बुधबार, माघ १४, २०७७

नारी साहित्य सम्मेलनमा रमाउँदाका तीन दिन

दुर्गा पौडयाल /शंकरनगर२०७७ मंसिर २५ गते १७:१४

अहिले महिला हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेकोछ । महिलाहरु यानी नारीहरु हिंसामुक्त होउन् र सम्मानका साथ समाजमा बाँच्न पाउन्, उनिहरुको पनि आफ्नो अस्तित्व छ भन्ने यो अभियानको उद्धेश्य हो । नारीहरु घरपरिवार, समाज र देशमा सम्मानका साथ बाँच्ने दिन आओस् शुभकामना छ । समाज नारी पुरुष मिलेरै बनेको छ । नारीबिना समाज अधुरो, अपुरो हुन्छ । तर तिनै नारी हेला होचो र हिंसाको सिकार भएर नारकीय जीवन जिउन बाध्य हुनुर्पछ । यहि समाजका मानिस कति महिलाप्रति सम्बेदनहीन छन् भने यहि समाजका कुनै मानिस नारीलाई सम्मानगर्ने पनि छन् । नारी सम्मानका कुरा गरिरहँदा मलाई बिश्वनारी साहित्य सम्मेलनको याद आयो । त्यहाँ नारीलाई उच्च सम्मान गरिएको थियो । नारी श्रष्टाहरुको मात्र सम्मेलन थियो त्यो ।

पुराना संझनाले मानिसलाई कहिले दुख त कहिले सुखको अनुभूति गराउँछन् । यस्तै अनुभूति मेरा पनि छन् । ति अनुभूतिले मेरो पनि मन रमाउँछ कहिलेकाहीं । कुरो २०७१ जेठ १५,१६ र १७ गतेका दिनहरुको हो । ति दिन मेरालागि निकै महत्वपूर्ण र अविश्मरणीय दिनहरु रहे । किन भने ति दिनहरुमा म नारी स्रष्टाहरुको सागरमा डुबुल्की मार्न तराईको उर्खमाउलो गर्मीबाट तपतप पसिना चुहाउँदै काठमाण्डौको शितल ठाउँमा, अझै नारी स्रष्टाहरुको साहित्यिक सम्मेलनमा रमाउन जान लागेकी थिएँ । यो अवरसर जुटाएई दिएको थियो, त्रिमूर्ति निकेतनले । त्रिमूर्ति निकेतनको आयोजनामा विश्वनारी नेपाली साहित्य सम्मेलन हुन गईरहेको थियो । त्यस सम्मेलनका प्रमुख योजनाकार र आयोजक नरेन्द्र प्रसाइँ र ईन्दीरा प्रसाइँ हुनुहुन्छ भन्ने सुनेकी थिएँ, देखेकी थिईन ।

विश्वनारी साहित्य सम्मेलन हुनगईरहेको त थियो । तर मेरो जाने नजाने कुनै निधो थिएन । विश्वभरि छरिएर रहेका नारी स्रष्टाहरुको सम्मेलन भनेपछि त्यसै पनि मनमा लोभ जागेको थियो । त्यसैमाथि ख्याती प्राप्त नारी श्रष्टा देखि नयाँ नारी प्रतिभाहरुसँग भेटघाट र चिनजान हुने लोभले डोराएको थियो । २०७१ जेठ १५ गतेदेखि कार्यक्रम शुरुहुने दिन थियो । प्रथम विश्वनारी नेपाली साहित्य सम्मेलनमा भागलिन जसरी पनि जान्छु भन्ने उद्देश्यले नै म जेठ १४ गते काठमाडौंकालागि प्रस्थान गर्ने भएकी थिएँ ।

यो साहित्यिक संस्थाकी लुम्बिनी अञ्चल अध्यक्ष कृष्ण देबी शर्मा हुँनुहुन्थ्यो । अञ्चल उपाध्यक्षको नाताले हामी उपाध्यक्ष म दुर्गा पौडयाल र पाल्पाकी मन गैरे, कोषाध्यक्ष रुपा भट्टराई, सदस्य सचिव भगवती अर्याल पाण्डे थियौं । ६ वटा जिल्लाबाट ६ जिल्ला अध्यक्षमा, रुपन्देहीबाट लक्ष्मी शर्मा, नवलपरासीबाट राधा पाण्डे, कपिलबस्तुबाट विन्दु सिग्देल, पाल्पाबाट लक्षीमा ज्ञवाली, अर्घाखाँचीबाट कविता पौडेल, गुल्मीबाट मैना भण्डारी प्रतिनिधीकै रुपमा जाँदै थियौ । हाम्रो अञ्चलका सबै साथिसँग त्यहिँ भेट गर्ने निधो भएको थियो । सोही अनुसार हामी काठमाणडौं गएका थियौं ।

काठमाणडौंमा मलाई ठाउँपत्ता लगाउन गाह्रो हुन्छ । काठमाणडौका शहर गल्लीकालागि म अभ्यस्त थिईन । त्यसैले पहिलो दिन जेठ १५ गते दिउँसो दुई बजे नै छोरा संजयले कार्यक्रम स्थल संचारग्राम स्थित् त्रिमूर्ती निकेतनको प्राङगणमा पुराईदिएर फर्केका थिए । म कार्यक्रम स्थलभित्र छिरें । त्रिमूर्ति निकेतन जहाँ नेपाली भाषा साहित्यका विभूतिहरु कवि शिरोमणि लेखनाथ पौडयाल, नाटयसम्राट बालकृष्ण सम र महाकवि लक्ष्मी प्रसाद देवकोटाका पूर्ण कदका शालिकहरु लस्करै उभिएका रहेछन् । त्यस ठाउँलाई संचारग्रामको नामले पनि चिनिने रहेछ । किनकी त्यही नजिकै पत्रकार महासंघको केन्द्रीय कार्यालय, सूचना बिभागको भवन लस्करै रहेछन् ।

त्रिमूर्ति निकेतनमा छिरेपछि, देशका तीनजना भाषा र साहित्यका मूर्धन्य ब्यक्तित्वहरुका पूर्ण कदका पहेंला रङगका सालिकहरु देखेर म नतमस्तक भएँ । आदर भावले शीर झुकाएँ । ति सालिक उँचो शीर गराएर देशको शान बढाईरहेका थिए । त्यहिँ पुगेपछि हाम्रो अञ्चलका सबै साथिहरुसँग भेट भयो । भेटपछि खुशी साटासाट गर्‍यौं । काठमाणडौंमा हुन गईरहेको नारी सम्मेलन भएकोले काठमाणडौं उपत्यका भित्रका नारी स्रष्टाहरुको उपस्थिती बाक्लो हुने नै भयो ।

त्रिर्मूती स्थापनामा धेरैजनाको योगदान, देन होला त्यो आफनो ठाउँमा छ । तर त्यहि स्थलमा पुगेपछि मैले थाहापाएùù, त्रिमूति निकेतन स्थापनामा नरेन्द्र प्रसाई र ईन्दीरा प्रसाईको ठूलो देन र परिश्रम रहेछ । त्यति बेलाको त्यो नारी साहित्य सम्मेलनको भेलमा थपिन जाने अवसर पनि जुटाएको थियो । त्यहि त्रिमूर्ति निकेतनका सदस्य सचिव नरेन्द्रराज प्रसाई र अध्यक्ष ईन्दीरा प्रसाईको सोंच र प्रयासले । कहाँ को को नारी साहित्य श्रष्टा छन् भनेर खोजीनिती गर्नु र एउटा संजाल तयार पार्नु चानचुने कुरा थिएन । दुईचार कविता लेख्ने, दुई पुस्तक प्रकाशितगर्ने पुरुष साहित्यकारको जमात ठूलो हुन्छ । र सम्मानित पनि पहिला तिनै हुन्थे । तर साहित्यलेख्ने नारी श्रष्टाहरुको खोजी बिरलै हुन्थ्यो । त्यो खोजी गरिएको थियो त्रिमूर्ति निकेतन बिश्वनारी साहित्य सम्मेलनको नामबाट ।

