बिहीबार, वैशाख १३, २०८१

फ्रान्समा खोप अभियानको तिब्र आलोचना, अहिलेकै दरमा खोप लगाए ८ हजार दिन लाग्ने

नेपालप्लस स्वास्थ्य संवाददाता२०७७ पुष २१ गते ०:१३

अहिलेकै अनुपातमा कोरोना बिरुद्दको खोप दिने हो भने फ्रान्समा खोप लगाउन करिब ८ हजार दिन लाग्ने देखिएको छ । अर्थात् हाल २० वर्षे उमेरको लक्का जवान खोपको पालो आउँदा ४२ वर्षे उमेरमा पुगिसकेको हुने छ । तर छिमेकी मुलुकमा भने यस्तो अवस्था छैन । जर्मनीले ४२ हजारलाई एकै दिन खोप लगायो । अमेरिकाले नौ लाखलाई खोप दियो । फ्रान्सले ? जम्मा २०० जनालाई ।

“मास्क बितरणमा असफल थियो फ्रान्स । फेरि परिक्षण र लकडाउनमापनि राम्रो परिणाम देखिएन । फेरि खोप अभियानमापनि असफल देखिए स्थिति भयावह हुने देखिन्छ” फ्रान्सेली सांसद ब्रुनो रिटेलुले ट्विटरमा उल्लेख गरेका छन् । खोप लगाउने अभियानको पारा कमजोर देखिएपछि उनले सरकारलाई खोपको स्पष्ठ सूची प्रान्त (डिपार्टमेन्ट) पिच्छे वृद्धाश्रममा लगाइहाल्नेगरि सार्वजनिक गर्न माग गरेका छन् ।

ला प्रेसका अनुसार युरोपमा आइतवार खोप अभियानको पहिलो तीन दिनमा फ्रान्समा सय भन्दा पनि कम मानिसहरूलाई खोप दिइयो जबकि फेब्रुअरीको अन्त्यसम्ममा १० लाखलाई खोप लगाउने लक्ष्य राखिएको छ । यति ढिलो पाराले कसरि त्यो लक्ष्य पुरा होला ?

मंगलबार प्रकाशित इप्सोस ग्लोबल एडवाइजर वर्ल्ड इकोनोमिक फोरमको सर्वेक्षण अनुसार फ्रान्समा १० जनामध्ये ४ जना मात्र कोभिडको खोप लिन इच्क्षुक छन् । यति कम मानिसले खोपको इच्क्षा गर्दापनि खोप अति ढिलो भैरहेको छ ।

“हामी खोपमा १०० मिटरको यात्रा गर्न सकिरहेका छैनौं । तर गफ म्याराथनको लागि हाँकिरहेका छौं” स्वास्थ्य अधिकारीहरुले स्वास्थ्य मनत्रालयलाई ब्यंग्य गरेका छन् । खोपको वसारपसार, प्राविधिक साधनको ब्यवस्थापनमा अलमल, असाध्यै ढिलो प्रशासनिक काम र खोप केन्द्रहरुको उचित ब्यवस्थापनमा भएको कमजोरीले यति ढिलो भएको आरोप आलोचकहरुको छ । खोपका सकारात्मक पक्षका बारेमै जनतालाई जानकारि दिन समेत ज्यादै ढिला गरिएको तिनको भनाई छ ।

फ्रान्सले कोरोना भाईरसबाट ६४ हजार भन्दा बढी व्यक्तिको मृत्यु भोगिसकेको छ । कुल जनसंख्या मध्ये एक तिहाई कोरोना भाईरसको उच्च जोखिममा छन् जसलाई आगामी आठ हप्तामा खोप लगाउनुपर्ने छ । तर अहिलेको खोप अभियान हेर्दा त्यो संभव देखिन्न । जोखिममा रहेका नागरिकलाई खोप दिन राष्ट्रिय खोप अभियान उदाहरणीय हुनुपर्ने भनाई विशेषज्ञहरुको छ । खोप छिटो दिएर संक्रामक रोगहरूको उन्मूलनका लागि धेरै योगदान पुर्‍याउनुपर्ने माग उनीहरुले गरिरहेका छन् ।

खोप अभियान अति ढिलो भएको भन्दै राष्ट्रपती एमानुयल माख्रोंसमेत स्वास्थ्य क्षेत्रका अधिकारीहरुसित रिसाएको भन्ने खबर मेडियामा सार्वजनिक भएको छ । छिमेकी मुलुकमा भन्दा सयौं गुणा ढिलो र ब्यवस्थापन कमजोर देखिएपछि राष्ट्रपतीले सोमवार खोप अभियानलाई कुनैपनि हालतमा तिब्र पार्न दबाब दिएका छन् ।

तपाइँको प्रतिक्रिया