मंगलबार, साउन १९, २०७८

बादलसँग प्रचण्डको बिन्ति : महेन्द्र पौडेल

नेपाल प्लस२०७७ पुष ११ गते १६:५७

चक्रपथदेखि माइतीघरसम्म दश पन्ध्रहजार कार्यकर्ता लिएर घेर्ने भन्दै पार्टीका अधिकांश नेता तथा युवा विद्यार्थीहरुलाई हिजो शुक्रबारका लागि तीन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, सुरेन्द्र पाण्डे र भीम रावलबाट म्यासेज गयो । तर चक्रपथका सडकहरुमा प्रचण्ड र माधव नेपाल जसरी राजाको कदमका बिरुद्ध गिरिजाबाबुसँग बसेका थिए त्यसैगरी नै माधब नेपाल सडकमा बसेका थिए । फरक त्यत्ति हो कि त्यतिबेला गिरिजा बाबु थिए भने यतिबेला प्रचण्ड ।

तर त्यतिबेला माधब नेपालले राजा ज्ञानेन्द्र पाउमा दाम चढाएर केहि पाउन सकेनन् । र पछि राजाले प्रधानमन्त्री बनाइदिन्छु भनेपछि कुर्था सुरुवालसमेत सिलाईसकेका माधबले आफ्ना माताको कृयासमेत नगरी प्रधानमन्त्रीको लोभमा बसेका थिए । तर ज्ञानेन्द्रले लोप्पा खुवाइसकेपछि उनी गिरिजाबाबुको पाउमा परेका हुन भन्नेकुरा सबैलाई थाहै छ । त्यसअघि उनले प्रतिगमन आधा सच्चिएको राजाको कदमको स्वागत गरेका थिए, भनिरहन परोइन ।

यस्ता पात्रलाई लिएर एकातिर प्रचण्ड सडकमा छन् भने अर्का पात्र जो बहत्तर करोड रुपियाँ राज्यकोषवाट सर्लाहीमा सर्प पाल्नका लागि निकासा गराएर न सर्प पालिएको छ न त्यहाँ सर्प नै छ । प्रचण्ड प्रधानमन्त्री हुँदा तत्कालिन प्रधानसेनापति रुक्मागत कटुवाललाई हटाउन उक्साए । पछि प्रचण्डलाई धोका दिए । ती अर्का पात्र हुन् झलनाथ खनाल । यी दुवै पात्र मात्र नभएर अर्का अनौठा पात्र छन् । नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ । जो भर्खरैमात्र कमानसिंह लामाको केसमा ‘दलाली’ गरेको भिडियो जो सार्वजनिक भैरहेको थियो । उनका बारेमा भन्नुपर्दा एक दशकलामो जनयुद्ध गर्ने र मार्ने खेलमा होमिएका माओवादीका हजारौं कार्यकर्ता थिए भने संसदमा राजाबिरुद्ध आन्दोलन गरेका लाखौं संसदबादी दल थिए । त्यतिबेला यी काजी पर्दापछाडि बसेर न सडकमा उत्रे वा उतारिए यिनका कार्यकर्ता न जंगलमा गए लड्न ।

जब माओवादी शान्तिवार्तामा आयो । त्यसपछि पनि यिनी अर्धभुमिगत छु भन्दै कान्तिपुर टेलिभिजनको फायरसाइडमा यिनले दिएको अन्तर्वार्ता लज्जाजनक थियो । पर्दापछाडि छायाँमात्र आउनेगरी यिनले दिएको अन्तर्वार्ता देख्नेलाई भन्दा खोइ के लाई लाज भनेजस्तो थियो । यि तीनपात्रबाट प्रचण्डले के आशा गरेका होलान भविष्यले बताउँला ।

तर दुर्भाग्य तीनजना देशका पूर्वप्रधानमन्त्री र पार्टीको सर्वोच्च पदमा समेत पुगिसकेका मान्छेले आब्हान गरेको सडक तताउने कार्यक्रममा जम्मा चारसय मात्र कार्यकर्ता सडकमा आएपछि गाडी चढ्ने बेला प्रचण्डले माधवलाई भने ‘माधव कमरेड हजारजति पनि कार्यकर्ता किन हो सडकमा आइदिएनन् ।’ बडो टिठलाग्दो श्वरमा प्रचण्डले माधवसँग दुःखेसो पोखे ।

सडक आन्दोलन गर्दैगर्दा देशमा सुरक्षाकर्मीको अभाव थोरै हुने दर्शाएर प्रधानमन्त्रीले पूर्व प्रधानमन्त्री र पूर्व मन्त्रीहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउने कुरा गाइँगुईँ सुनियो । चार पाँच जना मात्र पूर्व प्रधानमन्त्रीलाई सुरक्षाकर्मी दिएर फिर्ता बोलाइँदा प्रचण्डको भागमा सत्तरीजना सुरक्षाकर्मी हाल छन् । सबैभन्दा पीडा प्रचण्डमा थियो । सत्तरी जना सुरक्षाकर्मीबाट पाँचमा मात्रै सीमित राख्दा प्रचण्डको दिमागमा पूर्व जनमुिक्त कमाण्डर खड्गबहादुर श्रेष्ठलाई सम्झे होलान् ।

खड्गबहादुर श्रेष्ठ माइक्रोबसका ड्रइभर थिए । त्यसअघि उनी माओवादी पार्टीमा ‘शरण’ नामले चिनिन्थे । पच्चीस भन्दाबढी मोर्चामा सामेल भएका उनी माओवादी लडाकुको तेस्रो डिभिजनमा थिए । ०६३ देखि प्रचण्ड चढ्ने गाडीको विश्वासिलो चालकसमेत रहेका प्रचण्डको ढोंगी प्रबृत्ति देखेर ०६६ सालबाट उनले प्रचण्डलाई छाडे । त्यसपछि मात्र माइक्रोबस चलाउन थालेका हुन् । उनै ‘शरण’लाई जनआस्थाले अन्तर्वार्ता लिएको थियो जसमा उनले ‘जनताले प्रचण्डलाई लखेटी–लखेटी मार्छन्’ भनेका थिए ।

त्यो अन्तर्वार्ता प्रचण्डको दिमागमा पक्कैपनि घुमेपछि उनले सायद माधव कुमार नेपाललाई भनेका हुन ‘हजारजति कार्यकर्तापनि सडकमा उतार्न सकिएन कमरेड’ भनेर ।

तर शनिबार विहानको माहोल अर्कै रह्यो । एकातिर प्रचण्ड बनाइएका पात्रहरु नेत्रविक्रम चन्द ‘विप्लव’, मोहन बैद्य किरण, सीपी गजुरेल, बाबुराम भटृराई र अन्तिममा आएर आफ्नै सहकर्मी रामबहादुर थापा बादलले समेत छाडिदिँदा वा छाड्न बाध्य पारिँदा उनले मनमनै सोचे “यस्ता दिग्गजबाट बनेको ‘प्रचण्ड’ पात्र म अहिले आएर यी नारायणकाजी, माधव र झलनाथबाट मेरो छबि रहला कि नरहला ?” भन्ने प्रश्न उनको दिमागमा पक्कै खेलेको हुनुपर्दछ ।

यावत प्रश्नका पछाडि चितवनबाट निकट कार्यकर्ताले फोन गरे–‘कमरेड पार्टी कार्यालयमा ओली पक्षकाले ताला लगाईदिए’ । आफ्नै छोरी मेयरसमेत भएको चितवनमा पार्टी कार्यालय समेत जोगाउन नसकेको पीर एकातिर छ भने अर्कोतिर आफूले जितेको क्षेत्रसमेत रहेको चितवन जो अहिले ओलीले ठोरीमा विशाल मुर्ति बनाइदिने बचन दिएर प्रचण्डको वचेखुचेको प्रभावसमेत खरानी बनाइदिएको कारणले उनलाई झिरले मुटुमा कोपेजस्तै भैरहँदा झन पाटी कार्यालय ‘कब्जा’ बाक्यले खपिनसक्नु भयो ।

उनले बादललाई पार्टी कार्यालय चितवनको ताला खोल्न र कार्यकर्तामाझ आफ्नो बचेखुचेको छबि जोगाइदिन अनुरोध गरेको सुनिन्छ । प्रतिउत्तरमा बादलले जनयुद्धका बेला ‘लिन प्याओवादी’ भएको आरोप लगाएर एक दशकसम्म तपाईँले ममाथि कारवाही गर्नुभएको कुरा प्रचण्डलाई सम्झाइदिएपछि प्रचण्ड झस्केका हुन् । त्यसपछि प्रचण्डले बिन्तिकै शैलीमा बादलसँग हारगुहार गरेपनि बादलले फोन राखिदिएको बादल निकटहरुको भनाई गाइँगुइँ सुनिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक