शुक्रबार, वैशाख १४, २०८१

आफैं डाक्टर, आफैं बिरामी : ‘वायुसेवा निगम महाप्रबन्धकले लिए स्वार्थप्रेरित उपहार’

नेपालप्लस२०७७ मंसिर १६ गते १८:३४

निगम महाप्रबन्धक डिमप्रसाद पौडेललाई तिहारको उपहार दिँदै सोल्टी होटल कि सेल्स मेनेजर रोशनी श्रेष्ठ

काठमाडौं— गत कात्तिक ५ को नेपालप्लसमा एउटा समाचार छापियो— नमच्चिने पिङका सय झट्का : ‘निगममा आएको १० दिनमैं अनुशासनको १४ बुँदे पाठ शिर्षकमा । यो परिपत्रको बारेमा समाचार बनाएपछि त्यसमा रहेका भाषिक त्रुटि सच्याई त्यसकै दोश्रो दिन १६ बुँदे निर्देशन जारी गरेका पार्टी क्याडर (पूर्व एमाले) निगम महाप्रबन्धक डिमप्रसाद (प्रकाश) पौडेल आफैंले अपरेशन्स निर्देशक दिपुराज ज्वारचनको लहलहैमा लागेर सोल्टी होटलबाट ‘तिहार उपहार ग्रहण’ गरेका छन ।

भ्रष्टाचार निबारण ऐन २०५९ तथा नेपाल सरकारको नियमानुसार यसरि कसैसँग उपहार लिनुलाई भ्रष्टाचार हो भनि परिभाषित गरेको अवस्थामा महाप्रबन्धक डिमप्रसादले खुलमखुला उपहार लिएको तस्बिर स्वयं अपरेसन्स निर्देशक दिपु ज्वारचनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका थिए । अरुलाई परिपत्र र अनुशासनका नियम लाद्न जान्ने महाप्रबन्धकको आफ्नो यस्तो चर्तिकला देखेर निगम भित्रे जो चोर उसकै ठूलो स्वर भन्ने उक्ति चरितार्थ भएको छ ।

अपरेशन्स निर्देशक दिपु ज्वारचन अहिले बजारमा आफूले यति होल्डिङ्सका मालिक सोनाम छिरिडसगँ मिलेरै अहिलेका महाप्रबन्धक डिमप्रसादलाई ल्याएको स्पष्ट भएपछि ज्वारचनकै हालीमुहाली चलेको देखिन्छ । स्वयं महाप्रबन्धक समेत आफ्नै निर्देशनमा चल्ने कारणले आफूभन्दा धेरै सिनियर तथा अपरेशन्स निर्देशक हुँदाहुँदै पनि ‘आफूलाई कसैले हटाउन नसक्ने’ भन्दै ट्राभल एजेन्टहरुलाई बताउने गरेका छन् ।

निगम हाँकेको २ महिनासम्म कुनै नयाँ योजना ल्याउन नसकेका महाप्रबन्धक डिमप्रसाद निगमका उहि पूरानै कर्मचारी बाणिज्य बिभागका टंकनिधि दाहाल र दिपु ज्वारचनकै फन्दामा फसिरहेको तिहारमा आएको उपहार कान्डले पनि स्पष्ट पारेको छ । ‘नयाँ महाप्रबन्धकको नियति पनि पूर्ववर्ती मदन खरेलजस्तै निगम बनाउने भन्दा पनि पाएसम्म टिपनटापन गर्ने खेलमा लागेको देखिन्छ,’निगमका एक निर्देशक भन्छन्—‘संचयकोषको ऋण ब्यहभार, चिनिया जहाजको तनाव र कर्मचारीमाझ बढ्दो असन्तुष्टीका कारण डिमप्रसाद जीएम पनि अब केहि महिनाका लागि मात्रै टिक्ने देखिन्छ ।’

एमाले प्रचार बिभागका सदस्य तथा अनेरास्ववियूका नवलपरासी जिल्ला अध्यक्ष हुँदै असोजको तेस्रो साता राजनीतिक निगाहमा नेपाल वायुसेवा निगमका महाप्रबन्धक बनेका डिमप्रसाद (प्रकाश) पौडेलले आफू कुर्चीमा बस्नासाथै ल्याएको १४ बुँदे अनुशासन निर्देशिका कहाँ होला ?

स्टेशन मेनेजर दिपु ज्वारचनलाई उपहार दिँदै सोल्टी होटल कि सेल्स मेनेजर रोशिनी श्रेष्ठ

यो स्वयं महाप्रबन्धक डिमप्रसादलाई पनि थाहा नहुन सक्छ । तर, जारी गरेको एक महिना नबित्दै उनी आफैंमा ‘स्वार्थप्रेरित उपहार र बक्सिस’ लिन तम्सिए जुन आफ्नै निर्देशिका बिपरित छ । सेवाप्रदायक र सेवाग्राहीबीचको सम्बन्ध भनेको ‘उपहार लेनदेन’को भैदियो भने यसको अर्थ के हुन सक्ला ? तिहार पर्वको मुखैमा सोल्टी होटलका तर्फबाट नवनियुक्त महाप्रबन्धक डिमप्रसादलाई उपहार प्रदान गर्न र बधाइ ज्ञापन गर्न सोल्टी क्राउन प्लाजाकी सेल्स म्यानेजर रोसिन श्रेष्ठ महाप्रबन्धकसमक्ष पुगेको र उपहार प्रदान गरेको तस्वीर फेसबुकमार्फत सार्वजनिक भएपछि यसले ल्याएको सनसनी अझै सेलाएको छैन ।

फेसबुकको विवरणमा नेपाल वायुसेवाको १२ प्रतिशत बराबर ‘सेवा साझेदारी’ होटल सोल्टीमा रहेको भन्दै फुड क्याटरिङ, अन्तर्राष्ट्रिय पाइलट–एयर होस्टेसको लजिङ–फुडिङ सहितको सत्कार र हालै नेपाल वायुसेवाका बरिष्ठ पाइलट, कर्मचारीसहितको ‘कोरोना क्वारेन्टाइन–आइसोलेसन सेवा’मा समेत सोल्टी अग्रसर रहेको भन्दै फुलबुट्टा भरेर नेपाल वायुसेवालाई होटल सोल्टीमैं निर्भर झैं देखाइएको छ ।

सोल्टी क्राउन प्लाजाकी सेल्स म्यानेजर रोसिन श्रेष्ठले नेपाल वायुसेवाका अपरेसन म्यानेजर दिपु ज्वारचनलाई पनि उपहार प्रदान गरेको तस्वीर फेसबुकमैं भाइरल बनेको थियो । ‘यसरी स्वार्थ बाझिने प्रयोजनमा नियोजित ढंगबाट उपहार लिनुदिनु पनि भ्रष्टाचार हो’,ट्रान्सपरेन्सी इन्टरनेशनलका एक सदस्यले आपत्ती जनाउँदै उक्त उपहार आदानप्रदान बारेमा नेपाल वायुसेवाका महाप्रबन्धकलाई तत्काल सूचित गराएको भएपनि यसमा कुनै प्रतिक्रिया जनाइएन । जबकि होटल सोल्टीले फुड क्याटरिङ, अन्तर्राष्ट्रिय पाइलट–एयर होस्टेसको लजिङ–फुडिङ र हालै नेपाल वायुसेवाका बरिष्ठ पाइलट, कर्मचारीसहितको ‘कोरोना क्वारेन्टाइन–आइसोलेसन सेवा’का लागि नेपाल बायु्ुसेवाले करोडौं रुपैंया तिर्नैपर्ने हुन्छ ।

तपाइँको प्रतिक्रिया