शनिबार, वैशाख ८, २०८१

लुकेर क्रिसमस भोज गर्ने नेइमारको सर्वत्र आलोचना

नेपालप्लस न्युज डेस्क२०७७ पुष १४ गते १२:१०

विश्वकै महँगा मध्येका एक पेरिस सेन्टजेर्माका फूटबल खेलाडी नेइमार यसपटक लुकेर भोज गरेको आरोपमा सर्वत्र आलोचित भएका छन् ।

ब्राजिलको रियो दि जानेइरोमा कोरोनाको कारण सामूहिक भेटघाटमा प्रतिबन्ध लगाइएको बेला ५ सय जनालाई निम्तो गरेर उनले क्रिसमस भोजको आयोजना गरेका थिए ।

माँगाराबित्ताको महँगो पाँच तारे होटलमा उनले पार्टीको लागि विशेष व्यवस्थापन गर्न लगाएका थिए । भोजमा सहभागी हुनेहरुलाई मोबाइल, क्यामेरा लगायतका सामानहरु लैजान प्रतिबन्ध लगाइएको थियो ।

फूटबल खेलेरै अकूत सम्पत्तिका मालिक बनेका नेइमारले भोजको आयोजना गर्ने फाब्रिक नाउँको कम्पनीलाई विश्वमै चलेका ब्याण्डहरुलाई निजी विमान प्रयोग गरेर भोजमा गीत गाउन बोलाएका थिए । विवाहितको लागि छुट्टै र अविवाहितका लागि अलग्गै रमाइलो गर्ने हल बनाइएको थियो । सँसारभरिका महँगा र चलेका सबै ब्राण्डका रक्सीहरु भोजमा सामेल हुनेहरुले मन लाग्नेगरी पिउन सक्ने व्यवस्था थियो । इच्छा हुनेहरुले होटलमै रात बिताउन पनि मिल्ने व्यवस्था मिलाइएको थियो ।

ब्राजिलमा अहिलेसम्म कोरोनाको कारण एक लाख ९० हजार ८ सय १५ जनाको ज्यान गैसकेको छ । गरिब ब्राजिलियनहरु झुपडीहरुमा सिटामोल समेत नपाएर मरिरहेका छन् । अमेरिका र भारतको हाराहारीमा कोरोना संक्रमितहरु छन् धेरै जनसंख्या भएको मुलुक ब्राजिलमा ।

यस्तो संवेदनशील समयमा सामाजिक रुपमा कोरोना विरुद्ध खट्लान् भन्ने आशा गरिएका नेइमारको यो पार्टी मानवताविहीन भद्दा रमाइलो भएको भनी फूटबल जगतका चिनिएका खेलाडी, विश्लेषकहरुले प्रतिकृया जनाएका छन् । नयाँ वर्षको रात समेत कार्यक्रम गर्ने थाहा पाएपछि स्थानीय प्रहरीले नेइमारमाथि निगरानी राखिरहेको ब्राजिलका पत्रपत्रिकाले जनाएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक