शुक्रबार, वैशाख ७, २०८१

फ्रान्स पढ्न बस्दाका राजकुमार विरेन्द्र

नेपालप्लस२०७७ पुष १४ गते १४:५५

सन् १९५० सम्म नेपाल बाहिरी मुलुककालागि बन्द थियो । तर चलाख राजा महेन्द्र भने देशविदेशको यात्रा गरिरहन्थे । बिदेशी नेता र योजनाकारहरुसित देश विकासका ज्ञान लिने, अक्किल सिक्ने गरिरहन्थे । महेन्द्र त्यो बेला फ्रान्सको कृषी, प्रविधी र पर्यटन ब्यवशायबाट निकै प्रभावित थिए । उनले आफ्ना छोरा राजकुमार विरेन्द्रलाई फ्रान्समा ल्याएर पढाउने र फ्रान्सको कृषी , पर्यटन, कूटनिति र पर्यटनाबरे सिकाउने योजना बनाए ।

तर फ्रान्सेली उच्च तहमा कसरि पहुँच पुर्‍याउने ? माध्यम बन्यो सारी । त्यो बेला फ्रेन्चसिपन सारीको उच्च घरानियामा निकै आकर्षण थियो । अहिलेपनि भारत, नेपाल देखि भुटान र बर्मासम्मका उच्च घरानियामा फ्रेन्चसिपन महँगो र उच्चकोटीको मानिने फ्रेन्चसिपन सारीको उत्तिकै महत्व छ । त्यो बेला नेपालको राणा, शाही परिवारका सदस्य पेरिसको म्याडलेनस्थित फ्रेन्चसिपन सारी पसल धाउँथे ।

राजा विरेन्द्रका फ्रान्सेली साथी आलेन ल ब्रेक (हाल स्वर्गिय) ले दिएको जानकारि अनुसार त्यहि सारी किन्न रानी र परिवारका अन्य सदस्यसित सारी पसल गएका बेला पसले एरिग्वाँसित राजा त्रिभुवनको चिनजान भयो । उनले  एरिग्वाँलाई फ्रान्स प्रतिनिधी बनाए । पछि महेन्द्रलेपनि उनैलाई आफ्नो प्रतिनिधी बनाए । एरिग्वाँको फ्रान्सेली उच्च तहमा राम्रो प्रभाव छ भन्ने जानेपछि चलाख राजा महेन्द्रले उनीसित संवन्ध गहिरो बनाए । तर दरवारको करेस्पोन्डेन्टको पहुँच फ्रान्सको राष्ट्रपतीसम्म छ भन्ने सायद महेन्द्रलाई पछि थाह भयो । यो जानेपछि तिनै एरिग्वाँ मार्फत स्वर्गिय राजा महेन्द्रले त्यो बेलाका राष्ट्रपती चार्ल्स द गोलसित सम्पर्क बढाए ।

फ्रान्समा गणतन्त्र स्थापनाकालागि निकै पटक संघर्ष भएको हो । पाँचौं गणतन्त्रको राष्ट्रपती बनेर गणतन्त्रलाई संस्थागत गरेका चार्ल्स द गोलसित महेन्द्रको निकै राम्रो संवन्ध बन्यो । माध्यम तिनै सारी पसले एरिग्वाँ थिए । राष्ट्रपती चार्ल्स द गोलसित राजा महेन्द्रले आफ्नो छोरो तत्कालिन युवराज विरेन्द्रलाई फ्रान्समा पढाउने चाहना ब्यक्त गरे ।

चार्ल्स द गोलले त्यो बेलाको पेरिस पर्यटन बिभागका पर्यटन योजनाकार जर्ज ल ब्रेकलाई यो कामको जिम्मा दिए । फ्रान्सको नोर्मदी स्थायि बासिन्दा भएका ल ब्रेकको नोर्मदीमा जग्गाजमिन, कृषी फर्म र ठूलो चिनजान थियो । ल ब्रेकका परिवार कृषीकोलागि त्यस क्षेत्रमा कहलिएका थिए । महेन्द्रको आग्रहमा लब्रेकले विरेन्द्रलाई नोर्मदीको कृषी फार्ममा लगेर कृषी सिक्ने मेसो मिलाइदिए ।

छोरो यहिँ अध्ययन गर्ने हुनाले राजा महेन्द्रले फ्रान्सको भ्रमण गरिरहे । नेपालको पर्यटन विकासको पहिलो खाका कोर्ने कामपनि महेन्द्रको आग्रहमा तिनै जर्ज ल ब्रेकले गरेका थिए । पछि फ्रान्सको विमान कम्पनी एयर फँससित रोयल नेपाल एयरलाईन्सको सहकार्य भयो । भूकम्प अनुसन्धान र अनुगमन, जरिबुटी र चिज उत्पादन लगायतका विकासे योजनामा फ्रान्सले सहयोग र साझेदारी गर्‍यो । फ्रान्ससित निकै क्षेत्रमा साझेदारी र संवन्ध बलियो भएकाले फ्रान्सको भ्रमण गरिरहन्थे राजा महेन्द्र । पस्चिमी जगतमा फ्रान्सको प्रभाव बलियो भएकालेपनि फ्रान्समार्फत अन्य देशमा आफ्नो छाबी बढाउने महेन्द्रको निति थियो ।

त्यहि बेला सायद सन् १९६० देखि १९६२ को बिचमा खिचिएको तस्विर हो यो । तस्विरमा सबैभन्दा अग्ला फ्रान्सका तत्कालिन राष्ट्रपती चार्ल्स द गोल हुन् । त्यो बेला राजा महेन्द्र र गोलको परिवारले सामूहिक तस्विर खिचेको थियो । फोटो हेर्दा यहिँ हो भनेर किटान गर्न अप्ठेरो परेपनि नोर्मदी क्षेत्रको हुनुपर्ने भनाई आलेन ल ब्रेकको थियो । फोटोमा दाहिनेतिरबाट क्रमश राजकुमार विरेन्द्र, राष्ट्रपती गोलकि पत्नी ईभोन द गोल, महेन्द्र पत्नी रत्नराज्य लक्ष्मी देवी शाह र फ्रान्सका राष्ट्रपती चार्ल्स द गोल हुन् । यो तस्विर राजा विरेन्द्रका आत्मिय मित्र आलेन ल ब्रेकबाट लिएको हो ।

जेठ १९, २०५८ शुक्रवार अकल्पनिय घटनामा राजा विरेन्द्रको सिंगो परिवारको हत्या भयो । राजा विरेन्द्रलाई फ्रान्समा पढाउने, सिकाउने र संरक्षकत्व दिने ल ब्रेक परिवारपनि शोकमा डुब्यो । ल ब्रेक परिवारले यो घटना रचिएको र विरेन्द्रको परिवारको हत्या भएको बताएका थिए । लब्रेकका परिवार अहिलेपनि त्यहि सुनाइरहन्छन् । र विरेन्द्रका आफ्नै भाईले यो हत्या गराएको विश्वास उनीहरु ब्यक्त गर्छन् । घटना दूर्घटना जे भएपनि राजा विरेन्द्रको वंश नास भएको झण्डै दुई दशक पुग्न लागेको छ । दरवारभित्रै ज्यान गुमाउनुपरेका राजा विरेन्द्र त्यो नरसंहारपछि धेरै नेपालीको मनमा झन लोकप्रिय बनेका छन् । नेपालको राजनितिक अवस्था बिग्रिँदै जाँदा प्रजातान्त्रिक राजा भनेर उनलाई झन धेरै स्मरण गर्ने गरिएको छ । नेपालप्लस डटकमको तर्फबाटपनि उनलाई हार्दिक श्रद्दासुमन ! श्रद्दान्जली !

तपाइँको प्रतिक्रिया

फेसबुक