बिहीबार, चैत १५, २०८०

अन्तर्राष्ट्रिय उडानका यात्रु चार घण्टा उभिएको उभियै : एउटा कोरोना पोजेटिभका कारण ५४ यात्रु क्वारेन्टाइनमा

कसले अनुमती दियो पोजेटिभ बिरामीलाई उडान भर्न ?

नेपालप्लस विशेष संबाददाता२०७७ पुष १५ गते २१:३३

काठमाडौं-नेपाल वायुसेवा निगमको दुर्दशाका पछाडि कुनै बाहिरी कारण छैन, आफ्नै कारण छन । धेरै राजनीतिक कारण होलान् तर कर्मचारीका लापर्वाही र मिलोमतोमा हुने गलत कामहरु पनि निगमलाई चुर्लुम्म डुबाउन काफी छन् । बुधवार मलेशियाको क्वालालम्पुरबाट काठमाडौं उत्रिएको आरए ४१६ न्यारो-वडी विमानमा पनि यस्तै भेटियो जसका कारण विमानमा रहेका ५४ यात्रु अनाहकमा होटल क्वारेन्टाइनमा पुगेका छन् ।

बुधवार बिहान ९ बजे काठमाडौं अवतरण भएको यस विमानका यात्रु विकाश प्रशाद गुप्ताले चेक आउट काउन्टरमा आफ्नो कोरोना पोजेटिभको रोपोर्ट देखाएपछी एकाएक अध्यागमन कक्ष वरिपरि हाहाकार मच्चियो । क्वालालम्पुर विमानस्थलमा रहेको नेपाल वायुसेवा निगमको काउन्टर र त्यहाँका कर्मचारीले कसरी पोजेटिभ रिपोर्ट भएको यात्रुलाई उड्न अनुमती दिए भन्ने गम्भिर सवालमा छानविन हुने अवस्था बनिसकेको छैन । र नेपाल वायु सेवा निगमले पनि यस बारेमा केहि बताएको छैन ।

एक जना यात्रुलाई कोरोना पोजेटिभ भएको थाहा पाएपछी आतंकित बनेका सबै १४७ यात्रुहरुले विमानस्थल मै होहल्ला मच्चाएका थिए । एक जना प्रत्यक्षदर्शीले भनेका छन्- एक छिन त यस्तो लाग्यो विमानस्थलमा कुनै हमला भएको छ । भित्र आतंकको स्थिती उत्पन्न भएपछी विमानस्थल र अध्यागमनका कर्मचारीले निगमका महाप्रवन्धक डिम प्रकाश पौडेल र कमर्सियल डिपार्टमेन्ट प्रमुख टंकमणी दहाललाई तारन्तार फोन गरे ।

अध्यागमनका एक कर्मचारी भन्छन् “दाहाल र पौडेल दुबै जना नाजवाफ मात्र होइन समस्याबाट बाहिर निस्किने कुनै टुङ्गोमा पुग्न सकेनन् । पछी, ४ घण्टासम्म अध्यागमन कक्ष बाहिर उभिएर होहल्ला गरिरहेका १४५ यात्रु मध्ये ५४ जनालाई निगमको क्वारेन्टाइन सुबिधामा ५ दिन होटलमा राख्ने निर्णय गर्‍यो । निगम संवद्ध एक जना कर्मचारीले दिएको जानकारी अनुसार कोरोना पोजेटिभ भएका यात्रु बिकास प्रशाद गुप्ता ‘१७ एफ’ सिटमा बसेका थिए । त्यहि आधारमा उनी अघि र पछीका ९ पंतिमा बसेका ५४ जना यात्राुहरुलाई क्वारेन्टाइन लैजाने निर्णय भएको हो । अहिले गौशालाको होटल रोयल कुसुममा क्वारेन्टाइनमा बसेका एक जना यात्रुले नेपालप्लस सँग फोनमा भने- विमानस्थलमा आतंकको माहौल भएपछी हामी ५४ जनालाई होटल रोयल कुसुम र बाँकी केहीलाई गौशालाकै अर्को होटल बाल्टिकमा राखिएको छ ।

कोविड नियन्त्रण तथा सुरक्षा सम्बन्धी व्यवस्था अनुसार यसरी कुनै जहाजमा कोरोना संक्रमित विरामी पाइएमा कम्तिमा ५ दिन होटल क्वारेन्टाइनको प्रबन्ध हुनुपर्ने र त्यसपछि कोरोना परिक्षणमा नेगेटिभ आएमा मात्रै घर पठाउने भनिएको छ । यहि व्यवस्थामा नेपाल वायुसेवाले आफैँ खर्च ब्योहोरेर ५४ जना यात्रुको होटल तथा स्वास्थ्य परिक्षणको सम्पूर्ण जिम्मेवारि लिनुपर्नेछ । कोरोना पोजेटिभ देखिएका बिकास प्रशाद गुप्तालाई भने विशेष सुरक्षा अवस्थामा टेकु अस्पातल लगिएको छ ।

अहिले उठेको महत्वपूर्ण प्रश्न भनेको क्वालालाम्पुर विमानस्थलबाट के कती लाभ लिएर कोरोना पोजेटिभ यात्रुलाई विमानमा चढ्न दिइएको हो भन्ने विषय छानविनको दायरामा आउनुपर्दछ । नागरिक उड्डयन प्राधिकरणका एकजना वरिष्ठ अधिकारि भन्छन- ‘यो प्रकारणमा नेपाल वायुसेवा निगमका महाप्रवन्धक पौडेल र कमर्सियल डिपार्टमेन्ट प्रमुख दहालको संलग्नता छछैन यसको पनि छानविन हुनुपर्दछ । यहि एउटा मात्र काण्डका कारण नेपाल वायुसेवा निगमले ५४ यात्रुको खानपिन, होटल तथा स्वास्थ्य परिक्षणका लागि १० लाख रुपैयाँ भन्दा बढी अनाहकमा बेहोर्नु पर्ने भएको छ ।’

तपाइँको प्रतिक्रिया

फेसबुक