बिहीबार, वैशाख ६, २०८१

साहित्य एकेडेमी पुरस्कार : केहि संयोग, केहि वियोग-५

लीलबहादुर क्षेत्री / गुवाहाटी, असम२०७७ मंसिर १३ गते १५:०७

(पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस् , दोस्रो भाग हेर्न  यहाँ क्लिक गर्नुहोस्, तेस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोला, चौथो भाग पढ्न यहाँ क्लिक गर्नुहोला)

ओहो ! जेएनयूका मेधावी छात्र बिचरा सुमनराज! पछि गएर अमेरिकाको सान्फ्रान्सिस्कोतिर कार्यरत डा सुमनराज तिम्सिना । एकेडेमीको पुरस्कार समारोहपछि दिल्लीका हाम्रा सामाजिक संगठनद्वारा अभिनन्दन समारोह राख्ने र दिल्लीवासी गोर्खाली समाजसित हाम्रो परिचय गराउने मूलस्तम्भ नै उनी ! तर २० तारिखको अभिनन्दन समारोहपछि फेरि उनीसित भेट भएन । एक त उनको छात्रावास पनि अलिक टाढै पर्ने, दोस्रो हामीलाई भेट्न भनी दुई दुईचोटि अतिथिशाला आएछन् । तर विभिन्न कार्यक्रम लिएर डुलिहिँड्ने हामीलाई के फेला पारून् ? त्यसताक अहिलेको जस्तो चलभाष (चलभाष) सेवा पनि त अचल नै थियो ।

फर्कंदाको रेलको टिकटको आरक्षणको जिम्मा पनि उनैले लिएका थिए । अन्तमा केहि नलाग्दा “निकै प्रयास गर्दा पनि भेट हुन सकेन । अब भेट नहोला । टिकट प्रतीक्षासूची (वेटिङ लिस्ट) मा छ । तर पक्का हुन्छ” भन्ने लेखेको चिटसित टिकट गोमती गेस्ट हाउसको म्यानेजरको हातमा छोडेर गएछन् ।

टिकट हात पर्‍यो । विहान चार बजे छुट्ने गाडी रहेछ । त्यसका निम्ति आधा घन्टाअघि साढे तीन बजेसम्म स्टेसन पुग्नु पयो। ठाउँ पहिल्याउनु पयो। गेस्ट हाउसबाट तीनै बजे निस्किनु पर्‍यो । त्यति सखारै ट्याक्सी वा टेम्पो कहाँ पाउनु ? कसरी पुग्नु स्टेसन ?

तर धन्य हुन् डम्बरमणि प्रधान ! त्यस दिन विहान हामी पोका पुन्तुरा ठिक पारेर तीन बजेतिर निस्कन खोज्दै थियौं । डम्बर भाइ टुप्लुक्क आइपुगे । उनैले कतैबाट एउटा ट्याक्सीको जोगाड गरेर हामीलाई स्टेसनसम्म पुयाइदिए। गाडीको डब्बा र आरक्षित सिट नम्बर पत्तो लाएर हामीलाई गाडीमा बसालेर उनी फर्किए ।

मानिसका कतिपय गुण वा अवगुण, जीवनका केहिघटना अविष्मरणीय हुन्छन् । बरु मानिसको आकृति बिर्सिएला तर घटनाहरूको सम्झना स्मृतिमा रहिरहन्छ । आज साँढे तीन दशक समय बितेर गइसक्यो । तर उपरोक्त कुराहरू, जीवनका सङ्कटापन्न मोडमा स्नेही डम्बरमणि, सुमनराज जस्ताले लाएको मित्रसुलभ गुन मेरो स्मृतिमा छँदैछ ।

    उपसंहार

अब यस निबन्ध सम्बन्धी मैले केही भन्नुपर्ने हुन्छ । मैले जीवनमा साहित्यिक, सामाजिक वा शैक्षिक क्षेत्रमा अनेक पुरस्कार र सम्मान प्राप्त गरेको छु । पुरस्कार ग्रहण गर्न पुरस्कार वितरण समारोहको निम्तोमा अनेक ठाउँ पुगेको पनि छु। पुरस्कारबाहेक अभिनन्दन वा सम्बर्द्धना कति पाएँ त्यसको कुनै लेखाजोखा मसित छैन । ती अनगन्ती छन् । तर पाएका पुरस्कार वा पुरस्कार समारोहमा भएको उपस्थिति अथवा भव्य अभिनन्दन समारोहको ब्योहोरासम्बन्धी मैले कुनै संस्मरण लेखिनँ । अब त पुरस्कार वा अभिनन्दनका धेरै कुराहरू बिर्सी पनि सकें । मैले पाएको साहित्य एकेडेमी पुरस्कार सम्बन्धि मैले कुनै संस्मरण वा आत्मकथा लेखिनँ । लेख्ने विचार पनि थिएन।

हठात एउटा लहड चल्यो । कता, के कस्तो प्रेरणाले एकेडेमी पुरस्कारलाई पृष्ठभूमि, भनौं क्यान्भस बनाएर एउटा संस्मरणात्मक निबन्ध (नियात्रा) लेख्ने विचार पलायो । मैले १९८७ को एकेडेमी पुरस्कार १८ फेब्रुअरी १९८८ मा ग्रहण गरेको हुँ । त्यसको झन्डै २७ वर्षपछि सन् २०१५ को २७ जुलाईमा यो निबन्ध लेख्नथालें ।
आधिजसो लेखेपछि बिचमा पाँच वर्ष त्यसै थन्किएर बसेछ । कसो कसो फेरि आँखा पर्दा पूर्णताको दिशातिर यसलाई तन्काएँ र २६ मे २०२० का दिन बल्ल यसको खेस्रा लेखिसकें । अब यसलाई साफी गरेर प्रेस कपी तयार पार्न १५ दिन त लाग्छ भन्ने सोचेको थिएँ । तर आज यो हरफ लेख्दै गर्दा ८ अक्टोबर २०२० का दिन बल्ल साफी गरेर सिध्याएछु ।

यति कष्ट गरिसक्ता पनि लेखकको समस्या कहाँ टुङ्गिन्छ र ? अचेल डीटीपी को चिन्ता पनि लेखककै जिम्मा रहन्छ । अनि प्रश्न आउँछ यो कहाँ, कुन पत्रिकामा प्रकाशित गर्ने ? प्रकाशित हुन्छ, हुँदैन ? यति लामो निबन्ध कुन पत्रिकाले पो छाप्ला ?

जे होस्, धेरै साथीहरूको आग्रह छँदा छँदै पनि मैले आफ्नो जीवनी लेखिनँ । मसित नियमित डायरी अथवा जीवनसम्बन्धी भोगेका घटनावली र अनुभवहरूको कुनै तालिका वा टिपोट पनि छैन । मैले यो संस्मरण पनि सम्झनाकै भरमा लेखेको हुँ । विस्मृतिको गर्भबाट स्मृतिले थुतेका कुराहरू । मलाई खोज्नुपर्दा मेरा विभिन्न कृति अथवा सम्पूर्ण मेरा सिर्जनाको दहभित्र डुब्नुपर्छ । त्यसैले पछि आउने पिढीमध्ये कसैले जानकारी लिने चासो देखाए यो नियात्रा अथवा संस्मरण पनि मेरो जीवन तथ्यकै अंश बन्ने छ ।

यस प्रकार अधकल्चो पारेर छरिएका मेरा धेरै संस्मरण, निबन्ध, नाटक, कथा कवितादि मेरा कागजका बिटा, खाता, पत्रादि डायरीका पानाहरूमा फेला पर्छन् । तिनलाई तर पुनरावलोकन गर्ने, पूर्ण रूप दिने, साफी गर्ने मसित जाँगर छैन । समय पनि अब रहेन । अस्तु !

(क्षेत्री बसाई उपन्यासका लेखक हुन् । फोटो- विकिपेडिया डटकमबाट लिइएको हो)

तपाइँको प्रतिक्रिया