बुधबार, वैशाख १२, २०८१

महासंघ केन्द्रको लेटर र महासचिवको सहि छाप दुरुपयोग : जातीय आरोपमा खेल्ने प्रयास

डिल्ली अम्माई / बेल्जियम२०७७ मंसिर १२ गते २२:४०

केहि समय अघिको कुरा हो । युरोपका केहि पत्रकारहरुले इन्जा नामक एक अन्तराष्ट्रिय पत्रकारहरुको संजाल अन्तरगत युरोप शाखा संजालको निर्माण गरे । त्यसको उद्देश्य पनि डायस्पोरामा रहेका नेपाली पत्रकारहरुको क्षमता अभिवृद्धि गर्दै पत्रकारहरुबिच भाइचारा सम्बन्ध स्थापित गर्नु नै हो । इन्जा युरोपमा पत्रकार महासंघ युरोप शाखामा रहेका केहि साथीहरु पनि जानु भयो । एउटा छाता संगठनको सामान्य पदमा रहेको पत्रकार कुनैपनि ब्यावशायिक संगठनमा सो इच्छाले रहनु उसको कुरा हो । त्यसलाई आधार बनाएर नेपाल पत्रकार महासंघ युरोप शाखाको हवाला दिँदै ‘दुबैतिर बसेको निहुँ झिकेर’ कारवाहीको शृंखला नै चलाइयो । केजिन राईजीले त्यसको लागि साथीहरुलाई ठूलो मानसिक दवाब दिनुभयो । त्यसपछि शाखाका केहि मित्रहरु जस्तै निराजन श्रेष्ठ र निलम घिमिरेलाई शाखाबाट हटाइयो ।

अहिले शाखा अध्यक्ष केजिन राईनै नेकपा निकट प्रेश संगठनको अध्यक्ष भएर जानु भएको छ । यसले गर्दा इन्जामा जाँदा कारवाहीमा पारिएका साथीहरुले केजिन सरलाई नै कुरीकुरी गर्दै सोधिरहेका छन ,’सम्मानित अध्यक्ष ज्यू, हामीलाई इन्जा जस्तो गैह्र राजनैतिक नागरिक पत्रकार समुह वा क्लबमा जाँदा कारवाही गर्नु भयो, अहिले ब्यावसायिक पत्रकारहरुको छाता संगठनको अध्यक्ष बहाल रहँदैको अवस्थामा नेकपा पार्टी पत्रकारहरुको प्रेश संगठन युरोप शाखाको अध्यक्ष पनि आफैँ बसेर रमिता देखाउनु भयो । तपाईलाई हामीले कसरि बुझ्ने, साझाको कि पार्टीको ?’

अनियमितता र संगठनका बेथितिहरू बिरुद्ध मुद्धाहरु उठीरहन्छन । किर्ते चलखेल र भ्रष्टाचारको कारण आफू र आफ्नो पद संकटमा पर्दा मानिसले अनेक किसिमबाट बचाव गर्ने रहेछ ।

पहिचानका मुद्धासँग कुनै साइनो नभएका पत्रकार महासंघ युरोप शाखाका मुद्धाहरु उठिरहेका छन् । मुद्धाहरु जातीय समस्यासँग पटक्कै सम्बन्धित छैनन् । हामीले उठाएका कुरा संगठनको पद्धति, पारदर्शिता र विधानको पालनामा भएका अटेरी, अर्घेल्याईं र मनोमानीसँग मात्र छन् । केन्द्रको लेटर र सहि छापको किर्ते गरेर बनाइएका फर्जी कागजहरुसँग छन् ।

हामीले संगठनमा नियमित तथा प्रक्रियागत अधिवेशनको समेत माग गरेका छौँ । साथै अहिलेसम्म बिधानले तोकेको भन्दाबढी लिएको सदस्यता शुल्क तुरुन्त फिर्ता गर्नुपर्ने माग राखेका छौं । नबिकरण शुल्क (बर्षको १००० नेरु) र नयाँ सदस्यता शुल्क (वार्षिक ३५०० नेरु) हुनु पर्ने हो । बिदेश शाखाको ३ वर्षको एकै पटक बनाउने भएकोले नयाँ सदस्यता शुल्क ५६०० नेरु र ३ वर्षको नबिकरण शुल्क ३००० नेरु मात्र लाग्दछ । बिधानत सदस्यता शुल्कमा कहिँकतै विभेद छैन । गर्न पाइदैन । तर यहाँ सबैको २०० युरो भन्दा माथि उठाइन्छ । लाग्ने दस्तुर बाहेक २०१४ देखिकै सबै शोषण गरेको दस्तुर फिर्ता हुनुपर्छ ।

    केन्द्रको लेटर र महासचिबको सहि छापनै दुरुपयोगको आशंका

पत्रकार महासंघ युरोप शाखाका बरिष्ठ उपाध्यक्ष र सचिब पेम्बा गेल्बु शेर्पालाई २०७७ /०७/२१ गते स्थानान्तरण गरिएको कथित पत्र हामीलाई पठाइयो । पत्र हेर्दा हामी चकित पर्यौं । पत्रमा पुराना वाक्यहरु पुरै मेटाएर नयाँ टाइप गरिएको छ । लोगो पनि पुरानो हटाएको डाम नै देखिन्छ । यो पत्र नक्कली हो भनेर प्रमाणित गर्न कुनै फरेन्सिक ल्याबको जरुरत नै पर्दैन । माथि लोगो अगाडी १ लेखिएको छ । त्यो पुरानो पत्रको १ अंकको छायाँ केजिन राईलाई गज्जबले गिज्याएर बसेकै छ । प्रत्येक लाइनमा पुरानो लिखत मेटाएको डाम गजबले देखिन्छ । नेपाल पत्रकार महासंघ केन्द्रको भनिएको लेटर सार्वजनिक गर्दा संसार भरिका पत्रकार चित खानेछन् भनेर यो पत्र सार्वजनिक गरेको चाहिँ हैन । यो नियतको भण्डाफोरको लागि मात्र हो ।

मलाई लाग्छ, पत्रकार महासंघकै इतिहाँसमा केन्द्रिय महासचिवको सहि छापको यसरि दुरुपयोग गरेको सायद यो पहिलो हुनुपर्छ । यसले एक त केन्द्रिय महासचिवको गरिमा र आत्मा स्वाभिमानलाई ठाडै चुनौती दिएको देखिन्छ भने अर्कोतिर केन्द्रको लेटर प्याडको दुरुपयोग गरेर सिंगो समितिकै प्रतिष्ठाको खिल्ली उडाउने काम भएको छ । यो काठमाडौँमा नक्कली प्रेश पास बनाउने धन्दा भन्दा गम्भिर अपराध हो । यो महासंघको इतिहाँसमा सहज हैन । त्यसैले यसको यथार्थ छानबिन केन्द्रले गर्नैपर्छ ।

   साथीलाई नश्लीय टिप्पणी किन ?

आफू र आफ्नो पद संकटमा पर्दा मानिसले अनेक किसिमबाट बचाउ गर्ने रहेछ । केजिन राईले हाम्रा एक साथीलाई पठाएको एक नश्लीय टिप्पणीले मन अमिलो भयो । जातको नामबाट लबिंग गरेर ति साथीलाई हामीले उठाएका मुख्य मुद्धाबाट अलग गर्ने प्रयत्न गरिएको रहेछ । साथीले केजिन राईको नियतबारे छर्लंग बुझ्नु भयो । त्यो कुरा हामीलाई पनि बाँड्नु भयो । साथी त्यति निच हुनुहोला भन्ने हामीले सोचेका पनि थिएनौं ।

पहिचानका मुद्धासँग कुनै साइनो नभएका पत्रकार महासंघ युरोप शाखाका मुद्धाहरु जातिय समस्यासँग सम्बन्धित छैनन् । हामीले उठाएका कुरा संगठनको पद्धति, पारदर्शिता र विधानको पालनामा भएका अटेरी, अर्घेल्याईं र मनोमानीसँग छन् । केन्द्रको लेटर र सहि छापको किर्ते गरेर बनाइएका फर्जी कागजहरुसँग छन् । हामीले संगठनमा नियमित तथा प्रक्रियागत अधिवेशनको समेत माग गरेका छौँ ।

मैले शाखाका निलम्बित अध्यक्षलाई यत्ति मात्रै भन्दछु कि हामी महासंघकै कारण जोडिएका हौँ र यसकै प्रतिष्ठाको पक्ष विपक्षमा अन्तरसंघर्ष बिष्फोट भएको छ । केन्द्रको लेटर र महासचिबको सहिछापमा तपाइले जसरि रकमी पाराले खेलीरहनु भएको छ यो पारा जाली तमसुकसँग खेल्ने सामान्त, सुदखोरहरुसँग मिल्छ । लुट लुटाईमा मात्र नक्कली तमसुक वा यस्ता कागजहरु बन्दछन् । यसबारे धेरै के भन्नु खै ! तपाई आँफै भन्नुहोस तपाइको यो प्रवृतिलाई नेपालको राजनैतिक र सामाजिक भाषामा के भनिन्छ ?

मलाई शाखामा देखि सहनु भएन र तपाइले शाखाबाट पन्छाउनपनि सक्नुभएन । कि कारवाही कि स्थान्तरण । मलाई पन्छाउने उपयुक्त बाटो स्थानान्तरण रोज्नु भयो । ठिक भएन । अझै बिधि पुगेन । किनकि बिधानत म स्थानान्तरण हुनको लागि मेरो निबेदन आबस्यक हुन्छ । त्यसको लागि केन्द्रको स्विकृति चाहियो । केन्द्रले महसुस गर्नुपर्यो नि ! कुनै बिधि नपुर्याई शाखा अध्यक्षले केन्द्रको पुरानो पत्रका अक्षर मेटेर ड्याङ्ग मलाई फायर हान्नु भो । मलाई सोधेको भए तपाइलाई तपाइकै अनुकुलको सहज बाटो देखाईदिन्थेँ । त्यसपछि तपाइकै परिवारभित्रबाट अध्यक्ष बनाउने बाटो खुल्थ्यो । तपाई अधिवेशनमा जान सक्नुपर्थ्यो । सदस्यता खुलाएर साथीहरुलाई अधिवेशन पछि समितिमा ल्याउने बाटो खुल्थ्यो । नेकपा, जात तपाइका कार्ड हुन् । दुवै पनि एकै साथ खेल्न सकिथ्यो । तर अक्षर उडाएर केन्द्रको लेटर प्याडको अनाधिकृत प्रयोग गर्ने बाटो असाध्य महँगो पर्नसक्छ ।

दोश्रो अधिवेशनमा पार्टीका दाईहरुको प्रायोग गर्ने बाटो रोज्नाले अधिवेशन भएन । त्यो सबैको मुख्य कारण तपाई आँफै हो । दाईहरुलाई शाखा कब्जा गर्न लगाएर थपडी बजाउँदै म बाहेक अध्यक्ष कोहि हुँदैन भनेर गर्जनु भयो । के तपाइँ बाहेक अरुको अध्यक्ष हुने ल्याकत छैन ? हामीलाई थाह छैन ? महासंघ कब्जा गर्न आएका पार्टीका दाईहरुले तात्कालिन केन्द्रिय अध्यक्ष महेन्द्र बिष्ट र महासचिव ऊजिर मगरलाई अपमान गरेर खुइल्याउदै नेपाल पठाएको भुलेका छौँ र ? त्यो सम्मेलन तपाइको कारणले असफल भयो । एक वर्ष पछि संयोजकको टिका ग्रहण गर्नुभएको हो । त्यसको जिम्मेवार तपाइँ नै हो ।

संस्थापक अध्यक्ष ददि सापकोटालाई छानबिनको जिम्मा पुरा गर्न दिएको भए अहिले जम्मा भएको फोहर अलिक सफा हुन्थ्यो । तर उहाँलाई सदस्यता छानबिन गर्न नदिएर डाँको छोडेर चिच्याउने अवस्थाको जिम्मेवार को हो ? अहिले महासचिवको सहिको दुरुपयोग, सिंगो केन्द्रिय समितिलाई समेत चक्मा दिँदै अक्षर मेटेर रातारात केन्द्रको पत्र तयार गर्ने ? अनि डिल्लीलाई बैतरणी तारियो भनेर चियर्स गर्ने ? यो पत्रले कसलाई च्यालेन्ज दिएको छ सोच्नुस त ! तपाइको दुस्साहसी हिम्मत देख्दा हैट भन्न मन लाग्छ। प्रतीक्षा गरौँ केन्द्रले के गर्छ ! अन्तिम उत्तर यहि हो।

तपाइँको प्रतिक्रिया