बुधबार, वैशाख १२, २०८१

“प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने कुनै ठाउँ छैन” पूर्व मन्त्री एवं संविधान मस्यौदा समितिका सदस्य-सोम पाण्डे

नेपालप्लस२०७७ पुष ५ गते १०:२५

गणतन्त्र नेपालको संविधानको मस्यौदा बनाउने एक सदस्य पूर्व मन्त्री एवं सांसद सोम प्रसाद पाण्डेले प्रधानमन्त्रीको संसद विघटन गर्ने कदमले गणतन्त्रकै अपमान भएको बताउनुभएको छ । नेपालप्लसले उहाँसँग गरेको संक्षिप्त कुराकानी :

यो सबै समस्याको विकल्प संसद विघटन नै हो ?

संवैधानिक व्यवस्था छैन । तर अब यसलाई मन्त्रीपरिषदले निर्णय गरेर पठाइसक्यो । राष्ट्रपतिकहाँ पुगिसक्यो । हुन त फलानो धारा अनुसार भनेर अंकित गर्ने ठाउँ छैन क्यारे । म यो संविधानको ड्राफ्ट कमिटीको सदस्य पनि हो । जानीबुझिकन यहि भएर दुईवर्ष सम्म अविश्वास प्रस्ताव ल्याउन नपाउने व्यवस्था गरेका थियौं ।

संसद विघटनको फैसलाले संसदको अपमान हुँदैन र ?

मान अपमान त छोड्नुस् न, व्यवस्थाकै अपमान भयो । गणतन्त्रकै अपमान भयो । प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने भन्ने व्यवस्था गरेका हौं हामीले । प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने कुनै ठाउँ छैन ।

प्रधानमन्त्री किन यस्तो कदमको लागि तयार हुनुभयो होला ?

ख्वै अब हामीले त के भन्नु ? उहाँलाई के लाग्यो ? कसरी सोंच्नुभयो । अहिलेसम्म उल्लेख गरेको कुरो आएको छैन । अहिलेसम्म राष्ट्रपतिबाट स्वीकृत भएको त छैन । मन्त्रीपरिषदले सिफारिश गरेपछि स्वीकृत हुन्छ ।

भनेपछि मुलुक मध्यावधिमा गएकै हो ?

हैन, हुँदैन मध्यावधि । अदालती प्रकृयामा जान्छ । तर अब अदालतले स्विक्रित गर्ने पनि ठाउँ छैन । कसरी फैसला गर्छ ? कुन खालको प्रकृया अदालतले अपनाउँछ अहिले हामी यसै भन्न सक्ने अवस्थामा छैनौं ।

तपाइँको प्रतिक्रिया