बुधबार, साउन २०, २०७८

लगालग चोरिन्छन्, फेरि भेटिन्नन् : वाङ्देलका कारण चोरिएका मूर्ति फर्किँदैछन् नेपाल

नेपालप्लस२०७७ मंसिर २८ गते ८:०२

सन् १९८२ मा धुलिखेलको बोटे टोलबाट बाहैं शताब्दीमा बनेको उमामहेश्वरको मूर्ति हरायो । हराएको ३ वर्षपछि त्यो मूर्ति जर्मनीको बर्लीन शहरको एक संग्रालयमा भेटिएपछि मात्रै मूर्तिको आधिकारिकता पुष्टि भयो । बर्लिनका एक आर्ट डिलरले उक्त मूर्ति १ करोड रुपैंयामा संग्रालयलाई बिक्री गरेको सूचना पछि मात्रै सार्वजनिक भएको थियो । उक्त ऊर्तिलाई अहिले पाटन संग्रालयको दोस्रो तलामा राखिएको छ ।

—पाटनको नारायण मन्दिरबाट ३५ बर्षअघि चोरिएको पुरातात्विक महत्वको ‘बासुदेव–कमलाजा मुर्ति’ गत नोभेम्बेर महिनायता अमेरिकाको टेक्सास राज्यस्थित डल्लास म्युजियम अफ आर्टमा प्रदर्शनीमा राखिएको छ । सन् १९८९ मा प्रकाशित लैनसिंह वाङदेलको ‘स्टोलन इमेजेज अफ नेपाल’ (पृष्ठ २४८)मा समेत उल्लेख भएको यो मूर्ति सन् १९८४ मा चोरिएको जनाइएको छ । यो मूर्तिमा ‘एउटै आर्कितिमा देब्रेतर्फ बिष्णु(नारायण) र दायाँपट्टि अर्धलक्ष्मीको आकृति छ ।

—चाँगुनारायण मन्दिर परिसरबाटै ०३१ सालमा ढलौटको कृष्णको मूर्ति हरायो । फेरि ०३३ सालमा पनि किलेश्वर महादेवको ७ सय ९२ तोला चाँदीको मूर्ति चोरियो । तर, ४० वर्ष बितिसक्दा पनि ती मूर्ति नभेटिएपछि अहिले त्यसको प्रतिलिपी बनाएर मन्दिरमा राखिएको छ ।

—मध्यपुर थिमि नगरपालिका–४, दिगुटोलबाट ०७२ पुस २ गते राति १७ औं शताब्दीको ऐतिहासिक दिगु भैरव मन्दिरको मूर्ति चोरी भयो । मूल देवताको रूपमा पुजिँदै आएको दिगु भैरव अर्थात प्रचण्ड भैरव मन्दिरको सुनको जलप लगाएको धातुको मूर्ति चोरी भएको ४ वर्षसम्म पनि फेला परेको छैन । बालकुमारी जात्रा संचालनमा अनिवार्य रहेको दिगु भैरव मन्दिरको मूर्ति प्रतिलिपी बनाएर जात्रा सञ्चालन गरिँदैछ ।

—सन् १९८५ अप्रिलमा पाटनको कुम्भेश्वर मुन्तिबाही चैत्यबाट छैटौं शताब्दीमा बनेको ‘बसिरहेका बुद्ध’को मूर्ति चोरी भएको थियो ।

—सन् १०८३ मा बनेको सूर्य भगवानको मूर्ति पाटनको सौगालबाट सन् १९८५ मा हराएको थियो ।

—ललितपुरको टङ्गालहिटीबाट सन् १९८० मा हराएको बसेको उमामहेश्वरको मूर्ति र काठमाडौं, यट्खाबाट सन् १९८६ मा हराएको स्थानक बुद्धको मूर्ति सन् २०१८ को अन्त्यमा मात्रै नेपाल फर्काउने काम भयो, फर्काइएका मूर्तिहरु छाउनी संग्रालयमा राखिएको छ ।

यी त केही उदाहरण मात्रै हुन् । नेपालबाट ऐतिहासिक र सम्पदा मूल्यका के–कति मूर्तिहरु हराएका छन् भन्ने तथ्य–तथ्यांक स्वयं नेपाल सरकार, संस्कृति मन्त्रालय वा पुरातत्व बिभागसँग पनि रहेको छैन । बरु कहींकतै बाहिरी विश्वमा कला वा मूर्ति प्रदर्शनी क्रममा ‘नेपालबाट लगिएको’ भन्ने किसिमको सूचना चुहियो भने मात्रै पुरातत्व बिभागले आफ्नो मूर्तिको हकदावी गर्ने गरेको छ, बिना आधार र खोजबिन् ।

बरु यसरी हराइरहेका मूर्तिहरुको सन् १९८९ सम्मको अभिलेख बनेर आएको लैनसिंह वाङदेलको कृति ‘स्टोलन इमेजेज अफ नेपाल’ भने स्वयं सरकारका लागि पनि इतिहास र अभिलेख जुधाउने आधार पुस्तक बनेको छ । तत्कालिन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट निस्केको पुस्तकमा मात्रै विशेषत काठमाडौं उपत्यकाभित्रबाट चोरिएका २ सयभन्दा बढी बुहुमुल्य ढुङ्गामुर्ति र आकृतिको विवरण उतारिएको छ । यहि कृतिको सोध र प्रामाणिक अनुसन्धानअनुसार, पुस्तक निक्लिएको ३ दशकको अवधीमा झण्डै ५० जति मूर्ती फिर्ता भैसकेका छन् । पुस्तकको भूमिकामा स्वयम सोधकर्ता लेखक लैनसिंहले भनेका छन्—‘यो पुस्तकमा उल्लेख भएका कतिपय सम्पदा कुनैदिन बाहिर विश्वको संग्रालयमा अथवा मोल बढाबढ बिक्रीमा देखा पर्न सक्नेछन् । अथवा, कहींकतै पनि नभेटिन पनि सक्छ । तर, यो अमुल्य सम्पत्तिलाई यसरी आफूखुशी कतै लैजान वा चोरीको सम्पत्ति बनाउन युनेस्को कानूनले पनि दिएको छैन, यो ख्याल राख्नुपर्ने कुरा हो ।’

सन् १९७० मा अनुमोदित गैर कानूनी रुपले सांस्कृतिक सम्पत्ति आयातनिर्यातमा प्रतिबन्ध लगाउनेबारेको अभिसन्धी आधारमा पनि पहिचानयुक्त मूर्तीलाई विदेशका कुनै कुनाबाट पनि घर फर्काउन सकिनेछ ।

पुरातत्व बिभागका निमित्त महानिर्देशक दामोदर गौतमले नेपालबाट चोरिएको कुनैपनि कलाकृतिको आधिकारिता पुष्टी हुनासाथै इन्टरपोलमार्फत यो सम्पदा फर्काउन पहल सुरु गर्न सकिने बताउँछन् । तर, नेपालबाट अहिलेसम्म कति मूर्ति चोरिए वा कति फिर्ता भए भन्ने यकिन तथ्यांक दिन मुश्किल रहेको गौतम बताउँछन् ।

सम्पदाबिद् रविन्द्र पुरीले वाङदेलको ‘स्टोलन इमेजेज अफ नेपाल’ कृतिकै आधारमा ५० वटा प्रतिनिधिमूलक मूर्तिहरुको ‘रिप्लिका’ बनाएर ‘म्युजियम अफ स्टोलन आर्ट’ स्थापना गर्ने अभियानलाई अन्तिम चरणमा पुर्याएका छन् । पनौतीमा निर्माणधिन यो संग्रालयमा राख्न ४० वटा मूर्तिहरु बनाइसकिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक