शुक्रबार, वैशाख ७, २०८१

कुहिनो ठोक्काएर गरिएको स्वागत ‘टाउकोमा हात लगाउने’ अवस्थामैं

नेपालप्लस कूटनितिक संवाददाता / काठमाडौं२०७७ मंसिर १४ गते १९:३७

चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेको आइतवार सम्पन्न ८ घण्टे नेपाल भ्रमणले जेजति होहल्ला मच्चाएको छ, त्यति २ दिने भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षबर्धन श्रृंगलाको उठबसले पनि मच्चाएको थिएन । आइतबार बिहान काठमाडौं उत्रिएका चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेलाई गृह मन्त्री रामबहादुर थापा ‘बादल’ले ‘कुहिनो ठोकाएर’ स्वागत गरे । हार्दिकताका नाममा रक्षामन्त्री फेङ्हेले राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग खुलेरै छलफल गर्न पाए ।

तर, औपचारिकताको र द्धैपक्षीय वार्ता भने प्रधानसेनापति पूर्णचन्द्र थापासँग मात्रै गरेर रक्षामन्त्री फेङ्हेले नेपाल–चीन सम्बन्धमा अनौठो मानक बनाइदिएका छन् ।

प्रधानसेनापति थापासँग जंगीअड्डामा भएको द्धैपक्षीय औपचारिक वार्तामा रक्षा सचिव रेश्मीराज पाण्डे वा परराष्ट्र मन्त्रालयमा चीन शाखा हेर्ने सहसचिव तहका अधिकारी पनि ‘सरिक’ हुन पाएनन् ।

चिनियाँ २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं उत्रिएका रक्षा मन्त्री फेङ्हेले भारतीय विदेश सचिव श्रृंगलाकै तवरमा ‘द्विपक्षीय सहयोगका कार्यक्रम यथाशीघ्र सुरु गर्ने आश्वासन दिएको’ नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । दुःखद संयोग के छ भने, यसअघि गत बर्ष नै घोषणा गरिएको चिनिया सहयोगमा झण्डै २ अर्व ५० करोड रुपैयाँको सैन्य सहयोग नेपाललाई दिइने भनिएको थियो । तर, यो सहयोग अझै आउन नसकेका कारण रक्षा मन्त्री फेङ्हेको भ्रमणमा यहि पुरानो कुरालाई बल्झाउने प्रयास मात्रै भएको बुझिन्छ ।

गत वर्ष असार पहिलो साता भएको प्रधानसेनापति पूर्णचन्द्र थापाको चीन भ्रमणका क्रममा १५० मिलियन आरएमबी (नेपाली २ अर्ब ४१ करोड रुपैयाँ) बराबरको सैन्य सहयोग गर्ने प्रोटोकलमा हस्ताक्षर भएको थियो । त्यसको तीन महिनापछि भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा थप १५० मिलियन आरएमबी बराबरको सहयोग गर्ने अनौपचारिक सहमति भएको थियो । तर, यी दुबै सहयोग हस्ताक्षरको कागजमा मात्रै सिमित छन् ।

चीनसँग १९५५ देखि कायम कुटनीतिक सम्बन्धपछि पहिलोपटक ०७३ सालमा चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण भयो । तत्कालीन रक्षामन्त्री बालकृष्ण खाँडको निमन्त्रणमा आएका रक्षामन्त्री जनरल चाङ वानक्वानको भ्रमणपछि ०७४ सालमा दोब्बर २३० मिलियन आरएमबी अनुदान घोषणा भएको थियो । चाङको भ्रमणका बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार थियो भने राजेन्द्र क्षेत्री प्रधानसेनापति थिए । चिनियाँ रक्षामन्त्रीको भ्रमणपछि नेपाली सेनाले चिनियाँ जनमुक्ति सेनासँग संयुक्त सैन्य अभ्यास ‘सगरमाथा फ्रेण्डसीप’ सुरु गरेको थियो ।

चीनसँग सैन्य अभ्यास थालिएसँगै भारतीय सेनाका अवकाश प्राप्त मेजर जनरल अशोक मेहताले त्यसवेला चीनले सैनिक सहायतामा वद्धि गर्ने घोषणा गरेर नेपाली सेनासँगको सम्बन्ध बढाउँदै गरेको टिप्पणी गरेका थिए । उनले सैन्य अभ्यासलाई नेपालमा बढ्दो चिनियाँ प्रभावका रुपमा अर्थ्याएका थिए । आलोचनापछि सेनाले ‘संयुक्त अभ्यास’ को नाम परिवर्तन गरेर ‘संयुक्त तालिम’ का रुपमा हालै तेस्रो संस्करण चलाइएको थियो ।

भारतका उच्च पदस्थको भ्रमणलगत्तै चीनबाट रक्षा मन्त्री एकदिने हतारको कार्यक्रम लिएर नेपाल आउनुमा कुनै रणनीतिक वा राजनीतिक अर्थ छ कि भनेर सरोकार बढिरहेका बेलामा यस्ता भ्रमणमा सम्बन्ध बिस्तारमा भारत–चीन आपसी होडबाजीबाहेक केही देखिएको छैन । ‘सहयोगी बन्न खोज्ने तर सहयोग भने नगर्ने’ यो रणनीतिमा कतै बेल्ट एण्ड रोड (बीआरआइ) योजनाको चिनियाँ प्रभाव बढाउन खोजेको देखिन्छ भने कतै अमेरिकी सहयोग ‘एमसीसी’लाई कार्यान्वयनमा आउन नदिनका लागि प्रपन्च गरिएको देखिन्छ ।

तर, सहयोग र भरथेगको अर्थमा पछिल्ला वर्ष न चीन अथवा न भारत नै व्यवहारिक रुपमा नेपालका लागि ‘उपयोगी’ देखिएका छन् । बरु भूराजनीति र राणनीतिक महत्वका अर्थमा केन्द्रबिन्दूमा उभिएको नेपालका लागि आश्वासन र मिठो बोलीका भरमा आफ्नो प्रभावमा राखिरहन चाहने रणनीतिमा दुबै छिमेकी लागेका देखिन्छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक