बिहीबार, वैशाख १३, २०८१

प्रकृती संरक्षण र पर्यटनको प्रचार गर्न नेपालका विभिन्न शहरमा ‘घुमौं सौराहा अभियान

योगेश अधिकारी / सौराहा२०७७ पुष ७ गते १७:१९

सरकारले २०२० लाई भ्रमण वर्ष घोषणा गर्‍यो । तामझामका साथ गत जनवरी १ मा भ्रमण वर्षको उद्घाटन नेपालको बिभिन्न शहरमा एकसाथ गरियो । जसमा बाग्मति प्रदेश स्तरिय उदघाटन कार्यक्रम पर्यटन नगरी सौराहाबाट सुरु गरिएको थियो । स्थानिय ब्यवसायीहरुले यसै भ्रमण वर्षको लागि भनेर आफ आफ्नो होटलमा लगानी थप गरे । कोठाको संख्या बढाए । अन्य सुबिधा थप गरे । तर यता नेपालमा जुन तामझामका साथ भ्रमण वर्षको सुरुवात गरेको केहि समयमै उता चिनको वुहानबाट कोरोना भाईरसले टाउको उठाइहाल्यो । कोरोना महामारी बिस्तारै फैलिदै बिश्वब्यापी रुप लिन गयो ।

त्यको नतिजाबाट नेपाल पनि अछुतो हुन सकेन । फलस्वरुप चैत्र १० गतेबाट देश पूर्ण लकडाउनमा गयो । यो महामारीको असर सम्पूर्ण क्षेत्रमा ब्यापक भएतापनि पर्यटन ब्यवसायीहरुलाई भने झनै ठूलो झट्का लाग्न पुग्यो । ८ महिना लामो नैराश्यता पश्चात बिस्तारै कोरोनाको प्रकोप घट्दै जाँदा सुरक्षाका उपायहरु अबलम्वन गरि ब्यवसाय सुचारु गर्न सकिने सरकारले निति लियो । तर विश्वभरि कोरोना भाईरसले लकडाउन भैरहेका बेला बिदेशी पर्यटक आउँदैनन् । बिदेशी पर्यटकमा भर परेको पर्यटन ब्यवशायलाई बिदेशीको आगमनबिना कसरि उठाउने त ? समस्या देखियो । यसमा पर्यटन ब्यवशायीहरुले गम्भिर छलफल गरे ।

अब पर्यटनका लागि बिदेशिको मुखमात्र ताक्ने काम बन्द गर्नु पर्छ । स्वदेशी पर्टकलाई बढाउनु, आकर्षण गर्नु जरुरि भएकोमा पर्यटन ब्यवशायीहरु पुगे । सँगसँगै प्रकृती संरक्षणलाईपनि सँगै लैजानुपर्ने खाँचो देखे । उता सरकारलेपनि यस्तै निति बनायो । सरकारले समेत २०२१ का लागि आन्तरिक भ्रमण बर्ष मनाउन तयारी गर्‍यो । यहि सन्दर्भमा ९,१० महिना बाहिर निस्कन नपाएका नेपालीहरुको लागि सौराहा घुम्नकोलागि अभिप्रेरित गर्न प्रचारप्रसार गर्नुपर्दछ भन्ने उद्देश्यका साथ सौराहाका ब्यवसायिहरुले अग्रसरता लिए । त्यसकोलागि बिभिन्न छुटको ब्यवस्था घोषणा गरि नेपालका सातै प्रदेशका मुख्य सहरमा गएर सौराहामा गर्ने सकिने कार्यक्रमहरुको बेलिबिस्तार लगाउने निर्णय भयो । सौराहा घुम्न आउने पर्यटकहरुलाई प्रदान गरिने छुटको जानकारी गराउने योजना बन्यो । क्षेत्रिय होटल संघ चितवन नेपालको आयोजना तथा नेपाल पर्यटन बोर्ड, जिल्ला समन्वय समिती र रत्ननगर नगरपालिकाको सहयोगमा ‘घुमौं सौराहा’ अभियानको प्रवर्धनका लागि सौराहाका ब्यवसायी नेपालका बिभिन्न शहरमा निस्कँदै छन ।

जस अनुसार पुष १० गते बिराटनगर, पुष ११ गते जनकपुर र पुष १२ गते बिरगंज मा प्रवर्धनको कार्यक्रम गरिने छ । उक्त कार्यक्रममा त्यस क्षेत्रका स्थानिय संघ संस्थाका प्रमुख, त्यस क्षेत्रका ब्यबसायीमाझ बृहत भेटघाट गरि सौराहासित सम्बन्धित प्रस्तुत गरिएका ब्रोसर, भिडियो र फोटो प्रर्दशनि गरिने छ । सौराहा र त्यस वरिपरि रहेका पर्यटकिय गन्तब्यका बारेमा जानकारी गराउँदै सौराहा घुम्नका लागि निमन्त्रणा गरिने कार्यक्रम रहेको क्षेत्रिय होटल संघ नेपाल चितवनका अध्यक्ष दिपक भट्टराईले बताए ।

क्षेत्रिय होटल संघ चितवन नेपालका निवर्तमान अध्यक्ष संयोजक रहेको यस प्रवर्धन कार्यक्रममा सौराहाका साना ठूला होटलका संचालक, क्षेत्रिय होटल संघका पदाधिकारी, नेपाल पर्यटन बोर्डका स्थानिय संघ संस्थाका प्रमुख लगायत ब्यबसायीहरुको हौसला बढाइने छ । कार्यक्रमलाई थप प्रभावकारी बनाउन चितवन जिल्ला संमन्वय समितीका अध्यक्ष तथा रत्ननगर नगरपालिकाका प्रमुख नारायण बन, नेपाल पर्यटन बोर्डका प्रमुख समेत सहभागीता रहने कार्यक्रमको संयोजक सुमन घिमिरेले बताए ।

यो भ्रमणमा गरिने प्रचार प्रसारबाट उक्त क्षेत्रमा सौराहाको प्रचार प्रसार भई त्यहाँका संघ संस्थाले आफ्ना बिभीन्न कार्यक्रम सौराहामा राख्ने र ब्यक्तिगत रुपमा पनि सौराहा घुम्न आई आन्तरिक पर्यटन बढ्नेमा सौराहाका पर्यटन ब्यवसायी आशाबादी छन् ।

तपाइँको प्रतिक्रिया