बुधबार, माघ १४, २०७७

हेलिकप्टरमा आएका राजा रानीसँग बा, स्टेज र आमाको सम्झना

प्रेम पाठक / बेल्जियम२०७७ मंसिर २४ गते २०:०४

कामको लागि बाटोमा जाँदै थिएँ, रविन भाइको फोन आयो । संचो बिसंचोका कुरा भए । उमेरले म जेठो भएपनि हामी अति मिल्ने साथी भएकोले तँ तँ म ममै कुरा हुन्छ । मैले यहाँको बसाइ, व्यवहारिक र घरायसी बेलिबिस्तार लगाएँ । कोरोनाको कारण मेरो कम्पनी बन्द भएको र राज्यले दिने सहुलियतमा जिन्दगी चलेको बताएँ । राज्यको सहयोग अपुग भएकोले टिपनटापन कामपनि गरिरहेको बताएँ । एकै सासमा आफ्ना कुरा बताएपनि रविन भाइको हालखबर सोधें । भाइ अलि अलमलमा बोल्दै थियो । भनुँ कि नभनुँ भएछ उसलाई । अरुबेला नियमित जस्तै कुरा भइरहने मान्छे अकमकिएको चाल पाएपछि मैले सोधें, खासकुरो के हो ? जेजसो हो खराखरी भन ।

भाइले गर्न खोजेको कुरा मैले कखरा सिकेको सोमेश्वर माध्यमिक विद्यालय, बरुवाको निर्माणाधिन स्टेजको लागि पैसा जम्मा गर्नु रहेछ । कुराकानीको शुरुमै मैले कोरोनाले गर्दा परेको अप्ठेरो सुनाएको हुनाले रविन भाइले भने, “लौ दाजै, विपत त त्यता पनि रहेछ । यो स्टेज बनाउन जे जति सकिन्छ, सकिने भए गर्न पर्यो” भनें । अब के गर्ने तपाईंको जिम्मा ।”

“यो कोरोना जेमराजले नपेलेको भए दाजुभाइ मिलेर बुवा आमाको नाममा गेटै बनाएर राखिदिए झैं यो स्टेज पनि बनाउने थिएँ । स्थिति रहेन । १५ हजार ५ खन्खनी भख्खरै तिम्रा खातामा आइपुग्छ । अरु जे जसो हो, म गर्ने छु” कुरा टुंग्याएँ ।

पढ्ने उमेरमा राजनीतिको नशाले धूत थिएँ म । रगत रगतमा देशभक्ति थियो । बलिदानीका निम्ति बलिबेदीमा चढ्न तयार थिएँ म । हामी युवाहरुले तानाशाही व्यवस्था नफेरे देश यस्तै अँधकारमा रहिरहन्छ भन्ने थियो मनमा ।

क्रान्तिको लप्कोमा लपेटिएको थिएँ म । जो आज अधिकृत र उच्च सेवामा सरकारी जागिर खाइरहेका छन् उनीहरु भने खुरुखुरु पढिरहेका थिए । मेरा नजरमा यो नेपाल देशको दूर्भाग्य राजतन्त्र र तानाशाही पंचायती व्यवस्था नै हो भन्ने कुराले पूर्ण रुपमा बास गरेको थियो । त्यसको एकमात्र विकल्प कम्युनिष्टहरुको अझ भनौं सर्वहारा अधिनायकत्वको शासन हो । नेपाललाई साम्यवादी कम्युनिष्ट मुलुक बनाएरै छाड्ने अठोटका साथ म मैदानमा सबै चिज त्यागेर होमिएको थिएँ । बल बूताले जे जति सकिन्छ गर्दै ।

चिरौलीदेखि बरुवा बजारसम्मको दुई किलोमिटरमा नारा लगाउँदै हिँड्ने कामको अगुवा जस्तै थिएँ म । स्कूले उमेरमा । निमाविमा पढिरहेको बेला बरुवा बजारमा मावि खोल्ने हल्ला चल्यो । नामको प्रस्ताव गरियो, सोमेश्वर माध्यमिक विद्यालय, बरुवा बजार, माडी, चितवन । बा त्यतिबेला उपप्रधानपंच हुनुहुन्थ्यो । बाको राम्रो सम्बन्ध थियो पंचायतकालीन मन्त्री लीलाराज विष्टसँग ।

महेन्द्रका प्रिय थिए उनी । पछि वीरेन्द्रका पनि विश्वासपात्र भए । राष्ट्रिय पंचायत सदस्यमा मनोनित कोटामा उनी परिरहन्थे । दरबारसम्म पहुँच भएकोले जिल्लामा उनको रवाफदवाफ हुने नै भयो ।

गाउँलेहरुले श्रमदान गरेर दुखजिलो गरी स्कूल ठड्याए । बा स्कूल निर्माणमा अहोरात्र खटिनुभयो । स्कूल चल्यो पनि तर अस्थायी खालको । केन्द्रबाट स्वीकृति नपाएको । त्यो बेला चितवनमा पंचायती व्यवस्था विरुद्ध भित्र भित्रै मानिसहरु संगठित गर्न प्रतिबन्धित कांग्रेस र कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु भूमिगत रुपमा खटिएका थिए । हामीलाई प्रशिक्षण दिन्थे । रातबिख लुकी लुकी क्रान्तिका कुरा सुनाउँथे । हामी होमा हो मिलाउँदै नाराबाजी गर्थ्यौं । सत्ताको विरोध गर्दा मारिएका चिनियाँकाजी जस्ता शहीदहरुको स्मृतिमा सभाहरु गर्थ्यौं ।

एकदिन स्कूलमा विचित्र भयो । कल्पनै नगरेको घटना भयो । स्कूलमाथिको नीलो आकाशमा आर्मिको हेलिकोप्टर घुम्यो । हामी कापी किताब कोठामै छोडेर आँगनमा हेलिकोप्टर हेर्न निस्कियौं । हेलिकोप्टर त स्कूलको आँगनमै बस्यो । मेरा बाबै । हाम्रो खुशीको सिमा रहेन । सधै माथिमाथि उडेको देखेको हेलिकोप्टर । नजिकैबाट देखियो । हेलिकोप्टरबाट राजा वीरेन्द्र र रानी एश्वर्य सँगै निस्किए । घोप्टो परेको जुँगा । सलक्क परेको ज्यान । राजा न परे । राजतन्त्र मूर्दावाद भन्ने नारा नै बिर्सिएछ । सैनिक पोशाकमा रहेको राजा वीरेन्द्र झरेर स्कूल हेर्न गए । कसैलाई थाहै थिएन । थाहा पाएको भए म पनि सफा लुगा लगाएर आउँदो हुँ । बजारमा रहेका फोटा खिच्ने दाइलाई बोलाउन हुन्थ्यो । राजाकै विरोध गर्ने भूमिगत कार्यकर्ताहरुलाई घरमा बास दिने मान्छेहरु पनि गाउँबाट सोहोरिएर आए ।

सबले राजाको जयगान गरे । के कम्युनिस्ट, के कांग्रेस जुलुसमा सबले चिच्याए ‘श्री ५ महाराजाधिराज वीरेन्द्रवीरविक्रम शाहदेवकी जय । बडा महारानीको जय’ ।

बा केहि दिनदेखि अलि चनाखो रुपमा हिँडेको मलाई भने अस्वाभाविक लागिरहेको थियो । स्कूलका भित्ताहरुमा रंग रोगन चल्दै थियो । पछि पो थाहा भयो, मन्त्री लीलराज बिष्टले कान फुकेका रहेछन् बाको । कुनैपनि बेला राजालाई लिएर आउन सक्छु भनेर । त्यति बेला राजा मध्यमान्चल भ्रमणको लागि दीयालो बंगला देवघाटमा बसेका थिए । बा भने कहिले हो कहिले भनेर स्कूल नियमित गइरहने तर राजा आएनन् भने बोली खेर जान्छ भनेर चुपचाप बसिरहनु भएको रहेछ । । राजा भेटेको साँझ रोहीणीसर तगायत गाउँलेहरुसंग दिउँसोको घटनाबारे गफीदै बाले भनेपछि थाहा पाएँ ।

दक्षिण तिरको पहिलो कोठामा गएर राजाले स्कूलको बारेमा सोध्दा बा उपप्रधान पंचको रुपमा त्यहीँ हुनुहुन्थ्यो । प्रधानपञ्च माडी बाहिर भएको हुँदा राजासँग बोल्ने जिम्मा बाको पर्यो । कक्षाकोठामा राजाको प्रवेश हुनाले बस्ने कुर्ची पनि थिएन । सबै जना उठी उठी कुरा भएको थियो । बाले “सरकार यो स्कूललाई स्थायी बनाएर सरकारी सुविधा पाउने बनाइबक्सनु पर्यो” भनेर अनुरोध गर्नुभएछ । राजाको करिब आधा घन्टाको बसाई बिचमा उतिबेलै ‘ल यो स्कूल अबदेखि स्थायी भयो’ भनेपछि स्थायी भएको हो भनेर सुन्दा अहिले पनि गौरव लाग्छ ।

स्कूल स्थायी भएपछि अतिरिक्त कृयाकलाप गर्न हामीलाई यो स्टेज नभएर असाध्यै अप्ठेरो भइरहेको थियो । अहिलेसम्म पनि उस्तै रहेछ । स्कूलका नियमित कार्यक्रमहरुलाई पनि सकस भइरहेको थियो । भूइँमा गर्दा जम्मैले नदेख्ने, बार्दलीमा कार्यक्रम गर्न साँघुरो हुने । कक्षाकोठामा कुर्ची नहुने, जोडिएका बेन्च बोकेर मन्च बनाउन समस्या हुने । बरण्डामा कार्यक्रम गर्दा प्रशासनले स्कूल भाँड्यो भन्ने । स्कूलमा सांस्कृतिक कार्यक्रम गर्न खोज्ने हामीहरुलाई स्टेजको समस्या चर्को थियो । पछि सानो स्टेज बनाइयो । त्यो पनि पुरानो भवनसँगै भत्कियो । मान्छे कहाँबाट कहाँ पुगे ? बिचरा स्कूलमा अहिलेसम्म पनि यौटा स्टेज बनेको छैन ।

‘यो त भएन’ भनेर पूर्व विद्यार्थीहरुको भेलाले भाई रविन्द्रसिं ठकुरीको संयोजकत्वमा आधुनिक शैलीको चटक्क परेको स्टेज बनाउने सल्लाह भएछ । १५ लाख रुपियाँको अनुमानित खर्चमा फोल्डिंग सिस्टम सहितको प्यागोडा शैलीको दुई तले भवन बन्ने छ । स्टेजमा चिरिच्याँट परेको सिलिङ, बत्ती, पंखा, बत्ती सुविधा सहितको सबै सुविधा हुनेछ । दिशा पिसाबले छट्पटिएर झाडी र भित्ताका कुनाकानीमा दपन्निन नपरोस् भनेर सुविधा सम्पन्न शौचालय बन्नेछ । माथि सोलार जोडिनेछ । कलाकार सिंगारिन र कपडा फेर्नको लागि छुट्टै कोठा हुनेछ । रिहर्सल गर्न पनि ठाउँ हुनेछ । रविन भाइले मेसेन्जरमा कल्पनाको नक्शा पठाएपछि यो मनमा कल्पनाको स्टेज बन्यो । मनमनै पुलकित भएँ म ।

विदेशमा पनि पैसा कमाउन सजिलो त छैन । न त स्वदेशमै छ । कमाउन सकेपनि बचाउन झन् सकस । तर सबै लागेपछि नहुने केहि छैन । एक्लैलाई भारी पनि नपर्ने । सबै मिले नहुने पनि क्यै छैन । ०४३ सालदेखि ०७७ सालसम्म कतिजना एसएलसी पास भए हुनन् ? ३३ वर्षमा वर्षको कम्तीमा ५० जना मात्रै विद्यार्थीको संख्या जोडे पनि १ ६५० जना भइँदो रहेछ । सबैले एकुन् हजारका हिसाबले उठाए पनि १६ लाख ५० हजार हुनेरहेछ । योजना १५ लाखको छ । हामी सबैले आँटे पक्कै पनि योजना सफल हुनेछ ।

सानैमा मार्क्र्स र लेनिनका ठेली पढियो । माओत्सेतुँगको चिनियाँ क्रान्ति र लंग मार्चका जीवन्त कथा छिचोलियो । पुरातन अन्धविश्वास र रुढिवादी परम्परा मिचमाच पारेर नफालेसम्म यो दुनियाँ बदलिन्न भन्ने अठोट गरियो ।

भौतिकवादी हुँ भन्ने ठानियो आफैंलाई । जीवनमा सकेसम्म भौतिकवादी अभ्यास गर्ने प्रयास पनि गरियो । मरेपछि कहिँ पुगिन्न, जे जे हुन्छ ज्यूँदो छँदै हुन्छ भन्ने लाग्यो ।

परदेशमा छु । तन परदेशमा भएपनि मन उहि गाउँमै छ । सबै परदेशीको पीडा यौटै हो । बेल्जियम हुन् या अमेरिका, लन्डन, साउदीहोस् या भारत । सबै प्रवासीका पीडा र वेदना यौटै हुन् ।

आज आमाको तिथि । हुन त म आफूलाई भौतिकवादी ठान्छु । तर झन्डै दुई दशक अघि हामीलाई टुहुरो बनाएर अनन्तमा विलिन भएकी मेरी आमालाई सम्झेर मन अमिलिन्छ । मन कुक्याउँछ । रुन सक्दिन । मेरा आँखामा टिल्पिल आँसुहरुलाई मनले भित्र कतै दबाइदिन्छ । छोराछोरीहरु छन् । स्वास्नी केटाकेटीका अगाडि कमलो मन गराएर रुने कुरा पनि भएन । आमाले दिएको हौसलालाई उर्जा बनाएर जीन्दगीमा संघर्ष पो गर्ने हो भन्ने लाग्छ र सम्हालिन्छु । शायद छोडी जाने आमाहरुलाई सम्झेर सबैलाई यस्तै हुँदो हो । म एक्लै होइन यो पीडाबोध गर्ने भन्ने लाग्छ ।

मैले कहिल्यै पनि मेरी आमाले यति छिटै छोडेर जालिन् झैं मान्दिनथे । मानिसले मृत्यु स्वीकार्दैन । तर यो सत्य हो । म भौतीकवादमा विस्वास गर्ने । परिवार आस्थिक । परापूर्व देखि चलेको संस्कार मैले मेरै पालामा नकार्न सकिन । बरु मैले मेरै तरिकाले पीतृलाई सम्झने गर्छु । वहाँहरुप्रती सम्मान गर्छु । म त्यो शक्ति छ छैन भनेर हजार तर्कहरु गरुँला । तर मातृस्नेहलाई लल्कार्ने तागत कुनै बचेराको हुँदैन । न त म त्यसको निम्ति लायक नै छु ।

वर्दियामा धनादिदी अन्तरगत साईला भीनाजुका छोरा सागर भान्जा क्यान्सरसँग लडिरहेका छन् । आज आमालाई सम्झिरहेको बेला मैले भान्जाको नाममा स्वास्थ्यलाभ को कामना गर्दै १० हजार र स्टेजलाई १५ हजार ५ गरी कुल २५ हजार ५ दान चन्दा भन्दापनि सहयोग गर्ने निर्णय गरें ।

आशा छ, यो महाअभियानमा सबै साथीहरु जोडिनुहुने छ । तपाईहरुका पनि आफ्नै परिवारका बिचमा जन्मोत्सव, बैवाहीक वर्षगाँठ वा आफन्तजन गुमाएका दुखका पल हुन सक्छन् । त्यहि संदर्भ पारेर मातृभूमी र चेतनाको दैलो उघार्ने विद्यालयको पूण्य चिताउँदा सबैलाई शान्ति मिल्नेछ । आमा खगिसराको आत्माको शान्तिको कामना गर्छु । श्रद्धान्जलि अर्पण गर्दै सधै असल बाटोमा लाग्ने प्रण गर्दछु । मनमनमा यौटै कुरा खेलिरहन्छ । मृत्यु अवश्यमभावी छ । आफू हुर्केको, पढेको आँगनका लागि केहि गर्न सकिरहुँ जस्तो लाग्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक