शुक्रबार, वैशाख १४, २०८१

स्विजरल्याण्डमा कोरोना संक्रमित बढेपछि नियम झन् कडा

नेपालप्लस सम्वाददाता / जेनेभा२०७७ मंसिर २७ गते १५:३७

विगत दुई हप्तादेखि कोरोना संक्रमितहरुको दर एक्कासी बढेपछि स्विस सरकारले नियम झन् कडा बनाउँदै लगेको घोषणा गरेको छ । फ्रेन्च भाषा बोलिने स्विस भूभागमा संक्रमणको दर घट्दै गएको छ भने जर्मन भाषा बोली भेगमा संक्रमितहरुको दर बढेको छ । जर्मन भाषा बोलिने कोरोना संक्रमित उच्च भएका प्रान्तहरुमा रेष्टूरा, बार, पसल, सपिंग मलहरु, म्यूजियम, पुस्तकालय, जिमखानाहरु भोलि शनिवारदेखि बेलुकी सातै बजे बन्द गर्नुपर्नेछ भने फ्रेन्च भाषा बोलिने रातको ११ बजेसम्म खोल्न पाइनेछ । आइतवार र सार्वजानिक विदाको दिन बन्द गर्नुपर्नेछ ।

प्रान्तहरुले आगामी दिनहरुमा कोरोना संक्रमणको स्थितिलाई हेरेर सँगै जोडिएका प्रान्तहरुको सल्लाहमा नियम थप कडा गर्ने या कसरी अगाडि जाने भन्ने नियम बनाउन सक्नेछन् भनी सरकारले तोकेको छ । कसैको मृत्यु भएमा सीमित संख्यामा परिवारजन र निकटका साथीहरु, त्यो पनि प्रान्तले तोकेको संख्यामा, जम्मा हुन पाइनेछ । कुनै महत्वपूर्ण धार्मिक कामको लागि ५० जनासम्म स्थानीय निकायलाई सूचित गरेर जम्मा हुन सकिनेछ । १० जना भन्दा धेरै जम्मा हुन पाइने छैन । केटाकेटीहरु भने यसमा गनिने छैनन् । यसको अर्थ क्रिसमसमा सानोतिनो पारिवारिक जमघटलाई सरकारले स्विकृत गरेको मानिएको छ ।

२२ जनवरीसम्म सकेसम्म धेरै मानिसलाई एकैठाउँ जम्मा हुन नदिन स्वास्थ्य विभाग र अस्पतालहरुको दबाबमा स्विस सरकारले यो नयाँ नियम ल्याएको हो । अहिले संक्रमितहरुको कारण अस्पतालहरु भरिभराउ छन् ।

स्वास्थ्यकर्मीको अभाव भएको कारण कोरोना संक्रमित स्वास्थ्यकर्मीहरु समेत सेवामा खटिनुपर्ने अवस्था आइपरेको छ । कोरोनाको यो दोश्रो आतंकमा स्विजरल्याण्डमा जनसंख्याको आधारमा मृत्यु दर उच्च भएकोमा सरकार र स्वास्थ्यकर्मीहरु निकै चिन्तित छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक