बिहीबार, वैशाख १३, २०८१

कलाकारितामा रम्ने भीम शर्मा

गोपी सापकोटा२०७७ पुष १८ गते ८:१५

भीमप्रसाद शर्मा समकालीन नेपाली कलाकारहरुमा स्थापित नाम हो । उनी सन् १९५५ मा बाग्लुङ्गको सर्कुवामा जन्मेका हुन् । उनका बाको नाम पं जुक्तिवल्लव शर्मा र आमाको नाम भद्रशीला हो । हाल उनी गैंडाकोट, नवलपुरमा बस्छन् । सानैदेखि नै उनको रुचि चित्रकला र फोटोग्राफीमा थियो ।

कलालाई असाध्यै माया गर्ने शर्मालाई चित्रकलाको क्षेत्रमा केहि नयाँ गरौं भन्ने खसखस भइरहन्छ । त्यहि खसखसले नै उनले कलामा धेरै काम गरेका छन् । तिनीहरु मध्ये उनले गरेको एउटा महत्वपूर्ण काम कलावती आर्ट काउन्सीलको स्थापना हो । आफूलाई कलामा नै समर्पित गर्ने उद्देश्यले कलाकार शर्माले सन् २०१४ मा गैंडाकोटमा कलावती आर्ट काउन्सीलको स्थापना गरेका हुन् । सो आर्ट काउन्सीलले कला प्रदर्शनी, कला कार्यशाला, कला गोष्ठी, सेमिनार र अन्तरक्रियाहरुको आयोजना गर्दै आएको छ ।

क्यारियरका प्रारम्भिक दिनमा शिक्षण पेशामा लागेका भीमप्रसाद शर्माले नेपालका दुर्गम जिल्ला बाग्लुङ्ग र मुस्ताङ्गका स्कुलहरुमा पढाए । दश वर्षसम्म स्कूल पढाएका शर्माले पछि आएर गैरसरकारी सँस्था मार्फत् सामुदायिक बिकासको क्षेत्रमा काम गरे । तर उनको रुचि भने चित्रकलामा थियो ।

सामुदायिक विकासको कामको सन्दर्भमा उनी देशका विभिन्न भाग पनि पुगे । ती ठाउँमा उनले देखेका दृश्यहरुले पनि उनलाई पेन्टिङ्ग बनाउन झकझकाए ।

कलाकार शर्माका पिताजी पं जुक्तिवल्लव शर्मा ज्योतिष थिए । त्यस बेलाको समयमा आम मान्छेहरुका जन्म कुण्डली र चिनाहरु बनाउँदा तिनमा कलात्मक चित्रहरु र रंगीन बुट्टाहरु बनाउने चलन थियो । उनका पिताजीले चिनामा बनाएका चित्रहरु देखेर उनी रङ्ग र चित्रकारिता तर्फ आकर्षित भएका थिए । शर्माले शुरुमा पीताजीको काममा नै अभ्यास गरे । त्यसरी चिनामा चित्र बनाउँदा बनाउँदै उनको रुची र प्रगती देखेर त्यस्ता सबै कामहरु उनका पिताजीले उनकै जिम्मामा दिए । भीमले ती कामहरु रमाएर गरे ।

कलाकार भीम शर्मा भन्छन्, ‘चित्रकारिताको पहिलो स्कूल आफ्नो घर र पहिलो गुरु आफ्नै पिताजी हुनुहुन्थ्यो । पछि पृथ्वी नारायण क्याम्पस पढ्दा वरिष्ठ कलाकार दुर्गा बरालले पढाएका केही सेसनहरुले कलाकारिताको क्षेत्रमा लाग्न थप प्रेरणा दियो ।’

कलाकार दुर्गा बराल पछि उनले कवि तथा कलाकार गोविन्दराज विनोदीलाई आफ्नो प्रेरणाको श्रोत मान्छन् । कवि विनोदीले कलाकार शर्मालाई चित्रकलामा केही गरिरहन प्रोत्साहित गरिरहन्छन् ।

सानैदेखि बेला बेलामा पेन्टिङ्गहरु बनाउँदै आए पनि भीम शर्माले कलालाई गुणात्मक समय दिन सकेका थिएनन् । तर सन् २००३ देखि उनले आफू कलामा सक्रिय हुने विचार गरे । त्यसपछि उनले आफूलाई कलामा नै समर्पित गरे । पेन्टिङ्गहरु बनाउन थाले । अरु कलाकारहरुसँग सम्पर्कमा आउन थाले । कला सम्बन्धी संस्थाहरुसँग समन्वय गरे । कला प्रदर्शनीहरुमा सहभागी हुन थाले । अरु कलाकारहरुसँग मिलेर तथा बिभिन्न संस्थाहरुले आयोजना गर्ने सामुहिक कला प्रदर्शनीमा पनि सहभागी बने ।

कलाकार शर्माले हालसम्म काठमाडौ लगायत नेपालका विभिन्न ठाउँहरुमा आफ्ना कला प्रदर्शनीहरु गरिसकेका छन् । त्यस्तै उनले क्यानडा, जर्मनी, अफगानिस्तान र भारत लगायतका देशहरुमा पनि कला प्रदर्शनी गरेर त्यहाँका कला पारखीहरुको मन पनि जितिसकेका छन् ।

आफ्नो पहिलो एकल कला प्रदर्शनी सन् २००३ मा गरेका भीमले हालसम्म देश तथा विदेशमा गरेर दश वटा एकल कला प्रदर्शनी गरिसकेका छन् । त्यस्तै उनले साठी भन्दा धेरै संयुक्त कला प्रदर्शनीहरुमा भाग लिइसकेका छन् । त्यस्तै उनी बेला बेलामा कला सम्बन्धी बिभिन्न कार्यशालामा पनि सहभागी बन्दै आएका छन् ।

उनलाई प्रकृति, मानव जीवन, मानिसहरुको सामाजिक सम्बन्ध, स्वतन्त्रता, मानव अधिकारजस्ता बिषयहरुले तान्ने गर्छ । उनले बनाउने चित्रमा ती कुराहरु झल्किन्छन् । त्यस्तै उनले आफ्ना चित्रहरुमा धार्मिक, राजनैतिक, धार्मिक र आर्थिक विसंगतिहरुलाई पनि उतारेको पाइन्छ । उनी मूर्त र अमूर्त दुबैखाले चित्र बनाउँछन् ।

भीम शर्माका कलाहरुलाई नजिकबाट नियालेका गोविन्दराज विनोदी भन्छन्, ‘क्यानभास, रङ र कुचीसित बर्षौंदेखि क्रीडारत भीमजी चित्रकलामा विभिन्न प्रयोग गर्न रुचाउनु हुन्छ ।’

त्यस्तै उनका कलाका बारेमा कलाकार तथा कला समिक्षक मुकेश मल्लले पनि आफ्नो प्रतिक्रिया दिएका छन् । उनी भन्छन्, ‘शिल्पमा अगाध धनी, प्रवल संवेदनशीलता, निरन्तरतामा अनुशासनबद्ध, सटिक विषयबस्तु र प्रस्तुतिमा नौलोपन नै उनको मौलिक गुण देखिन्छ ।’

पछिल्लो समयमा कलाकार शर्माले गौंथली चराहरु माथी काम गरेका छन् । विशेषतः गौंथलीहरु मानिस सँगसँगै उनीहरुको घरमा नै बस्न मन रुचाउने चरा हुन् । तर बितेका केही बर्षहरुमा मानिसहरु बसाईं सरेर अर्कै ठाउँमा जान थालेपछि गौथलीहरुले आफूलाई बेघर ठान्न थालेको सन्दर्भमा उनले गौथली चरालाई बिषयको रुपमा रोजेका हुन् । उनका गौथली श्रृंखलाका चित्रहरुमा गौथलीले मानिसहरुको उपस्थिति खोजिरहेको देखिन्छ ।

कलावती आर्ट काउन्सीलले बेला बेलामा अन्तराष्ट्रिय प्रकृति कला उत्सवको आयोजना गर्ने गर्छ । सोही अनुरुप सन् २०१७ मा पहिलो अन्तराष्ट्रिय प्रकृति कला उत्सव सम्पन्न भएको थियो । सन् २०२१ को मार्चमा दोस्रो अन्तराष्ट्रिय प्रकृति कला उत्सव गर्ने योजना थियो । तर कोभिडको कारणले गर्दा सो उत्सव अहिले रोकिएको छ ।

हालसम्म करिब बाह्र सय भन्दा धेरै कलाकृतिहरु बनाइसकेका कलाकार भीमप्रसाद शर्मा भविष्यमा पनि आफू कलामा नै समर्पित भइरहने बताउँछन् ।

तपाइँको प्रतिक्रिया