बुधबार, कार्तिक ३, २०७८

मेरो आइडिया

​​​डिल्लीराज अर्याल२०७७ पुष ६ गते १४:०८

लेखक डिल्लीराज अर्याल

सात वर्ष लाग्दै गरेको मेरो नाती आज बिहान सदाभन्दा अलि सबेरै उठ्यो र मेरो नजिकै आएर बस्यो । नजिकै बसेर केहि न केहि बोलिरहने उसको स्वभाव पहिलेदेखिकै हो । म टेलिभिजनमा समाचार सुन्दै, हेर्दै थिएँ । समाचार हेर्दा हेर्दै अब यसले केहि न केहि भन्छ भन्ने लाग्दै थियो । किनकि उसको ध्यान भर्खर शुरु भएको समाचारमै थियो । समाचारमा ‘राजधानी बुटवलै चाहिन्छ’ भनेर बुटवलमा गरेको हल्ला, निकालिएको जुलुसको चर्चा थियो । मेरो ध्यान त्यसमै केन्द्रित थियो । सुन्न रमाइलै लागेको थियो मलाई पनि । हाम्रो माग, उपलब्धिमा दंग थिएँ म । सुन्दासुन्दै एक्कासि ‘पख्लास्, आउने चुनावमा भोट’ पो आयो त ।

समाचार सुनिरहेको मलाई सम्बोधन गर्दै नातिले एक्कासि भन्यो- यो पख्लास् भोट भनेको किन, बुबा ? मैले त्यसको चुरो जनताको बोल्ने आधार त्यत्ति मात्र भएको कुरो बताएँ ।

केहिबेर नबोलेर बसेको नातिले एक्कासि भन्यो- ‘बुबा मसँग एउटा ‘आइडिया’ छ नि ।’

ऊ दंग परेर प्रफुल्ल मुद्रामा मलाई आइडिया बताउँदै र समाचार सुन्न छोडेर आफ्नो आइडिया सुन्न कर गर्दै थियो । म समाचार सुनिरहेकै भएकाले त्यसमै मस्त थिएँ । ऊ ‘आइडिया’ भन्न उत्सुक भएको थाहा भए पनि म समाचारतिरै केन्द्रित थिएँ । त्यो कुराबाट प्रभावित पनि हुँदै थिएँ । आफ्नो कुरामा ध्यान नदिए जस्तो लागेर होला, ऊ भन्दै थियो- ‘बुबा, सुनिसियो न मेरो आइडिया ।‘

हुनत त्यो ‘पख्लास् भोट’ले मलाई पनि एउटा आइडिया दिएको थियो । यो राजधानी भोटमा कसरी गयो भन्नेतिर मेरो ध्यान केन्द्रित हुन खोज्दै थियो । नातीको आइडिया सुन्नैपर्ने भएपनि मलाई भने आफ्नै सोचले, आफ्नै आइडियाले मजा दिँदै थियो । मलाई सानो समाचारले आइडिया आए जस्तै नातिलाई पनि आएको थियो कि । त्यो आइडिया मलाई सुनाउने उसको उत्सुकता कम थिएन ।

कहिलेकाहीँ त अचम्मै हुन्छ । नातिलाई जस्तै केही कुरा सुन्यो कि आइडिया आइहाल्यो भैदिन्छ मलाई पनि । शायद चुनावताका नेतालाई पनि त यस्तै कुराले आइडिया आएको होला । म जनता, मलाई त नेताहरू र तिनका गतिविधि हेरे, देखेपछि यसरी बेला बेलामा आइडिया आउने गरेको छ । सानो नातिलाई त आइडिया आएको छ भने नेता त नेतै भए । तिनलाई त झन् धेरै आइडिया आएको होला । मैले कल्पना गरें । सोच्न थालें ।

सोच्दासोच्दै समाचारतिरबाट मेरो मन आफ्नै आइडियातिर गयो । यस्तै आइडिया नआएर त होला धेरै नेपालीलाई इण्डियातिर लाग्नुपरेको । आइडिया आउने हो भने त इन्डिया यहिँ आउँछ नि । मनमा कुरा खेल्न थाल्यो । सोच आउन थाल्यो –‘अब म मेरै आइडियामा चल्छु ।‘ हुन पनि मेरो आइडिया सजिलो छ । सबैलाई चित्त बुझ्ने खालको छ । सबै अर्थात् नेता, जनता, यो, ऊ, सबैलाई । नेतालाई पनि, जनतालाई पनि चित्त बुझ्ने खालको । कांग्रेसका जनतालाई पनि, कम्युनिष्टका जनतालाई पनि, राप्रपा, जसपा, पाए पा नपाए नपाका जनतालाई पनि, तिनका नेतालाई पनि ।

कांग्रेस, कम्युनिस्टका, राप्रपा, जसपाका जनता ? मनमै एउटा प्रश्न जन्मन्छ र उत्तर पनि स्वत:स्फूर्त रूपमा तयार हुन्छ । हो, त यो देशमा हामी जनता, अरू देशमा जस्तै देशका जनता कहाँ छौं र ? हामी भाग लागेका जनता, बाँडिएका जनता ! कोही कांग्रेसका, कोही कम्युनिस्टका, कोही राप्रपाका, कोही………..का अंशमा परेका जनता ! न सिङ्गो देश छ, न सिङ्गो जनता छ । सबै विभाजित । जहाँ घर, गाउँ, देश विभाजित हुन्छ ! जहाँ एउटै सिद्धान्त, नीति त्यसका अनुयायी पनि विभाजित हुन्छन् । त्यहाँ देश, जनता ……..?
मेरो मन त्यही आइडियासितै बरालिँदै गयो । नातिको आइडिया सुन्नेतिर लाग्दै लागेन । त्यता ध्यानै गएन । आफ्नो कुरा नसुने जस्तो लागेर होला, उसले फेरि भन्यो – ‘बुबा, मेरो आइडिया सुनिसियो न ।‘

मैले पनि भनें नाति ! – ‘तिमीलाई आइडिया आएको सुनेर मलाई पनि एउटा आइडिया आयो । अब मेरो आइडिया पनि सुन है ?‘

उसले भन्यो- ‘ मेरो पहिला आएको हो । मेरो पहिला सुन्नुपर्छ ।‘
मैले भने – ‘म बुढो पाको मान्छे, पहिले मेरो सुन्नुपर्छ ।‘
हाम्रो कुरो पहिला कसको आइडिया ? भन्नेमा अलमलियो । नेपाली नेताहरूले सिकाएको आइडियामा हामी पनि केन्द्रित भयौं । हाम्रो बहसले लामै समय लियो । आखिरमा उसले आफ्नो आइडिया रिजर्भ राखेर भन्यो ‍-‘ल भनिसियो त हजुरको आइडिया । हजुरले सुनाएपछि मैले पनि सुनाउँछु नि ।‘

मैले मेरो आइडिया भनें- ‘अब सबैले, चुनाव अघि पनि, पछि पनि “पख्लास् भोट” भने पो ।‘

उसले अलि नबुझेर हो कि ! भन्यो – अहिले भने पो हुन्छ । चाँडै भने पो जाती हुन्छ र । भोलिपर्सि भनेर पनि हुन्छ ? अझै ‘पख्लास् भोट’ भनेको के भनेको ? पर्खने भए मान्छेले पर्खनु परेन र ? मान्छेले छोडेर जानेलाई भोटले पर्खेर काम लाग्छ ? नेपालले छोडेर जानेलाई भोटले पर्खन्छ ?’

मैले भनें- ‘ पर्खने भनेको भोटैले हो । त्यो भोट उत्तरको भोट होइन । चुनावी भोट हो । चुनाव आउँदा नेता पनि घरघरमा आउँछन् । नेताहरू हामीलाई पर्खन पठाउँछन् । हामीले पनि ‘पर्ख न चुनाव’ भन्ने हो । सबैले पर्खने चुनावै हो, चुनावसम्मै हो । त्यसपछि न नेता फुर्सदमा हुन्छन्, न हामी ! नेताहरू बट्याउन लाग्छन्, हामी बटिन ।‘

‘यिनी किन पख्लास् भन्छन् त ?’- उसले सहज भएर सोध्यो ।
मैले भनें- हामीलाई राजधानी दिन्छु भनेर भोट मागेका थिए यिनले, अहिले अरूलाई मात्र दिए । त्यसै भएर ‘पख्लास्’ भनेको ।‘ मैले बेलिबिस्तार लगाएँ । उसले कति बुझ्यो कुन्नि ! छलफलमा सहभागी भने भयो । सुन्न थाल्यो र बोल्न पनि ।

मैले मेरो आइडिया बिस्तार गर्न थालें । भन्दै गएँ- ‘ तिनले आइडिया लगाएको भए यो राजधानीमा झगडा गर्नै पर्दैनथ्यो । पख्लास् भन्नै पर्दैनथ्यो । तिनीसित त्यत्ति आइडियै छैन ! नेताहरूमा त सधै एक एक वटा आइडिया भए पो हुन्छ त ! तिनका आइडिया त चुनावमा मात्र ।

हजुरसँग त्यस्तो आइडिया छ त? उसले मतिर हेर्दै प्रश्न गर्‍यो ।

मैले भनें – ‘किन नहुनु ? छ । त्यसैले त भनेको नि । बुटवलमा एउटा, कपिलवस्तुमा एउटा, भालुवाङमा एउटा राजधानी बनाइदिनुपर्थ्यो । त्यसो गरेको भए टण्टै खतम । तराईतिर माग अनुसार तीनवटा राजधानी दिएपछि पहाडी भेगका लागि पनि दुईवटा राजधानी दिए भैहाल्थ्यो । एउटा तम्घासमा, एउटा पाल्पामा । त्यति गर्दा पनि चित्त नबुझे राजधानी थपिदिँदै गए त हुन्थ्यो नि । हातमा भएकाले थपिदिँदै जाँदा के फरक पर्छ र ? समाजवाद ल्याउन कस्सिएर त्यति ठूला क्रान्ति गरेका दलले राजधानी कहाँ बनाउने ? कतिवटा बनाउने भन्ने कुरामा अल्झिएर पनि हुन्छ ? जति चाहिन्छ, जहाँ जहाँ चाहिन्छ दिने त हो नि । आखिर हातमा भएका बेला त्यति सानो कुरामा पनि छुच्याइँ गर्न हुन्छ ? यत्रो गणतन्त्र ल्याएका नेताले राज्य दिन, राजधानी दिन झन् उदार हुनुपर्दैन त ? ‘

नाति मेरो आइडियामा असहमत जस्तै भयो र भन्यो – ‘हुँदैन बुबा, त्यसै पाँच पाँचवटा राजधानी । अझ थप्दै जाने ? दिएर खुशी पार्न, आफ्नो बनाउन सकिने कुरो हुन्छ र ? टोलटोलमै, घरघरमै राजधानी मागे भने ? राजधानी धेरै हुँदा नेतालाई, जनतालाई के फाइदा हुन्छ र ?’

मैले आफ्नो अरू आइडिया बताउँदै जान थालें । उसले धैर्य गरेर सुन्दै गयो र भन्यो-‘ वाह ! बुबाको आइडिया । हाम्रो बुबालाई पो नेता बनाउन पर्ने रहेछ त । नेता हुन त आइडिया चाहिन्छ नि, हैन बुबा ! ‘

यति कुरा हुँदाहुँदै ऊ आफ्नो आइडिया सुनाउन बिर्सेर एकातिर लाग्यो । म ‘पख्लास् भोट’को प्रतिकार गर्ने र सकेसम्म जहाँ जहाँ भन्छन् त्यहाँ त्यहाँ, नसके पाँचै ठाउँ भए पनि राजधानी बनाउने योजनामा लागेको छु । कम्तीमा पाँच, सातवटासम्म राजधानी बनाउने आइडियामै दृढ भएर लागेको छु र यहि सल्लाह दिन थालेको छु । यत्रो गणतन्त्र आउँदा पनि जनताले एउटा राज्यमा जम्मा पाँच सातवटा राजधानी पनि नपाउनु ? पाँच सातवटा राजा पनि नपाउनु ?

फुर्सदमा सोच्दै गएको बेला मलाई लाग्न थाल्यो – आखिर राजधानी र राजा त हामीलाई चाहिएकै हो । एउटा राजधानी मलाई चाहियो । एउटा उसलाई, अनि अर्को उसलाई । एउटा मात्रले कति जनालाई हुन्छ र ? सात वटाले पनि त कतिजनालाई हुन्छ र ? मिले सबैलाई हुने गरी बाँड्दा दिँदा राम्रै हुन्छ ।

म आफै पनि बुढो हुँदै गएको छु । त्यसैले पनि मलाई अलग्गै एउटा राजधानी चाहिएको हो । बुढो भएपछि टाढा जान अलि अप्ठेरै पर्ला । त्यसैले अहिल्यै सोच विचार ‍गर्नुपर्‍यो । जोरजाम चाहियो । त्यसैले मेरो माग पनि राजधानीकै छ । मलाई पनि मिले घर-आँगनमै,‍ नमिले डहरसम्मै भए पनि एउटा राजधानी चाहियो । मेरा छिमेकी इष्टमित्रलाई पनि चाहियो । घरमै, नभए गाउँमा, टोलमा त चाहियो । प्रभासमा चाहियो । माडीमा चाहियो । अर्गलीमा, तानसेनमा, हार्थोकमा, खस्यौलीमा, …….. चाहियो । रामपुरमा, दरपुकमा, लाम्दीमा, झँडेवामा, ………. ठाउँठाउँमा चाहियो ।

हामीलाई मात्र हो र ? हाम्रा आफन्तलाई, छिमेकीलाई चाहियो । तम्घासमा चाहियो। थोर्गामा चाहियो । अर्जैमा चाहियो । वाङ्लामा, जुहाङ, मर्भुङमा,………. चाहियो । नरपानीमा चाहियो । सन्धिखर्कमा चाहियो । अड्गुरीमा, डिभर्नामा चाहियो । ठाडामा, चिदिकामा चाहियो । यत्रो गणतन्त्र ल्याएर पनि खालि त्यत्ति राजधानी पनि नपाउने ? खालि त्यै राजधानीपिच्छे राजा माग्न पनि नपाउने ?

आखिर टोल टोलमा राजा हुने, राजधानी नहुने पनि हुन्छ ? घरघरमा राजा हुन खोज्ने, राजधानी दिन नखोज्ने गरेर पनि मिल्छ ? जति राजा त्यत्ति राजधानी ! जति राजधानी त्यत्ति राजा बनाएर चलाउनुपर्छ राज्य । सिंहदरबारै आएका गाउँमा राजधानीको कञ्जुसी ? म त गाउँगाउँमा सिंहदरबार, गाउँगाउँमा राजधानी ! यही आइडियामा छु । यही सल्लाह छ मेरो ।

यसो गर्नैपर्छ । हुनैपर्छ……नत्र…….यत्रो गणतन्त्र ल्याइसकेपछि पनि राजधानीमा, राजामा, राजनीतिमा कन्जुस्याइँ गर्न हुन्छ ? राजधानी जिन्दावाद ! राजैराजा जिन्दावाद !

तपाइँको प्रतिक्रिया

फेसबुक