बिहीबार, कार्तिक ११, २०७८

बाको लाससँग सेल्फि !

निल बिक्रम थापा / डेनमार्क२०७७ पुष १५ गते ८:३६

दशकौं भएछ ऊ विदेशिएको पनि । ऊ विदेशिँदा खुसिको सिमा थिएन । ऊसँग सपना थियो विदेश गएर धन कमाउने । पढाई त विदेशिने बहाना मात्र थियो । स्वदेशमै साँझ परेपछि जाँडको आड लाग्नेले विदेशमा के पढ्न सक्थ्यो र ? बाआमाले रोक्न खोज्छन् ‘विदेश नजा’ भनेर । ऊ के सुन्थ्यो र ? ऊसले सपना देखेको छ विदेशमा गएर सुन फलाउने ।

विदेशमा ऊसको सपना त्यतिखेर तुहिएको छ जब ऊसँग सपना देख्नको लागि सुत्ने समय हुँदैन । पढाइ, कलेज र कामले ऊसलाई सधैँ ब्युँताएर राखेको छ । नत धन कमायो नत सुन फलायो । तर पनि ऊसको साहसले हार मान्दैन ।

विदेशमा भएको हुर्मतले गाउँमा छिमेकीको छोरीको विश्वास जितेको छ । छिमेकीको छोरीको पनि विदेशमा बस्ने केटा देखेर त्यसै त्यसै मन विदेशिएको छ । ऊ पनि कहिले विदेशिने भनेर फुरुङग छे ।

कलेजको ‘फि’ तिर्न भनेपनि ऊसले सहायताको लागि कोहि त रोज्नु छ । कसैलाई ढाँट्नु छ । कसैलाई जित्नु छ । कहिल्यै भाग्यमा विश्वास नगर्ने ऊ आज चिट्ठा जितेझैं गरेको छ । किनकि ऊसले गाउँमा छिमेकीको छोरीको मन जितेको छ ।

समय आयो छिमेकीको छोरीसँग एक हुने । ऊसले धुमधामले गाउँमा ढोल पिटेको छ । आज फेरिपनि ऊ खुसि छ । छिमेकीको छोरीलाई उसले जालमा पारेको छ । ऊ एक्लो हुनेछैन अब विदेशमा । कल्पनामा डुबेको छ ।

बिदेशिने दिन आयो । बाआमा फेरि रोक्न खोज्छन् ‘विदेश नजा’ भनेर । तर ऊ बाआमाको कुरा सुन्दैन । यो पटक ऊ झन खुसि छ । किनकि ऊसको सपना बाँडिएको छ । एकबाट दुई भएको छ । कसरी हुन्छ छिमेकीको छोरीलाई विदेश लाने चिन्तामा छ । ऊसले छोरा भएर सोच्दैन । ऊ कसैको श्रीमान भएको छ । ऊसले श्रीमान भएर सोचेको छ ।

ऊसलाई बाआमाको माया कम छ । श्रीमती बनाएको छिमेकीको छोरीको चिन्ता बढि छ । जन्म दिएर हुर्काएको बा- आमासँग बस्ने उसले सोच्नै भ्याउँदैन । तर भर्खर भित्र्याएको छिमेकीको छोरीसँग धेरै समय बिताउन नपाऊँदा भने ऊ खिन्न छ ।

आज ऊसलाई गार्हो छ । ऊसकि श्रीमतिको आँखा रसाएको छ । श्रीमतीको आँखा रसाएको देख्नेले बा आमाको मन रसाएको देख्दैन ।

महिनामा एक पटक बाआमालाई फोन नगर्ने ऊ आज दैनिक फोन गर्ने भएको छ । बाआमालाई किन सोध्थ्यो र ? ऊसलाई चिन्ता छ, अब श्रीमतीको ‘डिपेन्डेट भिसा’ पो कहिले लाग्ने हो ? श्रीमानको फेसबुक हेरेर दंग छे श्रीमती । ऊसलाई ऊसको श्रीमान आज श्री ३ झैं लागेको छ ।

बाआमा पनि सारै बुज्रुक । फेसबुक चलाउँदैनन् । फेसबुक नचलाउनेले छोरालाई देख्दैनन् । गाउँमा फेसबुक चलाउनेले छोराको फोटोको बयान गरेका छन् । बुहारी पनि सार्है असल । बाआमासँग धेरै कुरा गर्दिनन् । बुहारीले नभने पनि गाउँलेले सुनाउँछन् छोरोको बारेमा ।

बा-आमा आफ्नै अगाडि छोरो उभिए जसरि कल्पनामा डुबेका छन् । छोरोलाई देख्न नि कति गार्‍हो । देख्न त पर जाओस् छोरोको बोली सुन्न नि पाऊँदैनन् । पाऊन पनि कसरी ? छोरो फोन गर्दैन ।

छोरो असाध्यै खुसि छ । ऊसको श्रीमतीको ‘डिपेन्डेन्ट भिसा’ लागेको छ । बा आमाले छोरालाई मस्यौरा र गुन्द्रुक पठाउने कुरा गर्छन् । छोरो झर्केर भन्छ ‘पठाउनु पर्दैन, सबै बुहारीको लुगा गनाउँछ ।’ छोराले भुलिसकेछ, गुन्द्रुक भात खाएको । तर बाआमाले भुलेका छैनन् । त्यो गुन्द्रुकसँग पकाएको भातको चामल जोहो गर्न कति गार्हो थियो भनेर । अब त छिमेकिको छोरी अर्थात् ऊसकि श्रीमती पनि विदेश जान उडेकिछे । बाआमाले यो पटक रोक्न खोज्दैनन् ।

अब विदेशमा श्रीमती छ ऊसको साथमा । बेलाबेलामा विदेशी बियरपनि हुनथाल्यो हातमा । ऊसको दैनिकी फेरिएको छ । कमाई बढेक‌ो छ । श्रीमान श्रीमतीको काम पनि बढेको छ । सकेसम्म ऊ अरुकै खान पाए हुन्थ्यो भन्ने मान्छे । आज अरुलाई खुवाउने भएको छ । समयक्रम अनुसार आज ऊ धनी भएको छ । स्वदेशमा भट्टि छिरेर लोकल तान्ने ऊ । अचेल रेडलेवल, ब्याकलेबलको कुरा गर्न जानेको छ । गाउँमा बाआमा हिँड्न सक्दैनन् । तर ऊ बिदेशमा आफ्नै गाडि चढ्ने भएको छ ।

अब ऊ साधारण छैन । सामाजिक व्यक्ति भएको छ । अब ऊसलाई पढाईको चिन्ता छैन । ऊसलाई पदको चिन्ता छ । ऊ विदेशमा पनि राजनिती गर्न थालेको छ । संस्था संगठन खोल्न थालेको छ । क्षमता शून्य छ । तर पनि पद अचम्मको चिज अरुलाई चाकडि गरेपछि पाईने । क्षमता नचाहिने । अब ऊ सबै मान्छेलाई ठूलो देख्छ । स्वदेशमा भुलेको संस्कार विदेशमा संझन्छ । देख्याभेट्या जतिलाई ढोग्छ । चाकडि गर्छ । ऊ आफू मात्र बियर खाँदैन । अरुले खाएको बियरको खाली टोक्रा बोक्न पनि पछि पर्दैन ।

विदेशमा सामाजिक र राजनीतिक परिचय बनाउन सफल भएको छ ऊसले । तर पनि खुसि छैन । किनकि मान्छेले ऊसलाई बरिष्ठ भनिदिएनन् । अझै ऊसले हार मानेको छैन । कसैले दया गर्छन् । अब ऊ संगठनकै ठूलो मान्छे भएको छ । नेता भएक‍ो छ । अब ऊसले हिजो ठूला ठानेकालाई सानो देखेक‍‍ो छ । साथीहरु भाइ भएका छन् ।

समय बित्दै जाँदा ऊसको पदको समय पनि सकियो । तर पनि ऊ हार मान्दैन । ऊसलाई अझै समाजमा परिचित हुनु छ ।

फेरि समाजमै पदको लागि मरिहत्ते गर्छ । तर समाज पनि अचम्मको ! मान्छेको बानी ब्यहोरा र क्षमतालाई छिट्टै चिन्ने । आज ऊसलाई सबैले चिनेका छन् । त्यहि भएर सबैले ऊसको बिरोध गरेका छन् । आज ऊसको सामाजिक पहिचान गुमेको छ । सामाजिक पहिचानसँगै पद गुमेको छ । पद गुमेकै कारण हिजो दाइ भन्नेसँग पनि ऊ झर्कन थालेको छ । ऊसले छिट्टै भुलेछ, दाईको कृपाले पद पाएको पनि । आफ्नै साथीलाई गलत देख्न थालेको छ । साथीले गरेको कामलाई समेत जाली अथवा किर्ते भन्न थालेको छ ।

समय पनि सधैँ एक नहुने । आज समय फेरिएको छ । समय सँगै उसको परिचय फेरिएको छ । समय सँग ऊसको मात्र हैन ऊसको बाको उमेरपनि फेरिएको छ । उमेर सँगै बाको रोगपनि फेरिएको छ । ऊसको बा थलिएका छन् । समाजमा इज्जत जोगाउन पनि ऊ बाको मुख हेर्न दौडिएको छ ।

आज ऊसले गाऊँ सम्झेको छ । बा पनि कति निष्ठुरी ! छोरालाई कुर्न सक्दैनन् । बा आज ढलेका छन् । जंगलका सुक्या मुढा ढले जसरी । कहिल्यै नउठ्ने गरि । ऊसलाई आज केहि चिजले थिचेको छ । किनकि ऊसले बाको लाससँग सेल्फि खिचेको छ ……….!

लेखकका अघिल्ला रचनापनि हेर्नुस्

हामी भन्दा साना कसरि ठूला ? हामी कसरी साना ?

पर्खिराख, फर्कि आउने छु

तपाइँको प्रतिक्रिया

फेसबुक