बिहीबार, वैशाख १३, २०८१

जसको बाउ मोर्यो उसैको छोरो टुहुरो

उदय गौतम / कोपनहेगन, डेनमार्क२०७७ मंसिर १७ गते ०:१२

आज २०७७ सालको मंसिर १७ गते । भाई कृष्णले सहादत प्राप्त गरेको ५८४० दिन अर्थात १६ वर्ष पुरा भयो । एल्बममा फोटाहरु छन् । हरेक दशैंमा बाले त्यहि फोटा मध्येको भित्तामा झुण्ड्याएको एकल फोटोमा टिको लगाउनु हुन्थ्यो । र आँखाबाट बरर आँसुका ढिका झार्नु हुन्थ्यो । बुढेसकालले चाउरी परेका गाला भिजाऊँदै झरेका आँसु कमिजका बाउलाले सपक्क पुछेपछि टिको लगाउने पालो अन्य भाईहरुको आउँथ्यो । बडा नमज्जाको दशैको टिको १० वर्ष लगाउनु भयो । र बा अलप हुनु भो । आमाले भने यस्तो पापी दशैंको सामना गर्नु परेन ।

पुत्र शोकलाई शास्त्रमा पनि गम्भीर शोक मानिन्छ । यद्यपि सबै खाले शोक दुखान्त नै हुन्छन् । भाईको अवशानका केहि २-४ वर्ष बाले आँफैलाई पढाउनु भयो । सिकाउनु भयो । साहिँलाले भन्ने गरेको जनवादको लयमा लय मिलाउनु भयो । ‘मैले एउटा छोरो देशलाई दिएँ । मेरो साहिँलो छोरो मरेको होइन,सहीद भएको हो” भन्नेमा बालाई ठूलो गर्व पनि थियो । त्यो कुरा वहाँले बारम्बार भन्ने गर्नुहुन्थ्यो । त्यो शहिद हिँडेको बाटो, उसले ल्याउन खोजेका कुरा राम्रा थिए भन्नेमा बालाई पूरै विस्वाश पनि थियो । त्यहि विस्वाशले बालाई यति सम्म बलियो बनायो की हामीलाई समेत बाको त्यो बल देखेर अचम्म लाग्थ्यो ।

तेह्रौं दिनसम्म बा सामान्य ढंगबाट अलग बस्नुभयो । मृत्यु कर्ममा गरिने गरुड पुराण देखि शैया दान केहि पनि गर्नु भएन । गरुड पुराणमा लेखिएका कुरा बालाई रिट्ठो नबिराई थाहा थियो । काठ्माण्डु आएका बेलामा एक दिन बाले मलाई सोध्नुभो “हैन अब त माओबादी पनि सर्खारमा आयो । साहिंलाले भने जस्तै सबैका छोराछोरी सरकारी स्कुलमा पढ्लान त ? अनि जग्गा पास गर्न जाँदा हाकिमलाई खुशी पार्न लुकाएर केहि दिन त अब पर्दैन होला नि ! अनि काम गर्ने मुन्छेलाई बेसाहा खान ढुक्क सित पुग्छ त अब ?” आदि इत्यादि बाको जिज्ञाशाहरु अलि गहिरा थिए ।

                                  नेपाली सेनाद्वारा हत्या गरिएका स्व. कृष्ण गौतम

त्यसैले मैले एक सरो उत्तर दिएर चित्त बुझाउन सक्ने अवस्था थिएन । ‘खै’ मात्र भनेर टारें । ठूला प्रश्न मात्र होइन साना मसिना जिज्ञाशा पनि थिए बाका । खाना खाई सकेपछी चुठ्ने बेलामा दाँतमा सिन्को घुसार्दै अर्को दिन फेरी सोध्नु भयो, “खैतनी यी केटाकेटीलाई सर्खारले पढाईदेला जस्तो त मलाई लागेन । कसलाई भन्ने हो ? आजभोली त साहिँलाका साथीभाई पनि आउन छाडे घरमा । भेटघाटै हुन छाड्यो । जसको बाउ मोर्यो उसैको छोरो टुहुरो हुने त हैछ नि हैन ?” बाको जिज्ञाशा शान्त पार्ने खुराक म सँग पनि थिएन । एकसरो सुन्ने मात्र काम गरेर फोन आएको बहाना पार्दै कोठामा छिरें ।

कथित संयुक्त सुरक्षा फौजको हातमा परि सकेपछि पार्टी संगठनका गोप्य कुरा, योजना, बन्दोबस्ति तथा खरखजाना जानकारि दिएको खण्डमा जीवन दान दिने दुश्मनको आस्वाशनलाई लत्याउनु अहिले महान कार्य नहुन सक्छ । तर तात्कालिक परिस्थितिमा त्यो चानेचुने कुरा थिएन । खण्ड खातिर परेको अवस्थामा पार्टी छ, भन्ने विस्वाश थियो होला । आफ्ना छोराछोरीलाई निजि स्कुलमा पढाउन इन्कार गर्दै साहिँलाले एक पटक भनेको सम्झन्छु, “अब धनि गरिब सबैले सरकारी स्कुलमा पढाउने बेला आईसकेको छ । दुई खाले शिक्षाले एउटै देशमा दुई थरि नागरिक जन्माउनु हुँदैन ।”

२०६१ सम्म आईपुग्दा जनयुद्धको राप र तापले मुलुकका धेरैजसो भूभागमा सरकारको उपस्थिति पातलिँदै गएको थियो । गाउँमा पनि जुवातास, बेठिबेगारि, अन्याय अत्याचार बिस्तारै हट्दै थियो । मुद्दा मामिला सहज ढंगबाट गाउँमै फैसला हुन्थ्यो । कसैले न्याय नपाएर पिल्सिनु पर्ने अवस्था हट्दै थियो । तातो गोली निलेर मुलुकको रुपान्तरण हुन्छ भन्ने दृढता मनमा नउब्जि कसले पो प्राण त्याग गर्न सक्छ र ?

अहिले शहिद भन्ने शब्द धेरै सस्तो भैसक्यो । गणतन्त्रमा गाँण पलाएर उपचार गर्नुपर्ने अवस्था आईनै सकेको छ । हिजो प्राणको आहुति दिन लाम लाग्नेहरु जो बाँचेका छन्, उनीहरुमध्ये केहिको अवस्था अहिले फेरिएको छ । नाम चलेका मान्छेहरुको दिनचर्या अहिले बदलिएको छ । २०५२ साल पूर्वको अवस्थामा शासन, प्रशासन र समाज ब्यवस्था फर्किएको छ । यद्यपि नाममा अहिले गणतन्त्र छ । अन्य केहि एक दुइ थान नाम पनि फेरिएका छन् । त्याग,मितव्ययिता, बिधि तथा पद्धति सबै फेरिएका छन् । ‘आफ्ना रहरले ज्यान फालेका हौं’ भनेर सम्मुखमा नभने पनि प्राथमिकता अन्य कुराहरुमा केन्द्रित छन् । हाम्रो परिवारमा मात्र होइन, यो भन्दा अझ गहिरो पीडामा बेपत्ता परिवारहरु छन् । घाइतेहरुको कथा र ब्यथा अझ हृदय विदारक छ । केहि वर्ष पहिला शहिद दिवस मनाउँदा जुन भावनात्मक पक्ष प्रधान हुन्थ्यो अहिले आक्कल झुक्कल डाँडापाखा तिर मनाएको देखिन्छ ।

गणतन्त्र केहिलाई मज्जाले फापेको छ । हाम्रो परिवारमा पनि बिस्तारै शोकको घाउमा खाटा बस्दैछ । तर त्यो खाटा हाम्रो पुस्ताको जीवनकालमा मात्र हैन कि आउने पुस्ता सम्मनै बल्झीरहने गरि बसेको छ । बेला कुबेला घाउ बल्झिने र चहर्याउने क्रम निरन्तर चलिरहने छ । चाड, पर्व वा यस्तै विशेष परिस्थितिमा यो झनै चाहर्याउँछ । पीडा असैह्य हुन्छ । यो क्रम निरन्तर छ । बितेका १६ वर्षमा हाम्रो परिवारमा कुनै हाँसो छैन ।

भाई कृष्णले एउटा उत्तम कारणको निम्ति आफूलाई बलिबेदीमा चढाएको थियो । यसर्थ पनि उसले रोजेको त्यो उत्तम कारणको औचित्यको सवालमा समेत थुप्रै प्रश्नहरु उठ्न शुरु गरेका छन् । राजनीतिको बागडोर सम्हालेको नेतृत्वले समयमै यस दिशा तर्फा बेलैमा नासोच्नेहो भने जनता गणतन्त्र मात्र हेरेर बस्नु पर्छ भन्ने हुँदैन । एउटा गरिबलाई गणतन्त्र हेर्छस कि भात खान्छस भनेर प्रश्न सोध्नेहो भने उसको उत्तर ‘भात’ हुन्छ होला । शहिद परिवार र वालवच्चा, बेपत्ता घाइते वा युद्धका कारण सबलाङ्ग बाट अपांग बनेकाहरुको प्रसंग सकेसम्म कहीँ कतै नउठोस भन्ने मानसिकताको बिकास भएको छ । कथित दोहोरो भिडन्तका नाममा तत्कालिन सुरक्षा फौजले निसस्त्र व्यक्तिहरुलाई कत्लेआम गरी मानवता बिरुद्धको अपराध गरेको कथा सुन्दै र देख्दै आएका हामीहरु अहिले पनि पातलो रुपमा त्यस्तै कथा सुन्दै छौं । अहिले पातलो सुनिने यी कथाहरु बाक्लिँदै गए भने जनता कहाँ मुक दर्शक भएर बस्छन र ? अब फेरी कसैलाई पनि बुढेस कालमा हाम्रा बालाई जस्तो पुत्र शोकको असैह्य पीडा भोग्न नपरोस । कसैका श्रीमतीको सिउँदोको सिन्दुर नपुछियोस,कसैका बाल बच्चा टुहुरा नबनुन् । बिगतको द्वन्द राज्य बिरुद्ध जनताले गरेको हाकाहाकी बिद्रोह थियो भन्नेमा हाम्रो परिवारमा एक मत छ । अब त्यस प्रकारको द्वन्द इतिहाँस भैसकेको छ । शान्ती, संमृद्धि, सामाजिक न्याय र मेलमिलाप अहिलेको समयको माग हो भन्नेमा हामी दृढ छौं । तर यी कुराहरु निरपेक्ष भने होइनन । किनभने समय गतिशील छ । परिवर्तन अबस्यम्भावी छ ।

भाई हाम्रो परिवार को चहकिलो नक्षत्र थियो । उ हामीलाई सधै नभई नहुने जोदाहा र सूरबीर थियो । उ रास्ट्रको लागि पनि नभई नहुने कर्मबीर थियो । त्यसैले मुलुकलाई उसैको खाँचो पर्यो । त्यो खाँचो उसले पूर्ति गर्यो । बाल्यकाल देखिनै हरेक घटनाको पछाडि कुनै कारण हुन्छ भन्ने, सुक्ष्म अध्ययन गर्ने, हरेक रात डायरी लेख्ने, कसैबाट ५ रुपयाँ लिएको छ भने पनि डायरीमा नोट गर्ने र सम्झेर चुक्ता गर्ने उसको सानै देखिको बानी थियो ।

गुमाएको र अब यो भौतिक संसारमा भेट हुँदैन भन्ने जानेको आफ्नो परिवारको सदस्यको संस्मरण लेख्न सहज हुँदो रहेनछ । सोह्र वर्ष बिते हरेक वर्ष मंसीर महिना लागे पछि आङ् सिरिङ्ग भएर आउँछ । बिगतको सम्झनाले मन मस्तिश्क खलबल पार्छ । अनि प्यारो भाइ साहिलाले सहादत गरेको घटनाले मन बेचैन भएर सिर्सिकोटको कोदो बारीमा बिहानको शीतका थोपा नसुक्दै जल्लादहरुले घिसारेर स्कुलमा लगि बिद्यार्थी र स्थानियहरुको बीचमा पानी माग्दा समेत नदिएर तातो गोलीले गाउँको मास्टरको जीवन लीला समाप्त गरेको घटना र अहिलेको मुलुकको राज्यब्यवस्था प्रति जनतामा जागृत हुँदै गरेको बितृष्णाले मनमा घनघोर बतास चल्छ । श्रद्धान्जलीको निम्ति दुइ शब्द लेख्नु सजिलो काम हो तर । अबका हाम्रा सन्ततिले यी यावत कथाबाट थोरै मात्र भने पनि केहि प्रेरणा लिए भने शहिदका सपना खेर जाने थिएनन् ।

परिवारको एउटा सदस्यलाई गुमाएर शहिद बनाइयो । शहिद महान हुन् भन्ने कुरा औपचारिक आभूषण मात्र हुन् जस्तो लाग्छ । किनकि देशलाई शहिदको महत्व भन्दा नाबालक छोरा छोरीलाई बाबु आमाको महत्व कति र कस्तो हुन्छ बताईरहनु पर्दैन । भाइ कृष्ण गौतमको दुब्लो पातलो झुस्स दारी पालेको, ढाका टोपी लगाएको जिवन्त अनुहारको उपस्थिती अब हाम्रो घरमा हुने छैन भनेर सम्झ्यो भने पनि मात्र त्यो पिडा असैह्य हुन्छ । त्यो पीडालाई शब्दमा ब्यक्त गर्न असम्भव छ । हरेक काम गर्न सुरु गरे पछि प्रतिकुल अवस्थामा पनि त्यसलाई फत्ते गर्नुपर्ने, लेनदेन हिसाब किताब ५ पैसा पनि रिट्ठो नबिराइ डायरिमा टिप्ने, किन मेल गर्दा र गरिसकेपछी सबै चिजको फेहरिस्त तयार गरेर राख्ने, जस्ताको तस्तै हिसाब बालाइ महिनै पिच्छे बुझाउने, भारि बोक्नुपर्यो भने उठ्नै नसक्ने गरी बोक्ने, धाराबाट पानी बोक्दा २ वटा गाग्रिमा एकै चोटि पानी ल्याउनुपर्ने स्वभाव थियो भाई कृष्णको । कुनै पनि काम शुरु गरेपछि त्यसलाई सतप्रतिशतनै पूरा गरेरै छाड्नुपर्ने उसको जन्मजात स्वभाव जीवनको अन्तिम घडीसम्म पनि जस्ताको तस्तै रह्यो । दुस्मनको कब्जामा परेपछि पनि आफ्नो आस्थामा अडिग रहेको र गोपनियता भङग गरेर गद्दारी गर्नु भन्दा मृत्युलाई रोजेको कुरा प्रत्यक्षदर्शीहरु बताउँछन ।

भाई ! तिम्रो भौतिक अवशान सार्थक बन्नको लागि हामीले अझै कहिलेसम्म पर्खिनु पर्ने हो त्यो भने हेर्ने इक्षा अपुरै होला जस्तो छ । अहिले राजनीति अलि बिग्रेको छ । जनताले मुलुकमा भएको परिवर्तनबाट आफ्नो जीवनमा परिवर्तन महशुस गर्न सकेको अवस्था छैन । हामीले त्यति बेला गरिब देखेका हाम्रा नेताहरु धेरै अहिले धनि बनिसक्नु भयो । अहिले बिचार सिद्धान्तको कुरा कमजोरले मात्र गर्ने समय आईसकेको छ । कुरा तिम्ले सोचे जस्तो कहाँ भयो र ? यहाँ त अर्कै भयो । हामीले काठमान्डूको जय नेपाल सिनेमा हलमा पहिलो पटक हेरेको फिल्ममा जस्तै कुराहरु धेरै छिटोछिटो फेरिए । बुझ्नै गाह्रो भयो । छोटो समयमानै कुराहरु पर्दामा हेरे जस्तै भयो । त्यो महान अभियानमा तिमी सँगै हिँड्नेहरु धेरैको अहिले टूला टूला शहरमा घर बनिसकेका छन् । कुरा त यहाँ अर्कै भयो ।

आमुल परिवर्तनको लागि भएको त्यो महान त्यागले अझै मुर्त रुप लिनसकेको छैन । कहिलेकाहिँ त यस्तो लाग्छ, कतै शिर्शिकोट्मा बगेको त्यो रगतको भेल र पैयुँकोटमा दशैंको नवमीको दिन बलि दिएको रगतको बीचमा भेद खुट्ट्याउन गाह्रो भै सक्यो । तैपनि हामीले आशा भने अझै मारीसकेका छैनौं । तिम्रो बलिदानी महान छ भन्ने कुरामा भने कुनै शंका छैन हामीमा । मुक्ती या मृत्युको महान यात्रामा हामीले तिमीलाई कहिल्यै पनि बाटोमा काँडा तेर्स्याउने काम गरेनौं । आफ्नो उदेस्यमा तिमी प्रस्ट थियौ र उदेश्य प्राप्तिका एजेन्डाहरु पनि अकाट्ट्य थिए भन्ने कुरा पनि त्यत्तिकै सत्य हो ।

शायद हाम्रो समाजनै बर्गमा बिभाजित भएर होला बैचारिक असमानता र बर्गिय सोचको कारणले कोहि पनी यो दुनियाँमा सबैको नजरमा प्रिय हुन सक्दोरहेनछ । विश्वका महान बिचारक र दार्शनिकहरुलाई पनि तत्कालिन समाजले राम्ररी पचाउन नसकेको कुरा हामीलाई थाहा छ । स्वयम बुद्ध भगवानको सवालमा पनि यहि लागु हुन्छ । त्यसको अपवाद तिमी पनि हुने कुरा भएन । पन्चायति व्यबस्थाकै पालादेखि हाम्रो जस्तो रुढिवादी समाजमा र अझ त्यसमा पनि कट्टर ब्राह्मण परिवारमा एउटा प्रगतिशिल क्रान्तिकारी बिचार बोकेर अगाडि बढ्नु कति जोखिम थियो अनी कति अप्ठ्यारो । छोराहरु बिग्रे भनेर हाम्रो बुवाको मन बिगार्न पञ्चहरु कम्मर कसेर लागेका थिए । तैपनि बुवालाई हामी गलत बाटोमा लागेका छैनौं भन्ने पक्का थियो । दूरगामी परिवर्तनका लागि निरन्तर प्रतिबद्ध राजनीतिक अभियानको बाटोमा हामी लाग्यौं । तिमी त झन महासमरको यात्रामा सहभागी भएको कारण आज महान शहिद बन्यौ । दुश्मनहरुको कब्जामा परेपछी कायरहरुले तिम्रो प्राण पखेरु लिनुभन्दा पहिला पानी सम्म पनि पिउन दिएनछन् । प्रत्यक्षदर्शिहरुले हामीलाई त्यहि कुरा भने । योग्यता र क्षमता को धनी भएर पनि हेपिएका र चेपिएका दिन दुखीहरुको मुक्तीको लागि आफ्नो प्राणलाई बली बेदीमा चढाउने सम्मको हिम्मत तिमीले गर्यौ त्यसमा हामी गौरवको अनुभूती गरेका छौं । गरिरहने छौ। ।

कृष्ण गौतम प्रतिष्ठानको निर्माण गरेका छौं । १४ औं स्मृतिमा स्मृति प्रतिष्ठानले स्मृति ग्रन्थ प्रकाशन गरेको छ । प्रतिनिधि सभाका मा।सांसद पदम गिरीले भवन निर्माणको निम्ति आवस्यक सहयोग गर्नुभएको छ । हाम्रो परिवारको तर्फबाट जग्गा उपलब्ध गराएका छौं । लौकिक संसारमा आत्मा अलौकिक, दिब्य तथा अदृश्य हुन्छ भन्ने कुरामा मलाइ त्यति विश्वाश छैन । तर यदि हुन्छ भने तिमी र तिम्रा सहयोद्धा कमरेडहरु जसलाई तिमिसँगै कत्लेआम गरिएको थियो भवन निर्माण सकिए पछि त्यहीँ आएर बस्नेछौ । सधैँ जनताको आँखाको नानी, विद्यार्थीहरुको प्यारो गुरु र सहकर्मीहरुको अशल मित्र हुनुका साथै आफ्नो आस्था प्रति पहाड जस्तै अडिग रहने तिम्रा गुणहरु भावी पुस्ताको लागि समेत मार्ग निर्देशक बन्ने छन् ।

र, अन्त्यमा

भावपुर्ण श्रद्धान्जली सहित युगौं युगसम्म अमर रहने छौ।

तपाइँको प्रतिक्रिया