बुधबार, वैशाख १२, २०८१

ओली जस्ता विस्मृत मानशिकताका ब्यक्तिलाई हामी ठिक गर्छौं- रामचन्द्र पौडेल

नेपालप्लस राजनितिक संवाददाता २०७७ पुष ९ गते ०:४६

फोटो- नेपाल २४ आवर्स

प्रधानमन्त्री केपी ओलीले संसद भंग गरेर मध्यावदी निर्वाचनको सिफारिस गरेपछि यतिबेला देशको राजनीति तातेको छ । नेकपाले बाटो फेला पार्न सकेको छैन । कुहिरोको काग जस्तो हराएको छ यो पार्टी । प्रतिपक्ष झन अन्योलमा छ । केपी कदमको विरोध गर्ने वा मौन समर्थन गर्ने नेपाली कांग्रेसलाई पत्तै छैन । कांग्रेसको केन्द्रिय समितिको बैठक ३ दिन देखि सानेपामा चलिरहेको छ । तर कुनै ठोस कार्यक्रम आउन सकेको छैन । केपी कदम यस्तो कदम थियो जसका लागि कांग्रेसले तुरुन्तै संघर्षका कार्यक्रम ल्याउनु पर्दथ्यो । तर शेर बहादुर देउवा चुपचाप छन् । सम्भवत: नेपाली कांग्रेस आज कुनै निर्णयमा पुग्ने छ । तर किन यति ढिलो ? संबिधान माथी धावा बोलिएको यत्रो घटनामा शायद कांग्रेस जस्तो पार्टीले यति लामो समयसम्म बिचार विमर्श गर्न जरुरी थिएन । नेपालप्लसले यिनै विषयमा केन्द्रित रहेर नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग कुराकानी गरेको थियो । कुराकानीका क्रममा पौडेलले लोकतान्त्रिक संविधान बचाउन संघर्षका शसक्त कार्यक्रम सुरु गरिने बताए ।

देशमा यात्रो घटना हुँँदा पनि तपाईंहरुको पार्टीको बैठक त झन लम्बिएको लम्बियै छ । किन केहि निर्णय गर्न नसकेको ? तीन चार दिनसम्म पार्टीमा छलफल हुनुपर्ने इश्यु हो र यो ?

हामीले तुरुन्तै संघर्षका कार्यक्रम घोषणा गर्नुपर्ने थियो । यो बैठक लम्बिएको देखेर मलाई अलिकती चित्त बुझेको छैन । लोकतन्त्र घायल भएको छ । संबिधानको चिरहरण भएको छ । ‘यस्तो बेलामा हामी बैठक गरेर गन्थन गरिरहनुको कुनै अर्थ छैन । हामी त विरोध पर्दर्शनका लागि सडकमा हुनपर्दथ्यो । संघर्षका कार्यक्रम लिएर जनताका बिचमा पुगिसक्नु पर्दथ्यो’ भनेर मैले बैठकमा भनें । रिस पनि उठ्यो मलाई । यस्तो ल्याङ ल्याङ गर्ने हो भने त हामी अझै कमजोर हुन्छौं । तर अब हामी संघर्षका कार्यक्रम सहित आउँदै छौ ।

तपाईंका सभापतिले यो विषयमा संघर्षका कार्यक्रम ल्याउन चहानुहुन्न जस्तो छ नि ?

साथीहरु अली अली पस्याङ्पस्याङ् गरिरहनु भएको छ । के कुरा हो मैले त्यति बुझ्दिन । धेरै भलाद्मी भएर बस्दा हामी हराउछौं कि जस्तो देखियो । आजको बैठकमा मैले कडा रुपमा कुरा उठाएको छु । अब भोली कार्यक्रम बनाउने कुरा भएको छ ।

तपाईंका सभापतिले संबैधानिक निकायहरुमा आफ्ना मान्छे छिराए पछी चुप्प लागेर केपी कदमको समर्थन गरेका हुन् भन्ने कुरा छ नि ?

यसको पनि हामीले बिरोध गरिरहेका छौं । यस्ता असंबैधानिक कृयाकलापको कसरी समर्थन गर्ने ? हामीले बिरोध गरेको ‘कालो अध्यादेशबाट बनेको संबैधानिक परिषदले गरेको नियुक्ती गैर कानुनी हो । त्यसलाई मान्न हुँदैन’ भनेर हामीले भनिरहेका छौं । एक दुई जना मान्छेले भोज भतेर खाएर ढुक्क हुने बिषय हो र यो ?

शेरबहादुर देउवाले नेकपाका अर्काथरि नेताहरुसँगको भेटघाटपनि बढाइरहनु भएको छ । कि सरकारमा सामेल हुने तयारीमा छ कांग्रेस ?

सभापतिजीको सोच सरकारमा जाने छ भने त्यो एकदम गलत हो । त्यसको हामी प्रतिवाद गर्छौं । सरकार बनाउने कुराको अथवा सरकारमा जाने कुरामा मलाई कुनै चासो पनि छैन । उत्सुकता पनि छैन । साँच्चै भन्नुहुन्छ भने मेरो चिन्ताको विषय अर्कै छ, नेपालमा लोकतन्त्र नै समाप्त पार्ने तानाबाना बुनिँदैछ छ । एउटा ब्यवस्था आउँछ त्यसलाई हटाउने । फेरी अर्कोको लागि संघर्ष गराउने अनी अर्को ब्यवस्था ल्याउने । नेपाललाई छिया छिया पार्दै लैजाने । अस्थिर बनाएर बिकास अवरुद्द पारीदिने र टाउको उठाउन नदिने । यस्तो षडयन्त्र छ । ओलीहरु त्यसैका मोहरा बनेका छन् । अब एउटा पार्टीले बहुमत ल्याएर सरकार बनायो । देशको बिकास हुन्छ । हामीले आफ्नो भोटो फेर्न पाउँछौं भनेर आश गरेर बसेका जनता ओलीको यो कदमले निरास भएका छन् । तर अब म खरो रुपमा उत्रिने निर्णय गरेको छु । तपाईंहरु ढुक्क हुनुहोस्, ओली जस्ता विस्मृत मानशिकतालाई हामी ठीक गर्छौं । नेपालको उन्नतिको आधारशिला हामी नै तयार गर्दछौं । यो लोकतान्त्रिक संबिधान मासिन दिँदैनौ । प्रवासमा बस्ने तपाईंहरु सबै जना निश्चिन्त हुनुहोस् ।

तपाईंका सभापतिको भूमिका नै राम्रो देखिएको छैन ! तपाईंहरुले लोकतन्त्रको रक्षा हामीले गर्छौ भनेर ठोकुवा कसरी गर्न सक्नुहुन्छ ?

सभापतिलाई पनि हामी सम्झाउँछौं । घचेटी रहन्छौ । संसदमा रहेका साथीहरुलाई पनि शसक्त रुपमा प्रस्तुत हुनुहोस् भन्छौं । कुनै एक ब्यक्तिको कारणले पछी हट्ने कुरै छैन । यो संसद पुनर्स्थापना नगरी कांग्रेस रोकिन्न अब ।

संसदको कुरा त अदालतमा बहस भइरहेको छ ! अदालतले सरकारको निर्णयलाई सदर गरिदियो भने के हुन्छ ?

Ram Chandra Paudel (NC leader)

हामी अदालतलाई पनि संबिधानका पक्षमा प्रेरित गर्न चाहन्छौं । उसले पनि देशको संविधान पढेर निर्णय सुनाउनु पर्दछ । अदालतले पनि लटरपटर कुराकोको रक्षा गर्न पाउँदैन । संबिधान हामीले बनाएको हो । यसको मर्म हामीलाई थाहा छ । त्यहाँ अक्षरस लेखिएका कुरा छन् त्यही अनुसारको व्याख्या अदालतले गरेपछि पुग्छ । त्यहाँ संसद विघटन गर्ने ठाँउ नै छैन । प्रधानमन्त्रिले कसरी विघटन गर्न सक्छ ? संबिधानले भनेको कुरा के हो भने बहुमतको सरकार बन्न नसकेपछि, बनेका सरकारले विश्वाशको मत लिन नसकेपछी र पटक पटक यस्तो भयो भने मात्रै बल्ल संसद विघटन गर्न पाईन्छ । अहिले बहुमत प्राप्त प्रधानमन्त्रीले संसद बिघटन गर्न सक्दैन । यो पक्षमा अदालत गम्भिर हुन्छ भन्ने हाम्रो विश्वास छ ।

नेपाली कांग्रेसले अदालतको निर्णय सुनेर संघर्ष गर्ने हो ?

हामीले अदालत पर्खने होइन । कम्युनिष्ट पार्टी फुट्छ भनेर पर्खिने पनि होइन । संबिधान माथि भएको आक्रमणको कांग्रेसले शसक्त प्रतिवाद गर्छ । हामीले राष्ट्रिय दायित्व पुरा गर्ने हो । हामी लोकतन्त्रको पहरेदार हो ।

अघि तपाईंले भन्नु भो नि, लोकतन्त्र समाप्त पार्ने तानाबाना बुनिँदैछ भनेर । कसले बुन्दै छ त्यस्तो तानाबाना ?

केपी ओली र बिद्यादेवी भण्डारीलाई निमित्त पात्र बनाएर पर्दा पछाडिबाट लोकतन्त्र सिध्याउने खेल सुरु भएको छ । पर्दा पछाडि को छ भन्ने सबैले बुझेका पनि छन्। राष्ट्रिय प्रतिकृयाबादी र अन्तर्राष्ट्रिय षडयन्त्रकारी सबै मिलेका छन् यो खेलमा । बिद्या भण्डारी र केपी ओलीहरु निमित्त मात्रै हुन । तर नेपाली कांग्रेसले यो षडयन्त्रलाई सफल हुन दिँदैन ।

राष्ट्रपतिको अहिलेको कदमलाई कांग्रेसले कसरी हेरिरहेको छ ?

राष्ट्रपतिले आफ्नो गरिमा राख्न सक्नु भएन । उहाँले कम से कम यस्तो महत्वपूर्ण बिषयमा अन्य पार्टीहरुसँग, बिज्ञहरुसँग र सरकारमै रहेको पार्टीका अन्य नेताहरुसँग छलफल चलाउनु पर्दथ्यो । पहिलेका राष्ट्रपती, राजाहरुले पनि छलफल र सल्लाह लिने गर्दथे । तर ओलीले सुटुक्क लाने बित्तिकै उहाँले तुरुन्तै संसद बिघटन भएको घोषणा गरिहाल्ने । यो उहाँको मर्यादा अनुसारको काम होइन । मैले अघि भनें लोकतन्त्र सिध्याउने खेलका मोहरा हुन यिनिहरु ।

ए…… त्यसोभए संसद पुनस्थापना भयो भने राष्ट्रपतिको बिरुद्दमा महाअभियोगको प्रस्ताव ल्याउनुहुन्छ तपाईंहरुले ?

पहिला संसद पुनस्थापना होस् अनी त्यतिबेला सोच्ने र सल्लाह गर्ने कुरा हो । अहिले यो गर्छौ र त्यो गर्छौ भनेर धक्कु लगाउने बेला होइन ।

(अलिकती अर्को प्रसंग) नेपाली कांग्रेस निकै कमजोर भयो भनेर तपाईंका कार्यकर्ताहरुले चिन्ता ब्यक्त गरेका छन् । कांग्रेस कमजोर भएकै हो र ?

पार्टी कमजोर भएर नै मैले सत्याग्रह शुरु गरेको हुँ । एकदम कमजोर भएको छ पार्टी अहिले ।

यसको मतलव शेरबहादुरले पार्टीलाई निकै कमजोर बनाए । अबको महाधिवेशन बाट पार्टी सभापति फेरिन्छ त ?

पार्टी कमजोर हुनुमा जे जे कारण थिए र छन् ति सबैलाई पखालेर फाल्दिन्छौं आउँदो अधिवेशनमा ।

तपाईं सभापतिको उम्मेद्वार बन्ने हो ?

हामीहरु सल्लाह गरिरहेका छौं । साथीहरुको सल्लाह सुझाव अनुसार नै अगाडि बढ्ने हो ।

तपाइँको प्रतिक्रिया