शुक्रबार, साउन १५, २०७८

कमजोर युगमा उभिएर बा लाई हेर्दा

गुमनाम परदेशी२०७७ मंसिर १६ गते १:२५

शहरको अली तल बस पार्क भन्दा थोरै यता एउटा बडेमानको आइरिस पब छ- जिन्जरगुज । अहिले बन्द छ । कोरोना बन्द नभएसम्म पब खुल्दैन । शहरको मुख्य आकर्षण यहि पब हो । यहाँँ खास अरु केही छैन । सेन्स्बुरी छेउका चार वटा कपडा पसल र जिन्जरगुज पबलाई छोड्ने हो भने पुरै शहर खोरिया खनेको पाखो जस्तो उजाड छ । तै पनि माथि डाँडाका गाउँहरुलाई छिचोलेर मान्छेहरु शहरमा ओर्लिन्छन् । आधा रातसम्म नचरी लगाउँछन । शुक्रवार राती बाजा बजाउनेहरु आउँछन । बुढा बुढी बेसुरमा नाच्छन । भरिएका दर्जनौं बियरका ग्लास रित्याउँछन । शहरलाई गुन्जायमान बनाउँछन । यस्तो लाग्छ जिन्दगी त्यहिंबाट शुरु हुन्छ ।

हुन त जिन्दगीका अनगिन्ती परिभाषा होलान् । हरेक परिभाषाको अन्त्यमा लामवद्ध उभिएका आआफ्नै गुनासाहरु होलान् । तै पनि यो उजाड शहरमा रंगिन जिन्दगी बाँच्नेहरुको कमी छैन । बाँच्नका लागि अलिकती दिन र थोरै रात भए पुग्छ । फरक रातहरुको सृंगार कसरी गर्ने भन्ने मात्र हो । “मैले रातहरुलाई सकेसम्म सुन्दर बनाउने कोशीस गर्छु । दिन भरि जताततै चुँडिएर बाँकिरहेका अलिकती आशाका टुक्राहरु रात रहुन्जेल गाँस्नु पर्छ” – डेभिड भन्छ ।

डेभिडको एउटा इत्रुको छोरो छ- १० वर्षको होला । साँझपख मसिनो पुन्टे साइकल लिएर बाउसँगै शहर झर्छ । बाउ जिन्जरगुजमा पसेपछि उसले पुन्टे साइकल कुदाएर शहरलाई ब्युँताउँछ । साँझपख उफ्रिने बतिला केटाहरुको उपर्तलीले शहर बाँचेको जस्तो देखिन्छ, नत्र शहर उस्तै छ- चेतना हराएको साधु जस्तो । रात नछिप्पिँदै आधा आधी मात्तिएको डेभिडले छोरोको साइकल काँधमा बोकेर उकालिन्छ । शहर देखि एउटा बाटो सिधै उत्तर पश्चिम हानिन्छ । यो बाटो धेरै माथि पुगेपछि दुईवटा चिरा परेको छ । एउटा लिड्स एयरपोर्ट तिर फनक्क घुम्छ भने अर्को सिधै हाइवेमा मिसिएर स्कटल्याण्ड तर्फ हुइकिन्छ । यहाँँ भन्दा अलि तल बोल्टन जंक्शनको थोरै देब्रेपट्टी बस्छ डेभिड ।

उमेरले साठी कटिसकेको छ । परार मात्र त्यसकी श्रीमतीले एकाएक छोडेर हिँडेकी थिई । त्यसपछी उ कहिल्यै फर्किन । छोरोको अनुहार हेर्यो, श्रीमती बिर्स्यो । एक हप्ता अघि सिटी पार्कको चर्च मुन्तिर भेटिँदा उसले खिस्स हाँस्दै भन्यो- “आइएम ह्याप्पी सिक्स्टी” । त्यसको छोरोले नजिकै आएर साइकलको घण्टी टिरिङ्गङ पार्‍यो र अर्को छेउतिर हान्नियो । “यो म जस्तो नहोस् भनेर चर्चमा ल्याउने गरेको छु । अलिकती ज्ञानका संस्कारका कुरा सिक्ला । म मरे पछी मेरो छोरो जिन्जरगुजमा नपसोस”- डेभिडका बुढ्यौली लाग्न तरखर गरेका आँखा निधार खुम्चिउन्जेल माथि उचालिए र चर्चको टुप्पोमा फर्फराएको रातो झन्डामा अडिए । मैले झल्झली इत्रुको आँफैलाई सम्झेँ । हाम्रा बा र डेभिड बिचको अन्तर खोजेँ । मेरो साइकल थिएन ।बाले कँधेरकुटी हालेर बाहिर निस्किन्थे । बाको पूजा चलुन्जेल म मन्दिर बाहिर टुक्रुक्क बसिरहन्थेँ । मेरो कलिलो दिमागमा भगवानको बडेमानको घर बनेको थियो । म आफ्नै मन भित्रका भगवानलाई हेर्थेँ । अद्भुतको दुनियाँ थियो भगवानहरुको । देउताहरुले छोराको मनमा बनाएको घर कहिल्यै नभत्कियोस भन्ने सोचाइ थियो बाको । मलाई पनि लाग्थ्यो, सबै देउताहरु मेरै मनमा बसाँई सरुन र यो पुरै ब्रहमाण्ड कलिलो मनबाट संचालित होस् ।

बाको टाउकोमा पाल्पाली ढाका टोपी हुन्थ्यो । त्यहाँ मुन्तिर काँधमा म हुन्थेँ । म सोच्थेँ, बाले मलाई र भगवानलाई सँगै बोकिरहेका छन् । बा र म यसरिनै धेरै पटक मन्दिरमा पुगेका छौं । बा शायद चाहनु हुन्थ्यो, मेरो छोरो म जस्तै बनोस । अहिले हेर्छु इत्रुको फुच्चेको बाउ बनेको डेभिड छोरो आफू जस्तो नहोस् भन्ने चाहन्छ । मलाई बाहरुको सोच उभिएको जमिन नाप्न मन छ ।

बिहानै नारायणीको निलो पानीमा डुबुल्की मारेर फर्किएँ । बाको दाहिने हातको चोर औंलो चरप्प समातेर नारायणीको तिरैतिर तल घुमाउनी सम्म पुग्यौं । हनुमान मन्दिर स्थापना गरेको टाकुरोलाई फनक्क घुमेर फेरि उसरी नै फर्कियौं । त्यहि दिन मेरो ब्रतवन्ध भयो । म बाको कँधेरकुटीबाट तल झरेँ । अब म शायद अली ठूलो भएँ बाको हात समातेर बुर्कुसी मार्न सक्ने भएँ । ब्रतवन्ध पछि मेरो दैनिक चर्यामा अलि बढी जिम्मेवारी थपियो ।

बिहानै उठ्नु पर्ने भो । ख्वाल्ल पानी खन्याएर नुहाउनपर्ने भो । काँधमा जनै थपियो । दैनिकी परिवर्तन भयो । “पढ्न जान्छस्” बाले सोधे । ‘जान्छु’ मैले कहाँ पनि भनिन । कालिका स्कुल छोडेर अलिपर जान मन छ । भोलिपल्ट बिहानै बाको हात समातेर हिडेँ । थुम्सी छोडियो । पहेंलै तोरी फुलेका खेतहरुले कत्ती पनि लोभ्याएनन् । नारायणघाट पुगे पछी सोधेँ “बा कहाँँ जाने हो र हामी “? बाले चियाको अन्तिम सुर्को निले घटक्क “देउघाट” । मन रोमान्चित भयो । पढ्नका लागि हरिद्वार वा ऋषीकेश जाने चलन गाउँमा पसिसकेको छैन । मेरो ब्रतवन्ध गराउने गुरु पनि देउघाट मै पढेका हुन् । तिनको हाउभाउ अजीवको छ । तिनी हात, मुख र आँखाले एकै पटक पुराणका सबै अध्याय छिमल्न सक्छन् । मन्त्र पढ्ने तिनको सुरिलो भाका लोभ्याउँदो छ । मलाई तिनै पंडित जस्तो हुनु छ । वाल्यकाल सबैको यस्तै होला । आकंक्षाका सुकिला पाना मनभरि फिँजारिएका हुन्छन् । देउघाट जाने कुनै साधन चल्दैन । बाटो पनि छैन शायद ।

हामी नारायणीको तिरै तिर धेरै माथि पुग्यौं । बा सुइय सुस्केरा हालेर थुचुक्क बसे- “थकाई लाग्यो” । “मैले बोकेर लान्छु नि” । बा खिस्स हाँसे । हामी देउघाट पुग्दा मध्ये दिन भएको हुँदो हो । अली माथिको झोलुङ्गे पुल तरेर अलिकति उकालो हिंडेपछि बडेमानको आपको रुख भन्दा उत्तापट्टी मैले पढ्ने आश्रम देखियो । आश्रमको भित्र त्यस्तो केहि थिएन । माथिल्लो भित्ताको आडैमा बनेको एउटा टहरो, त्यसको दाहिनेतिर पानीको धारो र ठ्याक्कै अगाडि सानो मन्दिर । म मन्दिरको अगाडि उभिएँ । बडा बडा टुप्पी पालेका म जत्रै मुडुला केटाहरुको एउटा हुल टहरो बाट बहिर निस्क्यो । यिनै सिकारु केटाहरु प्राय: बिहान तल कालीको तिरमा पिण्ड दिने सर्जाम मिलाएर आउने रहेछन् । अलि पुरानाहरु गाउँघरमा हुने सप्ताह र पूजामा चण्डी पाठ गर्न लगिन्छन् अरे ।

बा र गुरुको छलफल अझै चलेको छ । म त्यहहिँ उभिएको छु । भर्खरै टहराबाट बाहिर निस्किएका फुच्चेहरु लाई हेरेँ । उता गुरुका अगाडि बातमा मस्त बाको बेला बेला हल्लिने मुन्टो हेरेँ । म आफू बेच्न राखिएको बोको जस्तो लाग्यो मलाई । बा आधा दिन पछि फर्के । एक्कैछिन बाका काखमा बस्न पाएको भए ? त्यो दिनभरि म कसैसँग बोलिन । देउघाटको रात उदेक लाग्दो लाग्यो । भोलि बिहानै देखि शुरु भयो पंडित बन्ने क्रिया । चार बजे चिसो धारोमा थाप्पिएर नुहाउने । गायत्री जप गर्ने । छ बजे देखि कौमदी र चण्डी वाचन । पातलो धोतीमा बिहानभरिको जाडो । खपी नसक्नुका उखर्माउला दिनहरु । देउघाट र नारायणघाटको बिचमा पर्ने त्यो अघोर जंगल हुन्थेन भने म तेस्रो दिन नै त्यहाँबाट भाग्ने थिएँ । डर लाग्यो भागिन । बाँच्ने चाहनाले रोक्यो, कालिका स्कुल झल्झली सम्झेँ । बा पाँचदिन पछि आउने कुरा थियो, आएनन । मन आत्तियो- पुरै दुनियाँ एक निमेषमै सकिए जस्तो लाग्यो ।

शुक्रबारको बेलुकी पख मन्दिरको यत्ता टुप्लुक्क उभिएका बा, टहरो भित्रैबाट देखेँ । मलाई ह्वाँ ह्वाँ रुन मन लाग्यो । “किन रुन्छ यो” बाले मेरो टाउको मुसारे । “लौ हिँड पर्सी आउलास”- म बाको पछी लागेँ । धोती सोती लान्न । गुटुमुटु पारेर गुन्द्री मुनी घुसारेँ । झोलुङ्गे पुल तरेर वारी आइपुग्दा रात परिसकेको थियो । त्यता कतै बास बस्ने ठाउँँ थिएन शायद । तल नारायणी अनी माथिको घनघोर जंगल । मैले बाको दौराको फुर्को समातेर हिडेँ । त्यो चकमन्न अँध्यारोमा बा डराए जस्तो लाग्यो । तर मलाई कत्ती पनि डर लागेन । यस्तो लाग्थ्यो, एक दुईवटा बाघ भालु त मेरा बाले खुत्रुक्कै पार्दिन्छन । बासँगै हुँदाको साहस अर्कै हुन्छ । यो दुनियाँमा बा भन्दा बलियो अर्को मान्छे कोहि हुँदैन । बा हुँदा र नहुँदाका अनगिन्ती अवयव छिचोली साध्य हुँदैनन् । बाको त्यो हात, त्यो दौराको फुर्को, त्यो थचक्क बसेर संसार हेर्न सकिने काँध । जब बा हुँदैनन यो दुनियाले बेला बेला तर्साइरहन्छ । सिटी पार्कमा उफ्रिने डेभिडको छोरोलाई हेर्छु- चिन्न सक्ला र उसले बालाई । उसले पनि खोज्ला कुनै दिन आफ्ना बाका पैतालाका छाप । बा नहुँदाको कमजोर युग त्यसले पनि महसुस गर्ने छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक