शुक्रबार, चैत १६, २०८०

देखिएको एकमात्र अमुर्त उपलब्धी : ‘नेपाल–भारत सिमा सम्बन्धी छलफल गरिने’

नेपालप्लस कूटनितिक संवाददाता / काठमाडौं२०७७ मंसिर १२ गते १६:२९

काठमाडौं— नेपालभित्र पर्ने साँध सिमानामा आएको विवाद र नयाँ राजनीतिक नक्साका कारण एक वर्षदेखि औपचारिक तहमा बोलचाल बन्द भएको भारतका विदेश सचिव हर्षबर्धन श्रृंगलाको नेपाल भ्रमणले सतहमा देखिने गरी एउटै उपलब्धी देखाएको छ— द्धैदेशीय सिमासम्बन्धी छलफल गरिने ।

विदेश सचिव श्रृंगलाले परराष्ट्र सचिव भरतराज पौड्याल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्री केपी शर्मा ओलीका तीनवटै तहमा गरेका कुटनीतिक तथा राजनीतिक कुराकानीका क्रममा नेपालको लिम्पियाधुरासम्मकै नयाँ राजनीतिक नक्साका बारे चर्चा उठेपछि भारतले जारी गरेको बिज्ञप्तीमा समेत ‘सिमा सम्बन्धमा कुराकानी गरिने’ भन्ने संक्षेपको बाक्य राखिएको छ । ‘तर, के–कहिले र कसरी भन्ने प्रकृयाबारे कसैलाई थाहा छैन,’परराष्ट्रका एक सहसचिवले भने ।

फेरि प्रधानमन्त्री ओलीले सिमा विवादका बारेमा ‘इतिहासले छोडेका कतिपय समस्याहरु छन् । ती छाडेका सीमालगायतका समस्याहरुलाई पनि हामी वार्ता गरेर टुंग्याएर अगाडि जान सक्छौं भन्ने हाम्रो विश्वास हो’ भन्दै लचिलो तवरमा प्रस्तुत भएपछि यो विषय पनि अहिले देखाउनकै लागि मात्रै आएजस्तो देखिएको छ ।

दुइ दिने भ्रमण पुरा गरेर शुक्रबार दिउँसो दिल्ली फर्किएका विदेश सचिवको भ्रमणबारेमा काठमाडौंस्थित भारतीय दूतावासले पनि ‘नेपालसँगको बाँकी खण्डमा सिमासम्बन्धी कार्यहरु सम्पन्न गर्नेबारे आफ्ना बिचारहरु साटासाट गरेको’ भन्दै कामचलाउ सन्देश मात्रै दिन चाहेको छ । ‘उच्चस्तरीय द्धैपक्षीय सम्बन्धमा नयाँ गतिलाई कायम राख्न र दुबै देशबिच परम्परागत रुपमा रहिआएको घनिष्ठ, मैत्रीपूर्ण र बहुपक्षीय साझेदारीलाई अझ मजबुत बनाउन सहमती जुटेको’ सधैंको भाषा बिज्ञप्तीमा उल्लेख छ ।

एक महिनाको अन्तरमा भारतीय खुफिया प्रमुख र सेना प्रमुखको नेपाल भ्रमण भएको सन्दर्भ र अहिले हतारमैं भारतीय विदेश सचिव श्रृंगलाले गरेको नेपाल भ्रमणको उपलब्धी भनेको ‘कुटनीतिक नोट’को तहबाट अघि बढेर सिमा बारेमा कुरकानी गरिने भन्ने सहमती जनाउने काम भएको छ । त्यो पनि लिखित एजेन्डामा प्रवेश नपाएको यो विषयको व्यवहारिक पक्ष भने आउने दिनमा मात्रै हेर्न सकिन्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक