शुक्रबार, वैशाख १४, २०८१

प्रेम प्रज्ञा

बिनु भट्टराई / काठमाडौं२०७७ पुष १० गते १७:४५

बिनु भट्टराई

प्रिय निलोत्पल,
सम्पुर्ण विश्व प्रकृतिको निलोत्पल, स्पन्दशिल शक्ति यसैको कारण बनेको हुनुपर्छ किनकी ब्रह्माण्डको अदृश्य लोकमा समाज, संस्कार बन्धन जस्ता कुनैपनि संसारिक बेडी छन् जस्तो लाग्दैन । त्यहाँ केवल शुन्यता छ । शुन्य भित्र विलिन आत्मा छ । आत्मासँग ‘कनेक्टिङ’ हृदय छ । हृदयमा पुष्पित तिमी र म जस्ता अनेक आत्माद्वारा रचित अलौकिक प्रेम छ । प्रेम नै दिव्यद्वारमा पुग्न सकिने मार्ग हुनुपर्दछ । त्यहि मार्गमा ईश्वर छ । ईश्वरीय लीला मै निहित छ प्रकृत । अनी प्रकृतिका दुई स्वरुप छन् आध्यात्म र संसार ।

हो निलोत्पल !
त्यहि संसारको काईबाट आजित हामी या भनुँ प्रकृतिले नै दिएको अनुपाममा अनुभुतिको आधारमा यात्रा गर्दै गर्दा आध्यात्मिक यात्रामा टुपुक्क भेटिएका हौं । पक्कै पनि यो भेटको पछाडी अलौकिक रहस्य छ । अलौकिक प्रेम छ । सँगै दिव्यात्माको संसर्ग छ । यकिनन मैले यो भनिरहँदा तिमी अल्मलियौ । दु:खमा धैर्य गर्न सिकाइएका हामीलाई खुशीमा सयंमता अपनाउन जानिएकै रहेनछौं क्यार ! र त संत्रास पैदा भएको छ ।

विश्वब्यापी रुपमा फैलिएको महामारीको संत्रासले मानव जीवन अस्तब्यस्त छ । यहि समयमा जोडिएको सामिप्यता तनमनको मात्र नभएर विशुद्द आत्माद्वारा संचालित थियो । उमेरको एक पडावलाई छिचोलेका हामी पुन: ब्याक हुँदै यौवनको चंचलतामा डुबुल्की मारिरहेका छौं । हो प्रिय, यसरी प्रेम गर्न कुनै पूर्व तयारी गरिँदोरहेनछ । बिहान देखि साँझसम्मको पर्खाइ, संबाद, दृश्यपाना साँझ हुँदै मध्यरातसम्म ठोक्किँदा पनि भरिनै मान्दैन ।

दैनिकी फेरिएको छ हिजोआज । विभिन्न बिषयवस्तु, अनुभव, भाषा छन् हामी सँग गफिने । त्यहि संवादबिच अचानक झस्किँदै तिमी भन्छौ-“बोलनेको मन है पर डरता हुँँ” ।

“डरो म ! मै वहाँ किला हुँँ जो अट्कनेको साथ निभाता पर उसे कोइ देखता नही”
-“अरे वाह …….!”

भाषा सिकौं न भन्दै प्रयोग गरिएको हिन्दी लवजले हसाउँथ्यो । प्रेम थप्थ्यो । उर्जा दिन्थ्यो । यस्तै स-साना कुराहरु नै प्रेमका आँकुरा बनी मौलाई रहे ।

नेचुरल हुनुको आनन्द मै आनन्दित हुने ‘म’ लाई परिवर्तन गर्नका लागि नै तिमीले सौंन्दर्य शास्त्रको पुराण सुनाएर स्रिंगारको महत्व संझायौ । सिकाई बुझाई गर्ने शैलीमा दिव्यता हुन्थ्यो । कसैले ल्याउन परिवर्तन तिमीले पलभरमै ल्यायौं । कसैको नसुन्ने म किन सुन्ने तिमीलाई ? प्रश्न गर्न मन लाग्छ र तिम्रो उत्तर नसुनी आफैं भन्न मन लाग्छ यो सबै प्रेमको शक्ति हो । त्यसै माथि हरेक कुरा सिकाउने कला छ तिमी सँग । बतलाइए जनव ! यसै क्या चिज है आप कर नही सकते ।”

“हाँ एक चिज है, आपको दुखी कर नही सकता”!

“वाह! प्रेम करणए कि अदाए कोइ आपसे सिख ले” !

नवरात्र चलिरहेको छ । लकडाउनको प्रभाव उस्तै, एक-आपसमा निहित हुने महत्वपूर्ण समय हो यो । सबैजसो बिषय छन् । बोल्नलाई बहाना खोज्नुपरेको छैन । बिचार, विवेक, ज्ञान चिन्तन मनन सबैथोक हुँदाहुँदै पनि दुबै पक्षलाई संत्रासले गालीरहेको छ । कतै यो आकर्षण मात्रै त होइन ? यदि हो भने आउ प्रिय ! प्रेमिल यो संवेगमा विलिन भइ जाउँ । आकर्षण प्रेममा परिणत नहुँदै भरपुर आनन्द लिनु छ । प्रेममा परिणत भयो भने आकर्षणको प्रकृतिबाट बन्चित भइ अमूल्य अनुभूतिलाई गुमाउने छौं यतै कतै …….!

मिरा, सिता या राधा जे सम्झ, दिवानी भएकी छु ।
तिम्रो प्रेमको कलिलो घामसँग बिहानी भएकी छु ।
आउ बनाउँ प्रेममा आदिशक्ती, बनाउँ शिवालय,
छन् जिउने वहाना, शिवानी भएकी छु ।
हे निलोत्पल !

हृदय वेदिमा विराजमान तिम्रो अद्वितिय स्वरुप उहि सृष्टिकर्ताको थेग्नै नसकिने एक झलक जस्तै ओजपूर्ण बन्दै गैरहेको छ । यदि म भ्रममा छु भने यो भ्रमको चिरफार गरौं । सत्य हो भने मलाई सत्यताको आभास पठाउ । जतीसुकै दिव्यात्माका गहन अनुभूतिहरु आधार भएपनि आखिर हामी यहि समाज कै उपज हौं । कहिँकतै अपेक्षा, थोरै मोह, मिसाएर सुषुप्तमा विलिन चाहनाहरुलाई जगाउने तिमी प्राकृतको एक अंशमा स्वयं कृष्णा लागि रहेछ ।

हे प्रिया निलोत्पल !
जीवनसँगै जोडिएर आउने हरेक कुरालाई स्विकार गर्दै प्रेमको यज्ञमा प्रज्वलित अग्नीलाई दुबै मिलेर होम गरुँ । हृदयदेवीबाट पूजाअर्चना गरुँ । प्रेम नै मुक्तिको मार्ग हो प्रियतम !

यो मार्ग सहज पक्कै छैन । छुट्टीनु पर्छ कि ? जोगाउन सकिँदैन कि ? या दुख्ने दुखाउने अझै भनुँ यो केवल आकर्षण मात्र हो कि भन्ने यि सबै सन्त्रास होम गरिदिउँ प्रेम कै अग्नीमा ।

भरपुर बाँच्नु छ एक अर्काको छातीमा सुस्ताउँदै स्पन्दन सुन्नु छ । नभाग ! निलोत्पल हामी भित्र अंकुरित प्रेमको आँचलमा विराटता छ । मुक्ती छ । अभिभावकत्व छ । दया छ । श्रद्दा छ । अनी सम्मान । यिनै हुन अस्तित्वलाई भंग हुनबाट बच्चाउने सुत्रहरु फेरि त्रास किन ?

भविष्यको मार्ग निर्धारण गर्नुभन्दा पहिले आफू बाँचिरहेको वर्तमानलाई दिब्यात्माको रोशनिले प्रकाश पार्नु छ । वैचारिक युद्द भन्दा बढी हृदयद्वारा संचालित प्रेम वागमा ‘डिभाइन लभ’ को सुगन्ध छर्नुछ ।

जीवनका कयौं वसन्त पार गरेपछि प्रेमिल यात्राकै क्रममा बल्ल बुझ्दैछु प्रेम-प्रज्ञालाई । विद्वानको विद्धता मात्रा होइन रहेछ प्रज्ञा । जुन तर्क र स्‍मृतिले बाँधिएको होस् । किनभने दिब्य क्षमतासँग जोडिएको हृदयको तारले जब घटना घटाऊँदै लैजान्छ तब प्रेमपूर्ण भएर जीवनका प्रत्येक शब्दहरु ओंठबाट फूल जस्तै मगमगाउँदै निर्वस्त्र झर्छन् । अनी पो आफू निष्प्रयोजन छु भन्नेमा प्रयोजन देखिन्छ । तसर्थ आउ भर प्रेमिल अँगालोमा । चुम हृदय सिंचित प्रत्येक अंगहरुमा । विलिन भइदेउ देहधारी आत्मा मिलनमा । दुई देह मिश्रित समाधिमा एकाकार नभएसम्म तिमीले नै भन्ने गरेको ‘डिभाइन लभ’ जन्मिँदैन । किनकी त्यहि दिव्यात्मा प्राप्तिको लागि घटना घटाऊनै पर्छ । चाहे त्यो जीवनको प्रायोजन सार्थकता, प्रकृति या भने मोक्षको लागि किन नहोस् ।

फेरी पनि आग्रह गर्छु ‘प्रियतम आउ । जीवन-उत्सव मनाउनको लागि प्रेमिल घटना घटाऊनै पर्छ । डिभाइन लभ जन्माउनै पर्छ । जसको वेब, कनेक्सनद्वारा बुझ्न सकौं । एकआर्काका पिडा हुन या खुशी, आकाशवाणी बनुन् सन्देशहरु । नभनेरै भनियोस सबैथोक । यहिँ कतै छ तिमीले र मैले पुज्ने ईश्वर ।

त्यसैले त फेरि पनि भन्छु, यात्रा अलौकिक छ र आनन्दका पाइलाहरु द्वारा सोही अलौकिक जगतमा विचारण गरुँ । विस्वस्त छु र गराउँदै भन्छु, हामीले गर्न चाहेको यात्रा आलोक तिरै लम्किरहेको छ …….!

तपाइँको प्रतिक्रिया