मंगलबार, माघ ६, २०७७

कोरोना खोप : धनी देशका सबै सुरक्षित, गरिब देशमा मर्न दिने ?

ददि सापकोटा२०७७ पुष १ गते १९:४६

धनी राष्ट्रहरूले आउँदो वर्षमा आफ्नो देशका आधा भन्दा बढी जनसंख्यालाई कोरोना भाईरसको खोप लगाएर सुरक्षित गर्ने छन् । उनीहरु आफ्ना देशका नागरिक जोगाउन तानातान र खोपको लुछाचुँडीमा छन् । धनी देशहरुले आफ्ना देशका नागरिकलाई सुरक्षित गरेपछि विश्वको गरीब भागका जनतालाई के गर्ने ? ति देशका जनताको स्वास्थ्य स्वत: पछि परेर जाने डर छ । गरिब देशका स्वास्थ्यकर्मीको हालतपनि उस्तै हुने छ । त्यतातिर धनी देशको ध्यान गएको छैन नै, विश्व स्वास्थ्य संगठनलेपनि किन प्रभावकारि भूमिका खेल्न सकेन ?

औषधी निर्माण गर्ने कम्पनीहरू सबैले प्रभावकारी, सुरक्षित खोपहरू उत्पादन गरेर उनीहरूले अधिकतम विश्वव्यापी उत्पादनका लक्ष्यहरू पूरा गरेपनि गरिब देशका नागरिकको पहुँच भने हुने छैन । यो तथ्य धनी देशमै भएका अनुसन्धानहरुलेनै पुष्टि गरिरहेका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयका अन्वेषकहरूद्वारा बुधवार प्रकाशित गरिएको एउटा अध्ययनले २०२२ सम्म विश्वको कम्तिमा पनि पाँच भागको एक भाग नागरिकमा त्यो पहुँच हुने छैन भनेर चेतावनी दिएको छ ।

गरिब देशका नागरिकलाईपनि समान पहुँच हुनुपर्ने भनाई बिलगेट्स फाउन्डेशनलेपनि पटक पटक दोहोर्‍याइरहेको छ । विश्व स्वास्थ्य संगठनलेपनि यहि भनाईको नजिक रहेर भनाई सार्वजनिक गरिरहेको छ । तर अमेरिका, बेलायत, अष्ट्रेलिया, युरोपेली युनियनका धनी देशहरुले किन यसतर्फ ध्यान दिएका छैनन् ? किन उनीहरुको ध्यान आफ्नै देशका नागरिकहरुमा खोप छिटो लगाउनमै दौडादौड चलिरहेको छ ? यि देशले गरिब देशका नागरिकहरुलेपनि लगाउनुपर्छ, आफ्ना देशका नागरिकलेझैं छिटो र उपयुक्त समयमा लगाउन पाउनुपर्छ भन्ने लबिङ गरेका छैनन् । यि धनी देशले खोप लगाउन गरेको प्रतिस्पर्धा हेर्दा त कोरोना भाईरस धनी देशका सम्पन्न नागरिकलाई मात्रै लाग्छ वा गरिब देशका बिपन्न नागरिक कोरोना भाइरसबाट मरेपनि खासै फरक पर्दैन भन्ने द्रिष्य देखिन्छ ।

विश्वभरिका जनताको स्वास्थ्य सेवा पहुँच र स्वास्थ्यकालागि समान भूमिका खेल्ने भनिएको विश्व स्वास्थ्य संगठनपनि गरिब देशहरुका लागि दबाबमूलक तरिकाले लागि परेको अनुभुति हुन्न । विश्व स्वास्थ्य संगठनले पिफाइजर र बायो एनटेक, मोडेर्ना कम्पनीसित गरिब देशका जनताको लागिपनि सस्तो मूल्यमा खोप उपलब्ध गराउनुपर्ने भन्दै छलफल अगाडि बढाएको बताउँछ । तर धनी देशहरुले एक पछि अर्को कम्पनीका बिभिन्न खोपहरु लाखौंलाख सुरक्षित गर्दापनि विश्व स्वस्थ्य संगठनले गरिब मुलुकका अति जोखिमयुक्त नागरिक र स्वास्थ्य पेशाकर्मीलाई तत्कालै सुरक्षित गर्नुपर्ने तर्फ प्रभावकारि ढंगले लागेको देखिन्न । धनी देशका युवायुवतीसम्मका लागि खोप सुरक्षित हुँदा गरिब देशका स्वास्थ्यकर्मी र स्वास्थ्यको अति जोखिम अवस्थामा पुगेकालाई किन सुरक्षित गर्ने तर्फ विश्व स्वास्थ्य संगठन लागिपर्दैन ? विश्व स्वास्थ्य संगठनको भूमिका कसरि गरिब र धनी देशकालागि समान देखियो ?

त्यसो त, कोरोना विरुद्दको खोप नागरिकको स्वास्थ्यसित मात्रै संवन्धित छैन । विश्वका धनी देशहरु अहिले सर्वप्रथम आफ्ना नागरिकहरु सुरक्षित गर्न लागेका त छन् नै । उनीहरु यो खोपबाट कसरि अर्थतन्त्र उकास्ने भनेरपनि भित्रभित्रै योजना बुनिरहेका पनि छन् । कोरोनाले खस्काएको विश्व अर्थतन्त्र कोरोनाको नाममै बनेको खोपबाट उकास्न तल्लिनपनि यिनै धनी देशहरु छन् । कोरोना बिरुद्दको खोपकालागि गरिब देशहरुप्रति मन मारिरहेका यिनै धनी देश कोरोना बिरुद्दको खोप बिक्रिकालागि भने भित्रभित्रै होडबाजी गरिरहेका छन् ।

यहि कोरोना भाईरस खोप बिक्रि गर्ने वा एकातिरबाट अनुदानमा दिएझैं गरेर गरिब देशका अन्य उत्पादन, प्राक्रितिक स्रोत र साधनहरु आफ्नो कब्जामा पार्ने दाउमापनि धनी देशहरु लाग्ने छन् । ‘हामीले तिम्रो मुलुकलाई यति खोप दिन्छौं, त्यसबापत हामीलाई यो यो दिनुपर्छ’ भन्दै एक हातमा खोप र अर्को हातमा गरिब देशको स्रोत र साधन कब्जा गर्ने झोला बोकेर धनी देशहरु जाने छन् । किनकि यो खोप विश्व अर्थतन्त्रमा कसले प्रभुत्व जमाउने, कसले बढिभन्दा बढि आर्थिक मुनाफा लिने र गरिब देशहरुमा आफ्नो राजनितिक, आर्थिक, सामाजिक प्रभुत्व बढाउने भन्ने बलियो हतियारपनि हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक