शुक्रबार, वैशाख १४, २०८१

पर्खिराख, फर्कि आउने छु

निल बिक्रम थापा / डेनमार्क२०७७ पुष ४ गते ९:५७

म काठमाडौंको एक कलेजमा भर्ना भएपनि दशैं-तिहार मनाउन छुट्टिमा गाऊँ थिएँ । काठमाडौंमा पढ्ने या गाउँमै पढ्ने टुंगो लागेको थिएन । मेरो ठूलो दाइ काठमाडौंनै बस्ने हुनाले लगभग उतै पढ्ने निश्चित जस्तै थियो । त्यहि भएर काठमाडौंमा भर्ना गरिराखेको थिएँ ।

छुट्टि हुँदा घरमा भएको बेला म प्राय गाईबस्तुको गोठालो बनेर खोलामा जान्थें । स्कुले जिवनमा पनि त्यहि नै दैनिकी थियो । हामी साथिभाईहरुको ।

सानैदेखि गाईवस्तु चराउन खोलामा जाँदाको आफ्नै फाईदा थियो । गुच्चा, खोपी,चुंगी, पौडि खेल्ने । माछा मार्ने र तास खेल्ने । सबै गर्न पाईने । घरमा सानै भएपनि काम गरेको देखिने । मेरो माईला दाइ र मेरो यहि खोलामा भएर जाने विषयमा धेरै पटक झगडा हुन्थ्यो । हाम्रो झगडा देखेर आमाले आलो पालो जाने नियम नै बनाउनुपर्यो । हामी स्कुलमा हुँदा ।

दशैंको छुट्टि हुनाले हामी साथीभाईहरु खोलाको बगरमा गाईबस्तु छाडेर तास खेल्नु देनिकि जस्तै थियो । गोलखाँडी भन्थ्यौं त्यतिखेर । रु १,२,३ जित्नेले एकपटकमा ६ रुपैयाँ जित्थ्यो । ठूलै पैसा लाग्थ्यो त्यो बेला ।

एक दिन हामी चार जना साथीहरु कलब्रेक खेलिरहेका थियौं । अकस्मात कोई करायो ‘ए अमिरे ! (गाउँमा सबैले मलाई अमिर भनेर बोलाउँथे) तेरो गोरु धान खेतमा पस्यो ।’

हातमा समातेको तास च्यापेर दायाँबायाँ आँखा डुलाएँ । पर खोलाको बगरको ढुङ्गा माथि छाता ओडेर बसेका गाउँकै सापकोटा बाजे रहेछन् । रिसले उफ्रिँदै थिए ।

छेउमै रहेको एउटा सानो भाईलाई सोधें- एक रुपैयाँ दिन्छु ग‍ोरु ल्याउँछस् ?

उ जुरुक्कै उठेर तयार भयो । मैले भनें ‘गोरु लिएर आईज, एक रुपैयाँ दिन्छु ।’ ऊ गोरुतिर दौडियो । म फेरि तासतिर ध्यान मग्न भएँ ।

एकछिन पछि फेरि अर्को अलि ठूलो आवाज आयो “ए अमिरे ! के गरेर बस्या छस् ? तेरो बाऊले गोरु निकाल्न सकेन धान खेतबाट । मैले गोरु लिन पठाएको भाईले गोरु निकाल्नै सकेन छ धान खेतबाट ।”

म डराएर जुरुक्क उठें ।

परबाट मेरो फूपू हजुरबा मुखभरी बिडीको धुवाँ उडाएर कराउँदै रहेछन् । ‘एक छिन पख है’ तास खेलिरहेका साथीहरुलाई भनें । खेल्दै गरेको तास हातमा बोकेर म धानखेत तिर दौडिएँ ।

हुनपनि हाम्रो घरको बीरे गोरु पहिल्यैदेखि कसैको खेतबारीमा पस्यो कि निकाल्नै गार्हो । मान्छेलाई ठाडै हान्न आउँथ्यो । अर्को माने गोरु फेरि यति सोझो कि कसैले घोडा जसरि चढ्दा पनि केहि नगर्ने ।

बीरमान माझीले म ८, ९ कक्षा पढ्दा धेरै टाढाको गाऊँबाट ल्याईदेको थियो ती हल गोरु । नयाँमा गोरुको नाम थाहा नभएर हामी माईलो दाइ र मैले नै त्यहि गोरु ल्याउने ब्यक्तिको एउटा नामलाई दुईटा बनायौं र नाम राखेका थियौं `बीरे´ र `माने´।

गोरुलाई जसोतसो धान खेतबाट कुट्दै निकालें । निकालिसके पछि पनि फेरि बेस्सरी कुुटें । गोरु दौडियो । म पनि दौडिएँ ।

नजिकै बाट कसैले करायो ‘त्यो पशुलाई कुटेर के भो र ? आफै पशु जस्तो भएपछि । गाईबस्तु हेर्न आको मान्छे हिरो पल्टेर तास खेल्ने । अझ‌ गोरु पिट्ने ? सबै धान खायो बाले हाम्लाई गाली गर्दैनन् ?’

म ठिङ्ग उभिएँ र जताबाट आवाज आयो त्यतै नियालेँ ।

खेतधनी कि छोरी पो रहिछ ।

डराई डराई भनें ‘धेरै खाको छैन ।’

अनि मैले प्रति प्रश्न गरें ‘तिम्ले धपाउनु पर्दैन ? के हेरेर बस्या त ?’

ऊसले जवाफ दिई ‘गोरुले हानेर मार्देन कि क्या हो ?’

म ऊ तिर ध्यान नदिई गोरुको पछि पछि दौडिएँ।

उसको र मेरो स्कूल एउटै थियो । उमेर पनि उस्तै उस्तै । क्लासमा चैं उ एक कक्षा तल थिई । उसको घर मेरो घरबाट अलिकति टाढा मेरो सानीआमाको नजिक थियो । ऊसँग सानैे देखि चिनजान थियो । सानैदेखि बोलचाल भएतापनि अलि ठूलो भएपछि बोल्न छाड्या थिएँ स्कूलमा । यदि स्कूलमा केटाकेटी बोल्या कोहि साथिभाईले देख्योभने केटा र केटिको नामको बिचमा + जोड्थे । स्कुल भरि हल्ला गर्दिन्थे त्यसबेला । त्यहि डर थियो । त्यहि कारण स्कूलमा केटा साथी र केटी साथी बोल्न डराउँथे ।

गोरुलाई धान खेतबाट निकालेर फर्कँदै थिएँ । हजुरबाले रिसाउँदै प्वाक्क भने ‘के गफ गरेर आईस जाँठा ? अर्कोपल्ट राम्रोसँग गाईबस्तु हेर । नत्र फ्रक उचालेर छोपिदेली अनि खालास् पापा ।

हजुरबाले कुरै कुराले प्रहार गरे म माथि । म हाँसें । तर पनि डराएजस्तो गरें । हजुरबाको कुराले फेरि हाँस उठ्यो । तासमा ध्यान हुनाले म हाँस्दै फेरि साथीभाई भएतिर दगुरें ।

गाऊँ बस्दाको दैनिकी सामान्य तरिकाले बितिराख्या थियो । घरको काम गर्ने, गाईवस्तु लिएर खोलाको बगरतिर गोठालो जाने, साँझतिर फेरि खोलाको बगरमा जाने । भलिबल खेल्ने । यस्तै यस्तै ।

एकदिन म फेरि खोलामा गाईबस्तु लिएर गएको थिएँ । तास खेल्ने साथीभाईहरु पनि त्यति थिएनन् । त्यहि केटाकेटीहरु खोलामा माछा मारिरहेका थिए । तास खेल्ने साथीभाईहरु नभएपछि म पनि केटाकेटिहरुले माछा मारेको हेरेरे खोलाको तीरमा यताउता गरिरहें । ऊ पनि गाईबस्तु लिएर खोलामा आएकि थिई । ऊसको गाईबस्तु लिएर खोलामा आउनु दैनिकि जस्तै थियो त्यो बेला । ऊपनि खोलामा माछा मारेका केटाकेटीहरु देखेर होला त्यहिँ आएर मिसिई ।

मैले ऊसलाई देखेर कुरा गर्ने बहानाले सोधें ‘मेरो गोरुले धान खाको बालाई भन्यौं त ?’

ऊसले खिस्स हाँसेर जवाफ दिई ‘तपाईंको बा लाई चैं भन्दिन्छु ।’

ऊसँग सानै देखि चिनजान र बोलचाल हुनाले मलाई ऊसँग गफ गर्न संकोच थिएन ।  गफ गर्न मलाई बहाना चाहिएको थियो । मैले कुरा मोड्दै सोधें ‘तिमी स्कूल जादैनौ ? सधैं गाईबस्तु लिएर आउँछौ त ?’

ऊसले हाँसीहाँसी उत्तर दिई ‘अस्ति १० कक्षाको परीक्षामा फेल भएँ । स्कूल जान लाज लाग्यो ।’

मैले सोधें ‘अनि ?’

उसले जवाफ दिई ‘अनि घरमा नि नपढाउने भने ।’

मैले कुरा गर्ने मौका पाएँ ‘फेरि सोधें नपढेर के गर्छौ त ?’

उसले उत्ताउलो पाराले भनी ‘ब्या (बिहे)।’

मैलेनि जिस्कँदो पाराले सोधें ‘को सँग ?’

उसले फेरि अलि जिस्किएर उत्तर दिई ‘तपाईंसँग ।’

मेरो गोरुले उसको खेतको धान खायो । मेरो कुराले उसको मन खाएछ । ऊ प्राय मसँग जिस्किएर गफ गर्थी । मपनि जिस्किएर नै कुरा गर्थें ऊ सँग ।

गाईबस्तु लिएर म ख‍ोलामा गएको बेला ऊ पनि आएकी छ भने प्राय म ऊसँग बोलचाल गरिराख्थे । ऊपनि मसँग धेरै नजिकिईसकेकी थिई । जिस्किएर गफ पनि गर्थी बेलाबेलामा ।

एक दिन गफको सिलसिलामा ऊसले भनी ‘फिल्म हेर्न जाऊँ न तपाईं र म ।’
मैले भनें ‘कसैले देख्यो भने ?’

ऊसले प्रश्न गरेजसरी जवाफ लगाई ‘डराएको ? छोरा मान्छे भएर नि कस्तो डराएको ?’

मैले बलियो मुटु बनाएर भनें ‘फिल्म हेर्न गएँ भने के गर्छौ ? के दिन्छौ ?’

मैले उत्ताउलो पाराले सोधें ‘उसले खुल्ला रुपले हाँस्दै उत्तर दिई ‘तपाईंले जे भन्नु हुन्छ त्यहि ।’

उसको जवाफले म भित्र बैंस पलायो । भित्र भित्रै हाँसें ।

एक दिन फिल्म हेर्ने साईत जुर्यो । दिउँसो ३ बजेको । सिनेमा घर पुगेपछि उसँग फिल्म हेर्न त जुर्यो । तर सँगै बसेर हेर्न जुरेन । चिनेको साथी भेटियो । म साथीसँग बसें । ऊ एक्लै अन्तै बसि । हामी वारिपारी जसरी बसेर फिल्म हेर्यौं । नेपाली फिल्म थियो “प्रतिज्ञा” । राजेश हमाल हिरो । मेलिना मानन्धर हिरोनी ।

फिल्म सकियो । सिनेमासँगै बसेर हेर्न नपाएनि घर आउने बेला बजारभरि चिनेको कसैले देख्छ भनेर हामी अघि पछि हिँड्यौं । बजार सकिएपछि आधा बाटोबाट सँगै हिँड्यौं ।

ऊ मेरो साथी प्रति निकै क्रोधित थिई । मैले सोधें ‘फिल्म कस्तो लाग्यो ?’

ऊसले रिसाएर जवाफ दिई ‘कस्तो लाग्नु नि ?’

मैले हाँस्दै सोधें ‘फिल्म त हेरियो अब मलाई के दिने त ?’

ऊसले फेरि रिस देखाउँदै भनी ‘ठूलो आलु ।’

मैले उत्ताउलो हुँदै जवाफ दिएँ ‘एउटा कि दुईटा ?’

ऊसले लजालु पाराले जवाफ दिई  ‘मार्दिन्छु अनि !’

म हाँसें ।

समय बित्दै जाँदा म ऊसँग नजिक भईसकेको थिएँ भने उपनि मसँग धेरै नै नजिक भईसकेकि थिई । म घरको एकान्तमा हुँदा वा एक्लो हुँदापनि उसलाई सम्झने भईसकेको थिएँ । मलाई उसँगै हेरेको “प्रतिज्ञा” फिल्मको गितले पनि एकान्तपनमा बेला बेला जिस्क्याउँथ्यो

“मेरो निन्द्रा, भोक, तिर्खा, रात र दिन किन चोरेको हो ?” लाग्थ्यो, ऊ र म डाँडाडाँडा उफ्रिँदै नाच्दैछौं । फिल्ममा राजेश हमाल र मेलिना मानन्धर नाचे जस्तै । सायद उसलाई पनि एकान्तमा त्यस्तै हुँदो हो । म कल्पना गर्थें ।

दशैं नजिकिँदै थियो । दशैं भन्दा केहि दिन अगाडि ऊसको र मेरो साँझ भेट्ने कुरा भयो । म सानीआमाको घर जाने । अनि उ घर नजिकै छिमेकीको घरमा टिभि हेर्ने बहानाले घरबाट निस्कने । हामीले त्यहि गर्यौं । जसरी हामीले योजना बनाएका थियौं ।

घर नजिकै सानो खोल्सो थियो । हामी त्यहि खोल्सो नजिकै भेट्ने सहमति बमोजिम भेटेर गफ गर्दै नजिकै रहेको बनमारा घारीतिर लाग्यौं । मेरो मुटुको धड्कन जोडले बढेको थियो । सायद ऊसको पनि । गफैगफमा ऊसले मलाई माया गर्ने कुरा सुनाई । मैले पनि उसकै कुरामा सहमत जनाएँ । यस्तो लाग्यो, आज म फेरि “प्रतिज्ञा” फिल्मको राजु अर्थात राजेश हमाल हुँ । ऊ श्रृष्टि अथवा मेलिना मानन्धर ।

म र ऊ मनमनै गित गाईरहेका छौं “बोल न केहि बोलन मनको कुरा खोलन ।” म टोलाएछु ।

उसले प्वाक्क सोधी ‘के सोच्नु भाको ?’

मैले भनें ‘केहि होईन ।’

उसले फेरि सोधी ‘मलाई माया गर्नु हुन्छ ?’

मैले फेरि सुस्तरी जवाफ दिएँ ‘गर्छु ।’

उसले फेरि सोधी ‘त्यती भन्न के डराएको त ?’
म हाँसें ।

उसले बिस्तारै मेरो हात समाती । मैले पनि बिस्तारै उसको हात समाएँ । उ अलि नजिक सरि । म पनि ऊ भएतिर सरें । बिस्तारै बिस्तारै हामी एक अर्कामा नजिकियौं । हाम्रो नजिक्याई एकछिनमा अंकमालमा परिवर्तन भयो ।

अकस्मात नजिकै टोलबाट कोहि करायो ‘बिजुली गयो ।’ मैले खोल्सापारी टोलतिर आखा डुलाएँ । चकमन्न अन्धकार थियो ।

दशैं बित्यो । सबैजना धान काट्ने कुरामा ब्यस्त हुने समय थियो । मेरो दैनिकि सामान्य खोलामा गाईबस्तु चराउनु मै बित्थ्यो । तिहार पनि नजिकै आईरहेको थियो । ४, ५ दिनसम्म मैले ऊसलाई खोलामा देखिन ।

मनमा धेरै किसिमका कुरा खेल्न थाले । ऊसको यादले सताउन थाल्यो । भित्र भित्र डरपनि लाग्यो । एक हप्ता दश दिन बित्यो । तरपनि ऊ खोलामा आईन । मलाई उसको घर जाऊँ जाउँ भयो । तर आँट गर्न सकिन । म भित्रभित्रै पिडा बोकेर समय काटिरहेको थिएँ ।

एक दिन हामी खोलामा गोठालो जाने जति खोला थुनेर माछा मार्दै बसिरहेका थियौं। सबै जना माछा मार्ने काममा ब्यस्त थियौं । दिउँसोको मध्य घामको समय थियो । सबै आफ्नो आफ्नो तालमा माछा मारिरहेका थियौं । यतिकैमा सापकोटा बाजे छेउमा आएर कराए ‘ए अमिरे ! के माछा समातेर बसेको छस् ? तेरी मायालुलाई वहाँ अरुले उडाईसक्यो ।’ माछा मारिरहेका सबैजना गललल हाँसे ।

मैले भनें ‘बाजे ! मर्ने बेला के के भन्छौ है ?’ मैले सामान्य रुपमा लिएँ ।

सापकोटा बाजे बेला बेलामा जिस्किराख्थे । उनले हामी दुईजना गफ गरेको देख्थे । बेेेला बेलामा जिस्काउँथे । यो पटकपनि जिस्काए होलान् भन्ने लाग्यो मलाई ।

फेरि सापकोटा बाजे कड्किए ‘साच्चै भनेको जाँठा । दिदी, भिनाजु र एकजना केटा माग्न आएको रे । केटाले मन पराएछ । ठूलो विवाह गर्न सकिँदैन भनेर टिकाटालो गरेर आजै दिएर पठाको रे । मैले सोधेर पत्ता लाएको ।’

सापकोटा बाजेले एकै स्वरमा सबै सुनाए ‘नपत्या ! हेर उ माथी खोला पारी पुगिसके । गाडी कुरेर बस्या छन् ।’ फेरि माछा मार्ने सबै जना हाँसे । लाग्यो, समात्दा समात्दैको ठूलो माछा उम्कियो ।

मेरो पैताला तातो भयो । कता कता मनमा काँडा बिझ्यो । मनले मानेन । अरुले जिस्काउँदै थिए । म अलि वर आएर सापकोटा बाजेले देखाएतिर आँखा तेर्साएँ । केही ठम्याउन सकिन ।

सापकोटा बाजेले फेरि भने ‘जा नपत्याए हेरेर आईज ।’

म अलि कामे जस्तै भएँ । मन डरायो । केही नसोची चप्पल लाएर बगर बगरै दौडिएँ ।

अलि माथि पुगेपछि मैले परबाट ट्रक आईरहेको देखें। खोलाको बगर नजिकै केहि मान्छे थिए । परबाटै देखें तिनलाई । अलि नजिक पुग्नलाग्दा मैले ऊसलाई देखें, रातो सारीमा ।

म खोला तर्न दौडिँदै थिएँ । चप्पल चिप्लियो ! पानीमा पछारिएँ ! एउटा चप्पल खोलाले बगायो । मैले चप्पल तिर ध्यान दिईन । अर्को चप्पल हातमा राखेर दौडँदै थिएँ । ऊ लगायत सबै ट्रकमा चढे । म खोला तरिसकेर दौडिएँ । त्यतिकैमा ट्रक गुड्यो । म दौडँदै ट्रक भएतिर पुग्ने कोसिस गरें । ट्रकले बाटो नाघ्यो । म ढुंगामा अजल्टेर नराम्रोसँग बाटो छेउ लड्न पुगे । ट्रक बेस्सरी धुवाँको मुस्लो छाडेर गुड्यो । म जुरुक्क उठें । घुँडाको छाला खुत्तिएछ । तर दुखेन । मन भने बेसरी दुख्यो ! ट्रक उम्कियो । मनमा यति रिस थियो कि झ्याक्ने ट्रक ड्राईभरलाई भेटे डुङ्गाले हानेर टाउको फोर्ने थिएँ ।

मन भित्र देखि कालो भएर आयो । लाग्यो, ट्रकले मेरो अनुहार मात्र हैन मनभरि कालो पोतेर गयो । ट्रकले फालेको धुवाँ हावाले उडाउँदै थियो । म टोलाएर ट्रकतिर हेर्दै बसें । ट्रक आफ्नै गतिमा गुडिरहेको थियो । मेरो आँखा ट्रकको पछाडि लेखिएको अक्षरमा गएर रोकियो – पर्खिराख, फर्कि आउने छु ।

तपाइँको प्रतिक्रिया