शुक्रबार, साउन १५, २०७८

अस्लिल र घृणित नाराबाजीको संस्कृति

लक्ष्मण देवकोटा२०७७ पुष १५ गते १८:३२

पाँच वर्षको लागि ढुक्कले शासन चलाउ भनेर जनताले पठाएका कम्युनिष्टहरु केहि बालुवाटारमा छन् त कोहि सडकमा छन् । तिनका कार्यकर्ताहरुलाई यसबखत भ्याइ नभ्याइ छ । फेरि शुरु भएको छ सडक तताउने मेलो ।

पुष १४ गते नेपाल कम्युनिष्ट पार्टी माधव नेपाल र पुष्पकमल दाहाल समूहले देशैभरी प्रधानमन्त्री ओलीको संसद विघटन विरुद्ध विरोध प्रदर्शनको आयोजना गर्यो । ठाउँ ठाउँमा प्रदर्शनहरु भए । काठमाडौंमा प्रचण्ड, नेपाल र झलनाथ खनालले नेतृत्व गरेको जुलुसमा सुन्नै नसकिने नारा लाग्यो, ‘विद्या तिम्रो सिन्दूर खोइ’ भन्दै । त्यो नाराका भिडियो फूटेजहरु अहिले सामाजिक सन्जालहरुमा छ्याप्छ्याप्ती छन् । प्रदर्शनका क्रममा यस्ता नाराबाजीको खबर पुगेरै होला भृकृटीमण्डपको विरोध सभाका संचालक रहेका योगेश भट्टराईले नारा जुलुसमा संयमता र शिष्टता प्रदर्शनको निम्ति मन्चबाटै आव्हान गरिरहेका थिए । मानिसहरुको भिडमा सुन्नु कसले ? यस्ता नाराबाजीहरु लागिरहे । सोहि भीडमा प्रधानमन्त्री केपी ओलीको पनि स्वास्थ्यसँग सम्बन्धित केहि नाराहरु लागे जो सुन्न लायक थिएनन् ।

सोहि दिन पाल्पामा विरोध जुलुसको अगुवाइ गरिरहेका नेता ठाकुर गैरेले सो भिडियो हेरेर आफू चिन्तित रहेको बताए । उनले भने, ‘धेरैजसो भीडमा घूसपैठ हुने गर्दछ । यस्तो घूसपैठले आन्दोलनलाई बदनाम गर्ने प्रयास गर्दछ । भिडियो बाहिरिने बित्तिकै हामीले यसबारे अनुसन्धान गरिरहेका छौं । यस्तो हुनुहुँदैन भन्ने कुरामा हामी सचेत छौं । विरोध शिष्ट र सभ्य हुनुपर्दछ ।’

यस्ता नाराबाजी सुनिएको यो पहिलोपटक भने होइन । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले यसअघि सरकारको विरोधमा गर्ने हरेक कार्यक्रममा प्रधानमन्त्री केपी ओलीको किड्नी र राष्टपतिको सारी सबैभन्दा चर्का नारा लाग्ने विषयवस्तु बनेका थिए । यी पक्कै सुन्न लायक थिएनन् ।

त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीका ठट्यौला र अरुलाई भित्तैमा पुग्नेगरी असाध्यै निम्छरो शैलीमा हुने भाषणहरु उनका समर्थकहरुलाई त हाँस्यरसको विषय बन्ला, धेरैको लागि त्यो प्रिय र रुचिकर भएको देखिँदैन । प्रचण्डप्रति संकेत गर्दै उनले भने ‘प्रचण्डलाई धुँदाधुँदा साबुन र ट्याँकीका ट्यांकी पानी सकियो । नेपाल दाहाल समूहको प्रदर्शन भएकै भोलिपल्ट, दाहाल नेपालकै कार्यक्रम स्थलमा उभिएर ओलीले माधव नेपालको क्यारिकेचर समेत गर्न भ्याए । हिजोसम्म यौटै जहाजका पाइलट भनेर अँगालो हाल्दै हिँडेका ओलीले छोरीलाई जिताउन नसकेपछि मतपत्र समेत च्यातेर धुजाधुजा पार्न लगाउनुभयो भनेर कार्यकर्ता उत्तेजित पारिरहेका बेला कार्यकर्ताहरु भने ताली पिटिरहेका थिए । त्यहाँ कसैले पनि, त्यसो भए त्यस्तो मानिससँग किन एकता गरेको भनी सोंचेको एक छनक पनि पाइएन । सबै उग्र र रौद्र मनस्थितिमा विभाजनको रिस उमालेर बसिरहेका थिए ।

प्रचण्ड पनि के कम ? उनले पनि ओलीको व्यक्तिगत आलोचनामा काठमाडौंको भाषण खर्चिए । टेलीभिजनका अन्तरर्वार्ता हेर्यो ओलीको बद्ख्वाइँ । माधव नेपाल पनि के कम ? कोअर्डिनेशन केन्द्रदेखि एमालेका आन्द्राभूँडी छिरोल्दै उनी टेलीभिजनमा ओलीको तेजोबधमा व्यस्त छन् । उनको नजरमा ओली भौंज्याहा हुन् । अल्छी हुन् । भँडुवा हुन् । सर्प पाल्ने नाममा राज्यकोषको दुरुपयोगको जनअभियोग खपिरहेका र कुनै पुष्ट्याइँ नदिएका पूर्व प्रधानमन्त्री झलनाथ खनालले त मन्चबाटै सोधे ‘पानीजहाज ख्वै ? ग्याँस ख्वै ? रेल ख्वै ?’

हिजो यी सबै एकै ठाउँमा थिए । एकै ठाउँ हुँदा कहिल्यै संसदमा जोडतोडसँग त के प्रश्नको रुपमा पनि झलनाथ खनालहरुले यो प्रश्न गरेनन् । अहिले बाहिरिएपछि यी सब कुरा उठिरहेका छन् । कार्यकर्ताहरु कोही जनता बन्न तयार छैन । ठण्डा दिमागले सोंच्न कोही तयार छैन । उ कित्ताकाटमा यता र उता लागेको छ । अनि अर्को पक्षलाई धारे हात लगाएर निर्वस्त्र हुँदै नग्नता प्रदर्शन गरिरहेको छ ।

कांग्रेस, पन्चहरु पनि पटक पटक फुटे । तर कम्युनिष्टहरुको उग्रता हरेक पटक अलि बढि नै देखिन्छ । महाकाली सन्धिपछि वामदेव गौतमको नेतृत्वमा नेकपा एमालेको विभाजन भयो । वामदेवले नेकपा माले गठन गरे ।

पार्टी फुटेको झोंकमा कार्यकर्ताहरुबिच लडाभाँती भयो । कावासोतीमा वामदेवलाई टिन ठटाएर लखेटियो भने बुटवलमा प्रदिप ज्ञवालीलाई मरणासन्न हुनेगरी कुटियो । मोदनाथ प्रश्रितहरुलाई कालोमोसो दलियो ।

प्रदिप नेपालले खुलामन्चमा कार्यकर्ताहरु जम्मा गरेर नाम, घटनाका तिथिमिति नै तोकेर वामदेव गौतमलाई नेपालको एक नम्बर भ्रष्टाचारी भनेर सार्वजानिक गरे । भ्रष्टाचारीहरुको लामै सूची त्यहाँ बाँडियो । मालेहरुले पनि एमालेका नेताहरुको आर्थिक, नैतिक सबै कुरा सडकमा पोखिदिए । कुन कुन एमाले नेताका दुइटी स्वास्नी छन्, कसले कसलाई कुन कोठामा रखैल राखेको छ भन्ने जस्ता पढ्न र हेर्नै नसकिने समाचारहरु पत्रपत्रिकामा आउन थाले ।

आफू बलियो भएको ठाउँमा निर्बलियो समूहरुलाई लखेट्ने, सामाजिक बदनाम गर्ने र टाउको उठ्न नसक्ने जस्तो अलोकतान्त्रिक प्रवृत्ति कम्युनिष्ट पार्टी भित्र नेताहरुले नै हुर्काएका छन् । संस्कृतिमा आएको यो विचलनप्रति चिन्ता व्यक्त गर्दै विश्लेषक चन्द्रदेव भट्ट भन्छन्, ‘नेताहरु आफै असल राजनीतिक संस्कारको विकास गर्नेमा ध्यान दिँदैनन् । अर्कोलाई सिध्याएरै आफू स्थापित भइन्छ भन्ने आम दक्षिण एशियाली संस्कृतिबाट नेपाल पनि अछुतो छैन ।

