बुधबार, वैशाख १९, २०८१

किन विदेशिन्छन् नेपाली नर्स ?

अम्बिका घिमिरे२०७७ मंसिर १७ गते १६:१६

नेपालमा यी च्याउ झैं उम्रेका शिक्षण संस्थाहरुले के विदेश पठाउन मात्रै नर्सहरु उत्पादन गरेका हुन् ?

आफ्नो प्यारो परिवार छोडेर भर्खरकी १९-२० वर्षे केटी दशधारा आँसू झार्दै काठमाण्डू विमानस्थलबाट हात हल्लाएर विदेशी भूमिमा कठोर परिश्रमको लागि जाँदा हुने विछोडको पीडा र वेदनाको कुनै मापन छ ? नौ महिना पेटमा राखेकी आमा, काखमा हुर्काएर पढाएका अभिभावक र उ स्वयंको मानविय संवेदनातिर नजर डुलाएर सोचौं त । नेपाली नर्सहरु विदेशिनुका मुख्य कारणहरु मेरा दृष्टिमा यी हुन् ।

१- वेरोजगारी – नर्सहरु पनि वेराजगार छन् भन्दा तपाई छक्क पर्नुहोला । हो यहाँ नर्सहरु पनि वेरोजगार छन् । नर्सहरुको उत्पादन धेरै छ । आवश्यकता पनि छ । तर थोरै मात्र नर्सहरुलाई हाम्रो समाजमा खटाइएको छ । खटाउने अवसर प्रदान गरिएको छ ।

किन खपत थोरै ? भन्ने पनि प्रश्न आउला । लोकसेवा आयोगमा समय समयमा खोलिँदैन । पुरानो दरबन्दी त्यहि पनि पूरा भरिएको छैन । ९५ हजार नर्सहरुले अहिलेसम्म लाइसेन्स लिएका छन् । तर लगभग १० हजार मात्रै सरकारी जागिरमा छन् । अन्दाजी २५ देखि ३० हजार निजी स्वास्थ्य संस्थामा कार्यरत छन् । केही विदेशिएका छन् । बाँकी धेरै वेरोजगार छन् । अवसर खोज्ने क्रममा उनीहरु विदेशिन पुग्छन् ।

२- न्यून तलब सुविधा – आफू एक जनालाई पनि हातमुख जोड्न धौधौ हुने पारिश्रमिक जुन न्यूनतम ३ देखि १७ हजारसम्म छ, त्यसको कारणले पनि उनीहरु विदेशिन प्रयास गर्छन् ।

३- प्रशासनिक निकायबाट हुने भेदभाव व्यवहार : आफ्नो पूर्ण क्षमताले कामगर्ने इच्छा हुँदा पनि प्रशासनिक निकायहरुबाट हुने पक्षपातपूर्ण व्यवहारले उनीहरुको मनोबल गिर्न पुग्दछ । समस्याहरु सुनिदिएर समाधान गर्न सहयोगी भूमिका खेल्नु भन्दा धम्क्याउने, तर्साउने, थर्काउने र खुला रुपमा काम गर्न नदिने गरी मानसिक भयको श्रृजना गर्ने कारणले पनि विकल्पको रुपमा पलायन हुने प्रवृत्ति बढ्दै गइरहेको छ ।

४- सामाजिक तथा रोजगारीको असुरक्षा : निजी संस्थामा काम गर्ने नर्सहरु कुनै पनि बेला जागिरबाट निकालिने खतरा छ । शायद यस्तो किसिमको नियम कानून त हाम्रै देशमा मात्रै होला । जतिसुकै मिहिनेती र असल स्वास्थ्यकर्मी भएपनि व्यवस्थापन या आफू भन्दा माथिका सिनियरहरुलाई रिझाउन सकिएन भने जागिर जानसक्ने खतरा सधैँ रहिरहन्छ । नेपाली नर्सहरुलाई अझ देशको निम्ति बढि सोंच्ने र देश बनाउन पनि यो पेशामा क्रियाशील हुन्छु, गलत प्रवृत्तिको विरोध गर्छु भन्ने लाग्यो भने त उसको जागिर लगभग सिद्धिने सम्भावना हुन्छ । अलोकतान्त्रिक चरित्रका कारण धेरै नर्सहरुको जीवन असुरक्षित हुनुका साथै पलायनको खतरा पनि उत्तिकै रहिरहन्छ । चाकरी र चाप्लुसी गर्नेहरुलाई भने खतरा नहुन सक्दछ ।

५- नर्सिङको व्यवस्थापन गैर नर्सिङको हातमा हुनु : यौटा तल्लो स्तरको प्रशासनिक स्टाफले माथिको निर्देशन भन्दै नर्सिङ् स्टाफलाई जथाभावी चलाउन खोज्छन् । हेप्छन् । गैर नर्सिङको गैर जिम्मेवारपूर्ण व्यवहार, बोलीचाली र निर्णय प्रकृयामा हस्तक्षेप मात्रै होइन नर्सहरुको दैनिक कामकाजमा अनावश्यक तनाव उत्पन्न गर्ने चरित्रका कारण नर्सहरु पलायन भैरहेका छन् ।

६- योग्य नर्सहरुलाई जिम्मेवारी नदिनु : नर्सिङ क्षेत्रमा वर्षौंदेखि अनुभव सम्हालेका अनुभवी नर्सहरु नभएको होइन । जो आफ्नो काम र पेशाप्रति प्रतिवद्ध छन्, उनीहरु स्वाभिमानलाई बन्धकी राखेर फाइदाको लागि काम गर्दैनन् । नाम मात्रको पोष्ट दिने तर सोही अनुसार जिम्मेवारी र सुविधा नदिने प्रवृत्ति व्यापक रुपमा बढिरहेको छ । जब जिम्मेवारी दिइन्न, तब कसरी काम हुन सक्दछ ?

७ – सहि ठाउँमा सही मानिसको नियुक्ति नहुनु : नर्सिङ सेवामा योग्यता अनुसार विभिन्न पदहरु छन् । जस्तै : स्टाफ नर्स, सिनियर स्टाफ नर्स, निर्देशक, नर्सिङ डाइरेक्टर, इन्जेक्सन कन्ट्रोल नर्स, नर्स एजुकेटर । तर धेरैजसो संस्थामा स्टाफ नर्सलाई बिरामीको अनुपातमा होइन, उनीहरुलाई सकेसम्म सबै पदका सबै पदमा कुदाउन मिल्नेसम्म कुदाइन्छ । आफ्ना नातेदार, आफन्त या आफूले भनेको मान्ने चरित्र भएका मानिसहरुलाई सेवा, सुविधा थप्दै र जिम्मेवारी दिंदै जाने तर आफ्नो सानो पनि आलोचना गर्यो भने त्यसको हुर्मत काढ्ने चलन नेपालका स्वास्थ्य संस्थामा छ । सहि व्यक्तिलाई सही पद नदिने हाम्रो दरिद्र मानसिकता नर्स पलायनको अर्को जिम्मेवार कारण पनि हो ।

८- समाजमा महिलाको उचित सम्मान र इज्जत नहुनु : समाजले पुरुष डाक्टरलाई हेर्ने दृष्टिकोण र महिला नर्सलाई हेर्ने दृष्टिकोणमै पक्षपात छ । कति नर्सहरु डाक्टरले भन्दा धेरै वर्ष पढेर, असाध्यै ज्ञान अनुभवले खारिएका सिनियरहरु छन् । तर नेपाली समाजको रोगी दृष्टिकोणले महिलालाई कहिल्यै सम्मान गर्न जानेन । जबसम्म महिला र पुरुष स्वास्थ्यकर्मीलाई हेर्ने दृष्टिकोणमा समानता आउँदैन, निराश नर्सहरु देश छोड्ने क्रम रोकिने देखिँदैन ।

९- नर्सहरु महिला हिंसाको शिकार हुनु : रात्रीकालीन समयमा ड्युटीमा हुँदा मात्र होइन कतिपय बेला दिउँसोको बेला पनि नर्सहरु महिला हिँसाको शिकार भइरहेका छन् । नेपाली मिडियाले यस विषयमा कहिल्यै प्रश्न उठाएको छैन । हाम्रो समाजमा यो कहिल्यै छलफलको विषय बनेको छैन । पुरुष डाक्टरहरुले नै कतिपय महिला नर्समाथि अभद्र व्यवहार गर्छन् । शोषण गर्ने प्रयास गर्छन् । कतिपयले गरेर गुपचुप भएका घटनाहरु पनि छन् । बिरामीका कुरुवा पुरुषहरुले रात्रीकालीन समयमा गर्ने छेडखानी, रातिको समयमा काममा जाँदा लोग्नेबाट हुने व्यवहार, रातिको समयमा हुने असुरक्षाले नर्सहरुमाथि दिनहुँ महिला हिँसा भएको देखाउँछ । यस्तो परिस्थितिमा अन्य अवसरहरुको खोजी पनि पलायनको अर्को कारण हो ।

१०- बेजिल्लाको समस्या : घरमा साना केटाकेटी छोडेर बेजिल्लामा वा धेरैजसो फिल्डमा खटिनुपर्ने नर्सहरुको स्थिति झन् कहालिलाग्दो छ । माथिसम्म पहुँच हुनेहरु, राजनीतिक नेतालाई कानेखुशी गर्न सक्नेहरुको नियुक्ति त सधै राम्रै ठाउँमा भइरहेको हुन्छ । यो त हामीले देखिजानेकै हो । साना बालबच्चालाई घरमै छोडेर बेजिल्लामा काम गरिरहेका नर्सहरुको बारेमा कसैले कहिल्यै सोधीखोजी गर्ने र समाधान गर्ने प्रयास नै गरेको छैन । किनभने, माथिका मानिसहरुका लागि यो कुनै समस्याको विषय नै होइन । जो प्रताडित र पीडित छ, उनीहरुको आवाज सुनिदिने पनि कोहि छैन । अनि पाए यस्ता नर्सहरुले छोड्छन् त अवसर ?

यी सबै समस्याको समाधान कसरी गर्ने त ?

१- हरेक स्वास्थ्य संस्थामा बेडको अनुपातमा नर्सहरु राखिनुपर्दछ ।

२- योग्यता र क्षमता अनुसार पदपूर्ति गर्नुपर्यो ।

३- कामको उचित सुरक्षा, मूल्यांकन र लेखाजोखा हुनुपर्यो ।

४ -उचित पारिश्रमिक हुनुपर्यो ।

५- नर्सिङ सम्बन्धी नियम,कानून बनाउँदा नर्सहरुलाई समावेश गर्नुपर्दछ ।

६- कामको क्षेत्र अनुसार नर्सहरु राखिनुपर्यो । जस्तो कि औद्योगिक कलकारखानामा काम गर्ने नर्स, घरमा कामगर्ने नर्स, अस्पतालमा काम गर्ने नर्सहरुको विभाजन राम्रोगरी गर्नुपर्दछ ।

७ – कामको उचित सम्मान हुनुपर्दछ ।

८ – स्वास्थ्यकर्मीहरुबाट भएका ससाना गल्तीलाई पनि पहाड जस्तो बनाएर नर्सहरुको हुर्मत लिने चलन नेपालमा छ । यो नियोजित हो कि अन्जानवश भएको हो ? सहि र सत्यतथ्य छानविन गरेर निर्क्र्यौल निकालेर सोही अनुसार दण्डित गर्ने
व्यवस्था हुनुपर्यो । जनदबाबको कारण मात्रै निर्णय लिने पद्धति हट्नुपर्दछ ।

९ – नर्सहरुलाई सुरक्षित यातायात, आवासको व्यवस्था हुनुपर्दछ ।

१० – नर्सहरुलाई रोजगारी दिने संस्थाले नर्सहरुसँग नियमित छलफल, कुराकानी गर्नुपर्दछ ।

११ – काम गर्दै सीप अभिवृद्धि गर्न उच्च शिक्षा लिने, तालिम लिने अवसर प्रदान गर्नुपर्दछ ।

१२ – विदाको उचित प्रबन्ध गरी सीप अभिवृद्धिको लागि विदाको व्यवस्थापन गरिदिनुपर्दछ ।

१३ – नियुक्ति दिँदा सकेसम्म घर पायकको व्यवस्था गरिदिनुपर्दछ ।

१४ – नर्सहरुको पेशागत हक हितको लागि बनेको नेपाल नर्सिङ संघले यो विषयमा पहलकदमी र अगुवाइ गर्नुपर्दछ । नत्र किन चाहियो र यो एशोसियशन ?

१५ – नेपाल नर्सिंङ काउन्सिलले नर्सहरुको समस्या समाधान गर्न, नर्सहरुको पेशागत स्वाभिमान बढाउन र नर्सहरुको पलायन रोक्नको लागि उचित योजना बनाएर राज्यसँग छलफल गर्नुपर्‍यो र व्यवहारमा उतार्न राज्यलाई वाध्य पार्नुपर्‍यो ।

जुनसुकै सरकार आए पनि सरकारले नर्सिङ पेशालाई सम्मानित बनाउनेतिर कहिल्यै काम गरेन । पलायन भैरहेका नर्सहरुलाई देशभित्रै रोजगारी दिने र यहिँ बस्न अभिप्रेरित गर्नेतिर कहिल्यै सोचेन । नर्सिङ संघको आवाज पनि खासै सुनिएको जस्तो देखिँदैन । यसका निम्ति नीति निर्माणमा क्रियाशील महिलाहरुलाई नै सक्रिय नबनाइ नहुने देखिन्छ । मागहरु राख्दा हुन्छ भन्ने तर त्यो हुन्छलाई व्यवहारमा कहिल्यै नउतार्ने मनोवृत्तिका विरुद्ध सबै एकजुट भएमा नर्सहरुको पलायन रोक्न सहयोग पुग्थ्यो भन्ने लाग्छ ।

यसैसित संवन्धित अघिल्लो लेख

अन्याय भइरहेको छ कोरोनासँग जुधिरहेका नेपाली नर्सहरुमाथि

(घिमिरे नेपाल किष्ट अस्पतालकी पूर्व मेट्रोन तथा नेपाल नर्सिङ एसोसिएशनकी पूर्व कोषाध्यक्ष हुन्)

तपाइँको प्रतिक्रिया

फेसबुक