शुक्रबार, वैशाख १४, २०८१

जर्मनीमा नेपालीद्वारा नेपालीमाथि हतियार प्रहार, पिडितको अवस्था चिन्ताजनक

दिपक देवकोटा / हेमबर्ग, जर्मनी२०७७ मंसिर १९ गते १:००

जर्मनीको प्रसिद्द बन्दरगाह शहर ह्याम्बर्गस्थित बेर्गेडोर्फमा एक नेपालीले नेपाली माथि नै मासु काट्ने दाउले प्रहार गरेका छन् । उक्त प्रहारबाट गम्भिर घाइते भएका व्यक्ति स्याङ्जा घर भइ ह्याम्बर्गमा रेस्टुरेन्ट व्यवसाय गर्दै आएका बिजय खड्का रहेको खुलेको छ । प्रहार गर्ने व्यक्ति भोजपुर स्थायी घर भई स्पेनबाट कार्ड लिएका थिए । स्पेनको कार्डबाट ह्याम्बर्ग आइ काम गरिरहेका हरि विष्ट रहेको जानकारीमा आएको छ ।

पिडितको अवस्था चिन्ताजनक रहेको मोपो डट डिई पोलिजेइ भन्ने जर्मनीको प्रहरी कार्यालयको पोर्टलमा उल्लेख छ । यो विवादलाई नजिकबाट नियालीरहेका एक मालीले विहानको साढे दश बजे प्रहरीलाई खबर गरिदिएपछि प्रहरीहरु घटनास्थल पुगेको प्रहरीको पोर्टलमा उल्लेख छ ।

यी दुइ बिच आर्थिक विषयलाई लिएर केहि समय पहिले देखि नै विवाद रहँदै आएको थियो ।

यसै क्रममा बुधवार बिजय खड्का आफ्ना साझेदार हरि विष्टसँग छलफल गर्न भनी बिहान १० बजे आफ्नी श्रीमती सहित विष्ट कहाँ पुगेका थिए । केहि बेर उनीहरु छलफल गर्दै बाहिर निस्किएका थिए । आर्थिक लेनदेनका विषयमा कुरो नमिलेपछि उनीहरु विवादमा उत्रिएका थिए । केहि बेरमा घर बाहिर गएको कुरा हरि विष्टसँगै अर्को रुममा बस्ने रुपक श्रेष्ठले जानकारी दिए ।

बाहिर निस्किएको केही बेरमा हरि विष्ट सरासर रुपक श्रेष्ठको भान्छामा छिरि मासु काट्ने दाउ बोकेर निस्किएको र त्यसैले प्रहार गरेको कुरा रुपक श्रेष्ठले बताएका छन् ।

हतियार प्रहारबाट गम्भिर घाइते भएका खड्काको आज विहिवार शल्यक्रिया पछि अवस्था सुधारोन्मुख रहेको उनी निकटका ब्यक्तिले नाम उल्लेख नगर्न आग्रह गर्दै नेपालप्लसलाई जानकारी दिएका छन् । तर जर्मन प्रहरीको साईटमा भने पिडितको अवस्था चिन्ताजनक रहेको उल्लेख छ ।

बिहान साढे दश बजे घटना भएपछि फरार रहेका अभियुक्तले दिउँसो ४ बजे सेन्टपौली भन्ने ठाउँको प्रहरी चौकीमा गएर  आत्मसमर्पण गरेका थिए । ह्याम्बर्गमा रेस्टुरेन्ट व्यवसाय गर्दै आएका खड्काले विष्टलाई पार्टनरसीप दिन्छु भनि बोलाएको तर पछि ८ महिना देखिको मासिक पारिश्रमीक पनि नदिएकोले उनले भौतिक आक्रमण गर्ने चेतावनी दिँदै आएको  रुपक श्रेष्ठले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया