शुक्रबार, साउन १५, २०७८

झन चुलिँदै गएको नेकपा  बिवाद : चक्रव्यूहमै छन् ओली

लक्ष्मण देवकोटा२०७७ मंसिर १४ गते १४:१८

अति प्रतिक्षित नेकपा सचिवालयको वैठक केपी ओलीको ३८ बुँदे जवाफ सहित अर्को दिनलाई सारिएको छ । अर्का अध्यक्ष प्रचण्डले दर्ता गराएको १९ बूँदे अभियोगपत्रको ३८ बूँदे जवाफ हेर्दा प्रधानमन्त्री ओली अझै पनि राजनीतिको चक्रव्यूहमै अल्मलिइरहेको संकेतहरु छरपस्ट छन् । प्रचण्डका आरोपहरुको दह्रो र कडा जवाफ जस्तो देखिएपनि अन्तर्यमा उनी वार कि पारको शैलीमा उत्रिएका देखिएनन् । भन्न त ओलीले प्रचण्डको प्रस्तावलाई “तपाईंको नितान्त व्यक्तिगत असन्तुष्टि, सिमाहीन कुण्ठा र नीहित स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो मात्रै हो, यो प्रथम दृष्टिमै खारेजयोग्य छ” भनेका छन् । तर, सचिवालयको कठघरामा उभिनु बाहेकको अर्को कुनै बाटो उनीसँग देखिएन ।

विगतका बैठकहरुमा अस्तित्वमा नरहेका कार्यदलको जवाफ मान्दिन भनेर आफैले ती संगठनको पद्धति भत्काउन पनि नडराउने ओलीले प्रचण्डलाई जवाफ दिंदै भने- “तपाईंले आफ्ना एकतर्फी लिखतमार्फत् पार्टीभित्रका असहमतिहरुलाई शत्रुतापूर्ण अन्तरविरोधमा बदल्नुभएको छ र कम्युनिष्ट आन्दोलनलाई गम्भिर संकटमा धकेल्नुभएको छ । समयले यसको उचित हिसाब गर्ने नै छ ।” तथापी हरेक पटक मौजुदा विवादलाई आफ्नो पकडमा राख्न सफल ओली यस पटकको चक्रव्यूहमा भने नराम्रोसँग फसेका छन् । गूट बनाउन र गूटलाई तल्लो गाउँ कमिटीसम्म जुरुक्कै उचाल्न सक्ने ओलीलाई प्रचण्डले दर्ता गरेको दस्तावेजले यस्तो बनाएको छ जहाँबाट न उनी न निस्किन सक्छन न लडाईंको नैतीक हैशियत नै राख्छन् । प्रस्तावको नैतिक तरवार उनको टाउकोमाथि झुण्डिइरहेको छ ।

हरेक पटक मौजुदा विवादलाई आफ्नो पकडमा राख्न सफल ओली यस पटकको चक्रव्यूहमा भने नराम्रोसँग फसेका छन् ।

प्रचण्डलाई जिम्मेवारी दिएजस्तो पनि गर्ने तर पूर्व एमालेको अध्यक्षको दम्भ देखाएर आफू भन्दा सधै पुड्को देखाउन खोज्ने उनको प्रवृत्तिले प्रचण्ड अपमानित हुँदै आइरहेका थिए । अहिले दुई तिहाई निकट भारी मतको बहुमतिय सरकारको काम कारवाहीप्रति जनतामा निराशा बढदै गइरहेको कुरालाई प्रचण्डले जस्ताको तस्तै उतारेर दर्ता गरेपछी ईश्वर पोखरेल,विष्णु रिमाल, सूर्य थापाहरुले महाराजको वस्त्र क्या राम्रो भनेर जतिसुकै गुणगान गाएपनि सत्ता संचालनमा ओली पूर्णत असफल भएका छन् । यसको दोष प्रचण्डलाई दिएपनि वास्तविकता भने भ्रष्ट र आसेपासेको दलदलमा फँस्दै गइरहेका ओलीको अहंकार, सल्लाहकारहरुको द्रव्य स्वार्थ नै हो भन्ने कुरा बुझ्न घटनाक्रमहरु काफी छन् ।

स्वास्थ्य क्षेत्रको कुनै पनि विज्ञ, विशेषज्ञ नै नराखी अपारदर्शी तरीकाले कोरोना विरुद्धको सामान किनबेचमा भएको भ्रष्टाचार जनताले देखेकै छन् । ओम्नी समूहका अन्य कर्तुत बुझेकै छन् । यतिका नाममा भएको ब्रम्हलुट नजिकबाट हेरिरहेका छन् । भ्रष्टाचार गाउँगाउँदेखि सिंहदरबारसम्म जनताको नांगो आँखाले देखिने गरी छरपष्ट भएको छ ।

अलि नरम भएर जान र आत्मसमिक्षा गर्न आग्रह गरिरहेका ओलीकै सहयोगी प्रदीप ज्ञवाली र शंकर पोखरेलहरुकै आवाजलाई सुन्ने हो भने ओली उनकै आसेपासेहरुबाट यस्तो ठाँउमा पुर्याइएका छन जहाँँ विश्वासको कुनै गुन्जायस हुँदैन । ओलीलाई यसको होसचेत भएको देखिंदैन र उनी नांगिएकाछन् ।

चुच्चे नक्शाको कहानी पनि पटाक्षेप भइरहेको छ । बालुवाटारका सल्लाहकारहरुले भारत अब कालापानी, लिम्पियाधुरा दिन तयार रहेको भन्ने झूट कुरा आफू निकटका संचार माध्यममा फैलाइरहेका छन् । भारतीय विदेश सचिवको भ्रमणलाई ठूलो सफलता मान्नेहरुले दुवै पक्ष सामेल विज्ञ समूहको रिपोर्ट भारतले बुझ्न नमानेको तथ्यलाई मान्न तयार छैनन् । हर्षवर्धन श्रृँगलाको भ्रमणले कूटनीतिक चकमन्नता रहेको दुई देशको सम्बन्धमा वार्ताको आधार बन्ला नबन्ला त्यो भविष्यले बताउला । तर आफ्ना स्कूले नानीहरुलाई चुच्चे नक्शा भएको किताब नबाँड्नू भनेर ओलीले किन रोके भन्ने कुराको भने खसखसी रहिरहन्छ । यसको कारण के हो ? भारतीय संस्थापनसँगको मिलिमतोमा भएको सिलसिलेवार घटना हो या साँच्चिकै ओलीको महान देशभक्ति हो ?

अलि नरम भएर जान र आत्मसमिक्षा गर्न आग्रह गरिरहेका ओलीकै सहयोगी प्रदीप ज्ञवाली र शंकर पोखरेलहरुकै आवाजलाई सुन्ने हो भने ओली उनकै आसेपासेहरुबाट यस्तो ठाँउमा पुर्याइएका छन जहाँँ विश्वासको कुनै गुन्जायस हुँदैन । ओलीलाई यसको होसचेत भएको देखिंदैन र उनी नांगिएकाछन् ।

स्कूले नानीहरुले बालुवाटार कोटरीका कसैलाई सोधे पनि उनीहरु मास्क लगाएर भाग्नुपर्ने अवस्थामा छन् । राजनीतिमा पास फाल्न सिपालु ओलीले जवाफ दिन समय मागेदेखि युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने पासा फ्याँकिरहेका छन् । वामदेवले यस अघि चक्रव्यूहबाट निकाले झैं चुनावी प्रधानमन्त्रीको लोभ यसपटक ठाडै अस्वीकार गर्नु, माधव नेपालले भावी अध्यक्षको लोभ नमान्नुले गर्दा पनि ओलीलाई उकुसमुकुस भइरहेको छ । उनी सकेसम्म अलमल्याउने युवा पुस्ताको पासा विष्णु पौडेलबाट शुरु गर्दै प्रत्युत्तरको ३८ बूँदे जवाफमा पटक पटक दोहोर्याएका छन् । ओलीले जवाफमा लेखेकाछन्, ‘म आज खुल्ला आव्हान गर्न चाहन्छु, त्यागको यो सिलसिला आजैबाट शुरु गरौं । बारम्बार सरकार र पार्टीको नेतृत्व गरेका कमरेडहरुले अब जिम्मेवारी नलिऔं र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरौं । म यही दस्ताबेजलाई मेरो अध्यक्षको जिम्मेवारी हस्तान्तरणको औपचारिक लिखत बनाउन तयार छु । के तपाईं तयार हो ?’

खासमा भन्ने हो भने ओलीको यो पासा हो जसलाई उनले अहिलेको चक्रब्युह खोल्ने अस्त्रका रुपमा प्रयोग गरेका छन् । उसो भए प्रधानमन्त्रीले राजिनामा गरुन् । यदि प्रधानमन्त्रीले अहिले राजिनामा गरे भने प्रचण्ड र माधव नेपालमाथि ठूलो नैतिक दबाब पर्नेछ र नेतृत्व हस्तान्तरण हुनेछ । यसका विपरीत मैले सरकारको नेतृत्व छोडें भने देशै डुब्छ भनेर सार्वजानिक मंचमा ओलीले बोलेको धेरै दिन भएको छैन । उनी स्वयंले राजिनामा दिएर त्याग देखाए भने अर्कै कुरा हो नत्र ओलीको बोलीलाई विश्वास गर्न सकिने आधारहरु कतै देखिँदैनन ।

अर्को महत्वपूर्ण कुरा के छ भने ओलीले सम्पत्ति जाँचबुझमा प्रचण्डको अपारदर्शी आयआम्दानीलाई पनि घुमाउरो तरिकाले उल्लेख गर्न खोजेका छन् । यदि ओली साँच्चिकै बलिया हुन्थे भने अख्तियारका अधिकारीहरु खुमलटारमा खानतलासी पर्ची थमाएर प्रचण्डको हुर्मत लिइरहेका हुन्थे । त्यहाँसम्म जान सक्ने सामर्थ्य र हिम्मत ओलीले आफ्ना मानिसहरु अख्तियारमा भर्ति गरे पनि देखाउन सकेनन् । यसबाट लडाकु शिविरका घोटालाका कुरा उठ्ने मानिसहरुको आशा हराएर गयो ।

प्रचण्डमाथि जनस्तरमा अहिलेसम्म सुनिने आरोपहरु केवल राजनीतिक स्वार्थपूर्तिका निम्ति प्रयोग गरिएका केही हतियार मात्रै हुन् भनेर बुझ्न सबैले सक्ने भए । भारतीयहरु झैं चिनियाँहरु अहिले नेपाली राजनीतिमा खेलिरहेको सत्य कुरा हो ।

यसैगरि लडिरहेर फूटको डिलमा पुग्ने हो भने अध्यक्षबाट ओलीलाई हटाएर प्रधानमन्त्रीमा सिमित राख्ने चिनियाँहरुको रुचि भएको चर्चाहरु पनि नसुनिएको होइन । तर प्रचण्डलाई दिएको जवाफमा प्रष्ट रुपमा आगामी महाधिवेशनसम्म अध्यक्ष र पूर्ण कार्यकालसम्म प्रधानमन्त्री भएर काम गर्ने कुरामा ओली प्रतिवद्ध छन् । उनी यसको निम्ति जस्तो लडाइँ लड्न पनि तयार छन् । त्यहि लडाईंको एउटा अस्त्र हो, नयाँँ पुस्तालाई जिम्मेवेरए सुम्पिने कुरा । भारतीयहरुको दौडधूपको अन्तर्य ओलीको संरक्षण र एमसीसीलाई संसदबाट कुनै पनि मूल्यमा पास गराएर चीनलाई काउन्टर दिने हो भन्ने चर्चामा पनि सत्यता नहोला भन्न सकिन्न ।

यदि ओली साँच्चिकै बलिया हुन्थे भने अख्तियारका अधिकारीहरु खुमलटारमा खानतलासी पर्ची थमाएर प्रचण्डको हुर्मत लिइरहेका हुन्थे । त्यहाँसम्म जान सक्ने सामर्थ्य र हिम्मत ओलीले आफ्ना मानिसहरु अख्तियारमा भर्ति गरे पनि देखाउन सकेनन् ।

अर्कोतिर राजा आउ देश बचाउको नारा पनि बालुवाटारसम्मै गतिलोसँग सुनिन थालेको छ । यसभित्रको सामरिक राजनीतिको पाटो र क्षेत्रीय राजनीतिको असर के हो भन्ने विषयमा पक्कै पनि सत्ताधारीहरुलाई चिन्तित बनाएकैले होला, भूतप्रेतहरु भनेर राजावादीहरुसँग नेताहरु आक्रामक हुन पुगेका । देशको सबै राजकीय सत्ता हातमा लिएर बसेका ओली दलभित्रको यो महासंकटका सबैभन्दा प्रमुख जिम्मेवार पात्र हुन् । इतिहासले त यसको पनि मूल्याँकन गर्ला । र, अर्को ध्रुवसत्य के हो भने अहिले देशमा गणतन्त्र, संघियता जस्ता जे जति स्वतन्त्रताहरु आएका छन् यो ओलीको रुचिको विषय पनि होइन । सत्तामा रहनेहरु पारदर्शी हुनु, इमान्दार हुनु, कानूनको कार्यान्वयन गर्दा कठोर हुनु तर जनताको दुखसुखमा नरम हुनु, भ्रष्टाचार पटक्कै नगर्नु भन्ने कुरालाई ओली स्वयम्ले लगौंटी लगाइदिएका छन् । गोकुल बाँस्कोटा लगायतका भ्रष्टहरुको बचाउमा उनी जसरी उत्रिए त्यो नै देखिने गरी काफी छ भने नदेखिने गरी कति भ्रष्टाचार भए होलान् ?

संस्थागत रुपमा भ्रष्टाचार गर्ने र अख्तियारबाट आफ्नालाई जोगाउने ओली रणनीतिले पार्टीको बँचेखुचेको साख धुलिसात् हुने क्रममा रहेको छ । तर ओलीको कोटरी यो मान्न तयार छैन । उसले जनकपुरमा रेललाई त्रिपाल ओडाएर रेलको भाषण ठोक्छ । अढाई वर्ष बित्दासम्म महत्वपूर्ण संवैधानिक आयोगमा नियुक्ति गर्दैन । राजनीतिक नियुक्तिहरुमा विशुद्ध ओली गूटको, नेताको नातेदार, आफन्तलाई पहिलो प्राथमिकता दिने नीति अख्तियार गर्छ । भ्रष्टाचारको मामिलामा एशियाभरी नै रेकर्ड चुलिएको छ । यस्ता कुराहरुमा पार्टीको हस्तक्षेपकारी भूमिका देखिनै पर्दछ । नत्र नेपालको कम्युनिष्ट आन्दोलनमा पूर्णविराम लाग्न धेरै कुर्न पर्दैन ।

कम्युनिष्टको न्यूनतम आदर्शलाई पनि मान्छु भन्ने हो भने पार्टीले सरकार संचालन गर्छ । सरकारले पार्टी होइन । पार्टीको वैठक र बहसबाट भागेर प्रचण्डलाई पार्टी पद्धतिको अर्ति दिएको अलि सुहाएन कि ? कम्युनिष्ट आदर्शबाट सत्ताच्यूत भएका यी गैर कम्युनिष्टहरुको झिनाझपटीको मूल्य देशले पटक पटक तिरिरहनु पर्ने छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक