बुधबार, वैशाख १२, २०८१

कोरोना संक्रमणमा नेपाली पत्रकार : संकट पर्दा घरको मान्छे निकालिँदैन

तीर्थ कोइराला२०७७ मंसिर १७ गते १७:२२

कोरोनाको कारण हामी पत्रकारलाई मात्र होइन मिडिया उद्योगीहरु पनि संकटमा छन् भन्ने देखिन्छ । यसो हेर्दा नेपालमा मात्रै कोरोनाले संकट ल्याएको हो कि जस्तो देखिएपनि संसारैभरी यसले मिडियामा संकट ल्याइदिएको छ । कोभिडले संसार संकटमा भएको बेला उपाय खोज्दा हामीले पनि संसारसंग मिलेरै खोज्ने कुरा हो ।

अन्य संकटहरु भन्दा पनि मानिसहरु मानसिक रुपमा संकटमा परेको देखिन्छ अहिले । जागिर खाइरहेको मान्छेले भोलि के हुन्छ भनेर उ त्रसित छ । जागिरबाट अवकाश पाएको छ । बेतलबी बिदामा पठाइएको छ । या आधा तलबमा काम गराइएको छ । यो सबै संकट हो । काम भइरहेका पत्रकारहरुको पनि अर्को संकट के देखियो भने अफिसमा गएर काम गर्ने वातावरण अहिले निकै जटिल छ । किनभने सार्वजनिक गाडीहरु कम चलेका छन् । चलेका गाडीहरुमा जाँदा पनि कहाँबाट कोरोना सर्ने हो भन्ने कुराले त्रसित छन् मिडियाकर्मीहरु । खासगरी शहर बजारमा काम गरिरहेका पत्रकारहरुलाई यो त्रास बढि छ । उनीहरु बढि मारमा परेका छन् । उपत्यकामा सबैभन्दा बढि मिडियाकर्मी वेरोजगार थपिएका छन् ।

अहिले हामीमा एउटा नैतिक बल गुम्दै गइराखेको छ । कारण के भने पत्रकारिता भनेको स्वतन्त्र पेशा हो । यसमा दबाब, प्रभाव र अभाव हुनुहुँदैन भन्छौं । हामी कमजोर भइसकेपछि यी तिनवटै कुरा हुन्छन् । दबाब हुन्छ । प्रभाव हुन्छ र अभाव पनि हुन्छ । यो कुराबाट स्वतन्त्र पत्रकारितालाई असर पुग्छ । अभिव्यक्ति स्वतन्त्रतालाई असर पुग्छ । अहिलेको सन्दर्भमा के देखिन्छ भने जतिसुकै कुरा गरेपनि मिडियामा जति सूचना आउनुपर्ने हो त्यति आउन सकेको छैन ।

हामी भन्छौं, ‘सरकारले गर्नुपर्छ ।’ सरकारले दिनुपर्छ या त्यो माग गर्नु एउटा कुरा हो । सरकार आफैंपनि संकटमा फस्दै गएको छ । किनकि नियमित काम नभएपछि सरकार पनि सबल हुन सक्दैन ।

यसको समाधानको हिसाबमा सरकारले राष्ट्रबैंक मार्फत् कोष बनाएको छ । विज्ञापन वृद्धि गर्ने कुरा छ । ‘क्लिन फिड’ का कुरा छन् । यी कुराहरु भएपछि पनि त्यसले श्रमजीवी पत्रकारलाई या मिडिया हाउसमा काम गर्ने स्टाफहरुलाई र समाचारको गुणस्तर बढाउने कुरामा त्यसले के दिन्छ ? पत्रकारलाई बलियो बनाउने नबनाउने पनि समाचारको स्तरको अभिवृद्धिले नै हो । समाचार स्तरिय भएन भने हामी जति सम्पन्न भए पनि अर्थ राख्दैन । अहिलेको समस्या भनेको समाचारमा स्तरियता आएन भन्ने हो ।

टेलीभिजनहरुले अनलाईन अन्तर्वार्ता गर्छन् । जुम, म्यासेन्जर या ह्वाट्सएपबाट कुराकानी गर्छन् । त्यसले प्रोपर कम्युनिकेट (वास्तविक कुराकानी) नगर्दो रहेछ । हामीले त्यसको अभ्यास गर्यौं । त्यस्ता कुराहरुलाई छोडेर यो प्रविधिको प्रयोगलाई कसरी अझ जिवन्त र राम्रो गर्न सकिन्छ त्यतातिर ध्यान दिनुपर्ने छ । प्रविधिको हिसाबले हामी नयाँ भयौं ।

कोभिडले एउटा नयाँ कुरा के दियो भने हामीलाई नयाँ प्रविधिको प्रयोग गर्न सिकाइराखेको छ । आज जूम मिटिङ गर्ने भयौं । पेशालाई बलियो बनाउने हिसाबले कसरी गर्ने त्यो महत्वपूर्ण पाटो हो ।

पत्रकारलाई दुई, तीन वटा कुराले समस्यामा पारेको छ । आर्थिक रुपले पत्रकारले पाएको सुविधा कटौति गर्ने, थोरै पत्रकार राखेर काम चलाउने चलन बढ्दै गइरहेको छ । यो समस्या हो । २०४६ सालपछि पत्रकारिताको संस्थागत विकास भयंकर रुपमा भयो भनेका थियौं । होइन रहेछ भन्ने कुरा महसुस भएको छ अहिले । मिडिया हाउस, जहाँका साथीहरु बसेर ठूल्ठूला स्वरमा नेपालमा पत्रकारिताको संस्थागत विकास भयो भनेर ठूल्ठूलो स्वरमा भन्नुहुन्थ्यो । अहिले उहाँहरुकै जागिर गइरहेको छ । उहाँहरु मध्ये केहिले ‘ए होइन रहेछ’ भन्न थाल्नुभएको छ ।

यथार्थमा अब मिडियामा आउने नयाँ लगानीकर्ताहरुले पहिलो चरणमै वचत कोष राख्नुपर्दछ । त्यस्तो कोष राखेर त्यो पैसाबाट यस्तै आपतविपत पर्दा काम गर्नसक्ने हुनुपर्‍यो । लगानी र खर्च पारदर्शी बन्नुपर्यो । लगानी र खर्च पारदर्शी नहुनाले अब पत्रकारहरु या सपोर्टिँङ स्टाफले काम गर्नै नसक्ने, कमजोर हुँदै जाने, त्यहाँ लगानी गर्नेहरु बलियो हुँदै जाने । केहि मिडिया हाउसले अहिले यो समस्या समाधानको लागि अध्ययन थालेका छन् । पहिल्यै कोष भएको भए अहिले अध्ययन गर्नुपर्ने थिएन ।

पत्रकारितामा आउनु अघि पत्रकारलाई पनि एउटा ‘ओरियन्टेसन’ चाहिन्छ । म पत्रकारितामा आउँदा मलाई पढाउने क्रममा प्रेस इन्स्टिच्यूटका सरहरुले भन्नुभएको थियो ‘यो पेशामा नाम पनि हुन्छ, भोकै पनि मर्दैनौ । तर पैसा हुँदैन ! दुःख पनि छ है ।’ अहिले बलि बढि ग्ल्यामरस भएको छ यो पेशा । रहर र लहडले आउने पत्रकार धेरै भए । उनीहरुलाई पनि बेलैदेखि एकदमै भन्नुपर्ने अवस्था छ के छ भने ‘यो पेशामा दुःख छ ।’ दुःख त अरु पेशामा पनि छ । तर यो पेशामा बेग्लै छ दुख । किनभने आपत पर्दा फ्रन्टलाइनमा काम गर्ने त स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार र यातायातमा काम गर्ने मान्छेहरु नै रहेछ नि । यो महामारीमा कति मिडिया हाउसहरुले विमा नै गर्दिएनन् । गर्नै सकेनन् । अहिले यो आपत परेको बेला हामी आपतमा छौं भनेर कतिपयले तलब दिएका छैनन् । घरभाडा तिर्न नसकेर पत्रकारहरु निकालिनुपर्ने अवस्था छ । डिप्रेशनमा जाने स्थिति छ पत्रकारहरुको ।

त्यो अवस्थाबाट मुक्त गर्नका लागि अब मिडिया हाउसहरुले, उहाँहरुले कोअलिसन बनाउनु भएको छ । जस्तो पत्रकार महासंघ, श्रमजीवी पत्रकारहरुको पत्रकार महासंघ भएजस्तो उहाँहरुको पनि आआफ्नो संघ छ । टेलीभिजनवालाहरुको छ । साप्ताहिकको छ । दैनिक मिडियाको पनि छ । मिडिया सोसाइटी कि के भन्ने नाममा छ । उहाँहरुले बनाएको त्यो संस्थाको उद्धेश्य के ? त्यो संस्थाले यस्तो बेलामा काम गर्नुपर्छ भनेर किन भन्नुभएन ? किन सोच्नुहुन्न भनेर हामीले पनि लेख्ने बोल्ने र घच्घच्याउने बेला आएको छ ।

अहिले मार्केटिङको पक्ष एकदमै कमजोर छ । मार्केटिङ नभएको बेलामा कसरी गर्ने ? केहि मिडिया हाउसका साहूजीहरुसँग मैले कुरा गर्दा मैले भनें ‘राम्रो भएको बेला त्यहाँबाट आएको आम्दानीलाई अन्त लगानी किन गर्नुभयो ?’ मैले थप प्रश्न गरें ‘तपाईहरुले त्यहाँ आएको पैसा किन अन्त लानुहुन्छ ?’ ‘होइन आपत परेको बेला तपाईहरु जस्तै साथीहरुलाई दिन सकिँदैन होला भनेर यो गर्‍या हो’ भन्नुभयो । तर, यो संक्रमणको बेला कसैले निकालेको थाहा पाइन मैले । सरकारसँग पनि उहाँहरुले माग्ने, तल पनि उहाँहरुले तान्ने, माथिबाट पनि तान्ने, बिचमा उहाँहरु मूठी कस्ने, बस्ने ।

त्यसैले, अहिलेको हाम्रो आवश्यकता भनेको सरकारले अथवा अरुले गर्ने सहयोगबाट मिडिया हाउस बलियो हुनुको अर्थ त्यहाँ काम गर्ने मान्छे पनि बलियो हुनु र समाचारको स्तर अझ मास्तिर आउनु हो भन्ने कुरा त्यहाँनेर ज्ञान दिनुपर्‍यो । पत्रकारहरुको लक्षित समूहहरु मिडिया हाउसहरु पनि हुन् ।

सरकारले जसरी श्रमजीवीको पक्षमा सोच्नुपर्ने हो यो बेला । तर सकेन । सरकार आफैंले गर्नुपर्ने पनि होइन । अप्रत्यक्ष रुपमा पनि सरकारले सहयोग जुटाउन सक्छ ।

जस्तै बैंकलाई तुरुन्तै प्रभावकारी बनाउन सकिन्छ । विमा कम्पनीहरु अहिले पनि नाफामा छन् । उनीहरुलाई सक्रिय बनाइदिन सकिन्छ । विभिन्न सहुलियत र विज्ञापनको लागि बैंकहरुलाई भन्न सकिने अवस्थापनि छ । अर्कोतिर भन्न त संघियता भनिएको छ । प्रदेश सरकार छ । स्थानीय सरकार छ । सोझै दिन नमिले फेलोसिपहरु छन् । त्यो मार्फत् पनि पत्रकारहरुलाई सहयोग गर्न सकिन्छ । लेखनवृत्तिका अरु कुराहरुबाट अगाडि लान सकिन्छ ।

लगानीकर्ताहरु, श्रमजीवीहरु हतोत्साहित भए । किनभने ठूलाठूला मिडिया हाउसहरुले पनि मान्छेलाई ब्वाङ कि ब्वाङ निकाले । निकालेपछि समस्या भयो । यस्तो हुनबाट कडा तरिकाले रोक्ने काम सरकारको हो । किनभने तिमीहरु यसो गर्न पाउँदैनौं भनेर सरकारले भन्नुपर्थ्यो । संकटमा त मिडिया हाउसमात्रै हो र ? अरु उद्योग पनि त परेका छन् नि ! अरु उद्योगलाई परेको संकट पनि बुझाउनु पर्छ । संकट पर्दा घरको मान्छे निकालिँदैन । घरमा खान पुगेन भने घरको सदस्य त घरबाट निकालिन्न । जेजति छ बाँडिचुडी खाने हो । त्यो हिसाबले यो सन्देश दिनुपर्छ । सरकारले सन्देश दिने कुरा यो हो ।

अहिले समाचारको गुणस्तरमा सबैभन्दा बढि असर भैरहेको छ । पत्रकारलाई अल्छी बनाउने होइन फिल्डमा जानको लागि आवश्यक सुविधा र सुरक्षा बढाउनु पर्दछ । अन्तर्राष्ट्रिय संघसंस्थाबाट के सहयोग हुनसक्दछ भनेर खोज्नुपर्दछ । सबैभन्दा ठूलो आशा गरिएको ‘क्लिन फिड’ आएपछि के हुन्छ भनेर आशा गरिरहेका छौं । त्यो कसरी लागू हुने हो त्यसको रुपरेखा आउन बाँकी नै छ । त्यो आउनुपर्छ । यो सँगसँगै स्थानीय निकाय, नगरपालिका, गाउँपालिका, यिनीहरुले विज्ञापन दिन सक्छन् । यिनीरुले लेखनवृत्ति पनि दिन सक्छन् । स्थानीय निकायमा जानुपर्छ भन्ने लाग्छ ।

गलत सूचना र हल्लालाई कम गर्न बाहिरै निस्कनुपर्दछ पत्रकार । बाहिर निस्कने वातावरण त हुनुपर्‍यो नि पत्रकारलाई ।

(पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल इन्जाको दोश्रो ग्लोबल कन्फ्रेस २९ नोभेम्वर २०२० आइतवारका दिन मेडियाका विषयमा प्रस्तुत कार्यपत्रहरुमाथि वरिष्ठ पत्रकार तीर्थ कोइरालाले व्यक्त गर्नुभएको टिप्पाणीमध्ये सम्पादक लक्ष्मण देवकोटाद्वारा सम्पादित महत्वपूर्ण अंशहरु । कोइराला इन्जाका सल्लाहकार पनि हुनुहुन्छ ।)

तपाइँको प्रतिक्रिया