शुक्रबार, वैशाख ७, २०८१

पहिलो पुस्ताका नेताहरुले बिश्राम लिने माग सबैको हितमा छ – गगन थापा

नेपालप्लस राजनितिक संवाददाता२०७७ मंसिर १९ गते ११:४२

युवा नेता गगन थापा

नेपाली राजनीतिको माथिल्लो तहमा आफ्नो स्थान बनाइसकेका गगन थापालाई नेपाली कांग्रेसका मात्र नेता भन्यो भने अन्याय हुन्छ । खास गरेर पछिल्लो संघिय निर्वाचन यता संघिय संसद र आफ्नै पार्टीमा देखिएको उनको उपस्थिती निकै नै आसा लाग्दो छ । नेपाली कांग्रेसको सभापतिका रुपमा शेर बहादुर देउवाको उदयपछि खस्केको पार्टीको साख जेनतेन यिनै  थापाले जोगाइरहेका छन् । राष्ट्रिय तथा पार्टीका नितिगत मुद्दाहरुमा चर्को रुपमा देखिने गगन थापा कांग्रेसको आसन्न महाधिवेशनमा कसरी उभिएलान् भन्ने धेरैको चासो छ । थापाले नेपालप्लससँगको कुराकानीमा समय अनुसार पार्टीलाई वैचारिक र नितिगत रुपमा परिवर्तन गर्दै लैजानु पर्ने बताए । उनले भने- “पार्टीलाई अहिले नयाँँ विचार दिन सक्ने र नितिगत रुपान्तरण गर्न सक्ने दर्बिलो सभापतिको खाँचो छ” ।

गगनजी नेपाली कांग्रेसको हालखबर के छ ?

नेपाली कांग्रेस आफ्नो अधिवेशनको तयारीको क्रममा छ । अर्को संसद अधिवेशनको प्रतिक्षामा पनि छ ।

समयमा हुन्छ त अधिवेशन ?

फागुनमा महाधिवेशनको सम्भावना म देख्दिन । हामीले ब्यवहारिक र छिटो गर्न सक्ने भनेको जेठमा हो । जेठको मसान्तसम्ममा महाधिवेशन गर्न सकियो भने पनि मैले उपलब्धि नै ठान्दछु । तर, त्यसका निम्ति पनि हामीले जुन कार्यशैलीमा काम गरिरहेका छौं त्यसमा धेरै ठूलो परिवर्तन ल्याउनु पर्दछ । केहि मतभेदहरु छन् तिनलाई तुरुन्तै टुङ्याउनु पर्दछ । ति मतभेदहरुको सहज निकास हुनसक्यो भने जेठमा महाधिवेशन गर्न सम्भव छ ।

मतभेद भनेको ?

पार्टीको कृयाशिल सदस्यता बितरणका सन्दर्भमा भातृ संस्था र बिभिन्न शुभेच्छुक संस्थाहरुले महाधिवेशनमा भाग लिन पाउने नपाउने विषय, समायोजन लगायतका विषयहरुमा वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका साथीहरुले सभापति ज्यूलाई यि विषयमा आफ्ना मतभेद सहित ध्यानाकर्षण गराउनु भएको छ । तिनमा हामीले लामो छलफल पनि गर्यौं । त्यसमा केहि समझदारिका सुत्रहरु पनि खोजेका छौं । तर टुङ्गीईसकेका छैनन् । यि विषयहरु हामीले छिटो टुङ्ग्याउनुपर्ने छ । अर्को, केहि संरचना पनि बनाउनुपर्ने छ । जस्तो कृयाशिल सदस्यता वितरणमा भोलिका दिनमा देखिन सक्ने अप्ठ्यारा र मतभेदहरुलाई सम्बोधन गर्नका लागि छानविन समिति बनाउने भन्ने छ । यि सबैलाई टुङ्याएपछि मात्रै महाधिवेशन सहज हुन्छ ।

यि त लामो समयदेखि बहसमा आइरहेका मतभेद भए । यदि यि कुरा टुङ्गिएनन् भने के हुन्छ ? अधिवेशन हुँदैन ?

जस्तो, यि विषयमा मिहिन छलफल गरेर मंशिर मसान्तसम्म टुङ्ग्याउन सक्यौं, कृयाशिल सदस्यता छानविन समिती पनि बनाएर नयाँँ कार्यतालिका बनायौं र त्यो कार्यतालिका सँगसँगै समय सिमा तोक्ने तर काम नगर्ने हाम्रो कार्यशैलीमा सुधार गर्न सक्यौं भने अधिवेशन जेठमा हुन्छ । नत्र वडा, जिल्लादेखि केन्द्रसम्मै यहि खालको ढिलासुस्ती भयो भने अधिवेशन सम्भव हुँदैन ।

सभापतीले त फागुन मै महाधिवेशन हुन्छ भनिरहनुभएको छ । के छन् अरु आधार ? तपाईंले भने अनुसार त कुनै सम्भावना देखिँदैन !

कुनै सम्भावना छैन । फागुन फागुन भनेर बस्ने कुराले जेठमा पनि अधिवेशन टर्छ । हामीले के मान्नु पर्छ भने हाम्रो कार्यशैली सहि छैन । कार्यशैलीमा परिवर्तन गर्नसके मात्रै बल्ल जेठमा सम्भव छ । फागुनको कुरा छोडिदिउँ ।

भदौको कुरा पनि आएको छ त ?

त्यसलाई मैले प्रस्तवको रुपमा हेरेको छु । तर, जेठमा महाधिवेशन गर्न सकिने प्रशस्त समय हुँदाहुँदै हामीले अहिले देखिनै भदौ भदौ भन्यौं भने त्यो भनेको संबैधानिक समय सिमासम्म अधिवेशन नगरेर टार्न खोज्ने र अधिवेशन नै नगर्ने नियत जस्तो देखिन्छ । भदौ भन्नुको कुनै अर्थ छैन र त्यतातिर छलफल गर्नुपर्छ जस्तो मलाई लाग्दैन ।

नेपाली कांग्रेस भित्र धेरै अघिदेखि युवा नेतृत्वको कुरा चलिरहेको छ ! अहिलेको अधिवेशनमा आउँछ त युवा नेतृत्व ?

यो विषयमा हामीले अली फरक ढङ्गले हेर्नुपर्छ जस्तो लाग्छ । पार्टीभित्र युवा भनेर जे कुरालाई बुझ्ने बुझाईने गरिएको छ त्यसको मर्मलाई मैले छोडौं भनेको छैन । तर त्यसलाई सम्बोधन गर्ने तरिकामा अली परिवर्तन ल्याउन पर्‍यो भन्ने मेरो मान्यता रहेको छ । नेपाली कांग्रेस पार्टी संचालनमा केहि आधारभुत समस्याहरु छन् । सदस्यताको प्रणाली, निर्वाचन गर्ने तरिका जस्ता कुराहरु नेपाली कांग्रेसले विश्वास गर्ने संसदिय ब्यवस्थाका सिद्धान्तसँग मेल खाँदैन । यि कुरा बदल्यौं भने पार्टी भित्र एउटै नेता वर्षौंसम्म असफल भएपनि पद ओगटेर बस्ने, कब्जा गरेर बस्ने परिपाटी आफैं भत्कन्छ । कहिले उमेरले युवा मान्छे आउला । कहिले पाको मान्छे आउला । त्यसले तात्विक असर पार्दैन । यो युवाको कुरा किन पनि उठेको हो भने वडादेखि केन्द्रसम्म एउटै मान्छे वर्षौंसम्म लगातार बसिरहेको हुन्छ । जनविश्वास गुमाइसकेको हुन्छ । उत्साह, उर्जा केहि हुँदैन । नयाँँ कुरा केहि हुँदैन । भविष्यको लागि केही गर्छु भन्ने आशा भन्दा पनि आफूले बिताएर आएका दिनहरुको गौरवले उसलाई थिचेको हुन्छ । यो किन भएको हो ? यसमा हो नि त प्रश्न उभिएको । त्यसले गर्दा सजिलोसँग ‘बुढाहरु हटाउँ युवाहरु आउँ’ भन्ने कुरा आउँदो रहेछ । मलाई लाग्छ, विषय नै हामीले गलत ढंगले उठाइरहेका छौं । मुख्य कुरो पार्टीका मुलभूत कुराहरुलाई हल गर्ने हो भने बुढा र युवा भन्ने कुरा आफैँ हराउँछ ।

केहि वर्ष अघिसम्म तपाईंले नै उठाएको होइन र युवा नेतृत्वको कुरा ? अहिले कसरी परिवर्तन भयो ? युवा हुँदा अवशर पाइएन र अब आफू युवा नरहँदै गर्दा यस्ता सोच आए कि ?

पटक्कै होइन । मेरो ब्यक्तिगत हकको सन्दर्भमा मैले निश्चित उमेरसम्म आफूले काम गर्ने, त्यसपछि राजनीतिक र सार्वजनिक जीवनबाट सन्यास लिने शंकल्प गरिसकेको हुनाले ममा यो लागू हुँदैन । मैले अघिपनि युवाहरुकै पक्षमा कुरा गरेको हो । यदि मैले भने जस्तो हुने हो भने हाम्रो पार्टी भित्रका २०-२५ जना नेताहरु जसलाई हामीले पहिलो पुस्ताका नेता भन्छौं उहाँहरुले धेरै पहिला पार्टीबाट बिश्राम लिइसकेको अवस्था हुन्थ्यो । त्यसो भएन । अहिले कोहि एक जना युवा आउला । फेरि त्यहि कुरा रहिरहन्छ । जुन कारणले पार्टी बगेको नदी जस्तो नभएर जमेको पोखरी जस्तो भएको छ यदि हामीले त्यो कारणलाई निमिट्यान्न पार्न सक्यौं भने कुरै सकिन्छ । हामीले एक पटक त्यो पोखरी सफा गर्ने कुरा खराब होइन, गरौं । जहाँँनेर बन्द भएको हो त्यसलाई पनि खोलौं भन्ने कुरा मात्रै हो । त्यसपछि बुढा र युवाको कुरा हराएर जान्छ ।
तपाँईले भने अनुसार त नितिगत तहमा अलि ठूलै शल्यक्रिया गर्नुपर्ने देखियो कांग्रेस भित्र !

केहि कुराहरु जस्तो कि नेतृत्व परिवर्तन गर्ने कुरा यो अधिवेशनबाट प्रारम्भ हुन्छ नै । यो अधिवेशन पछि जो नेतृत्वमा आउला उसँग हाम्रो छलफल होला । सम्झौता होला । अब आउने निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने कुरा, पार्टी संचालनको तौर तरिकाको बारेमा आमुल परिवर्तनका कुरा र प्रतिपक्षको भूमिका निर्वाह गर्दा पार्टी संचालनमा सुधार गर्ने कुरा । यि एजेण्डाहरुमा हामीले पार्टीका नेतासँग छलफल गरिरहेका छौं । जसले हाम्रो चित्त बुझाउँछ उसैलाई हामी नेता मानेर जान्छौं । वा कसैले चित्त बुझाउन सकेन भने आफैं अगाडि बढ्छौं । त्यसैले मैले अहिले उठाएका कुराहरु पनि छलफलको कार्यसूची भित्र पर्छन् अब ।

भनेपछि अबको अधिवेशन सेन्टिमेन्टल भन्दा पनि नितिगत एजेण्डाको आधारमा हुन्छ ?

हामीले अथवा मैले फलानो ब्यक्तिलाई पार्टीको सभापतिको रुपमा समर्थन गर्छु भन्दै गर्दा आधार के त ? के को लागि गर्ने त ? सबै आदरणिय हुनुहुन्छ । ति मध्ये छान्ने भनेको त यिनै एजेण्डाको आधारमा हो नि ! सधैंभरी कसरी उहि पुरानो सेन्टिमेन्टमा हिँडीरहन सकिन्छ ? पार्टीलाई जनताको भरोसायोग्य पार्टी कसले बनाउँछ होला ? नेपाली कांग्रेस सरकारमा जाने अवस्था आएमा अहिले नेकपाको दुर्दशाबाट पाठ सिकेर पार्टीलाई कसले अघि बढाउँछ होला ? वा पार्टीलाई कसले सुदृढ बनाउछ होला भन्ने कुराको कसीमा राखेर अहिले मैदानमा देखिएका नेताहरुको मुल्यांकन गर्ने हो । पक्कै पनि नितिगत एजेण्डाको आधारमा मुल्यांकन हुन्छ ।

तपाईंले के मुल्यांकन गर्नु भएको छ त ?

-जो जो नेताहरु प्रतिस्पर्धाको मोर्चामा हुनुहुन्छ उहाँहरु सँगको छलफलमा हाम्रो पुस्तालाई ‘कम्बिनेशन’ राख्नु पर्छ । टिममा राखेर सँगै लानुपर्छ भन्नेमा सबै जनालाई खुल्ला पाएको छु । तर मैले उठाएका विषयका सन्दर्भमा अझै त्यो स्तरको बचनबद्दता, आवश्यकताको बोध भएको त्यति पाएको छैन ।

भनिने र उठाइने कुराहरु भन्दा पनि यो अधिवेशनले नेपाली कांग्रेस नितिगत रुपमा परिवर्तन हुने सम्भावना कत्तिको छ ?

मैले तलदेखि माथिल्लो तहमा बसेर काम गरिरहनु भएका साथीहरुसँग निरन्तर छलफल गरिरहेको छु । यि बहस र छलफलले अबको अधिवेशन पछि नेपाली कांग्रेस नितिगत रुपमा परिवर्तन हुने कुरामा म एकदम आशावादी छु । अब नेतृत्वमा आउने ब्यक्तिले म्यान्डेट त पाएकै हुन्छ । सँगसँगै उसले नयाँ उर्जा पनि लिएर आउँछ । पार्टी भित्र नयाँ जागरणको ठूलो हुट्हुटी छ ।

कांग्रेस भित्र अहिले कतिवटा गुट भिड्दैछन महाधिवेशनमा ?

अघिल्लो अधिवेशनमा जुन खालका समुहहरुले प्रतिस्पर्धा गरे यो पटकको परिदृश्य निकै फरक हुन्छ जस्तो लाग्छ । पार्टी सभापतिका लागि यो मेरो अन्तिम अधिवेशन हो भनेर थुप्रै नेताहरु जसरी आउनु भएको छ, त्यो हेर्दा यस पटक सभापतिका लागि ५-६ जना ब्यक्ति प्रतिशस्पर्धा गर्ने माहौल देखिरहेको छु ।

तपाईंले प्रतिशस्पर्धा गर्ने कि नगर्ने ?

यो पटक आफू केमा प्रतिस्पर्धा गर्ने भन्ने कुरालाई गौंण बनाएको छु । कुनै साथीसँग पार्टी र देशका बारेमा मैले उठाएका मुद्दाहरुको सम्बोधन भयो भने टिममा बसेर काम गर्न जाने हो । त्यतिखेर महामन्त्रिको जिम्मेवारी पनि हुन सक्छ । सदस्यको मात्रै जिम्मेवारी पनि हुनसक्छ । तर मेरा समकालिन साथीहरु सँग छलफल गर्दै जाँदा होइन हामी नै सभापतिको प्रत्याशी भएर जाने भन्ने अवस्था बन्यो भने सभापति मै प्रतिस्पर्धा पनि गर्न सकिन्छ । त्यसैले सबै कुरा अहिलेनै भन्न सकिने अवस्था छैन ।

पार्टीलाई नितिगत रुपमा परिवर्तन गर्नुपर्छ भन्ने एजेण्डा त तपाईंको होइन र ? अरु त अझै पनि अली ‘क्लासिक’ नै देखिएका छन् । तपाईंले आफ्नो एजेण्डा लिएर आफैँ सभापतिको उम्मेद्वार किन नहुने ?

उमेदवारी दिने कुरा एउटा भयो । आफ्ना एजेण्डालाई कार्यन्वयन तहसम्म पुर्याएर टुङ्ग्याउने र व्यवाहारमा अनुवाद गर्न कोशीस गर्ने विषय अर्को कुरा भयो । मैले यि दुबै पक्ष हेरिरहेको छु ।

पुराना नेताहरुले नयाँ कुरा ल्याउन सकेनन् भन्ने त छर्लंङ्ङ भएको छ ! नयाँँ सोच भएको तपाईं जस्तो मान्छे आफ्ना एजेण्डा आफैँ लिएर जानु पर्ने होइन कार्यकर्ताको बिचमा ?

एकदम नै हो ! जजसलाई हामीले पाका भनेर भनिरहेका छौं ति नेताहरुसँग छलफल गर्दैगर्दा नयाँ पुस्तालाई समेटेर लैजाने कुरा, पार्टीलाई फरक ढंगले संचालन गर्ने कतिपय कुराहरुमा अली फरक पाएको छु मैले । तर पार्टीको कार्यक्रम के हुने, आन्तरिक ब्यवस्थापन कसरी गर्ने, प्रतिपक्षको भूमिका कसरी प्रभावकारी बनाउने, यो पार्टीले जनतामा कसरी भरोसा जगाउने भन्ने सदर्भमा हामीले अझै स्पष्ठताको खोजी गरिरहेका छौं । ५-६ महिना समय अझै बाँकी छ । यदि यि मुद्दामा कोही स्पष्ठ हुन सकेनन् भने हामी अगाडि उभिनै पर्छ ।

यि कुराहरुमा शेर बहादुर देउवालाई कत्तिको स्पष्ठ पाउनु भएको छ ?

पहिलो पुस्ताका नेताहरुले बिश्राम लिने कुरा उहाँहरुको, पार्टीको, हामी सबैको हितमा छ ।

किन बुझ्नु भएको छैन उहाँहरुले यो कुरा ?

अलिकती कमजोरी हाम्रो पनि होला । हामीले बुझाउन नसकेको हो कि ! मलाई अझ लागेको कुरा जो पार्टी सभापति वा वरिष्ठ नेताको मुनी बसेर काम गरिरहनु भएका जसलाई हामी दोस्रो भन्छौं उहाँहरु नेतृत्व लिन तयार नभएर पनि हो । तर अहिले भने उहाँहरु तयार देखिनु भएको छ । उहाँहरुले अहिले शायद यो कुरा महशुस गर्नुभएको छ ।

देशभरका कार्यकर्ताहरुले के चाहेका छन् भन्ने कुरा विश्लेषण गर्नु भएको छ तपाईंहरुले ?

बितेका ७-८ महिना जिल्लाहरुमा गएर साथीहरुसँग छलफल गर्न त पाएको छैन । तर काठमाडौं आउनु भएका साथीहरु सँग भेट्घाट भएको छ । बाहिरका साथीहरुसँग पनि अन्य कुनै माध्यमद्वारा संपर्क मै छु । नेपाली कांग्रेसको अहिलेको भूमिकाबाट उहाँहरु कोहिपनि सन्तुष्ठ हुनुहुन्न । प्रतिपक्षको भूमिकामा रहँदा पार्टीले आफ्नो धर्म निर्वाह गर्न सकेन भन्ने उहाँहरुलाई लागिरहेको छ । यो महाधिवेशनबाट केहि नेताहरुलाई बिश्राम दिनुपर्छ भन्ने कुरा गहिरो रुपमा महशुस गर्नु भएको छ उहाँहरुले ।

धेरै कार्यकर्ताले गगन सभापति हुनु पर्छ भनेर बोलेको हामीले पनि सुनीरहेका छौं । तपाईंले किन खुट्टा दह्रो बनाउन नसकेको ?

यो खुट्टा दह्रो बनाउन नसकेको विषय नै होइन । मैले भनिसकें नि- हामी सरसल्लाह, छलफल गर्दै छौं । हामी के तथ्यलाई महसुस गरिरहेका छौं भने कांग्रेसमा करिव ७ लाख कृयाशिल सदस्य हुनुहुन्छ । यसपाली बढेर यो संख्या १२-१३ लाख पुग्छ । शुभचिन्तकको संख्या जोड्यो भने २०-२५ लाख पुग्छ । तर पार्टीको नेतृत्व चयन गर्ने कुरामा चाहीँ सदस्यहरुको ठूलो पङ्ती मतदानबाट बाहिर हुन्छ । नेतृत्व निर्माण गर्ने वा चयन गर्ने कुरालाई प्रभावित गर्न सक्दैन । त्यो कसले गर्छ भने पार्टीको सिमित संख्यामा रहेको महाधिवेशन प्रतिनिधिले गर्छ । २०-२५ लाख मान्छेहरुले बोकेको मनोविज्ञान महाधिवेशन प्रतिनिधिले बुझ्ने सम्भावना काम हुँदो रहेछ । मुख्य कुरा ति २५ लाख सदस्यहरुले भोट गर्न पाए भने कांग्रेसमा परिवर्तन हुन्छ । यसैका लागि पनि हामीले खुट्टा दह्रो बनाइरहेका छौं ।

अन्तमा, कांग्रेस सरकारमा जान लागेको चर्चा छ ! के हो खास ?

सत्तासिन नेकपा टुटफुट भयो भने र संसदले नयाँँ सरकार बनाउने अवस्था आयो भने त्यो बेला कांग्रेसले एउटा सोचाइ बनाउने कुरा होला । त्यतिखेर नेपाली कांग्रेसका निम्ति कर्तव्य पनि हुन्छ । तर आजको मिती सम्म कांग्रेसको अवस्था के हो भने, केन्द्रिय समितिको निर्णय हो । त्यो के भने प्रधानमन्त्री केपी शर्मा ओलीले बितेका साँढे दुई वर्षमा गर्नुभएको अनियमितता, भ्रष्टाचार, यस्तो महामारिमा उहाँले देखाउनु भएको असंवेदनशिलता, यो संविधान उल्लंघन गर्ने चरित्र यि सबै कारणले गर्दा प्रधानमन्त्री बनिरहने नैतीक अधिकार उहाँले गुमाइसक्नु भएको छ । यो ईतिहासकै अकर्मण्य सरकार हो भन्ने कांग्रेस केन्द्रिय समितिको बैठकको ठहर हो । यदि कसैले ओली सरकारको समर्थन गर्ने वा सरकारमा सहभागि हुने सोचेको छ भने केन्द्रिय समितिमा प्रस्ताव ल्याएर पहिलेको निर्णय उल्ट्याउने आँट गर्न सक्नुपर्दछ ।

तपाइँको प्रतिक्रिया

फेसबुक