पहिलो दिन १५ गते दिउँसो तीन बजेबाट कार्यक्रम शुरु भनिएता पनि टाढाटाढाबाट पाहुनाहरु आउनुपर्ने भएकोले होला करिव चारबजे कार्यक्रमको शुरुवातको अवगत त्रिमूर्ति निकेतन संस्थापक एव सदस्य सचिव नरेन्द्रराज प्रसाईले गर्नुभयो । उहाँले यो साहित्य सम्मेलन गर्ने सोंच कसरी आयो भन्ने पनि बताउनुभयो । त्रिमूर्ति अध्यक्ष ईन्दीरा प्रसाई र विश्वनारी नारी साहित्य सम्मेलनकी केन्द्रीय अध्यक्ष प्रां डा। गार्गी शर्माबाट त्रिमूर्तीमा माल्यार्पणगरी त्यसदिनको कार्यक्रमको शुरुवात भएको घोषणा गरिन् । बाबा बस्नेतले मिठो स्वरमा कार्यक्रमको संचालन ।

वास्तवमा जेठ १५ का दिन अन्य विशेष कार्यक्रम भन्दा पनि साहित्य सम्मेलनको पूर्व तयारी नै रहेछ । त्यस दिनका कार्यक्रममा नारी साहित्य सम्मेलनको उद्देश्यमाथि प्रकाश पार्नु, त्रिमूतिका संस्थापक पदाधिकारी, बर्तमान पदाधिकारी, नेपाल बाहिरका ५ महादेशका २० वटा राष्ट्रबाट आएका नारी साहित्य दुत र देशभित्रका १४ अञ्चल र ७० जिल्लाबाट आएका अञ्चल अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र जिल्ला अध्यक्षहरु सबैलाई सबैमाझ परिचय गराउनु, त्यहाँ उपस्थित् नारी स्रष्टाबाट प्रकाशि क्रितिहरु त्रिमूर्ति पुस्तकालयमा जम्मा गराउनु,१६ गतेको कार्यक्रमको विवरण सहितको कार्ड, यातायात खर्च, खाजा र खाना, अनि नारी साहित्य सम्मेलनकालागि तयार पारिएका सम्मपूर्ण नालीबेली सहित नई प्रकाशनले प्रकाशित गरेका पुस्तकहरुको कुपन उपलब्ध गराउनु नै रहेछ ।

यस विचमै उपस्थित सबैले एकअर्काको फोटो लिए । एक आपसमा परिचित भए । त्यसपछि आआफना प्रकाशित कृतिहरु एक आपसमा बाँडे । त्रिमूर्ति पुस्तकालयकोलागि पनि कृतिहरु जम्मा गरे । मैले पनि आफना प्रकाशित कृति ‘काउ ब्वायको देशमा’ र यात्रा संस्मरण नियात्रा पुस्तकालयमा जम्मा गरेँ । एक आपसमा फोन नं लिनेदिने, एकापसमा परिचय गरियो । त्यतिबेला फेसबुक साथी बनाउने त्यत्ति चलन भएजस्तो लागेन । यि सब काम सम्पन्न गर्दा र खानाखाँदा साँझको ६ बजिसकेको थियो ।

सम्मेलनको उद्घाटनको दिन । कार्यक्रमको दोस्रो दिन यानी जेठ १६ गते शुक्रबार हुने कार्यक्रम स्थल त्रिमूर्ति निकेतनको प्राङ्गणमा सम्भव नहुने भएकोले होला काठमाडौंको भाटभटेनी स्थित् आम्रपाली ब्याङ्क्वेटको ठूलो सभाहलमा ब्यवस्था गरिएको रहेछ । साहित्य सम्मेलनको उद्घाटन सम्माननीय प्रधानमन्त्री सुशील कोईरालाद्धारा हुँदै थियो । अघिल्लै दिन कार्यक्रमस्थलमा विहान साढे सात बजे नै पुगिसक्नुपर्ने उर्दी थियो । काठमाडौंका सबै ठाउँमा म एक्लै मेसो नपाउँने भएकोले छोरा संजयले नै मलाई सो स्थानमा पुराई फर्किए । सात बजे अगाडी नै सम्मेलन स्थलमा पुगिएछ । त्यसैले त्यहाँको मन्दिर परिसरमा केहिछिन एक्लै डुलेँ । एक छिनपछि केहि परिचित साथीहरु देखा पर्नुभयो । उहाँहरुसँगै सम्मेलन स्थलतिर लागियो ।

करिब तीन चारसय मानिसहरु बस्न मिल्ने ठूलो स्टेज सहितको हल रहेछ । देख्दा लाग्यो काठमाण्डौको घनाबस्ती भएको शहर, खुला ठाउँहरुको अभाव, मानिसहरुको ब्यस्त जीवन । आधुनिकतामा गाँसिएका बिहे ब्रतबन्धका पार्टीहरुहरुलाई थेग्न यस्ता हलहरुको आवश्यकता त छ नै । यो हल पनि सभा समारोह, सम्मेलन, बिहेपार्टी सबैको आवश्यकता पूर्तिगर्ने खालले बनाईएको रहेछ । हलको अगाडी पछाडी दुबैतिर खुला भएकोले अगाडी पार्किङ् र पछाडी खानपानको लागि उपयुक्त ठाउँ रहेछ त्यहाँ ।

उद्घाटन सत्र भएकोले देशका प्रबुद्धबर्ग बुद्धिजिवी, लेखक, कवि, साहित्यकार पत्रकार देखि देश बाहिर र देशभित्रका महिला स्रष्टाहरुको उपस्थिती र आउने क्रम जारीनैे थियो । बिहानको चिया खाजा पछि सबै हलभित्र प्रबेश गरे । हल पुरा बौद्धिक र साहित्यिक जमातले खचाखच भरिएको थियो । उद्घोषिका सन्ध्या पहाडीले कार्यक्रम शुरुहुने संकेत गर्दै प्रधानमन्त्रीको आगमनको पनि सूचना गरिन् । साथै आसनग्रहणकोलागि नामहरु उच्चारण गर्न थालिन् ।

उदघाटन सत्रको अध्यक्षता बिश्वनारी साहित्य सम्मेलनकि केन्द्रीय अध्यक्ष प्रां डा। गार्गी शर्माले गर्नुभयो । त्यसदिनको प्रमुख अतिथीमा तात्कालिन प्रधानमन्त्री सुशिल कोईराला हुनुहुन्थ्यो । कार्यक्रम स्थलमा आगमन भईसकेको थियो । विशिष्ट अतिथीमा तात्कालिन गृहमन्त्री बामदेव गौतम, अर्का अथिती अख्तियार प्रमुख लोकमानसिं कार्की, अन्य अतिथीहरुमा सताब्दी पुरुष सत्यमोहन जोशी, बैरागी काईला, मोदनाथ प्रश्रित लगायतको उपस्थिती थियो । तालीको गडगडाहटले अतिथीहरुको स्वागत गरिएको थियो । नारीहरुको साहित्य सम्मेलन भएपनि पुरुष साहित्यकार र देशका अन्य उच्च ओहदाका ब्यक्तित्वहरुको बाक्लै उपस्थिती थियो । मञ्चमा आसिन नारी स्रष्टाहरुमा डा।बानिरा गिरी अर्की त्रिमूर्ति निकेतनकी अध्यक्ष ईन्दिरा प्रसाई हुनुहुन्थ्यो ।

त्यहाँको उपस्थिती देख्दा निकै लोभलाग्दो नै थियो । वास्तवमा त्यसले कुम्भ मेलाकै झझल्को दिन्थ्यो । मन्तब्यका क्रममा त्यहाँ बोल्ने वक्ताहरुले पनि त्यस नारी सम्मेलनको सागरलाई कुम्भ मेलाको संज्ञा दिएका थिए । तर त्यो मेला धार्मिक मेला थिएन । एउटा बौद्धिक वर्ग र साहित्यकर्मीहरुको मेला थियो । उच्च कोटीको बौद्धिक ब्यक्तित्वको सागर थियो ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै नरेन्द्र प्रसाईले बिश्वनारी साहित्य सम्मेलनको कल्पना, उद्देश्य, अवधारणा र औचित्य प्रस्टाउँदै भन्नुभएको थियो “ म मेरी आमा भागिरथा प्रसाईको आत्मलाई स्रद्धाका फूल अर्पण गर्छु जुन आत्माले मलाई सधैँ अगाडी बढाउने प्रयन्त गरिरह्यो । आमाबाट मैले निकै माया पाएँ । आमालाई माया गर्नु भनेको सम्मपूर्ण नारीहरुलाई सम्मान गर्नु हो । आमा नहुँदा हुन त यो धर्तिमा कुनै पुरुष नै हुन्थेनन् । त्यसैले पनि म आमाहरुको, मातृशक्तिहरुको निकै सम्मान गर्छु ” भन्नुभएको थियो । साथै उहाँले विश्वनारी नेपाली साहित्य सम्मेलन आयोजना हुनुको पछाडीको यथार्थ पनि नारीचुली नै हो । मैले डेढ दशक लगाएर लेखेको नारीचुली प्रकाशनमा आएपछि मैले त्यस नारीचुलीलाई मेरी पुज्य आमामा सर्मपण गरें । मेरी आमा अक्षर पढ्न असर्मथ हुनुहुन्थ्यो तापनि अक्षरहेर्दा रमाउनुहुन्थ्यो । यो कुराको चाल पाएको थिएँ मैले । म मातृभक्त भएकोले पनि नारीहरुप्रति मेरो थप अभिरुची गाँसिएझैं लाग्थ्यो । त्यसैले पनि यो सम्मेलन गर्ने सोंच ममा पलाएको हो ।

नई प्रकाशनको संयोजनमा घटराज भट्टराई आफू र ईन्दीराको परिकल्पना, सक्रियता र समर्पणमा त्रिमूर्ति निकेतनको स्थापना र निमार्ण भएको हो भन्नुभयो । यतिबेला उहाँ अलि भावुक पनि बन्नुभएको थियो । उहाँ नारीकोहरुको निकै सम्मान गर्नुहुँदो रहेछ । उहाँका यि कुराले आमा गुमाएकी मलाई पनि निकै प्रभाव पार्‍यो । मैले पनि आमाको नाममा केहि गर्ने सोंच बनाएँ । घर फर्केर आएपछि सानो नै भएपनि गाउँको नजिकैको स्कूलमा एउटा छात्रबृत्ति अक्षयकोष राखिदिएँ । ताकी मेरो त्यो छात्रब्रित्तिकोषबाट हरेकवर्ष एउटी विपन्न गरिव जेहन्दार छात्राले पढ्न पाउन् भनेर । अक्षयकोष धेरैले राखेका छन् । तिनैको लाममा म पनि थपिएँ । उनलाई मेरो हातबाट छात्रबृत्ति दिँदा मसँगै आमा पनि भएको अनुभूति हुने गर्छ मलाई ।

तपाइँको प्रतिक्रिया

फेसबुक