शुक्रबार, वैशाख ७, २०८१

एन आर एन पोर्चुगल र लक्ष्मी ट्राभल्सद्वारा नेपालीमाथि ठगी

नेपाल प्लस२०७७ मंसिर १७ गते २१:१७

नेपालीहरुको सेवा गर्न भनेर खोलिएको एन आर एन ए पोर्चुगलेनै नेपालीमाथि अनियमितता गरेको आरोप लागेको छ । पोर्चुगलकै लक्ष्मी ट्राभललेपनि त्यहाँका नेपालीलाई ठगि गरेको आरोप छ । नेपाली जनप्रगतिशिल मोर्चा पोर्चुगलले आज एक बिज्ञप्ती जारि गर्दै त्यस्तो आरोप लगाएको हो ।

‘लक्ष्मी ट्राभल्स पोर्तुगल द्वारा ठगी र एनआरएनए, पोर्तुगल कार्यालय कर्मचारी द्वारा पासपोर्ट नवीकरण प्रकृयामा गरिएको आर्थिक अनियमितता’ बारे मोर्चाले पिडितहरुसँग बुझ्ने काम गरिसकेपछि यस्तो बिज्ञप्ती सार्वजनिक गरेको उल्लेख छ ।

लक्ष्मी ट्राभल्सले नेपालमा पठाउने रकम लिने तर समयमा नदिने, सेवाग्राहीले पटक पटक अनुरोध गर्दा पनि महिनौंसम्म आलटाल गर्ने जस्ता कृयाकलापले धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाइ पिडित बनाएको मोर्चाले आरोप लगाउँदै बिज्ञप्तीमा भनिएको छ “कोरोनाको बिरामीको उपचारार्थ परिवारलाई पठाइएको रकम पनि समयमै उपलब्ध नगराईदिनु अत्यन्तै निन्दनीय कार्य हो ।” यस्ता गतिबिधीहरु तत्काल रोक्न र चुस्त दुरुस्त सेवा दिन मोर्चाले लक्ष्मी ट्राभल्सलाई आह्वान गरेको छ ।

नेपालबाटै अनेक प्रलोभनमा फसाएर पोर्तुगल आइपुगेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु यहाँ आइसकेपछि पनि बिभिन्न खाले ब्यक्तिहरुले दैनिक ठगेका सैयौं उदाहरणहरु भएकाले जनप्रगतिशिल मोर्चाले यस्तो ठगी कार्य नगर्न सचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेकोपनि बिज्ञप्तीमा उल्लेख छ । एनआरएनए, पोर्तुगलनै उक्त कार्यमा संलग्न भएकोमा मोर्चाको गम्भीर ध्यानाकर्षण भएको भन्दै एनआरएनए, पोर्तुगल कार्यालय कर्मचारीले राहदानी नवीकरण प्रकृयाको लागि लिएको रकम समेत हिनामिना गरिएको पाइएको उल्लेख छ । मोर्चाले भनेको छ “आफूलाई सामाजिक संस्था भनेर दावी गर्ने संस्थाको कार्यालयबाट नै यस्तो गलत कृयाकलाप हुनु खेदजनक छ ।”

लक्ष्मी ट्राभल्स र एन आर एन ए दुबैलाई आफ्ना कमी कमजोरी तत्काल सच्याउन र पिडितहरुको माग यथाशिघ्र सम्बोधन गर्न मोर्चाले आव्हान गर्दै बिज्ञप्तीमा भनेको छ “अन्यथा पोर्तुगलमा आइपुगेका श्रमजीवी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको हकहितको पक्षमा संघर्षरत हाम्रो संगठन कडा संघर्ष गर्न बाध्य हुनेछ ।”

तपाइँको प्रतिक्रिया

फेसबुक