तु नजिक नआइपुग्दै फेरि उसले उसैगरि बांगोटिंगो र फेरिपनि बांगोटिंगो शरिर मोडेर दगुर्छ । यसलाई जति छरितोसित तत्कालै मोड्ने, दगुर्ने, गति घटाउने, फेरि गति बढाइहाल्ने र बांगोटिंगो दगुर्न सक्यो उति शिकारी छलिन्छ, पछि पर्छ र मृगले आफ्नो ज्यान जोगाउन सक्छ ।

तर कुनै जिव असाध्यै टाठा र कुशल हुन्छन् । खरायोलाई चितुवा र बाघले कमै समात्छन् । त्यसको खास कारणपनि यहि नै हो । खरायो यस्तो जिव हो जसले छिनछिनमै शरिरलाई मोड्न सक्छ । खरायो खुरुर्र दगुर्ने, तत्कालै बांगोटिंगो दगुर्ने गर्छ । जब बाघ र चितुवा खरायो मोडिएतिर दगुर्छन् त्यो बेला तिनको गति घट्छ । यहि मौका पारेर खरायोले आफ्नो गति फेरि बढाइदिन्छ र छिटो दगुर्छ । यसो गर्दा खरायो र मांशहारीबिचको दूरिपनि बढ्दै जान्छ ।

हुन त फूटबल खेल हुँदापनि यहि अक्किल र मनोज्ञानले काम गर्छ । कुनै खेलाडीले आफूले पाएको बल सिधा दगुरेर लैजाँदैमा उसको बल पोल नजिक पुग्ने संभावना कम हुन्छ । तर बल लिएको खेलाडीले बल छक्काउँदै दायाँ बायाँ बांगोटिंगो गर्दै लगेमा प्रतिद्वन्धि अल्मलिन्छ र ऊ अल्मलिएको बेला बल खेलाउनेले दौडको गति बढाइदिन्छ । यसो गर्दा अलि सुरक्षित तरिकाले बल लैजाने संभावना बढि हुन्छ ।

खासमा बाघ भन्दा मृग छिटो दौडिन सक्छ । तर अजंगको बाघले लखेट्न थालेपछि मृग आत्तिन्छ । कति नजिक आइपुग्यो होला भनेर पछि हेर्दाहेर्दै उसको गति घट्छ । किनभने भाग्ने जन्तु सधैं अगाडि हुन्छ र लखेत्ने पछाडि । यसरि पछाडि फर्केर हेर्दाहेर्दै बाघको दौडाईको गति भन्दा उसको गति कम भैदिन्छ र उ पक्राउमा पर्छ ।

त्यसो त, शिकार बन्ने मृग, खरायो, जेब्रा जस्ता जिव निरन्तर छिटो दगुर्नु भनेको शिकारीको मुखमा पर्ने जोखिम बढ्नु हो । एकदमै छिटो दगुरेपनि सिधा मात्रै दगुर्दा शत्रुले तिनको दौडको गति, शरिरको चालको आँकलन गर्न पाउँछ । त्यहि अनुसार बाघ, सिंह, चितुवाले गति बढाएर समातिदिन्छन् । एकदमै छिटो दगुर्दाको अर्को बेफाइदापनि छ । तिब्र बेगमा दगुरेका बेला शरिरलाई बांगोटिंगो गतिमा परक्कै मोड्न गाह्रो हुन्छ ।

तिब्र गतिको दौड प्रतिस्पर्धामा सिंह, बाघ, चितुवाले आफ्नो लक्ष्य कब्जा गर्ने मौका बढि हुन्छ । शिकार गरिने जिव जति ढिलो दगुर्छन् उत्तिनै तिनले शरिरलाई दायाँ बायाँ मोडेको मोड्यै गर्ने अवशर बढि पाउँछन् । यहि मौकामा तिनले कसरि भाग्ने, कता लुक्ने भनेर सोच्न सक्नुपर्छ । यसरि मोडिएको मोडियै गर्दा बाघ, चितुवा र सिंहले तिनको चाल बुझ्न सक्दैनन् ।

यो मनोबिज्ञानले कुनै कुनै जिवले किन निस्चित खालको जिव मार्न खोज्छन् भन्नेपनि बुझाउँछ । जस्तै- चितवन, बर्दिया, पर्सा, कोशी टापू वन्यजन्तु आरक्ष लगायतका राष्ट्रिय निकुन्जहरुमा बाघ र चितुवाले धेरैजस्तो मृग, जरायो र अर्ना ताक्छन् । जरायो र मृग ठूला हुन्छन् । मासुपनि धेरै समयसम्म खान पाइने भयो । जरायो, अर्ना र मृगहरु चित्तल भन्दा कम दौडिन्छन् । भाग्दा यिनले शरिरलाई धेरै मोड्नपनि सक्दैनन् । सिधा दगुर्ने भएकोले तिनलाई समात्न चितुवा र बाघलाई सजिलो भैदिन्छ । तर चित्तलहरुको दौड मृग र जरायोको भन्दा बढि हुन्छ । तिनले शरिरलाईपनि तत्कालै मोडेको मोड्यै गर्न सक्छन् । अफ्रिकी जंगलमा पनि सिंहहरुले मृग (इम्पाला) लाई शिकार कमै गर्छन् । झन खुला ठाउँमा त इम्पाला बांगोटिंगो दगुरेर सिंहलाई छलेरै भाग्न सफल हुन्छ । त्यसैले उसले जेब्रा, जंगली गाइ, जंगली भैंसीनै ताक्छ ।

(पन्छी जगत, त्यो नेपाल र दुखेको युरोप पुस्तकका लेखक ददि सापकोटाको चौथो किताब ‘वनको वैभव’ हालसालै प्रकाशन भएको छ )

तपाइँको प्रतिक्रिया

फेसबुक