बिहीबार, वैशाख १३, २०८१

भारत किन झुक्यो ? ‘नेपालसँगको समस्या सामान्य’: भारतीय विदेश मन्त्री

नेपालप्लस कूटनितिक संवाददाता / काठमाडौं२०७७ मंसिर १८ गते १९:४९

भारतका विदेश मन्त्री एस जयशंकर

पछिल्लो एक महिनाको अन्तरमा भारतबाट ३ वटा उच्चस्तरका भ्रमण भएका छन्— गुप्तचर संस्था ‘रअ’ प्रमुख, सेनाध्यक्ष र विदेश सचिव स्तरमा । आखिरमा भारतीय संस्थापन पक्ष र भारतीय जनता पार्टी नेतृत्वको मोदी सरकारले बल गरेरै नेपालसँग पुनर्सम्बन्ध राख्न किन चाह्यो त ? नयाँ राजनीतिक नक्सा सार्वजनिक भएपछि र लिम्पियाधुरासम्मकै जमिनमा हकदावी गरिएपछि चिढिएको भारत आफैं किन काठमाडौंसम्म आएर बिनम्र स्वरमा ‘नेपाल–भारत भाइभाइ’ भनिरहेको छ त ?

यो रहस्यको पोको अझै फुकिसकेको छैन । तर, मंसीर महिनाको अन्त्यमा उच्चस्तरीय संयन्त्रको बैठकमा भाग लिन जान लागेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली पनि अहिले नेपाल–भारत सम्बन्ध ‘सहजीकरणको दिशामा गैसकेको’ बताउन थालेका छन् । एकाएक भारतका विदेश मन्त्री एवं नेपाल मामलामा कट्टर रहँदै आएका एस. जयशंकरले ‘नेपाल र भारतबीच बिगतमा केहि समस्या रहे पनि अहिले दुबै मुलुकले आपसी सम्बन्धलाई अगाडि बढाउने निर्णय गरिसकेको दाबी’ गर्ने पोजिसनमा पुगेका छन् ।

भारतीय दैनिक पत्रिका ‘द हिन्दू’मा बिहिबार छापिएको अन्तर्वार्तामा जयशंकरले कति सजिलो गरी ‘विश्वभर आफ्ना छिमेकी मुलुकसँग कुनै समस्या नरहेको मुलुक नभएको’ समेत दाबी गरेका छन् । नेपालको संविधान जारी हुने बेलामा विदेश सचिव रहेका जयशंकरले काठमाडौं उत्रिएर नेपालको संविधान पूर्ण समावेशी नभएको भन्दै संविधान जारी नगर्न दबाव दिएका थिए । तर, लगत्तै संविधान जारी गरेपछि चिढिएको भारतले नेपालमा झण्डै ६ महिना नाकाबन्दी लगाएको थियो । ‘उनीहरुको (नेपालमा) आफ्नो राजनीति छ । हाम्रो आफ्नै राजनीति छ । विवाद त भइहाल्छन् । मुख्य कुरा विवादलाई कसरी व्यवस्थापन गर्छौं भन्ने हो । प्रमुख प्रश्न भनेको समस्याको समाधानका लागि साझा बिन्दु कसरी पहिल्याउने भन्ने हो ,’ जयंशकरले अन्तर्वार्तामा भनेका छन् ।

तर, छिमेकसँगको सम्बन्धमा पछिल्ला वर्षहरुमा व्यापक बद्लाव आएको समेत उनले दाबी गरेका छन् । जयंशकरले संविधानको विषयलाई लिएर भारतले जनाएको आपत्तिलाई कुनै एउटा घटना विशेषका रुपमा हेर्नुपर्ने र त्यसैका आधारमा दुई देशबिचको सम्बन्धका बारेमा निष्कर्षमा पुग्न नहुने बताएका छन् ।

‘भारतले चाहेर यसरि हतारमा नेपालसँगको सम्बन्ध सपार्न चाहेको होइन,’ भारतका लागि एक पूव राजदूत भन्छन्—‘नेपालमा बढेको चिनिया प्रभाव र ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’का नाममा चीनले नेपालमा ल्याउन लागेको बृहत लगानीबारे सूचना पाएर भारत आफैं काठमाडौंमा हारगुहारमा आएको हो । चीनले नेपालमा सुरुङ मार्ग, रेल्वे, सडक संजाल र उर्जा क्षेत्रमा लगानी गर्ने भनेर ९ वटा विशेष योजना पारित गरिसकेको अवस्थामा भारत हतास भएर नेपालसँग संवादमा आएको हो । यो भूराजनीति र कुटनीतिको असर मात्रै हो ।’

यसो भन्दैमा कालापानीबाट भारतीय सेना हट्ला अथवा सुस्ता भूभागको हकदावीमा भारत पछि पर्ला भन्ने होइन । बरु ‘आपसी विवाद र समस्या नियमित तवरमा हुने वार्ताहरुबाट सुल्झाउँदै लगिने’ भन्ने किसिमको अमुर्त सहमती बनाएर रहे भएका मुद्धामामलालाई तन्काउँदै लैजाने भारतीय रणनीति यसपटक पनि सफल हुनै लागेको ती पूर्व राजदूतले बताए ।

तपाइँको प्रतिक्रिया