युरोपेली समाज अलि भिन्दै छ । उनीहरु विपक्षीहरु पनि स्थापित भए, आफू स्थापित भइन्छ भन्ने मान्यता राख्छन् । त्यसो हुनालेनै प्रजातन्त्रको नाममा नेपालमा अभ्यास गरिएको लोकतन्त्र युरोपमा सफल भएको हो । समाज आफै कत्तिको लोकतान्त्रिक अभ्यास गरिरहेको छ । त्यसैको आधारमा त्यहाँ लोकतन्त्र कसरी अभ्यास गरिन्छ भन्ने देखिन्छ । हामीकहाँ व्यक्तिले आफूलाई केन्द्रमा राखेर सँस्कारको विकास गर्दछ भने युरोपतिर विधिलाई केन्द्रमा राखेर ।

त्रिचन्द्र कलेज काठमाडौंका प्राध्यापक दिपक वस्यालको दृष्टि पनि उस्तै छ । बस्यालको भनाइ छ, कार्यकर्ताहरु कसरी प्रशिक्षित भइरहेका छन्, सोही अनुरुपको व्यवहार देखिने नै हो । त्यो अर्थमा नेपालका कुनै पनि पार्टीका स्कूलिंगहरु आफैमा लोकतान्त्रिक छैन । त्यहाँ केबल कोरा विरोध र निषेधको प्रशिक्षण दिइएको छ ।

रुपन्देहीका पत्रकार तथा केपी शर्मा ओलीको संसद विघटनको पक्षमा लेखिरहेका, बोलिरहेका सिद्धिचरण भट्टराई लान्छना लगाएर नाराबाजी गर्नुलाई राम्रो मान्दैनन् । उनी लेख्छन्, आन्दोलनलाई सभ्य र शालिक बनाउन सकिन्छ । लान्छना भन्दा मुद्दा बोलेको नारा लगाऔं ।

नेकपा ओली समूहको केन्द्रिय सदस्यको रुपमा मनोनित भएकी पर्पल फाउन्डेशन नामक गैर सरकारी सँस्था मार्फत् लैंगिक चेतनाको काममा कृयाशील सिर्जना काफ्लेले राष्टपतिमाथि लगाइएको भद्दा नाराको विरोध गरेकी छिन् । उनी लेख्छिन्, कथित लोकतन्त्रवादी गणतन्त्रवादीहरुले सम्माननीय राष्टपतिमाथि गरेको अपमानको जतिसुकै भर्त्र्सना गरेपनि कम हुन्छ । यो सारा नेपालीहरुप्रतिको अपमान हो ।

हुन त राष्टपतिको संसद विघटन गर्ने कार्यको अहिले चौतर्फी विरोध भइरहेको छ । अदालतमा मुद्दा परेको छ । विरोधका पनि मर्यादित तरिका हुन्छन् । कसैको पनि व्यक्तिगत र नैतिक कुराहरु सडकमा उचाल्दा त्यो भोलि नारा लगाउने या आयोजकहरुलाई नै गलपासो हुन सक्दछ । भीडको संयोजन र नियन्त्रण हुन सकेन भने भौतिक र नैतिक क्षति भएर उल्टै आयोजकहरुलाई नै नोक्सान हुने सम्भावना रहन्छ । त्यसैले विरोध सभा, जुलुस र समारोहको आयोजना गर्दा मर्यादित बनाउनुपर्ने ठूलो चुनौति हुन्छ । हामीकहाँ नेताहरु नै बेलगाम बोलिदिन्छन्, जसले गर्दा कार्यकर्ताहरुले भूइँ छोड्छन् । अराजक र असहिष्णु नारा, व्यवहारले वातावरण धमिल्याउँछ ।

वामदेवलाई एक नम्बर भ्रष्टाचारी घोषणा गर्ने प्रदिप नेपाल कालान्तरमा तिनै वामदेवको सल्लाहकार भएर काम गरेको दृष्टान्त पनि हामीकहाँ छ । वामदेव एमालेमा फर्किएर यिनै खड्ग प्रसाद ओलीलाई अध्यक्ष बनाउन ठूलै भूमिका खेलेको हाम्रै अगाडि हो । अहिले काटाकाट गरेका र गालीका वर्षा गरेका नेता भोलि अँगालो हालेर एकैठाउँ हुँदा हेरेको हेर्यै हुने जमीनका कार्यकर्ता, जनतानै हुन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक