बुधबार, माघ १४, २०७७

महिला हिंसा कम गर्न समाज र आमसंचारको भूमिका

दुर्गा पौड्याल / शंकरनगर, रुपन्देही२०७७ मंसिर २१ गते ७:५६

देश अहिले महिला हिंसा बिरुद्धको १६ दिने अभियानमा छ । महिला बिरुद्ध हुने हिंसा, बिभेद, अन्यायको अन्त्य गर्ने अभियानका रुपमा विश्वभर हरेक वर्ष २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म अभियानकै रुपमा मनाउने गरिन्छ । महिला हिंसालाई १६ दिने अभियानकै रुपमा मनाउन थालेको पनि धेरै समय भईसकेको छ । तर महिला हिंसाका घटनामा कमि आउँनुको साटो झन झन धेरै, महिला हिंसाका घटना सुन्नमा आएका छन् । मानिसहरु भन्ने गर्छन्, यो डलर खेती हो । होटलमा योजना बन्छन् । गाउँ ठाउँमा सचेतना फैलाइँदैन । यो पनि आफ्नो ठउँमा छ ।

यसपटक पनि अभियान चालु नै छ । यस पटक “लैंगिक हिंसा अन्त्यको प्रतिबद्धता, ब्यक्ति, समाज र सबैको ऐक्यबद्धता ”नारा दिएर मनाइँदैछ । हो, महिला हिंसा अन्त्यकालागि ब्यक्ति नै पहिलो कारक हो । हरेक ब्यक्तिको महिलालाई हेर्ने दृष्टीकोमा परिवर्तन आएमा मात्र महिला हिंसा कम हुन्छ । अपहरण गरेर सामूहिक बलात्कार र हत्याका घटना बाहेक अर्को हिंसा धेरै परिवारजन र आफन्तबाटै हुनेहुँदा महिला हिंसा कम गर्नमा ब्यक्ति ब्यक्तिको सोचाई र परिवारको भूमिका मुख्य हुन्छ । परिवारको हेरचाह, सुरक्षा, माया ममता, महिलाप्रति दैनिक गरिने ब्यवहार, मिठो बोलीबचन, उचित नैतिक शिक्षाबाट महिला हिंसामा कमि आउँनसक्छ ।

अर्को महत्वपूर्ण पक्ष हो आर्थिक कारण । आर्थिक कारणबाट पनि महिलाहरु हिंसाका शिकार भईरहेका हुन्छन् । परिवारबाटै धेरै महिलाहरु हिंसाका शिकार भएका छन् । बाउआमा, दाइ भाउजु, भाइ बुहारी, सासु ससुरा, देवर देवरानी, जेठाजु जेठानी र पति यि सबै घरपरिवारका सदस्य हुन् । यिनैबाट महिला बढी पिडित हुन्छन् । पिडक महिला वा पुरुष जो पनि हुनसक्छ । पिडकले जतिबेला पनि पीडा दिने सोचाईमा रहन्छ । सानो सानो कुरा देखि एउटा सन्तान दिन नसक्ने वा छोरीमात्र जन्माउँने वा, विस्तारामा सुख नदिने वा दाईजो कम भएको वा बोक्सीनीको आरोप जस्ता निहुँ खोजेर गालीगलौज गर्ने, अपशब्द प्रयोगगर्ने, पिट्ने, खान नदिने, काममा मात्र लगाउँने, मलमुत्र खुवाउने आदी इत्यादी गरिएको हुन्छ । एउटी महिलालाई पीडा दिने अर्की महिला पनि हुन्छे । महिलालाई साथदिने पुरुष पनि हुन्छ । यसरी अनेक शारीरिक र मानसिक हिंसामा महिलाहरु घरपरिवारबाटै परेका हुन्छन् । त्यसै माथि हिंसालाई बढावा दिन मलजल गरेको हुन्छ हाम्रो समाजले पनि । यस्तोमा हिंसा कम गर्न आमसंचारको भूमिका पनि महत्वपूर्ण हुन्छ ।

यसका अतिरिक्त यौन पिपासुहरुबाट किशोरीहरु सामूहिक यौनहिंसामा पर्नेगर्छन् । यस्ता घटनामा यौनहिंसापछि हत्या भएका घटनाको विवरण माथि पुगिसकेकोछ । तीनवर्षे बालिका देखि २० वर्षकी बृद्धसम्म यौनहिंसामा परेका घटना आम संचार माध्यममा आउँछन् । यस्ता घटनामा अक्सर १८ वर्षमुनिका बालिकाहरु यौन हिंसाको तथ्याङ्कमा आउँछन् । पछिल्ला सात वर्षभित्रमा १४ हजार सातसय महिला बलात्कारका शिकार भएको तथ्याङ्क सार्वजनिक भएको देखिन्छन् । महान्यायाधिवक्ता र प्रहरीको तथ्याङ् उद्रितगर्दै दिनमा ६ जना महिला बलात्कृत हुनेगरेको पत्रपत्रिकामा आएका छन् । तर यौन हिंसाका शिकार भएका महिलाका दोषी पत्ता लगाएर कडा सजाएँ भएको सुनिँदैन । यथेष्ट प्रमाणको अभावको कारण देखाई समातिएका दोषीहरुलाई छाडिन्छ । कडा सजाय नदिँदाको परिणाम बलात्कारीको मनोवल झनझन बढेको बढ्यैछ ।

२०७५ साल साउन १० मा बलात्कारपछि हत्या भएकी कन्चनपुरकी निर्मला पन्तको हत्यारा अझै पत्ता लागेको छैन । त्यसपछि पनि देशका विभिन्न ठाउँमा त्यहि प्रकृतिका हत्या भए । भर्खर भर्खरमात्र महोत्तरीमा छ वर्षे वालिकाको बलात्कारपछि हत्या भएको छ ।

पछिल्लो समयमा महोत्तरी केहि दिन तनावग्रस्त रह्यो । वालिकाको लास सडकमा ल्याई दोषीलाई कारवाहीको माग गर्दै सडकमा आन्दोलन नै चर्क्यो । त्यहाँ गोली चल्यो । दोषीको घरमा आगो समेत लगाईयो । यस्ता घटनामा दोषी किटान भएर पनि हत्यारालाई सजायदिन बिलम्ब भईरहेको हुन्छ । कानुन बनेर मात्र पुग्दैन । कानुन लागु गर्नेले ईमान्दारीता र कडाईकासाथ लागु गर्नुपर्छ । कानुन बनेको छ । तर लागु नै हुँदैन भने त्यो कानुन को के काम ? बलात्कार पछि हत्यागर्ने घटनाबाहेक अन्य हिंसाका घटना घरपरिवार र छिमेकबाट हुने गर्छन् । एक त हिंसामा परेकाहरु खुलेर बताउँन सक्दैनन् । चाहँदैनन् ।

दोश्रो, त्यस्ता घटना भएको थाहा पाएपनि परिवारले ईज्जतको दुहाई दिंदै गुपचुप राख्ने परम्परागत संस्कार नै भएको छ । त्यसैले पनि हिंसाले बढावा पाईरहेको हुन्छ । त्यसो त महिला मात्र होईन कतै पुरुषहरु पनि हिंसामा परेका घटना सुनिन्छ । अक्सर बिदेश गएका पुरुषहरु घर बसेका पत्निबाट पिडित हुन्छन् । उनिहरुको कमाई परपुरुषमा लुटाएर घर न घाट बनाएर भागेका कयौं घटना सुनिन्छ ।

साना बालकहरु विदेशी पुरुषहरुबाट हिंसामा परेका घटना पनि छन् । तर महिलाको तुलनामा पुरुषमा हुने न्युन मान्नुपर्छ । अहिले अर्को अपराध थपिएको छ । ईन्टरनेटमा नानाथरि कार्यकम्र चलाउन जान्ने किशोर किशोरीहरुको साईवर हिंसा । नेट चलाउन जान्ने किशोर किशोरीहरुको साईबर अपराधमा परेका छन् । अपराध गरेका पनि छन् । यस्ता घटना हुन नदिन पनि घर परिवार चनाखो हुनु जरुरी हुन्छ ।

घर परिवारमा शान्ति हुनु नै समाज र देशमा शान्ति ल्याउने आधार पनि हो । हरेक घरघरले आफ्ना नावालक सन्तानलाई राम्रो नैतिक शिक्षा दिएमा पक्कै पनि हिंसामा कमि आउँछ । हामीले प्रत्येक दिन कुनै न कुनै किसिमका महिला हिंसाका खबर बिभिन्न संचार माध्यमबाट पनि सुन्ने गर्छौं । केहि प्रत्यक्ष देख्ने र भोग्नेवाला पनि छौं ।

समाज महिला पुरुष दुबै मिलेर बनेको छ । संसारमा मान्छेमा दुई जात छन् । महिला र पुरुष । जुनसकै बर्ग, जातजाती, भाषा भाषी लिङ्ग र उमेरका मानिस भएपनि महिला र पुरुष मात्रै छन् । समाजको संरचना नै महिला र पुरुष मिलेर बनेको छ । त्यो धनि वा गरिव जुनसुकै बर्गको किन नहोस् । यि दुबै थरिमा कुनै एक बिना समाज पूर्ण बन्दैन । समाजरुपी गाडी पनि अगाडि बढ्दैन । यो पनि सबैलाई थाहा छ । यो कुरा थाहा हुँदा हुँदै पनि महिला नै बढी पिडित र हिंसामा पर्नु परेको छ ।

यसको कारण पनि महिलालाई हेर्ने दृष्टिकोण, महिलालाई सम्झने, बुझ्ने दृष्टिकोण नै हो । पुरुषबादी सोच हावी हुनु हो । आखिर महिला विना घर र समाजरुपी गाडी अगाडी गुड्दैन भने किन महिलालाई हिंसा गर्ने ? किन महिलालाई तल्लो स्तरको ठान्ने ? महिलामाथि हुने हिंसा जुनसुकै पनि हुनसक्छ । मानसिक वा शारीरिक ।

पुरुषले कुनै काम नजाने पनि घरमा केहि फरक पर्दैन । तर एउटी महिला हरेक कुरामा पारङ्गत हुँनैपर्छ भन्ने सोचाइ घर परिवारको रहन्छ । यस्तो सोचाई राख्नु गलत हो । कमिकमजोरी जसमा पनि हुनसक्छ । महिला पुरुष दुबैले आआफ्ना कमि कमजोरी सच्चाउँदै लगेमा विवाद सिर्जना हुँदैन । तर पुरुष वा घरको मूली ब्यक्ति ठान्छ, महिला कामगर्ने जात हो । यसले जुनसुकै काम पनि जान्नु पर्छ । यसले कुनै काम नजान्नु र बिगार्नु हुँदैन भन्ने मान्यता राखिन्छ । एउटी महिलामाथि यस्तो कुबिचार राख्नेमा घरको प्रमुख ब्यक्ति सासुससुरा र पति नै मुख्य हुन्छन् ।

माया ममताले सबै काम सिक्दै र राम्रो पनि हुँदैजान्छ भने तुच्छ बोलीबचनले घरपरिवारमा तनाव,झैझगडा उत्पन्न हुन्छ । त्यहि झगडा हत्याहिंसामा परिणत हुन्छ । त्यसकारण परिबार नै मुख्य केन्द्र हो महिला हिंसा न्युनिकरण गर्नमा । त्यसपछि समाज र आमसंचार । महिलामाथि हुने यौन अपराध र हत्याहिंसा कमगर्नमा यि सबैको महत्वपूर्ण भूमिका रहन्छ । गाली गलौज, अपमान, कुटाई पिटाई, हत्या हिंसाले समाज राम्रो बन्दैन । न त पिडकले सुख पाउँछ । एक न एक दिन उसले सजाय पाउँने अवस्था पक्कै आउँछ ।

महिला हिंसामा न्यूनिकरण गर्न कडा कानुन बनाउँनु त पर्छ नै, दोषीलाई कडा भन्दा कडा सजाय हुने हो भने हिंसा कम हुँदै जानसक्छ । हाम्रो देश, समाज, घरपरिवार सबैखाले हिंसाबाट मुक्त हुनसकोस । शुभकामना !

तपाइँको प्रतिक्रिया

फेसबुक