बिहीबार, वैशाख १३, २०८१

घरको समस्या घरमै समाधान गर्ने जनबिरोधी, बिदेशीको ईशारामा नाच्नेहरू राष्ट्रप्रेमी ?

रायन सुबेदी२०७७ मंसिर २२ गते १६:५९

एउटा निश्चित उचाई भएको बस्तुलाई दुई फरक उचाई भएको व्यक्तिहरुले हेर्दा फरक फरक उचाईको देख्छन् । हेर्नेहरूको हेराईको कोणमा फरक परेपछि नतिजामा फरक त पर्ने नै भयो ।

पृथ्वी नारायण शाहलाई बिस्तारवादी र निरंकुश भनेर हेर्नेहरूको नजरले ज्ञानेन्द्रसम्म आईपुग्दाको राजसंस्थालाई निरंकुश र तानाशाही देख्नु झनै आश्चर्यको कुरा भएन।

देशका राजासमेतलाई परदेशमा शरण लिन बाध्य बनाएको राणा शासनको बिरूद्ध आन्दोलन गर्न राजा बिना संभव नदेखेर राजा र कांग्रेसको घाँटी एउटै तर टाउको दुई देख्ने विपी जस्ता महामानवले पनि नेपालमा संबैधानिक राजसंस्था सहितको बहुदलिय प्रजातान्त्रिक पद्धतिको बिकल्प देखेका थिएनन् ।

जननिर्वाचित सरकारलाई कू गरेर पंचायती व्यवस्थाको शुरूवात गरेका राजा महेन्द्रले शासनको बागडोर आफैंले लिएर प्रजातन्त्रको बलात्कार गरे जसको बिरोध आजसम्म पनि गर्ने गरिन्छ । विशेषत: कांग्रेसीहरू भन्ने गर्छनन् ‘त्यतिबेला महेन्द्रले कू नगरेको भए आज देश अर्कै भैसकेको हुने थियो ।’ राजाले जे गर्न नहुने थियो त्यो गरेपनि नेपाली कांग्रेसले राजाको बिरोध गरिरह्यो । तर राजसंस्थाको बिरोध कहिल्यै गरेको थिएन ।

महेन्द्रको अवसानपछि विरेन्द्रले राजाको रूपमा शासन गरे । शालिन र देशप्रेमी राजाका रूमा स्थापित थिए राजा विरेन्द्र । विसं २०४६ फाल्गुन ७ बाट सुरू भएको आन्दोलनले ५० दिनमै ४५ नेपालीको ज्यान लियो । आफ्ना नागरिकको रगत बगाउन नचाहेको सन्देश सहित २०४६ चैत २६ का दिन देशबासीको चाहना अनुरूप संबिधानमा बाँधिएर बस्ने घोषणा गरेका थिए राजा विरेन्द्रले । यहाँ स्मरणयोग्य के छ भने उनले दरबारमै आन्दोलनकारीहरूलाई बोलाएर छलफल गरे । समस्याको साझा समाधान दिएका थिए । भलै आन्दोलनकारिहरूलाई भारतको सहयोग थियो । तर समाधान घर भित्रै खोजियो ।

जनतालाई सार्वभौंम ठान्ने तर ब्यवहारमा आफ्नो स्वार्थपूर्तीको साधन बनाउनेहरूलाई बहुदलिय प्रजातान्त्रिक व्यवस्थानै सैह्य भएन । जनतामा हुने नहुने सपना बाँडेर बिदेशी शक्तिको आडमा १० वर्षसम्म सशस्त्र आन्दोलन गरे । आफ्नै १७ हजार दाजुभाई दिदीबहिनीहरूको ज्यान मारे । अन्त्यमा आफ्नो ईमान, धर्म र राष्ट्रियता नै बिदेशी मालिकलाई जिम्मा लगाए । बिदेशमै बसेर बिदेशीले नै बनाएको संझौता पत्रमा हस्ताक्षर गरेर घर फर्के ।

तिनै बिदेशी सर्कसका बाँदरहरूले घर फर्कन नपाऊँदै राजा र राजसंस्थाले देशहित बिपरित काम गरेको छ भनेर कुर्लन थाले । घरको समस्या घरमै समाधान गर्ने जनहित बिरोधी तर बिदेशीको ईशारामा नाच्नेहरू राष्ट्र प्रेमी ?

२०५८ जेष्ठ १९ को दरबार हत्याकाण्ड पश्चात देशको राजनैतिक अवस्थामा ठूलो परिवर्तन आयो । दाजुको बंशनास नै भएपछि राजा बन्ने अवसर पाएका ज्ञानेन्द्रलाई धेरै जनताले बाध्यताको रूपमा राजा मानेका थिए । उनका छोरा पारस शाहको बहुलठ्ठीपन र खराब आचरणको कारण राजसंस्थाको भविष्यनै अँधेरो देखेका थिए ।

वर्तमान नेपाली राजनैतिक दलहरूका नेताहरू जनउत्तरदायी, ईमान्दार र विकासप्रेमी हुनेथिए भने अपुतालीमा गद्दी पाएका ज्ञानेन्द्रले सरकार अपदस्त गरी आफ्नो हातमा शासनको डोरो लिने दुष्प्रयास कदापी गर्ने थिएनन् । त्यो कदमले राजा बिरोधी मात्र हैन राजसंस्थाकै बिरोधमा जनता सडकमा ल्याउन आगोमा घिउ थप्ने काम गर्यो । हुन त नेपाली कांग्रेसले त्यतिबेला गणतन्त्रको पक्षमा बोल्थेन भने कुनै हालतमा देशमा राजसंस्था रहिरहन्थ्यो ।

माओवादीहरूले जति ठूलो कुरा गरेपनि नेपाली कांग्रेसको सहमती बिना यो कदम संभव थिएन । हुनत तत्कालीन नेका सभापती गिरिजा बाबु र ज्ञानेन्द्रको आपसी हठपनि राजसंस्था पतनको एउटा प्रमुख कारक हो भनेर नेकाकै कतिपय नेताहरूले भन्ने गरेका छन् ।

मिती सक्किइसकेको तर गद्दी छाड्दै गरेका राजाबाट जिवनदान पाएको तत्कालिन संबिधानसभाले के आधारमा संघियता, धर्मनिरपेक्षता र गणतन्त्रको घोषणा गरेको हो त्यो तिनैले जानुन् । नेपाली जनताको चाहना भनेर मिती सक्किएका सांसदहरूले भनेको भरमा हुने कुरा थियो र ? जनभावना बुझ्न पर्दैन थियो ?

सकृय राजा हैन राजसंस्थाको माग गर्दै सडकमा उत्रिएको अहिलेको सानो जुलुसले भोली महासागरको रूपधारण गर्न बेर लाग्दैन । त्यसैले तिनका मागलाई संबोधन गर्न र जनताको मन बुझ्न “संघिय गणतन्त्र कि संबैधानिक राजसंस्था?” र “धर्म निरपेक्ष कि हिन्दु राष्ट्र?” के चाहान्छौ भनेर जनतामा जानु देश र जनहितमा देखिन्छ । हैन भने देशमा थप अस्थिरता निश्चित छ ।

तपाइँको प्रतिक्रिया