शुक्रबार, वैशाख ७, २०८१

जनसंपर्क समितिका १६ वटा शाखाले युरोप जनसंपर्क समितिको अधिवेशनमा सहभागीता नजनाउने

नेपालप्लस समाचार २०७७ पुष ८ गते १:१५


युरोपस्थित विभिन्न देशमा स्थापित नेपाली कांग्रेसका जनसम्पर्क समितिहरूले आगामी २८ डिसेम्बरमा हुने भनिएको जनसम्पर्क समिति युरोपको जुम अधिवेशनमा भाग नलिने भएका छन् । जनसम्पर्क समितिहरूको गत १६ डिसेम्बरका दिन सम्पन्न संयुक्त बैठकले सो निर्णय गरेको हो ।

सन २००६ मा स्थापित जनसम्पर्क समिति युरोपले विवादका कारण हालसम्म आफ्नो अधिवेशन सम्पन्न गर्न सकेको छैन भने नेपाली कांग्रेसबाट वैधानिक मान्यता समेत पाएको छैन ।

विभिन्न देशमा स्थापित जनसम्पर्क समितिहरूले नेपाली कांग्रेसको वैधानिक मान्यता प्राप्त गरि पार्टीका दुइवटा महाधिवेशनमा सहभागी भैसकेका छन् । जनसंपर्क समितिका सभापतिहरूको वैठकले आफ्नो वैधानिक मान्यताको स्मरण गराउँदै पार्टीबाट मान्यता नपाएका विवादग्रस्त कुनैपनि संरचनाहरूमा संलग्न हुन नसक्ने तर सबैलाइ समेटेर निर्विवाद ढंगले अघि बढ्ने सुभेच्छुक संस्थाहरूसँग भने आफूहरूको सहकार्यमा रहने जनाएका छन् ।

युरोप लगायत इजरायल र साइप्रस सहित १६ देशका जनसंपर्क समितीका सभापतिहरुले संयुक्त बिज्ञप्ती जारी गर्दै भनेका छन- पन्ध्र वर्षसम्म अधिबेशन नगरी अनिर्णयको बन्दी बनाइएको युरो समन्वय समितिको अधिवेशन सम्वन्धित पक्षहरू बीचमा कुनै सरसल्लाह, संवाद र सहमति नगरि एकलौटी र मनोमानीपूर्ण ढंगले आगाडी बढाइनु कसैको पनि हितमा नरहेको हामीले ठहर गरेका छौँ । यस्तो कदमले सहमति, सहकार्य र एकताको लागि हामीले गरेका प्रयासलाइ मद्दत गर्दैन । यसर्थ यूरोप क्षेत्रमा रहेका कांग्रेसीहरुलाई एकीकृत गरी सबै साथीहरूको स्वामित्व रहने गरी एकताको अधिवेशन गर्ने एकमात्र उपाय देखिएकोले सम्बन्धित पक्षलाइ अभिभावकिय भूमिका निर्वाह गर्न ध्यान आकर्षण गर्दछौ । अन्यथा सबै देशमा स्थापित जनसम्पर्क समितिहरू पार्टीका वैधानिक निकाय भएको स्मरण गराउँदै पार्टीको आधिकारिकता प्राप्त नगरेका, केन्द्रले कुनै निर्देशन नगरेका र विवाद ग्रस्त कुनैपनि संरचनामा हाम्रो संलग्नता नरहने निर्णय गरेका छौँ- बिज्ञप्तीमा भनिएको छ । युरोप जनसंपर्क समिती सन् २००६ मा गठन भए यता अहिले सम्म नेपाली कांग्रेस केन्द्रिय कार्यालयले मान्यता दिएको छैन ।

तत्कालिन सभापति सुशिल कोइरालाको युरोप भ्रमणका समयमा उनले भनेका थिए- “युरोप जनसंपर्क समिती भन्ने कुनै संरचना रहेको कुरा नेपाली कांग्रेसलाई थाहा छैन” । त्यसपछि यसको वैधानिक मान्यताका लागि न त कसैले पहल गर्‍यो न कसैले अधिवेशन गर्ने रुची नै देखायो । तर नामै सुन्न छोडिएको संस्थाले अधिवेशन गर्न लागेको खबरले आफूलाई अचम्म लागेको बताउँछन जनसंपर्क समितिका अगुवा ईन्द्र छेत्री । उनी भन्छन्- “कुनै जमानामा यो संस्था थियो भन्ने कुरा मेरो संझनाबाट बाहिरिईसकेको रहेछ । तर पनि युरोप जनसंपर्क समिती भनिएको संस्थाले यहाँका जनसंपर्क समितिहरुसँग समन्वय नगरि कसरी र कस्तो अधिवेशन गर्ने होला”- उनले थपे !

जनसंपर्क समितिका सभापतिहरुको बिज्ञप्तीमा भनिएको छ- “बिगत लामो समय देखि नेपाली जनसम्पर्क समन्वय समिती युरोपमा देखिएको बिबादका कारण नेपाली कांग्रेसका साथीहरूको पहलमा निर्माण गरिएको युरोप सञ्जालका गतिविधीले नेपाली कांग्रेस तथा नेपाली जनसम्पर्क समिती र यो बिचार र सिद्दान्त बोकेर हिँड्ने कुनै ब्यक्ति अथवा संस्थालाई फाइदा नपुर्याएको बरु सांगठनिक रुपमा नोक्सान पुर्याएको ठहर गरेका छौ” ।

बिज्ञप्ती जारी गर्नेहरुमा सिता सापकोटा (बेल्जियम), सिता अर्याल (साईप्रस), वीरेन्द्र सिंह कार्की (डेनमार्क), सुधीर राना (फ्रान्स) शिखर खड्का (जर्मनी), प्रेमसिंह गुरुङ (नेदरल्याण्ड), राजन चापागाई (ईटली) खगेश्वर, अधिकारी (इजराएल), बालकृष्ण सापकोटा (लगजेम्बर्ग), सन्देश के सी (माल्टा), जितेन्द्र शाही (नर्वे), डा अलिनी पोखरेल (सुबेदी -पोलेण्ड), ईन्द्र प्रसाद शर्मा (स्पैन), नवीन थपलिया (स्वीडेन), श्याम सापकोटा (स्वीट्जरल्याण्ड) र शुक्रराज न्यौपाने (आयरल्याण्ड) रहेका छन ।

तपाइँको प्रतिक्रिया

फेसबुक