शनिबार, वैशाख ८, २०८१

बेलायती प्रधानमन्त्रीद्वारा तेस्रो लकडाउन घोषणा

नेपालप्लस समाचार / बेलायत२०७७ पुष २१ गते ०:२१

बेलायतमा कोरोना भाईरस नियन्त्रण बाहिर गएपछी प्रधानमन्त्री बोरिस जोन्सनले देशमा तेस्रो पटक लकडाउनको घोषणा गरेका छन् । जोन्सनले सोमबार दिएको आफ्नो टेलिभिजन सम्बोधनमा भनेका छन “हामी निकै नाजुक अवस्थामा आएका छौं र बेलायतबासी एकजुट हुन सके कोरोनालाई पराजित गर्न सक्दछौं” ।

उनले आगामी मध्य फेब्रुअरीसम्म विध्यालय, क्याम्पस र विश्वविध्यालय बन्द हुने जनाएका छन् । नयाँं प्रकृतिको कोरोना तिब्र रुपमा फैलिएपछी एक साता यता ब्यापक चिन्ता ब्यक्त गरिएको थियो । तर पनि प्रधानमन्त्री जोन्सन देशब्यापी लकडाउनको पक्षमा थिएनन् । हिजो मात्र प्रतिपक्षी दलका नेताले कोरोना महामारी नियन्त्रण भन्दा बाहिर गएकाले छिटो भन्दा छिटो राष्ट्रिय लकडाउन घोषणा गर्न सुझाएका थिए ।

पछिल्ला दुई सातामा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढेको छ । बैज्ञानिकहरुले नयाँ कोरोना भाइरस ५० देखि ७० प्रतिशतसम्म संक्रामक भएको बताएका छन् । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले गत अप्रिलको तुलनामा कोरोना बिरामीहरुको चाप ४० प्रतिशतले बढेको बताएको छ ।

बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुप तिब्र रुपमा फैलिएपछी सोमबार संक्रमितको संख्या लगातार सातौं दिन ५० हजारभन्दा माथि पुगेको छ । सोमबार २४ घन्टामा ५८ हजार ७ सय ८४ जना नयाँ संक्रमित थपिएका छन् भने ४ सय ७ जना कोरोना पोजेटिभ देखिएका ब्यक्तिहरुको मृत्‍यु भएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक