बुधबार, वैशाख १२, २०८१

जनताको आवाज बोल्ने कुरामा हाम्रो नेतृत्व चुक्यो- कृष्णप्रसाद सिटौला

नेपालप्लस राजनितिक संवाददाता / काठमाडौं२०७७ मंसिर २५ गते १२:५२

कृष्णप्रसाद सिटौला नेपाली कांग्रेस भित्र ‘फिल्ड मेकर’ मानिन्छन् । पार्टी भित्र कूटनैतीक छवी बनाएका सिटौला शान्ती वार्ताका एक मुख्य योजनाकार समेत हुन् । माओवादीलाई वार्तामा ल्याउन उनले वहन गरेको भूमिका सम्झनयोग्य छ । त्यतिबेला शान्तिवार्ताका क्रममा यिनको चर्चा भावी पार्टी सभापति र प्रधानमन्त्रीको रुपमा पनि भयो । पार्टीको १३ औं महाधिवेशनमा यिनी सभापतिको उम्मेद्वार बनेपनि । तर पराजित भए । खास गरेर गिरिजा प्रसाद कोइरालाको देहावाशानपछि सिटौलाको प्रभाव पनि सेलाउँदै गयो । सुशिल कोइरालाको सभापतित्व कालमा पार्टी सभापति र यिनको ‘लभ-हेट’ सम्बन्ध रह्यो । सुशिल कोइरालाले यिनलाई पूर्ण रुपमा विश्वास गरेनन् । यिनले सुशिल कोइरालालाई छोड्न सकेनन् । कोइरालाले सिटौलाको तुलनामा शशांक कोइरालालाई नेतृत्वमा पुर्याउन मल जल गरिरहे । सभापति कोइरालाको स्वार्थ परिवार तर्फ सोझियो । यिनी बाहिर परे ।

१३ औं महाधिवेशनमा यिनको जति चर्चा र प्रभाव देखिएको थियो, अहिले त्यो बिस्तारै सुस्ताउँदै गएको छ । १४ औं महाधिवेशन घोषणा भइसकेपछि कुनै बेलाका यि प्रभावशाली ‘फिल्ड मेकर’ चुपचाप छन् । नेपाली कांग्रेसलाई बुझेकाहरुले के भन्छन भने यदि कृष्णप्रशाद सिटौलाको सकृयाता हुँदैनथ्यो भने देशमा राजतन्त्र अलीबेर टिक्न सक्दथ्यो । भनिन्छ, यिनकै ‘पावर डिस्कस’ पछी बल्ल गिरिजा प्रशाद कोइराला गणतन्त्र लागि सहमत भएका थिए । अहिले धेरै नेता कार्यकर्ताका आगनमा १४ औं अधिवेशन शुरु भइसकेको छ । सडकमा राजावादीहरुको माग छ- ‘देशलाई हिन्दू राष्ट्र घोषणा गर’ । तर यि ‘फिल्ड मेकर’ चुपचाप छन् । नेपालप्लस सँगको कुराकानीमा यि मेकरले भने “हिन्दू राष्ट्रको कुरा सरकारको अकर्मण्यताको उपज हो । तर हामी सम्पूर्ण कुरामा छलफल गर्न सक्छौं । नयाँँ दृष्‍टिकोणका साथ हामी अगाडि जान सक्छौं ।

आजभोलि के गर्दै हुनुहुन्छ ?

पार्टी महाधिवेशका लागि तयारी गर्दै छौं । महाधिवेशन फागुनमा हुने सम्भावना छैन । तै पनि सुनिश्चित गर्नुपर्‍यो । नयाँँ कार्यतालिका बनाउँ र आगामी जेठ भित्र महाधिवेशन गरौं भन्ने कुराको छलफल छ । अर्को तर्फ कम्युनिष्ट पार्टी र यो सरकारले गरेका गलत कामका विरुद्दमा गरिने कार्यक्रमको तयारिमा हामी लागेका छौं । यिनै कामको शिलशिलामा छु मपनि ।

महाधिवेशन त शुरु भए जस्तो देखिन्छ । तर तपाईं चुपचाप हुनुहुन्छ । कतै देखिनु भएको छैन किन हो ?

धेरै बोलेर हिँड्ने मेरो बानी छैन । समय आएपछि सबैले देख्छन् । जसरी तपाईंले सुरु गर्नु भो सोध्न । समय आउँदै जाँदा अरुले पनि शुरु गर्छन् । त्यसपछि मेरा कुराहरु पनि आउँछन ।

यो अधिवेशनमा तपाईंको भूमिका के हुन्छ ?

१३ औं महाधिवेशनमा हाम्रो एउटा सानो टिम थियो । अहिले त्यो विस्तारित र ठूलो भएको छ । अरु को सभापतिको उम्मेद्वार बन्दै छ भन्ने तिर म जान्न । तर हाम्रो टिम सशक्त रुपमा महाधिवेशनमा जान्छ ।

पार्टी सभापतिमा तपाईंको उम्मेद्बारी हुन्छ कि हुँदैन ?

यो अली छिटो भयो । पहिले महाधिवेशनको कार्यतालिका निश्चित हुनुपर्‍यो । कृयाशिल सदस्यताका कुरा टुंगिएकै छैनन् । जनसंपर्क समितिको कुरा सकिएको छैन । यि सबै कुरा सकिएपछि मात्र बल्ल के गर्छु भन्ने कुरा बताउन सकिन्छ ।

तपाईंहरुले कृयाशिल सदस्यता र जनसंपर्क समितिका समस्याको कुरा गर्न लागेको निकै धेरै भईसक्यो, कहिले सकिन्छ भन्या ?

यसमा सभापति, वरिष्ठ नेता लगायत पदाधिकारी साथीहरुको सकृयतामा भरपर्ने हो । हामीले उहाँहरुलाई यो विषय छिटो टुंग्याउनु पर्‍यो भनिरहेकै छौं । अब छिट्टै नै कार्य समितिको बैठक बस्छ । र, सम्भत: यो विषय टुङ्गिन्छ ।

सभापति, बरिष्ठ नेताहरु सकृय हुनुहुन्न र ?

कृयाशिल सदस्यताको सम्बन्धमा केन्द्रमा विभेद छ । त्यसलाई पार लगाउन सकिएको छैन । अहिले पनि बिवाद छ । अब केहि दिनमा नै कृयाशिल सदस्यता छानविन टोली बनाउनु पर्दछ र उसलाई सम्पूर्ण जिम्मेवारी दिनुपर्दछ भन्ने मलाई लागेको छ । अहिले दुई वटा कुराहरु सँग सँगै लिएर जानु पर्दछ । एउटा महाधिवेशनको तयारी, एकताको महाधिवेशन बनाउन समयमै अधिवेशन गर्न सबै लाग्नु पर्दछ । त्यो के भने, यि जुन कृयाशिल सदस्ता र जनसंपर्क समितिका समस्याका कुरा छन् छिटो भन्दा छिटो समाधान गर्नुपर्दछ ।

अर्को भनेको यो कम्युनिष्ट सरकारको गलत कार्यहरुको बिरुद्धका संघर्ष गर्दै नयाँँ ढंगले हामी जनताका माझमा जानुपर्दछ । यि सबै पक्षमा हामी छलफल गरिरहेका छौं । मुख्य कुरा के हो भने आगामी महाधिवेशनमा तमाम साथीहरुले नेतृत्वको मुल्यांकन गर्ने हो । कार्यकर्ताहरुको मुल्यांकनको आधारमा हाम्रा सबै तहमा नेतृत्व चुनिएर आउने हो । त्यसैले माथिल्लो तहले नयाँ परिस्थिती र कार्यकर्ताहरुको चाहनालाई बुझ्न सक्नुपर्छ । उहाँहरुले कार्कर्ताको चाहना अनुसार आफ्नो सकृयता अझ बढाउनु पर्दछ भन्ने मलाई लागेको छ । कार्यकर्ताहरु कै हातमा छ नेतृत्वको मुल्यांकनको कुरा ।

सभापतिले त फागुन मै महाधिवेशन गर्न सम्भव छ भनिरहनु भएको छ त ? उहाँले आफ्नो सकृयता बढाएको भएर नै सम्भव हुने होला नि ?

फागुनमा त कुनै हालतमा पनि सम्भव मैले देख्दिन । उहाँले कसरी भनिरहनु भएको छ मलाई जानकारी भएन । तर मुख्य कुरा के हो भने फागुनमा महाधिवेशन गर्नका लागि बनेको कार्यतालिका अन्तर्गत गत भदौ भित्र सतहत्तरै जिल्लाबाट र जनसंपर्क समितिहरुबाट कृयाशिल सदस्यहरुको सम्पूर्ण जानकारि केन्द्रमा आइसक्नु पर्ने थियो । तर अहिलेसम्म कतैको पनि कृयाशिल सदस्यहरुको नामावली केन्द्रमा आएको छैन । फागुनमा महाधिवेशन गर्नका निम्ति पुष महिना भित्रै वडा, क्षेत्र हुँदै जिल्ला त्यहाँ सम्मको अधिवेशन सकिएको हुनुपर्दथ्यो । त्यस विषयमा अझै अन्योल छ । त्यसकारण म के भन्छु भने यो नहुने महाधिवेशनका लागि चर्चा गरेर समय खेर फाल्नु बेकार छ । बरु त्यो कार्यतालिकालाई पारीमार्जित गरेर जेठ महिनामा अधिवेशन गर्न सकियो भने त्यो बरु उपलब्धिमुलक हुन्छ ।

गत महाधिवेशनपछि संघिय र प्रदेश निर्वाचन सम्पन्न भए । पार्टी अहिलेको अवस्थासम्म आइपुग्दा सभापतिको भूमिकालाई तपाईंले कसरी मुल्यांकन गर्नुभएको छ ?

मुख्य कुरा, नेतृत्वको विशेष भूमिका जुन आम निर्वाचनमा देखिनुपर्ने थियो त्यो देखिएन । कार्यकर्ताले पक्कै पनि राम्रो मुल्यांकन गरेका छैनन् । नेतृत्वको भूमिका राम्रो भएको भए गत निर्वाचनमा पार्टीले सफलता प्राप्त गर्ने थियो । लोकतन्त्र आइसकेपछि नेताहरुले कार्यकर्ताहरुको मुल्यांकन गर्नुपर्दथ्यो । त्यो हुँदै भएन । अब महाधिवेशनमा कार्यकर्ताले नेताहरुको मुल्यांकन कसरी गर्छन् त्यो हेर्न बाँकी छ । कार्यकर्ताहरुको खास गरेर महाधिवेशन प्रतिनिधिहरुको स्वाभिमान कत्तिको जागृत छ त्यसैको आधारमा नेताहरुको चार वर्षे कामको जोड घटाऊ हुन्छ ।

मैले त तपाईंको मुल्यांकन के छ भनेर सोधेको ?

मैले कसैको बारेमा ब्यक्तिगत रुपमा नकारात्मक कुरा बोल्ने गरेको छैन । यत्ती नै पर्याप्त होला ।

अहिले हिन्दू राष्ट्र र ‘राजा आउ देश बचाउ’ भन्ने खालका आन्दोलन शुरु भएका छन् । नेपाली कांग्रेसले त्यसलाई कसरी मुल्यांकन गरिरहेको छ ?

राजतन्त्र फेरि आउला भन्ने त सोच्दै नसोच्नुस् । गणतन्त्र संस्थागत भइसकेको छ । अब शान्तिपूर्ण तरिकाले कसैले आफ्ना कुराहरु राख्न पाईन्छ । त्यो अधिकार संबिधानले दिएको छ । संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संसदिय शासन ब्यवस्था जो बहुलवादमा आधारित छ त्यो अब संस्थागत भएको छ । अब गणतन्त्र उल्टिने र राजातन्त्र आउने भन्ने कुरा मात्र निरन्तरको बहस भन्ने लाग्छ । यसमा सधैंभरी चर्चा गरिरहनु म उपयुक्त टान्दिन ।

हिन्दू राष्ट्र र ‘राजा’ आउ भन्ने जुलुस र प्रदर्शनमा अधिकांश नेपाली कांग्रेसका कार्यकर्ता र मतदाताहरुको सहभागिता रहेको सूचना तपाईंहरुलाई छैन र ? नेपाली कांग्रेसले सम्बोधन गर्नुपर्ने होइन यो विषयमा ?

सरकारको काम कारवाही र शैलीप्रति अहिले जनतामा ठूलो असन्तुष्टि छ । यात्राो बहुमतको सरकार बन्यो । तर सरकारले जनताका चाहना र आवश्यकतालाई सम्बोधन गर्न सकेन । यत्रो महामारी फैलिएको छ । तर परिक्षण राम्रो छैन ।स्वास्थ्य उपचारको कुनै बन्दोवस्त छैन । संक्रमित भएका मानिसहरु बाँच्ने बिकल्प दिन सकेन यो सरकारले । यस्तो अवस्थामा जुनसुकै रुपमा भएपनि जनताको सरकार प्रति आक्रोस हुनु स्वभाविक हो । सरकारको असफलताका कारण जनतामा निरासा छ । मनोवल गिरेको छ । यो सबै सरकारको नालायकिको कारणले हो । यसलाई धेरै चिन्ता गर्नुपर्ने आवश्यकता मलाई लाग्दैन ।

अर्को कुरा के हो भने नेपाली कांग्रेस पार्टीले दह्रो प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन । जनताको आवाजलाई उठाएर सडक सदनमा प्रभावकारी रुपले प्रस्तुत हुन सकेन । यसमा नेतृत्वको कमजोरी रह्यो । यो हामीहरुले बुझ्नुपर्ने कुरा हो । तर अब यहि २९ गते देखि हामीले देशब्यापी रुपामा पचहत्तरै जिल्लामा प्रदर्शन गर्दै छौं । त्यसपछि थाहा हुन्छ नेपाली कांग्रेस पार्टी कसरी अगाडि जाँदै छ भन्ने कुरा । अनी नियमित रुपबाट प्रतिपक्षको भूमिका निर्वाह गर्ने कुरामा सडक सदन दुबै ठाउँमा जिम्मेवारीपूर्वक प्रस्तुत हुने छौं ।

हिन्दू राष्ट्रको माग र बहसलाई नेपाली कांग्रेसले कसरी लिन्छ ? तपाईंकै कती नेताहरुले हिन्दू राष्ट्रको कुरा उठाईरहनु भएको छ बेलाबेला ?

जुन नेताले यस बारेमा बोलेका छन् यो उनैलाई सोध्नुस् । पार्टीको केन्द्रिय समितिमा यस्तो खालको कुनै प्रस्ताव आएको छैन । पार्टीको आन्तरिक फोरम र केन्द्रिय समितीमा छलफल र बहस नभएका विषयमा बोलिरहनु जरुरी हुँदैन । हामीले पार्टीका बिभिन्न फोरमहरुमा छलफल र निर्क्योल भएका सिद्दान्तहरुलाई बोकेर हिँड्ने हो । खास कुरो के हो भने संबिधानले जसरी सनातन धर्म र संस्कृतिको संरक्षणको सम्बन्धमा ब्यवस्था गरेको छ त्यसलाई सरकारले पनि संरक्षण गर्नुपर्दछ । तर संबिधान मान्ने कुरामा सरकार नै उदासिन रह्यो । ध्यान दिएन । सनातन धर्म र संस्कृतीको बिपक्षमा सरकारी गतिबिधीहरु देखिए । त्यसको आक्रोश जनतामा उत्पन्न भएको हो । सरकारको अकर्मण्यता र संबिधानलाई नजरअन्दाज गरेका कारण उत्पन्न भएका बिचारहरु हुन भन्ने मलाई लागेको छ । तथापी, हामी सम्पूर्ण कुरामा छलफल गर्न सक्छौं । र नयाँँ दृष्‍टिकोणका साथ हामी अगाडि जान सक्छौं नि त ।

सरकारको अकर्मण्यताका कारणले यात्रा जुलुस र प्रदर्शनहरु भएका छन् भनिरहनु भएको छ तपाईंहरु । तर घाटा त कांग्रेसलाई भएको छ नि ! सरकारले यस्तो र उस्तो गर्‍यो भनेर बस्ने कि यसलाई उचित संबोधन गर्ने ?

अब झापामा हाम्रो प्रदर्शन हुँदै छ । हेर्नुहोला नि कती मान्छे सहभागी हुन्छन् । अब एउटा वडा मै हेर्नुभयो भने ३-४ हजार मतदाता हुन्छन् । कुनै ईश्युमा सानातिना जुलुस निस्किनु अस्वाभाविक होइन । अर्को कुरा सडकमा प्रतिपक्ष नपुगेको अवस्थामा नारा जुलुस भइरहँदा यो के हो भन्ने परेको हो । कांग्रेसका कार्यकर्ता र मतदाता कतै गएका छैनन् ।

नेपाली कांग्रेसले प्रतिपक्षमा बसेर जनताको भावना आँकलन गर्न सकेन वा भनौं आफ्नो भूमिका वहन गर्न सकेन भन्ने कुरामा तपाईं सहमत हुनुहुन्छ ?

हो सकेन । सरकारले पनि जनताका आवश्यकता पुरा गर्न सकेन । र प्रतिपक्षले पनि उनिहरुका आवाज बोल्न सकेन । जनताका आवाज बोल्ने कुरामा हाम्रो नेतृत्व सुस्त भयो । यसैका कारण अहिलेको समस्या उत्पन्न भएको हो । प्रतिपक्षको रुपमा दह्रो भूमिका निर्वाह गर्न नसक्नु नेपाली कांग्रेसको कमजोरी हो । मर्का परेका बेलामा, समस्याका कुराहरुमा कुनै न कुनै पार्टीले आफ्ना कुराहरु बोल्दिउन् भन्ने जनताको चाहना हुन्छ । हामीले जनताका कुरा बोल्न सकेनौं । हामीले त्यो कुरा स्विकार गर्नुपर्दछ । तर अब सदन र सडक दुबै ठाँउबाट जनताका आवाज गुन्जायमान बनाउँछौं ।

तपाइँको प्रतिक्रिया