शुक्रबार, साउन १५, २०७८

नेपाली राजनीती र बाँदरको नाच

सन्जय घिमिरे२०७७ पुष १४ गते १३:२१

दुइ वर्षअघि, जब नेपाल कम्युनिष्ट पार्टी माओवादी (केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एमाले) एक भए । त्यतिबेला मैले एउटा समाचार माध्यममा लेखेंको थिएँ– “नेपालको राजनीती, राजनीतीक समिकरण, नेताका बोली, व्यबहार र चरित्र कुनैपनि, कतै स्थिर देखिँदैनन् । दूर्भाग्य हरेक पटक ती आफूलाइ पहिलो कदममा स्थिर ठान्छन । र, कालान्तरमा लरर्बराउँदै लर्बराउँदै अर्कै एउटा निष्कर्षमा पुग्छन् । र भन्छन– बदलिँदो परिस्थीती ।

पहिले परिस्थिती बदल्ने नारा लगाउँछन् । पछि परिस्थितीमा आफैं बदलिएको निष्कर्ष सगर्व सुनाउँछन् । समयको माग, जनताको चाहना र राष्ट्रिय – अन्तर्राष्ट्रिय परिस्थतीको जलप लगाएर आफना फलामे बिचार र कदमलाइ सुन जस्तै टल्काउन यी खप्पीस छन ।”

दुइ वर्ष अघि लेखेको माथिको वाक्य, आज दाोहोर्‍याउँदापनि मिल्ने अवस्थामा छ नेपालको राजनीती ।
आजपनि ‘फलामे नेताहरु’ खुइलिएको आफ्नो रुपमा सुनको जलप लगाउने कोसिस गरिरहेका छन् । तिनले जति जलप लगाएपनि, ति खुइलिएको खुइलीयै छन् । यसपटक पनि नेपालको राजनीती र नेताहरु फेरि खुइलिए ।

झण्डै दुइ तिहाइको राप र तापमा बनेको के पी ओलीको सरकार यसरी, यो रुपमा, यत्ती छिटटै खुइलिइएला भनेर शुरुका दिनहरुमा कसले कल्पना गरेको थियो र ? अब यीनले पचास वर्ष नेपाल हाँक्ने भए भन्ने उबेला लागेको थियो । उ बेला लागेको थियो – यीनले अली टिकाउ जलप लगाएका छन् । के को हुन्थ्यो, झन कमजोर जलप रहेछ ।

यसैले त यती छिट्टै के पी शर्मा ओली खुइलिए । पुष्पकमल दाहाल खुइलिए । उ बेला नेपालमा जब मनमोहन अधिकारीको नेतृत्वको सरकार बन्दै थियो, त्यतिबेला मेरा प्रीय प्रोफेसर डा दुर्गाप्रसाद भण्डारीले लेखेका थिए– हेमामालीनीको गालामा झुसे दाह्री । अर्थात नसुहाउँदो ।

भलै, मनमोहन अधिकारी अहिलेका कम्युनिष्ट नेताहरु जस्तो निष्ठाबिहीन, नैतीकहिन, धमण्डी, छली, अराजक र अडबाँगें थिएनन् । तैपनि भण्डारी सरले कम्युनिष्ट सरकार भएकै कारणले मनमोहन अधिकारीको सरकारलाइ हेमामालनीको गालामा झुसे दाह्री उम्रँदा जस्तो बिरुप हुन्छ, त्यस्तै बिरुप सरकार भनेका थिए । अहिले भण्डारी सर भएको भए, ओली सरकारलाइ कती बिरुप देख्दा हुन् कल्पना मात्र गर्न सकिन्छ । जुन दिन माओवादी (केन्द्र) र एमालेबिच बिना सैद्धान्तीक आधार र दुइ नेताको खासखुसमा एकिकरण भयो त्यहि दिन देखि नै हो– हेमामालीनीको गालामा डरलाग्दो झुसे दाह्री उम्रन थालेको ।

ओली सरकार शुरु देखिनै अस्वाभावीक र बिरुप थियो । बिरुप यसकारण कि ती ओली, जो माआवादी वा प्रचण्डलाइ पाइला पिच्छे लल्कार्थे । त्यहि माओवादी वा प्रचण्डसँग एकल खुसामतमा एक भैरहेका थिए । उ बेलाको बिरुपता, आज त नांगिएको मात्रै हो ।

संसद बिघटन गरेर ओलीले ठिक गरे वा त्यसको बिराधमा उत्रीएर प्रचण्ड, माधब नेपाल, झलनाथ खनालहरुले ठिक गरिरहेका छन् भन्ने होइन । शेरबहादुर देउवा वा बामदेब गौतम ठिक छन्, यो पनि होइन । यी सबै सुनको जलप लगाएका वा जलप लगाउन पनि नजान्ने खिइएका फलामहरु हुन् । नेपाली जनता भ्रममा नपरे हुन्छ ।

जहाँ लोकतान्त्रिक अभ्यास र मुल्यहरु, संबिधानका धारा र तिनका गुदीहरु व्यक्तिका लडहमा चल्छन्, व्यक्तिका अहंममा चल्छन्, व्यक्तिका सिमित स्वार्थमा चल्छन्, त्यहाँ जनता त बहाना मात्र हुन् । जनता त भरिया मात्र हुन् । भारीमा जती अमुल्य चीज भएपनि भरियाले पाउने भनेको मुश्किलले थोरै ज्याला मात्रै हो । नेपाली जनताले त भारी बोकेको त्यहि ज्याला पनि पाउन छोडेको अवस्था छ । जम्माजम्मी कुरा के हो भने, नेपाल फेरि अनिश्चयको राजनीतीको भुमरीमा फँसेको छ ।

सतहमा देख्दा ताजा जनादेशका लागि जनतामा जाने कुरा स्वाभाविक, तर्कसंगत र जनताप्रती इमान्दार जस्तो देखिन्छ । तर प्रष्ट भए हुन्छ – यो जनताको कुरा हुँदै होइन । खेल जनताको हुँदै होइन । खेल अरु कसैको हो । जनता त बिचरा सोझा दर्शक ।

म्याच फिक्सिंग गर्ने खेलाडीहरु हुन । ओली, प्रचण्ड, माधब नेपाल, झलनाथ खनाल, बामदेब गौतम, शेर बहादुर देउवा, भारत, चीन वा अरु खेलाडीहरु । कतै न कतै, कसै न कसैले म्याच फिक्सिंग गराइरहेको छ । जनता त बिचरा खेल हेरिमात्र रहेका छन् ।

नेपाली जनतालाइ मेरो आग्रह छ– अब यी खेलाडीहरुमाथि बिश्वास नगर्नुस् । अहँ, पटक्कै बिश्वास नगर्नुस् । यी स्वच्छ खेल खेल्न आएकै होइनन् ।

के बिग्रन्थ्यो ओलीले, सचिवालय भित्रै मैले बिश्वास प्राप्त गर्न सकिन, यसैले मैले छोडिदिन्छु भनेको भए ? के बिग्रथ्यो, प्रचण्ड र माधब नेपालहरुले पर्खौ र हेरौं भनेको भए ? यी त्यसो भन्दैनन्। यीनलाइ कि त उनकै स्वार्थ वा अहमले त्यसो भन्न दिंदैन । कि त अरु कसैले त्यसो भन्न दिँदैन । दिएन । र, त आज नेपालको राजनीती भुमरीमा परेको छ ।

अबका निर्वाचनहरुमा कसैको बहुमत सजिलै आउँछ, कसैले कल्पना नगरे हुन्छ । बल्ल तल्ल आएको बहुमतको ओली सरकारको त यो हवीगत भयो, अब नेपाली राजनीतीमा कती हवीगतहरु देखिन्छन कती । नेपाल फेरि भुमरीमा पर्‍यो । खेल्नेहरुलाइ सजिलो भयो । भित्रका खेलाडीहरुलाइ खेलाउने बाहीरका खेलाडीहरुलाइ झन सजिलो भयो । चूुच्चे नक्शा त अब कहाँ पुग्यो पुग्यो ।

बाँदरलाइ नचाएर पैसा कमाउन पल्केको मदारीले धेरै बाँदरहरु भेटेको छ । बाँदरहरु अब फेरि नाचेको नाच्यै हुने भए, मदारी खुश । अहिलेका नेताहरु बाँदर हुन् । मदारी अरु कोहि छ । जनता भ्रममा नपरे हुन्छ– यो बाँदर ठिक वा त्यो बाँदर ठिक भन्नेमा । जनता आपसमा नबाझे हुन्छ – यो बाँदर वा त्यो बाँदर राम्रो भन्नेमा । बाँदर, जो मदारीले नचाइरहेको छ, त्यसको के भर गर्नु ? सरकार, दल, अदालत र यीनका नेताहरु बाँदर भएपछि, मदारीले त नचाउने नै भयो ।

नाच चलीरहेको छ । जनता भ्रममा नपरे हुन्छ । यो मात्र नाच हो । बाँदरहरुको नाच । यो वा त्यो को कुरै छैन । मदारीले कसरी नाच्नु भन्छ, यी सबै नाच्न तयार छन । निर्वाचन हुन्छ, जब मदारीले चाहान्छ । फेरि अर्को खिलराज रेग्मीको उदय हुन्छ, जब मदारी अर्को खिलराज रेग्मी नाचेको देख्न चाहन्छ । बिडम्बना त के हो भने नेपालका नेताहरुलाइ आफू कुन बेला मान्छेबाट बाँदरमा बदलीए पत्तै हुँदैन । हेर्दा हेर्दै ती मान्छेबाट बाँदरमा परिणत हुन्छन् । अप्रेशन गरेर कोही कसैले, कती छिटटै नेपाली नेताहरुलाइ मान्छेबाट बाँदर बनाइदिन्छ ? थाहै हुँदैन ।

मदारीको यो खेलमा च्याँखे थाप्ने बिचरा रामचन्द्र पौडेल र र बामदेब गौतमहरुको के हिसाब किताब ? नाच अब थप देखिदै जानेवाला छ । आँट र सम्भव छ भने नेपाली जनताले लखटे हुन्छ बाँदरहरुलाइ, मदारीलाइ पनि । निर्वाचन वा संसद पुनर्थापना त गौण कुरा हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक