बिहीबार, चैत १५, २०८०

नेकपालाई जुटाउन चिनियाँ नेता काठमाडौंमा, राजनितिक भेटघाट तिब्र

नेपालप्लस समाचारदाता / काठमाडौं२०७७ पुष १२ गते २३:३८

चिनियाँ कम्युनिष्ट पार्टी बिदेश बिभागका उपमन्त्री कुओ येचौं

आज भन्दा २ वर्ष १० महिना २१ दिन अघि नेपालको ३८ औं प्रधानमन्त्रीका रुपमा भएको केपी ओलीको सत्तारोहण कार्यक्रममा स्वागत गर्न त्यति ‘नोटिसमा’ नपरेका एकजना बिदेशी पाहुना पनि उपस्थित थिए । त्यो बेला उनले केहिबेर नयाँँ प्रधानमन्त्री ओलीसँग भलाकुसारी गरे । माधव नेपाल र झलनाथ खनालसँग समेत गफिन भ्याए । कसैलेपनि यिनको उपस्थितिलाई गम्भिरतापूर्वक लिएन । यिनिसँगको डिनरमा प्रचन्ड पनि सामेल थिए । त्यसकै भोलिपल्ट दुई ध्रुवमा रहेका नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एक हुने निधो भयो । यदी यि पात्रको सकृयता हुँदैनथ्यो भने सम्भवत: नेपालका यि कम्युनिष्ट पार्टीहरु मिल्ने सम्भावना थिएन । तर पार्टी जोडीएको दुई वर्ष पछी नेकपा लगभग छुट्टीने अन्तिम बिन्दुमा पुगेको छ र तिनै पात्र आइतवार आफ्नो दलवल सहित काठमाडौंमा उदाएका छन् ।

नेपालको राजनीतिक मामलाका गिने चुनेका खेलाडी भनेर दक्षिण तर्फको छिमेकबाट राकेश सुद वा श्याम शरणको नाम आइरहे जस्तै उत्तर छिमेकमा नेपाल खेलाडीको रुपमा चिनिएका छन् कुओ येचौं ।

दुई वर्ष अघि नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादीलाई एक गराउने अभियानमा सफल देखिएका कुओ येचौं चिनियाँ कम्युनिष्ट पार्टीमा बिदेश बिभागका उपमन्त्री हुन् । चिनियाँ राष्ट्रपती सि जिङ्पिङ निकट सल्लाहकार मानिएका येचौं यस अघि पनि नेपाल आउने गरेका छन् । कहिले थाहा दिएर कहिले गोप्य रुपमा । यसपटक पनि यहाँँको सबैभन्दा ठूलो पार्टी नेकपामा देखिएको राजनैतीक संकट र सम्भावित पार्टी बिभाजनको समयमा आइतवार कोभिड नियन्त्रण एवं सुरक्षामा लगाइने पीपीई ड्रेस लगाएरै येचौं आफ्नो चार्टर्ड उडानबाट ४ जनाको टोली सहित काठमाडौं उत्रिएका थिए ।

नेकपामा विवाद सुरु भएदेखि नै नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले उक्त पार्टीका नेताहरुसँगको भेटघाटलाई तिब्रता दिएकी छन् । कुटनैतीक भन्दापनि राजनैतीक सकृयताका माझ उनले येचौंको तहमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका नेतालाई काठमाडौं उतारेकी छन् । येचौंको टोलिले आइतवार नै राष्ट्रपती विद्यादेवी भण्डारीलाई र प्रधानमन्त्री केपी ओलीलाई भेटिसकेको छ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले आफ्नो ट्विटरमा चिनियाँ नेताले प्रधानमन्त्रीसित भेटघाट गरेको पुष्टि गरेका हुन् ।

सोमवार पुष्पकमल दाहाल, माधव नेपाल, परराष्ट्रमन्त्री प्रदिप ज्ञावली तथा इश्वर पोख्रेल सँग भेटघाट गर्ने नेकपाका एक नेताले बताए । यो टोली बुधवार मात्र स्वदेश फर्किने छ ।

कूटनितिक नियम अनुसार एउटा देशको राजनीतिज्ञ अर्को देशको भ्रमणमा अथवा कुनै कार्यक्रममा जाँदा त्यहाँको सरकार अथवा सम्बन्धित पार्टीको निमन्त्रणा रहने सामान्य प्रकृया हुने गर्दछ । तर यो टोलीलाइ निमन्त्रणा गरिएको कुनै पनि पक्षले पुष्टी गरेको छैन । तथापी टोलिले राष्ट्रपती भण्डारीलाई भेटेर पार्टी टुक्रिनबाट जोगाउन सक्दो पहलको आग्रह गरेको श्रोतहरुले बताएका छन् । दुई वर्ष अघि नेपालका दुइ ठूला कम्युनिट पार्टीहरुको एकता गराउन सफल भएका येचौं अहिले नेपाल जानकारका रुपमा परिचित छन् ।

सन् १९९३ देखि चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य रहेका यिनी कम्युनिस्ट पार्टीको विदेश विभागमा डेपुटी डिभिजन डाइरेक्टर, डिभिजन डाइरेक्टर र महानिर्देशक हुँदै सन् २०१४ देखि चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको उपमन्त्री भएका हुन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागमा ७ जना नेता छन् । तीमध्ये यचौं दोस्रो बरियताका नेता हुन् । यस विभागमा चार जना उपमन्त्री र दुईजना सहायक मन्त्रीहरु कार्यरत छन् । तर यि भने प्रधानमन्त्री सि जिङपिङका अती नै विश्वासपात्र मानिन्छन् । यिनको सकृयता र चीनको चासोलाई गहिरिएर हेर्ने हो भने यो हप्ताको अन्तिम सम्ममा नेपालको राजनीतिमा केही ठोस परिवर्तन देख्न सकिने आँकलन गर्न सकिन्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक