शनिबार, वैशाख ८, २०८१

शर्तैशर्तमाझ काठमाडौं–दिल्ली उडान सुरु : ‘संकटकाल वा युद्धको समयमा झैं ८ महिनादेखि हवाइ उडान रोक्का’

नेपालप्लस२०७७ मंसिर २६ गते १८:४९

काठमाडौं—नेपाल भारत दुबैतिर कोरोना संक्रमण बढ्दै गएपछि गत वर्ष चैतदेखि निजी तथा सरकारी दुबै तहमा बन्द गरिएको द्धैदेशीय उडान पुसको पहिलो साताबाट सुचारु हुने भएको छ । बिगतमा काठमाडौंबाट बैंग्लोर, कलकत्ता, मुम्बइ र बनारस उडान हुने गरेकोमा यो भने तत्काल खुल्ने छैन ।

‘एयर–बबल’ अर्थात एक अर्को देशका नागरिक मात्रै विशेष प्रकृयामा उड्न पाउने यो व्यस्थाअनुसार सरकारी ध्वजाबाहकले मात्रै दोहोरो उडान भर्नेछन् । काठमाडौंबाट नेपाल एयरलाइन्स र दिल्लीबाट एयर इन्डियाले उडान भर्ने निधो भएको छ । तर, कोरोना संक्रमणका कारण दुबै देशका नागरिकले पीसीआर रिपोर्ट लिएको र नेगेटिभ नतिजा आएको ७२ घण्टाभित्रै मात्र उडान भर्न पाइनेछ । अर्को शर्तमा, भारतीय विमानका पक्षमा भने निकै कडाइको सुरक्षा जाँच र सर्तकता राखिने भएको छ ।

काठमाडौं विमानस्थलमा भारतले मात्रै आफ्नै च्यानल र पद्धतीको सुरक्षा जाँच संयन्त्र राखेर दिल्लीमा गरिए सरहको कडाइ जाँच गर्दै आएको छ । हवाइ सुरक्षा र सावधानीका लागि यस्तो प्रबन्ध तय गरिएको भएपनि एउटा सार्वभौम मुलुकको आफ्नो सुरक्षा संयन्त्र तथा गृह मन्त्रालयको कानूनलाई मिचेर भारतले आफूखुशी सुरक्षा च्यानल बनाएकोमा नेपाल सरकारले बिरोध जनाउन सकेको छैन ।

हुन त यस अघि पनि सन १९९९ मा इन्डियन एयरलाइन्सको आइसी ८१४ विमान अपहरण भएपछि भारतीय पक्षबाट एकतर्फी त्रिभुवन विमानस्थलमा सुरक्षा जाँच शुरु गरेको थियो । यस पटक भने युद्धकालमा जस्तै सुरक्षामा अझ कडाइ हुने दुतावासका एक अधिकारिले भनेका छन्। उनी भन्छन् ‘भारतीय योजना अनुसार अब लामो समयसम्म नेपाली निजी विमान कम्पनीहरुलाई भारतीय शहरहरुमा उडान भर्न रोक लगाइन सक्छ ।’

नेपाल वायुसेवाले काठमाडौं–दिल्लीको उडान पुस २ गतेदेखि गर्न टिकट खुला गरिसकेको भएपनि उडानको अन्तिम अनुमती भने टुंगो लागिसकेको छैन । तर, अन्तर्राष्ट्रिय उडानको शर्तमा काठमाडौं–दिल्लीसम्मको उडानमा गएपछि दिल्लीबाटै बाहिर निस्कनुपर्नेछ । यसलाई ‘ट्रान्जिट उडान’ बनाउन पाइने छैन । यो विशेष प्रकारको उडान सेवामा दुई मुलुकका नागरिकबाहेक कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रतिनिधिले मात्रै उड्न पाउने दिल्लीस्थित नेपाली दूतावासका एक शाखा अधिकृतले बताए । भारतले एयर–बबलबाट उडान सेवा सुचारु गर्न सकिने भनेको २ महिनापछि मात्रै यसबारे नेपाल सरकारले निर्णय गरेको हो । भारत बाहेकका अरु अन्तर्राष्ट्रिय गन्तव्यमा भने काठमाडौंबाट उडान सुरु भएको एक महिना पुगिसकेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक