मंगलबार, कार्तिक २, २०७८

अहंकारले ओलीजीलाई खायो

हिरा नेपाल२०७७ पुष ५ गते १२:५७

कम्युनिष्ट आए देश समृद्ध हुन्छ भन्ने विश्वास मनमोहन अधिकारीको नौ महिने शासनले छोडेर गएको थियो । वर्षौं हामी शिक्षकहरुले एउटा एउटा इँट गरेर, भोकभोकै गाउँ गाउँ डुलेर बनाएको पार्टी हो नेपालको कम्युनिष्ट पार्टी भन्दा गौरव लाग्थ्यो । आजको ओलीजीको कदमले कम्युनिष्ट हुँ भन्न पनि लाज लाग्ने स्थिति बनाइदियो ।

उहाँले सार्वभौम संसदको विघटन गरेर गलत गर्नुभयो । सम्मानित सँस्था राष्ट्रपतिले त्यसलाई सदर गरेर अर्को गलत गर्नुभयो । राष्ट्रपतिले यत्रो निर्णय लिँदा के कुनै नेतासँग, प्रतिपक्ष दलसँग, संविधानविदसँग सल्लाह गर्नुपर्ने थिएन ? हो, संविधानत कार्यकारीले पास गरेको कुरा सदर गर्नुपर्ने हुन्छ भनेर उम्किएला । तर सबैको सर्वोच्च संस्थाको मान राख्न उहाँले सरसल्लाह गर्नुपर्नेथियो । यो अभिभावकत्वबाट पनि उहाँ चुक्नुभयो ।

गूटगत राजनीतिको शिकार ओलीजी स्वयम् हुनुभयो । गूटका गलत सल्लाहकारहरुले डोर्याउँदै डोर्याउँदै लगेर भड्खालामा हाले उहाँलाई । हुँदोखाँदोको बहुमत सरकार भंग गरेर उहाँले गर्न खोज्नुभएको के हो ? जनताको यत्रो विश्वासमाथि घात गरेर उहाँले देखाउन खोज्नुभएको के हो ?

हुनत पार्टी भित्र नेतृत्वमा शक्तिको टकराव देखिएकै थियो । त्यत्रा मार्क्र्सवाद र लेनिनवादका ठेली पढेका नेताहरुले पार्टी भित्रको टकराव समाधान गर्न सकेनन् । बरु त्यो टकरावको मारमा जनताको सार्वभौम संसद पर्यो । नेताहरुको लडाइँको कारण जनताले सधै किन दुःख पाउने ? अर्को जनस्तरमा गम्भिर प्रश्न उब्जिएको छ ।

ओलीजी एक्लै कम्युनिष्ट पार्टी होइन । ओलीजी कम्युनिष्ट पार्टीले पठाएको सरकारको प्रमुख हो । भोलि राम्रो भए पार्टी र ओलीजी दुवैले जस पाउनुहुन्छ । अहिले ओलीको कदमले कसलाई बढि प्रभाव परेको छ ? पार्टीलाई । उहाँ पार्टीको संगठनात्मक सिद्धान्त, पद्धति र विधिबाट भाग्नुभयो । मै पार्टी, मै सरकार र सबै मै भन्ने अहंकारले उहाँलाई खायो । यहि अहंकारको कारण कम्युनिष्ट पार्टीको पतन हुने हो कि भन्ने पो पीर लाग्दछ ।

केपी ओली त्यत्रा वर्ष जेल बस्नुभयो । अहिलेको कदमले उहाँकै योगदान पनि खाइदियो । यत्रा युवकहरु शहीद भए देशका लागि । त्यसको पनि अपमान भयो ।

हुन त केपीजी बयलगाढा चढेर अमेरिका पुगिन्न भनेर गणतन्त्रको माग गर्नेलाई गिज्याएको सुन्ने हामी नै छौं । त्यसैले उहाँलाई गणतन्त्रको माया रहेनछ भन्ने कुरा त संसद विघटनले देखाइदियो ।

अब अन्तिम आशा अदालतमा छ । अदालतले न्याय देला । अदालतले पनि न्याय दिएन भने देशमा रक्तपातको स्थिति नहोला भन्न सकिन्न । आगामी रक्तपातको दृष्यलाई अदालतले देख्नेछ भन्ने मलार्ई आशा छ । यदि अदालतले पनि त्यो दृष्टि गुमायो भने अनर्थ हुनेछ ।

प्रधानमन्त्री र राष्ट्रपति दुवैको असक्षमताको मोल नेपाली जनताले तिर्नुपर्ने भयो । यो बडो दुःखको कुरा हो ।

(लेखक नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व अध्यक्ष हुन्)

तपाइँको प्रतिक्रिया

फेसबुक