शनिबार, वैशाख १५, २०८१

ओली झन् रक्षात्मक अवस्थामा : अध्यक्षबाट हटाएरै छाड्ने प्रचण्ड-नेपाल रणनीति

नेपालप्लस संवाददाता / काठमाडौं२०७७ मंसिर २२ गते ०:३५

नेकपाका दुवै अध्यक्षको पत्रैपत्रको सिलसिलामा अध्यक्ष ओलीको अर्को पत्रले २१ मंसिर आइतवारको स्थायी कमिटी वैठकमा ओलीलाई रक्षात्मक रहेको र आफू शक्ति, सत्तामा रहन उनी अन्तिम क्षणसम्म जे पनि गर्ने मनस्थितिमा रहेको प्रष्ट पारेको छ ।

असुरक्षाको कारण देखाएर धुम्बाराहीमा भएको सचिवालयको वैठकमा जान नमानेका ओलीले यसपटक कोरोना संक्रमणको निहुँ बनाए पनि पत्र लेखेपछि उनी उपस्थित भए बराबरको मानिएको छ । वास्तवमा ओली अल्पमतमै रहेको कारण पार्टीका वैठकबाट भागिरहेका छन् भन्ने कुरा उनले लेखेको पत्रबाटै बुझिन्छ । ओलीले निकै जोड दिएर पत्रको शुरुमै “आफूले खारेज गरिसकेको, पार्टीलाई विभाजनको डिलमा पुर्‍याउने आरोप पत्रबारे हुने छलफलमा हुन नसक्ने” भनेर लेखेबाटै उनी आफ्नो विचारमा अडिग नै छन् भन्ने देखाउँछ । तर, लोक लाजले नै भए पनि पत्र प्रेषित गरेपछि भाग लिए बराबर हुने र अध्यक्ष प्रचण्डले वैठकको निरन्तरता दिन ओलीले अब कुनै बाधा व्यवधान गर्न नमिल्ने कुरामा स्थायी समितिका धेरै सदस्यहरु सहमत रहेको उनीहरुका अभिव्यक्तिले नै बताए ।

स्थायी समिति सदस्य भीम रावलले भने ‘पत्र पठाउनु भनेको उपस्थित हुनु बराबर हो । अब वैठक अध्यक्ष ओली कमरेडलाई कुरेर बस्दैन ।’

दुवै अध्यक्षको प्रस्ताव स्थायी समितिका सदस्यहरुलाई वितरण गरिएको छ । स्थायी समितिमा ओली अल्पमतमा छन् । स्थायी समितिमा रहेका ओली पक्षधर सदस्यहरुले सकेसम्म स्थायी समितिबाटै विवाद समाधान गरेर जाने मनस्थिति बनाए । र केन्द्रीय कमिटीको वैठकको मिति नतोक्न प्रयास गरेका थिए । तर, नेपाल पक्षधर स्थायी कमिटी सदस्य वेदुराम भुसालले त्यसको प्रतिवाद गर्दै पार्टीलाई सधैं विवाद र अनिर्णयको भूमरीमा राखिरहन नहुने बताए । उनले प्रतिवाद गरेपछि पुष १ गतेलाई केन्द्रीय कमिटीको वैठक डाकिएको छ । केन्द्रीय कमिटीमा पनि ओली अल्पमतमा छन् ।

प्रचण्ड, नेपाल पक्षधर नेताहरु यसपटक ओलीलाई पार्टी अध्यक्षबाट हटाउन कम्मर कसेर लागेका छन् । उनीहरुको झगडाको अन्तिम समाधानको विन्दू त्यहि हो । तर, ‘पाँच वर्ष पुरै प्रधानमन्त्री र आगामी महाधिवेशनसम्म अध्यक्षबाट म कुनै पनि हालतमा हट्दिन’ भनेर हठ लिइरहेका ओलीले अन्तिम पर्‍यो भने जे पनि गर्न सक्छन् भन्ने ओली विरोधी कित्ताको बुझाइ छ । फूटमै गए पनि फूटको अपजस ओलीको टाउकोमा हाल्ने उनीहरुको रणनीति छ ।

सबै प्रदेशमा मदन भण्डारी फाउन्डेशन मार्फत् आफ्ना मानिसहरुलाई परिचालित गरिरहेका ओलीले तलैसम्म आफ्नो वर्चश्व रहेको संकेत दिइरहेका छन् । ओलीका खास सहयोगीहरु प्रदीप ज्ञवाली, इश्वर पोखरेल र शंकर पोखरेल सकेसम्म विभाजनमा जान नहुने लाइनमा बसेर काम गरिरहेका छन् । विष्णु रिमाल, सूर्य थापा लगायतका भित्रियाहरु भने पार्टीको बहुमत आफ्नो पकडमा रहेको दावि गरिरहेका छन् । त्यसैले सचिवालयको वैठकमा सूर्य थापाको नामै तोकेर उपाध्यक्ष वामदेव गौतमले सूर्य थापालाई सल्लाहकारबाट ननिकाले तपाईलाई डुबाएरै छाड्छन् भनेर ओलीलाई ठाडै भनेका थिए ।

एमाले विभाजनलाई नजिकबाट नियालेका ओली हठी भएपनि स्थायी कमिटी र केन्द्रीय कमिटीमा छलफल भैसकेपछि त्यसको सामना नगरेर भाग्न सक्दैनन् । पार्टी निर्णयको अवज्ञा उनलाई महँगो परिरहेको छ । यहि हठी शैलीलाई उनले निरन्तरता दिए भने उनले झन् गुमाउने छन् । रक्षात्मक अवस्थामा पुगेका ओली आगमी २८ गतेको वैठकलाई यसैगरी बहिष्कार गरेपनि उनी माथि स्थायी कमिटीले गर्ने निर्णय नमान्नुको अर्को विकल्प हुनेछैन । त्यसैलाई आधार मानेर फूटको बाटो लिन पुगे भने उनको निम्ति त्यो झन् असहज हुने विश्लेषकहरुको भनाइ छ ।

ओलीले बैठकमा पठाएको पत्र

तपाइँको प्रतिक्रिया