शनिबार, वैशाख ८, २०८१

शास्त्रीय सङ्गीत सप्ताह सम्पन्न

नेपाल प्लस२०७७ पुष १६ गते १:१३

प्रसिद्ध नृत्याङ्गना सुविमा श्रेष्ठको कत्थक नृत्य र युवा नृत्यकार स्वजन रघुवंशीको भरतनाट्यम प्रस्तुतिसँगै राजधानीमा जारी साताव्यापी शास्त्रीय सङ्गीत सम्मेलन- २०७७ बुधबार सम्पन्न भएको छ।

सङ्गीत प्रवीण नरराज ढकालको शतवार्षिकीका सन्दर्भमा उहाँप्रति समर्पित गरी नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले आयोजना गरेको सो सम्मेलनमा प्रभुराज ढकाल, प्रतीक ढकाल, शिवराज पौडेल, विष्णुप्रसाद आचार्य, डा. सीता थापा, मनमोहन थपलिया, लावनी चक्रबर्तीको गायन; मोहनप्रसाद जोशी (जलतरङ्ग), रामकुमार अर्याल (सितार), सन्तोषभक्त श्रेष्ठ (इसराज), नगेन्द्र विक्रम राई (बाँसुरी), धनबहादुर गुरुङ (शहनाइ) को वादन र डङ्कन दास चौधरी तथा बदन मण्डलको तबलावादन प्रस्तुत भएको थियो ।

नेपाल शास्त्रीय सङ्गीत समाजसँगको सहकार्यमा मिथिला नेपाल टेलिभिजनका साथै विविध सामाजिक सञ्जालहरूबाट प्रत्यक्ष प्रसारणमार्फत भएको साताव्यापी शास्त्रीय सङ्गीत सम्मेलनका क्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’, बरिष्ठ शास्त्रीय सङ्गीतज्ञ प्रा. श्रीराम आचार्य, त्रिवि ललितकला केन्द्रीय विभाग प्रमुख सङ्गीता राना प्रधान, नेपाल शास्त्रीय सङ्गीत समाजका अध्यक्ष धनबहादुर गोपाली, ललितकला क्याम्पसका क्याम्पस प्रमुख डा. रमेश पोखरेल, मिथिला नेपाल टेलिभिजनका प्रबन्ध निर्देशक हिराबहादुर थापालगायतका व्यक्तित्वले शास्त्रीय सङ्गीत सङ्गीत प्रवीण ढकाल र कार्यक्रमको उपादेयताबारे धारणा प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको समापनमा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा, बरिष्ठ सङ्गीतज्ञ प्रा.डा. ध्रुवेशचन्द्र रेग्मी र नेपाल शास्त्रीय सङ्गीत समाजका महासचिव गोकुल लिम्बूले शास्त्रीय सङ्गीतको सुदृढीकरणमा यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको विचार व्यक्त गर्नुभयो ।

परम्परागत तथा शास्त्रीय सङ्गीत विभाग प्रमुख प्राज्ञ धीरेन्द्र प्रेमर्षिले शास्त्रीय सङ्गीत समग्र सङ्गीतको मात्र संस्कार नभई मानव जीवनलाई सुसंस्कृत तुल्याउने अनुष्ठान भएको उल्लेख गर्दै जनजीवनलाई सिर्जनशीलता तथा सकारात्मकतातर्फ डोय्राउने यस सङ्गीतको सम्बर्द्धनका निमित्त प्रतिष्ठान दत्तचित्त भई जुटेको विचार व्यक्त गर्नुभयो।

तपाइँको प्रतिक्रिया

फेसबुक