बिहीबार, वैशाख १३, २०८१

जब दुख्नुपर्नेहरुलाई देश दुख्दैन

लक्ष्मण देवकोटा२०७७ मंसिर २० गते ८:०५

वरिष्ठ पत्रकार किशोर नेपाल र पूर्व प्रशासक विद्वान देवेन्द्रराज पाण्डेलाई नेपाली समाजमा परिचय दिइरहनुनपर्ने नाम हुन् । उनीहरुले बोलेका कुराहरुबाट धेरै मानिसहरुले धारणा पनि बनाइराखेका हुन्छन् । हाम्रो समाज जसका भनाइले तरंगित हुन्छ, उनीहरुका दुइटा ट्विट मलाई बिझिराखेकाछन् । बिहीबार किशोर दाइको ट्वीट आयो, “नर्भिक इन्टरनेशनलले उपचारका लागि आउने बिरामीहरुसँग कोविड प्रोटेक्सन चार्ज को नाममा रु. २५ सय लिने गरेको रहेछ । यो कस्तो चार्ज हो ? यो चार्ज नर्भिकले मनखुशी लिएको हो कि नेपाल सरकारले स्वीकृति दिएर ? यसबारे नर्भिकसंग सम्बन्धित कसैले केही बताउन चाहेन ।”

अर्का विद्वान देवेन्द्रराज पाण्डेले भ्यू टावर देखेर पुर्पुरोमा हात राखेको चित्र सहजै देख्न सकिन्छ । उनी लेख्छन्, ‘”यो भ्यू टावर भन्ने जिनिस किन यति प्राथमिकतामा परेको होला ? भन्ने प्रश्न मनमा आइरहन्छ ।

भर्खर एक सम्भावित उत्तर सुझ्यो, केन्द्रीयदेखि स्थानीय तहसम्म नेताहरुमा अल्पदृष्टि दोष भएर टाढा हेर्न टावर चाहिने हो कि त ? हो भने कुरा मिलेन । टाढा देख्न आम नेपाली नागरिककको अनुहारबाट शुरु गर्नपर्छ ।”

यी दुई चेतनशील मानिसहरु हाम्रो राज्यका ‘सिनियर सिटिजन’ हुन् । सिनियर सिटिजनहरुका भनाइ उनीहरु बाँचेको समाजका विम्वहरु हुन् । लोकतन्त्रमा सीनियर सिटीजनका कुराको ठूलो महत्व हुन्छ। सम्मान पनि गर्दछ राज्यले उनीहरुका कुरालाई । निति निर्माताहरुले निर्णय गर्दा पाका मानिसहरुको कुरा सुन्छन् ।

यी दुई ट्वीटहरुका हाम्रो समाजको समाजवाद उन्मुख भनिएको यात्राको गजब विम्व देखेर मन खिन्न हुने नै भयो । सँगसँगै केहि ज्यूँदा र जाग्दा प्रश्नहरु पनि मुखरित भए ।

काठमाडौंको मुटुमा रहेको नर्भिकमा खुलेआम लूट भैरहेको देखेर खिन्न एक कपाल फुलेको पाको पत्रकारले सामाजिक संजालमा बोलेको कुरालाई राज्यले ४८ घण्टासम्म कुनै गम्भीरतापूर्वक लिएको देखिएको छैन । मलाई लाग्छ, आफ्नै दलका विचारसँग असहमत मानिसहरुलाई विष ओकलेर तल्लो तहमा ओर्लन लज्जाबोध नगर्नेहरुलाई यी सिनियरहरुको कुरा सुन्नुपर्छ भन्ने के बोध होला र ? गणतन्त्रमा त्यति विवेकको अपेक्षा गर्दछ समाजले । तर यी सत्ताधारीहरुको भाषा र बोलीको शैली हेर्दा उनीहरु निर्वस्त्र भएर सडकमा ओर्लेर समाजवादतीर हिँडेको दावी गरिरहेका छन् ।

म हेर्दछु यो सरकारका मन्त्री र निर्णय तहमा बसेका धेरै मानिसहरुले किशोर नेपाललाई सामाजिक संजालमा पछ्याएका छन् । पक्कै उनीहरुलाई थाहा छ । तर नर्भिक जस्ता धेरै नर्भिकका साहूका अगाडि यी समाजवादी सत्ताधारीहरुको
वाक्य फुट्ने कुरै भएन । यी ठूला लगानीकर्ता साहूजीहरु र हाम्रा राजनीतिको माथिल्लो पुस्तासँग गजबको साइनो छ । यहि साइनोका कारण पनि त्यहाँ नीति, नियम र राज्यको अनुपस्थिति विनै शुल्क उठाउने र दर रेट तोक्ने छुट छ । सबैले बुझेकै छन्, सक्ने जाने ठाउँ हो नर्भिक नत्र वीर अस्पतालतिर गए भैहाल्छ ।

वीर अस्पतालतिर हेर्यो, त्यहाँ उही हरिवैराग छ । डाक्टरदेखि शौचालय सफा गर्नेहरु सबै आफूले पाउनुपर्ने र सरकारले दिन्छु भनेर कबुल गरेको पारिश्रमिक नपाएर हैरान छन् । अस्पतालका निर्देशक सरकारी कट्टर कम्युनिष्ट मान्छे हुँ भनेर दावी गर्छन् । उनले कर्मचारीहरु कराए भने कान थुनेर बस्छन् । सत्ताको तावेदारी गर्न, माथिकालाई रिझाउन माहिर यी वामपन्थी अस्पताल निर्देशकले आफ्ना नातागोता, आफन्त र पार्टीका समर्थकहरु भरेर अन्य विचार राख्ने, आफ्ना भनाइमा असहमति राख्नेलाई भटाभट वीर अस्पतालबाट धपाइरहेको कुरा पत्रपत्रिकामा आइरहेको छ । स्वयम् अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरुले भनिरहेका छन् । डाक्टरले खुलेआम सप्रमाण बताइरहेका छन् । तर अहँ कोहि कसैलाई छुन्न । वीर अस्पताल अगाडिको त्यत्रो पानी जमेको खाल्टो त कसैको नजरमा पर्दैन भने सत्ताको भक्त निर्देशकले चलाएको अस्पतालको बेथितिको बारेमा सरकारले नै के सुनोस् ?

यो समाज किन यस्तो भैरहेको छ ? कुरैकुरामा किशोर नेपालका समकालीन कपाल फुलेका पाका पत्रकार मेघराज शर्मासँगको भलाकुसारीमा शर्माले भने, ‘हाम्रो समाज पूर्णत : संवेदनहीन भइसक्यो । पहिला एकजनाको मृत्यु हुँदा मानिसहरु त्रस्त हुन्थे । चासो दिन्थे । अहिले दिनहुँ किशोरीहरुको बलात्कारपछि पाशविक हत्या हुँदा पनि कसैलाई छुँदैन । सबैतिर पैसा र शक्तिको बोलवाला छ । यो समाज विघटनको संकेत हो । हामीले सक्रिय पत्रकारिता गर्दाको दौरान देखेको सपना यस्तो थिएन ।’

सरकारमा हुनेहरुले गरिरहेका अदूरदर्शी विकासे कामहरु र वर्तमानको चित्र देवेन्द्रराज पाण्डेको ट्वीटमा प्रष्ट देख्न सकिन्छ । यसै अग्ला छन् हाम्रा डाँडाकाँडाहरु । तिनै डाँडाका चुचुराहरुमा पैसा खन्याएर टावर ठड्याएर अर्को तमासा देशैभरी देखाइएको छ । बिरामीहरु कोरोनाको शंकामा अस्पतालले नलिँदा पोखरा जस्तो ठाउँमा ट्याक्सी भित्रै ज्यान गुमाउन विवश छन् । ओलीजी उनीहरुलाई कोरोनाको कारण मरेको त मान्नुहुन्न । उच्च रक्तचाप, डायबेटिज कै कारण मरेको ठान्नुहुन्छ । तर अस्पतालले बिरामीलाई प्रवेश नै गर्न नदिएको जस्तो अपराध हुँदा भने ओलीजीले स्थानीय प्रशासनलाई अपराधमा संलग्न अस्पताल, ड्यूटीमा रहेको डाक्टरलाई कारवाही गर्ने हिम्मत गर्नुहुन्न । मानिसहरु टावरको भूतले ग्रस्त छन् । उनीहरुलाई अस्पताल भन्दा टावर चाहिएको छ ।

प्रचण्डलाई दोषी करार गरेर पार्टी भित्रकै रडाकोले गर्दा केहि गर्न नपाएको दलिल ओलीले प्रत्युत्तरको नाममा जनतासमक्ष देखाए पनि जनता यो कुरा मान्न तयार छैनन् । यहाँ कोही कतै संवेदनशील छैन । समाजवादतिर लाग्ने बाटोको पहिलो ढोका त शिक्षा, स्वास्थ्य र सुरक्षामा जमिनका मानिसहरुको पहुँच हुनुपर्ने हो । यत्तिको दुई तिहाई निकट हुँदा पनि निजी क्षेत्रले कब्जा जमाइरहेको शिक्षा क्षेत्रको पकड कम्युनिष्ट सरकारले लिन सकेन । चाहेन । स्वास्थ्यको अवस्था त कोरोनाको कालमा देखिहालियो । देखिरहेकै छौं । अदालतले डण्डा नचलाएको भए सरकारले कोरोना संक्रमणमा फेरि निजी क्षेत्रमा मानिसहरुलाई फाइदा हुने गरी शुल्क तोकिनै सकेको थियो ।

मार्क्सको कम्युनिष्ट घोषणापत्रमा प्रष्टै रुपमा शिक्षा र स्वास्थ्यमा तल्लो वर्गका मानिसहरुको पहुँचका कुरा लेखिएको छ । श्रमजीवी र शोषितहरुले शासन गर्ने भनेर लागेका साम्यवादीहरु स्वयम् माथिल्लो दर्जामा पुगेर फेरि अर्को वर्गको जन्म गराइरहेका छन् । मानिसहरु भित्रको हरि नै सकिएपछि र सबले देशलाई लुट्ने भाँडो बनाएपछि कसरी समाजवादतिर पुगिएला कुन्नि ?

तपाइँको प्रतिक्रिया